सुर्य थापाको चुनाव: सामाजिक सञ्जालमा गाली, गलामा मालाको भारी
प्युठान : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाता भेटघाटमा व्यस्त छन्। निर्वाचन प्रचारमा रहेका दुई प्रमुख प्रतिष्पर्धी दल नेकपा (एमाले)का उम्मेदवार सुर्य थापा र नेपाली कांग्रेसका उम्मेदवार प्रा.डा.गोविन्दराज पोख्रेलको नाँचले स्थानीय र सामाजिक सञ्जाल दुवैमा चर्चा पाएको छ।
स्वर्गद्वारी नगरपालिका–४ बाँझिपुरमा एमालेको प्रचार कार्यक्रम चलिरहेकाबेला कांग्रेस उम्मेदवार पोख्रेल त्यहि पुगे। एमालेको चुनावी गीतमा दुवै उम्मेदवार संयुक्त नाँचे। दुवैले आ–आफ्नो पक्षमा मत मागे। चुनावी प्रचारलाई आक्रामक बनाउने दलहरुले यसरी सौहार्दपूर्ण वातावरणमा चुनावी प्रचार गरेको शैलीलाई सकारात्मक रुपमा लिँदै सामाजिक सञ्जाल फेसबुकमा चर्चा चलेको हो।
सामान्यता एमाले उम्मेदवार सुर्य थापाको स्वभावलाई राजनीतिक बृत्तमा ‘खरो वक्ता’को रूपमा लिइन्छ। थापाको विषयमा समाजिक सञ्जालमा नकारात्मक टिप्पणीहरु धेरै हुने गर्छ। उनको स्वभावलाई लिएर मात्र होइन, प्रतिष्पर्धी प्रति कडा रुपमा प्रस्तुत हुने उनको शैली, सहकारी छानबिन , पार्टी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडेर सामाजिक सञ्जालमा नकात्मक टिप्पणी हुने गरेको हो।
२०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनका विरुद्धमा एक्लै चुनावमा होमिएका एमाले नेता थापाको भाषण शैली ‘कटुस’ प्रकारको थियो। यसपटक भने उनी कहिले प्रतिष्पर्धीसँगको भेट त कहिले जेष्ठ नागरिकहरुसँगको वार्तालाप गर्दै नरम रुपमा प्रस्तुत हुने गरेका छन्।
मतदाता भेटघाटका लागि दोस्रो चरणको कार्यक्रम लिएरबस्ती स्तरमा पुगेका थापालाई स्थानीयले फुलमालाले स्वागत गर्ने गरेका छन्। आफ्ना समस्याहरु, विकासका सवालहरु राख्दैस्थानीयले फुलमालाले स्वागत गरे । मंगलबार स्वर्गद्वारी नगरपालिका–१ कोचिवाङमा स्थानीयले गलाभरी माला लगाईदिएर स्वागत गरेका हुन् । मतदाताले स्वत स्फूर्तः रुपमा स्वागत गर्ने गरेको नेकपा (एमाले) प्युठानका अध्यक्ष विजयविराज विष्टले बताए।
‘पार्टीको योजना अनुसार नै भएको हो की’ भन्ने प्रश्नमा उनले भने, ‘तडकभडक स्वागतको पक्षमा हामी छैनौं, जनताले गरेको स्वागतलाई स्विकार गर्नैपर्यो।’ आफुप्रति हुने आलोचना बारे उम्मेदवार थापा भने सचेत देखिन्छन् । उनी प्रति लाग्ने दोष, आरोप बारे उनले यसरी स्पष्ट पार्दै आएका छन्।
सहकारी छानबिनबारे सहकारी बचत रकम अपचलन सम्बन्धी संसदीय छानविन समितिको सभापति भई तोकिएको समयावधिमा प्रतिवेदन पेश गरेको विषय बारे उनको टिप्पणी हुने गरेको छ। समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘राजनीतिक पूर्वाग्रह’ साँधेर दोष दिएको समाजिक सञ्जालमा टिप्पणी हुने गरेको छ। तर थापाले भने तथ्य र प्रमाणका आधारमा प्रतिवेदन तयार गरिएको र व्यक्ति प्रति भन्दा प्रबृत्तिको विरोध आफुले गर्ने गरेको स्पष्टीकरण दिँदै आएका छन्।
पार्टी नेतृत्वको रक्षाबारे पार्टी नेतृत्वको रक्षाका लागि स्पष्ट र खरो रुपमा अभिव्यक्ति दिएकै कारण यसैसँग जोडेर उनलाई सामाजिक सञ्जालमा गालि गर्नेहरुको जमात पनि ठुलै छ। पार्टी र नेतृत्व प्रति आक्रमण भएका बेला यसको रक्षा गर्नु हरेक पार्टी सदस्यको कर्तव्य हुने उनको बुझाई छ।
प्रतिक्रिया दिनुहोस !