कैलासदेखि पशुपतिनाथसम्म

कैलासदेखि पशुपतिनाथसम्म

हिन्दुधर्मका तीन सर्वोच्च शक्तिहरू– ब्रह्मा, विष्णु महेश्वरमा भगवान् शिवलाई प्रलय अर्थात् संहारका अधिष्ठाता मानिन्छ। वेददेखि लिएर पछिल्लाकालका अनेक भाषाका ग्रन्थहरूमा भगवान् शिवको महत्त्वगान गरिएको पाइन्छ। महाशिवरात्रिको प्रसंगमा अधिकांश हिन्दु देवी–देवताको पूजा दिनमा गरिन्छ। तर त्यस दिन शिवको वास्तविक पूजाआजा भने रात्रिको चार प्रहरमा गरिन्छ। पशुपतिनाथ मन्दिरमा हरेक महाशिवरात्रिमा चार प्रहरमै पूजा–आजा हुने गरेको छ। सर्वविदितै छ, शंकर संहारशक्ति अर्थात् तमोगुणका अधिष्ठाता हुनुहुन्छ। अतः तमोमय रात्रिसँग उहाँको सम्बन्ध हुनु स्वाभाविक नै हो।

रात्रि संहारकालको प्रतिनिधित्व गर्छ, त्यसको आगमन हुनासाथ नै सर्वप्रथम प्रकाशको संहार हुन्छ। सम्पूर्ण जीवको दैनिक कर्मचेष्टाको संहार, इन्द्रियहरूको सामथ्र्यको संहार र अन्तमा निद्राद्वारा चेतनताको संहार भएर सम्पूर्ण विश्व संहारिणी रात्रिको काखमा अचेतन भएर लुटुपुटिन्छ। यस अवस्थामा प्राकृतिक दृष्टिले शिवलाई रात्रि प्रिय हुनु सहज नै हृदयंगम हुन्छ। यही कारण हो कि भगवान् शिवको आराधना रात्रिमा मात्र नभई सदैव प्रदोषको (रात्रि प्रारम्भ भएपछि) समयमा गरिन्छ। अर्को कुरा तामसी वृत्तिको उदय रात्रिमा ज्यादात्तर हुन्छ। उपशमनार्थ यी प्रवृत्तिका अधिष्ठाता आशुतोषको आराधना गर्ने विधान शास्त्रकारहरूले गरेका छन्। यही नै कृष्ण चतुर्दशीको रात्रिमा शिवको आराधना गर्नुको रहस्य हो।

क्षयपूर्ण तिथि अर्थात् औंसीको दुष्प्रभावबाट बच्न ठीक एक दिन अगाडि नै चतुर्दशीमा भगवान् शिवको आराधना गर्ने चलन छ। वर्षको अन्तिम महिनाभन्दा एक महिना पूर्वको महिनाको पनि उपान्त्य रात्रिमा महाशिवरात्रि मनाइनुको रहस्य नकारात्मकता एवं व्याधिबाट बच्न गरिने प्रयत्न हो। प्रकृतिमा पनि यो महिनामा वन–उपवनहरूमा जताततै पातहरू झरेर मानौं भगवान् शिवको रौद्र रूपको झलक देख्न पाइन्छ। रुद्रको ११ संख्या हुनु र फाल्गुन महिना चान्द्रमानअनुसार एघारौं महिना पर्नुको रहस्य पनि प्रकट हुन्छ।

महाशिवरात्रिलाई व्रतहरूमा सबैभन्दा प्रमुख (व्रतराज) मानिन्छ। यो परम पावन दिनमा कस्तो व्रत बस्ने वा कस्तो संकल्प गर्ने ?

संहारको अधिष्ठाता भएता पनि उहाँलाई ‘शिव’ अर्थात् कल्याणकारक मानिन्छ। यो स्पष्ट छ कि लयमा नै उत्पत्ति गाँसिएको हुन्छ। कुनै वस्तुको विनास नभइकन नयाँ वस्तुको प्राकट्य हुँदैन। उत्पत्तिका लागि विनास अनिवार्य छ। शिव शब्दको अर्थ बताउँदा भनिएको पाइन्छ– जसमा सारा जगत् शयन गर्छ, जो विकाररहित छ, उही शिव हो अथवा जो अमंगलको नास गर्छ उही सुखमय, मंगलमय भगवान् शिव हो। जो सारा जगत्लाई आफूमा लीन गर्छ, उनै करुणासागर भगवान् शिव हुनुहुन्छ। जो भगवान् नित्य, सत्य, जगदाधार, विकाररहित, साक्षीस्वरूप छ, ऊ नै शिव हो।

महासमुद्ररूपी शिवजी अखण्ड परतत्त्व हुनुहुन्छ; उहाँका अनेक विभूति अनेक नामले पूजित हुन्छन्। यही सर्वव्यापक र सर्वशक्तिमान छ, यही व्यक्त–अव्यक्त रूपले क्रमशः ‘सगुण ईश्वर’ र ‘निर्गुण ब्रह्म’ कहिनुहुन्छ तथा उहाँ नै ‘परमात्मा’ ‘जगदात्मा ‘शम्भव, मयोभव, शंकर ‘मयस्कर’ शिव रुद्र आदि नामले सम्बोधित हुनुहुन्छ। शिव वर्णनातीत भएर पनि अनुभवगम्य हुनुहुन्छ, उही आशुतोष भक्तहरूलाई आफ्नो आश्रयमा लिनुहुन्छ। उनै त्रिविध तापलाई शमन गर्नेवाला हुनुहुन्छ, उनैबाट समस्त विद्या एवं कला निक्लेको छ। उनै वेद तथा प्रणवको उद्गम हुनहुन्छ, यसलाई वेदले ‘नेति नेति’ भनेको छ। उनै नित्याश्रम एवं अनन्ताश्रय हुनुहुन्छ तथा उहाँ दयासागर एवं करुणावतार हुनुहुन्छ।

इशानसंहिता–११ अनुसार, शिवरात्रि व्रतनामक व्रत सबै पापको नासकर्ता हो। यसले चण्डालदेखि सबै मानिसलाई भुक्ति (सांसारिक सुख) र मुक्ति (मोक्ष) प्रदान गर्छ। संक्षेपमा, यो श्लोकले शिवरात्रिव्रतको पालनले सबै गल्तीबाट शुद्धीकरण गर्छ र सांसारिक सुख तथा आध्यात्मिक मुक्ति प्रदान गर्छ, जुन सामाजिक स्थिति वा पृष्ठभूमिबाट कुनै फरक पर्दैन। यो समावेशिताको मुख्य विषय हो, जुन धेरै शैव ग्रन्थमा पाइन्छ, जसले शिवको कृपालाई सार्वभौमिक रूपमा चित्रण गर्छ। महाशिवरात्रिको सन्दर्भमा शिवको गुण, महत्त्व र मनुष्य जीवनमा उनीबाट लिनुपर्ने ज्ञानबारे चर्चा गरौं। महाशिवरात्रि शिवको ब्रह्माण्डीय ऊर्जा, नृत्य (ताण्डव) र कृपाको उत्सव हो, जसमा शिवलाई अर्धरात्रिमा पार्वतीसँग विवाह भएको वा उनले विष पिएर संसार बचाएको वा ज्योतिर्लिंगको रूपमा प्राकट्य भएको कथासँग जोडिन्छ। यस पर्वले शिवको रहस्यमय र शक्तिशाली स्वरूपलाई उजागर गर्छ।

मनुष्य जीवनमा शिवबाट लिनुपर्ने ज्ञान ः संसारमा रहे पनि सांसारिक मोहबाट अलग भई ध्यान र योगबाट आन्तरिक शान्ति खोज्न प्रेरित गर्छन्। शिवले सिकाउँछन् कि सुख–दुःख अस्थायी हो, आत्मामा स्थिर रहनु बुद्धिमानी हो। यसबाट वैराग्य र संयमको ज्ञान पाउन सजिलो हुन गएको छ। उनी ‘भोलेनाथ’ हुन्, जसले कुनै अभिमान नराखी सबैलाई स्वीकार गर्छन्। यसबाट हामीले विनम्रता र समानताको ज्ञान लिन सक्छौं। शिवको संहार रूपले सिकाउँछ कि पुरानो छोडेर नयाँ अपनाउनु जीवनको नियम हो। यसले डर हटाउँछ र विकासलाई प्रोत्साहन दिन्छ। थोरै प्रयासले पनि शिव प्रसन्न हुन्छन् भन्ने मान्यता छ। यसबाट सच्चा भक्तिले जीवनमा चमत्कार हुन्छ भन्ने ज्ञान मिल्छ। उनी सन्न्यासी तर गृहस्थ पनि हुन्। यसले हामीलाई काम, परिवार र आध्यात्मबीच सन्तुलन राख्न सिकाउँछ।

शिव ‘आदिगुरु’ हुन्, जसले योग र तन्त्रको ज्ञान दिए। महाशिवरात्रिमा जागरण गर्दा हामीले आफ्नो अज्ञान नास गरी सत्यतर्फ लाग्नुपर्छ। गंगा, सर्प, वयल आदिसँग जोडिएका शिवले प्रकृति संरक्षणको महत्त्व सिकाइरहेको अनुभूति हुन्छ। यी ज्ञानलाई जीवनमा लागू गर्दा जीवनमा शान्ति, शक्ति र सफलता प्राप्त हुन्छ। महाशिवरात्रि यसैको लागि अवसर हो— उपवास, जप र ध्यानबाट शिवसँग जोडिनु। काठमाडौंस्थित श्रीपशुपतिनाथको मन्दिरमा षोडशोपचारसहित भव्यरूपले पूजाअर्चना हुन्छ। यस दिन पशुपतिनाथको चार प्रहरको पूजा हुन्छ। रात्रिको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मूर्तिको, तेस्रो प्रहरमा घिउद्वारा वामदेव मुहारको तथा चौथो प्रहरमा सद्योजात मुहारको स्नान गरिने प्रचलन छ।

पशुपतिनाथको दर्शन–पूजनपश्चातमात्र तीर्थयात्राको पूर्णाहुति ः भारतमा चारधाम, तीनधामको यात्रा गरेपछि भगवान् श्री पशुपतिनाथको दर्शन–पूजनपश्चातमात्र तीर्थयात्राको पूर्णाहुति गर्ने प्रचलन भएको कारण पनि महाशिवरात्रिको दिन भारतीय तीर्थयात्रीको भिडभाड अरू बेलाको भन्दा धेरै देखिन्छ। साथै भारतको प्रसिद्ध मन्दिर श्रीकेदारनाथको अक्षय तृतीयाको दिन पट्ट खोल्दा सोही दिन अलग्गै तामाको घडामा जल राखिन्छ र नौ महिनासम्म विशेष रूपले पूजा–अर्चना गरेर राखिएको जललाई बूढा केदारका पुजारीले पशुपतिनाथको मन्दिरमा ल्याउने र महाशिवरात्रिको दिन भगवान् श्रीपशुपतिनाथको मन्दिरमा बेलुका चार प्रहर पूजाको अवसरमा सो जलले स्नानादि गरी अर्पण गर्ने अद्यापि प्रचलन छ।

  • ‘राष्ट्रको प्रतिष्ठालाई अभिवृद्घि गर्ने काममात्रै गर्छु’ भन्ने संकल्प लिएर कर्मक्षेत्रमा जुट्न सके नै महाशिवरात्रिजस्तो पर्वको युगान्तकारी महत्व हुन सक्छ।
  • शिव ‘आदिगुरु’ हुन्, जसले योग र तन्त्रको ज्ञान दिए। महाशिवरात्रिमा जागरण गर्दा हामीले आफ्नो अज्ञान नास गरी सत्यतर्फ लाग्नुपर्छ। महाशिवरात्रि उपवास, जप र ध्यानबाट शिवसँग जोडिनका लागि हो।

महाशिवरात्रिलाई भोग र मोक्ष दिने पुण्यदायक पर्वको रूपमा लिइएको पाइन्छ। पुराणहरूमा भगवान् शंकरमा अनेक किसिमका विरोधी भावहरूको अनुपम सामञ्जस्य स्थापना गर्ने अधिष्ठाताको रूपमा चित्रित गरिएको छ। यस्तो अद्भुत समन्वय जसको जीवनमा पाउन सकिन्छ, उही नै निन्दा–स्तुतिमय हलाहललाई पचाएर अमरत्वलाई प्राप्त गर्न सक्छ। शिव नारीश्वर हुनुहुन्छ, परन्तु उहाँजस्तो कामविजेता आजसम्म कोही प्रकट भएको देखिन्न। उहाँ गृहस्थ भएर पनि ‘गृह–स्थ’ होइन, श्रीकण्ठ भएर पनि ‘श्री’बाट धेरै टाढा, ऋद्धि–सिद्धिका स्वामी भएर पनि त्यसबाट पराङ्मुख, उग्र भएर पनि सौम्य, अकिंचन भएर पनि सर्वेश्वर, भयंकर विषधर र सौम्य सुधाकर दुवैले उहाँको शरीरमा शोभा बढाएका छन्। निधारमा प्रलयकालिक बह्नी (अग्नि) र शिरमा हिम–शीतल जाह्नवीधारा उहाँको अनुपम शृंगार हो। 

अन्त्यमा, महाशिवरात्रि यिनै महान् देवाधिदेव भगवान् शिव, महादेव, शंकर, पशुपतिनाथको आराधनाको प्रमुख पर्व हो। यस्ता अनुपम गुणशाली देवको आराधना गर्दै, उनको आदर्श चरित्रको कीर्तन र पारायण गर्दै यदि उनको आदर्शको केही अंशमात्र पनि ग्रहण ग¥यौं भने कति कल्याण हुने होला, कल्पना गरौं त ! स्वार्थ–परता र विलासिताले हाम्रो जीवनलाई खोक्रो बनाइरहेको छ। त्यसबाट उन्मुक्त भएर त्यागमय, सेवामय जीवन व्यतीत गर्ने हो भने मनुष्य जीवनको आनन्द र सौन्दर्यलाई सहज रूपमा प्राप्त गर्न सक्छौं।

महाशिवरात्रिलाई व्रतहरूमा सबैभन्दा प्रमुख अर्थात् व्रतराज मानिन्छ। यो परम पावन दिनमा कस्तो व्रत बस्ने वा कस्तो संकल्प गर्ने ? स्नान, पूजा–पाठ तथा फलफूलादी ग्रहण त गरौंला तर त्यसभन्दा पनि ठूलो व्रत त ‘दया, माया, करुणा, अहिंसा, सद्भाव, न्याय, मैत्रीभावलाई सम्मान गरेर मानवतालाई आत्मसात् गर्छु, पृथ्वीका सम्पूर्ण जीवलाई ईश्वरको स्वरूप सम्झेर तिनको अस्तित्वको ख्याल गर्छु, मातृभूमिको चातुर्दिक विकासमा इमानदारीसाथ आफ्नो गक्षले, क्षमताले, योग्यताले भ्याएसम्म योगदान पु¥याउँछु, सकारात्मक सोचको साथ जे काम गर्छु, त्यसले राष्ट्रको प्रतिष्ठालाई अभिवृद्धि गर्ने काममात्रै गर्छु’ भन्ने संकल्प लिएर कर्मक्षेत्रमा जुट्न सके नै महाशिवरात्रिजस्तो पर्वको युगान्तकारी महत्त्व हुन सक्छ। अनि व्रतराजको महानता प्रष्टिन सक्छ। नत्र हरेक वर्ष महाशिवरात्रि आउँछ, जान्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.