‘रड र तार’ शरीरमा बोकेर चुनावी मैदानमा
प्यूठान : माओवादी युद्धकालीन समयमा सैनिक यातनाले घाइते भएका कृष्णध्वज खड्का शरीरमा ‘रड र तार’ बोकेर चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उनी प्रतिनिधिसभा सदस्यका लागि प्यूठानबाट उम्मेदवार बनेका हुन्।
तत्कालीन नेकपा (माओवादी)ले गरेको सशस्त्र युद्धका क्रममा उनी २०५८ सालमा काठमाडौंबाट गिरफ्तार भए। ‘काठमाडौंबाट श्रीमान्– श्रीमती नै गिरफ्तारमा प
र्यौं’, विगत सम्झँदै उनले भने, ‘कठोर यातनासँगै कहाँ–कहाँ पुर्याए थाहा छैन, बर्दबहादुर गण गोरखाबाट एक वर्षपछि छुट्यौं।’ उनीसँगै पार्टी नेतृसमेत रहेकी श्रीमती रेखा शर्मा गिरफ्तारमा परेकी थिइन्। त्यही यातनाका बेला घाइते भएका खड्काको शरीरमा अहिले पनि रड र तार छन्। कम्मर र करङको हड्डी फ्याक्चर भएको र अहिले पनि हातमा रण र दायाँ खुट्टामा तार बाँधेरै हिँड्नु परेको उनले बताए।
प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका उनी २०७४ सालमा भएको निर्वाचनमा बाम गठबन्धनका तर्फबाट प्यूठान प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट विजयी भए। लुम्बिनी प्रदेश सरकारको अर्थ तथा सहकारी मन्त्रीसमेत बनेका उनलाई मन्त्री कार्यकालमा साना र टुक्रे योजना बनाएर कार्यकर्तालाई वितरणमुखी योजना बनाएको आरोप छ।
२०३५/०३६ सालमा भएको जनमतसंग्रहकै समयदेखि उनी राजनीतिमा जोडिएका हुन्। राजनीतिमा सक्रिय भएकै कारण उनी पटक–पटक हिरासतमा परे। २०४६ सालमा बहुदलीय व्यवस्था आउँदासमेत हिरासतमै थिए। बहुदल पछि छुटे। २०५१ सालमा विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष भए। २०५४ सालमा जेलबाटै उनी अखिल क्रान्तिकारीको दोस्रो कार्यकालको लागि अध्यक्ष चुनिए। वामपन्थी राजनीतिक सिद्धान्त, सामाजिक न्याय र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर नेताको छवि बनाएका उनी संगठन विस्तार र कार्यकर्ता परिचालनमा सक्रिय हुने गरेको नेपाली कम्युनिस्ट पार्टीका नेता अर्जुनकुमार कक्षपतिले बताए।
कृष्णध्वजलाई पुष्पकमल दाहाल प्रचण्डको विश्वास पात्रको रूपमा मानिन्छ। शान्ति प्रक्रियालाई अघि बढाउन प्रचण्डले अन्य राजनीतिक दल र दरबारका प्रतिनिधिहरूसँग वार्ताका लागि पठाउने गरेको पुराना माओवादी नेताहरू सम्झन्छन्। जनयुद्धकालीन समयमा पार्टीले अघि सारेका राजनीतिक एजेन्डाहरू सम्झौतामा विलिन भएको कृष्णध्वजको बुझाइ छ। व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्दै उनले चुनावी कार्यक्रमलाई सम्बोधनका क्रममा भन्छन्, ‘यो नाफाको जिन्दगी हो, जनताकै सेवामा व्यतित गर्नेछु।’
प्रतिक्रिया दिनुहोस !