‘नयाँ नेपाली कांग्रेस’ कति सफल होला ?
नेपाली कांग्रेसले आफ्नो परम्परागत आधारभूमि मधेसमा एक विशाल आमसभामार्फत आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। तर, निर्वाचनको मुखमा कांग्रेस अनौठो र कठिन अवस्थाबाट गुज्रिरेको छ। विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपछि पार्टीलाई ‘नयाँ कांग्रेस’ को रूपमा ब्रान्डिङ त गरिएको छ तर यो एजेन्डा मतदाता सामु कति बिक्छ यकिन छैन। निवर्तमान सभापति शेरबहादुर देउवाको एउटा ठूलो समूह त्यस लगत्तै पार्टीमा निष्क्रिय छ।
विगतमा देउवा निकट भनी चिनिएका दर्जनौं नेता चुनावी अभियानमा छन्। तर, देउवा, पूर्णबहादुर खड्कालगायत धेरै शीर्ष नेताहरू यतिबेला सार्वजनिक रूपमा कुनै राजनीतिक गतिविधिमा छैनन्। नयाँ सभापति थापा र निवर्तमान सभापति देउवाको बीचमा भेटघाट र संवादसमेत भएको छैन। उनीहरूले पार्टीका उम्मेदवारलाई औपचारिक रूपमा न सहयोग गरेका छन्, न असहयोग नै। अर्कोतर्फ पार्टीले यसपटक दर्जनौं युवा अनुहारलाई निर्वाचनको उम्मेदवार बनाएको छ, १ सय ६५ मध्ये १ सय ६ जना त नयाँ अनुहार छन्।
यसबाट देशभर कांग्रेसमा लामो समयदेखि खटिएका धेरै पाका नेताहरू बेखुस छन्। पार्टीले कारबाही गर्ने वा भविश्यमा आफूले पनि सहयोग नपाउने भयले धेरैले चुनावी अभियानमा मुख त देखाएका छन्, तर धेरै ‘दाइहरूले’ ‘भाइ’ उम्मेदवारलाई सहयोग नगरेका गुनासाहरू सार्वजनिक भइरहेका छन्। उसो त नेपाली कांग्रेसमा बागी उम्मेदवार र अन्तर्घातको समस्या लामो समयदेखि रहँदै आएको छ।
विशेष महाधिवेशनपछि त्यो अन्तर्घात झनै बढ्ने त होइन् भन्ने भय छ। अर्कोतर्फ विशेष महाधिवेशनपछि देशव्यापी रूपमा अन्य परम्परागत राजनीतिक दलभन्दा कांग्रेसको माहोल बनेको देखिन्छ। किनभने भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि नेकपा एमाले र माओवादीमा नेतृत्व परिवर्तन हुन सकेन तर कांग्रेसमा भने नेतृत्व परिवर्तन भयो।
जेन-जी आन्दोलनको भावना र लामो समयदेखि पार्टीभित्रको उकुसमुकुसलाई सम्बोधन गर्दै थापाले पुरानो नेतृत्वलाई विस्थापित गदै नयाँ नेतृत्व स्थापित गरेको भन्दै कांग्रेस कार्यकर्ता उत्साहित छन्। जेन-जी आन्दोलनपछि विशेषत युवा मतदाताहरूमा पुराना नेतृत्वपछि एक हदसम्मको वितृष्णा रहेको छ। त्यसैले थापाले पूर्णरूपमा जेन-जी आन्दोलनको अपनत्व लिई पार्टी सरकारमा आएपछि सुधारका कदमहरू चाल्ने बताएका छन्। जसले कांग्रेसका उम्मेदवारलाई जनतासामू हामी नयाँ नेतृत्व, सोच र भिजनका साथ आएका छौं भन्ने अवसर दिलाएको छ।
विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूविरुद्धको भाष्य निर्माण गरिरहेको सन्दर्भमा नेतृत्व परिवर्तनले पुरानै होइन, नयाँ कांग्रेस हो भनी त्यो भाष्य चिर्न केही हदसम्म सहज भएको देखिन्छ। यतिबेला कांग्रेसका नेता र कार्यकर्ता कांग्रेस नै अहिलेको सबैभन्दा नयाँ पार्टी भएको तर्क गरिरहेका छन्। हुन पनि नेतृत्व परिवर्तन भएपछि धेरै स्वतन्त्र बुद्धिजीवी मात्र होइन्, अन्य राजनीतिक दलका नेताहरूले समेत कांग्रेसको प्रशंसा गरिरहेका छन्। जेन-जी आन्दोलनमा सक्रिय रूपमा सहभागी धेरै जेन-जी युवाहरूले पनि नेपाली कांग्रेसको नेतृत्व परिवर्तनलाई सार्वजनिक रूपमा सकारात्मक रूपमा लिएका छन्। उसो त पार्टी सभापति गगनकुमार थापाले नेपाली कांग्रेसलाई युवाहरूको पार्टी बनाउने घोषणा गरेका छन्।
कांग्रेस नेतृत्वले पनि आफूहरू नयाँ नेतृत्वसँगै नयाँ भिजन र कार्यक्रमका साथ आएको जिकिर गरिरहेका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा पार्टीले घोषणपत्रको एक अंशको रूपमा १० नयाँ भिजन अगाडि सारेको छ। जसमा कांग्रेसको भएर बाँच्ने, सपना देख्न सक्ने नेपाल, सम्पत्ति र रोजगारी सिर्जना गर्ने, पेटभरि खुवाउने र देशलाई चिनाउने किसानको नेपाल लगायतका छन्। साथै, ओखती र ओत दिने नेपाल, छोराछोरी पढाउन आर्थिक भर नपर्ने नेपाल, बेथिति र हैरानीयुक्त विधिको शासन भएको नेपाल, भौगोलिकतमा गर्व गर्न सक्ने नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल र सम्मुनतमा लम्कने नेपाल लगायतका छन्।
यतिबेलाको अहम् प्रश्न हो- रिब्रान्डिङ गरिएको कांग्रेसले निर्वाचनमा कस्तो नतिजा ल्याउला ? देउवापक्षको निष्क्रियताले पार्टीलाई निर्वाचनमा कस्तो असर गर्ला ? दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेस पहिलोपटक एक्लै चुनाव लड्दैछ। यसले एकातिर कांग्रेसका आम नेता र कार्यकर्ता खुसी छन् भने अर्कोतर्फ चुनावी नतिजाका बारेमा सशंकित पनि छन्। पार्टीले कहिले एमाले त कहिले माओवादीसँग चुनावी गठबन्धन गरेका कारण धेरै निर्वाचन क्षेत्रमा पार्टीले चुनाव लड्न नपाएको र अन्य दललाई भोट हाल्न नपाएको गुनासो थियो।
जसलाई गगनकुमार थापा र विश्वप्रकाश शर्माले सहमति जनाउँदै आएका थिए। थापाले नेतृत्वमा आउनुसाथ चुनावी गठबन्धन नगर्ने औपचारिक निर्णय लिएका छन्। त्यसैले यतिवेलाको प्रश्न हो- के नयाँ भनि ब्रान्डिङ गरिएको थापा नेतृत्वको कांग्रेसले पार्टीभित्रको असन्तोष र बिना चुनावी तालमेलबिना कस्तो चुनावी नतिजा हासिल गर्ला। के ‘नयाँ कांग्रेस’ को सन्देशले असन्तुष्टिको विषयलाई गौण बनाउला ? विगतलाई हेर्ने हो भने २०७४ सालको निर्वाचनमा नेकपा एमाले र माओवादीको बिचमा निर्वाचनको गठबन्धन हुँदा नेपाली कांग्रेसले समानुपातिकमा ४० र प्रत्यक्षमा २३ गरी जम्मा ६३ सिट ल्याएको थियो।
विसं २०७९ को निर्वाचनमा भने कांग्रेसले माओवादीसँग गठबन्धन गरी ८९ सिट ल्याएको थियो। प्रत्यक्षतर्फ माओवादीसँग गठबन्धनका कारण बढी सिट ल्याए पनि समानुपातिका भने कांग्रेसले एमालेभन्दा एक प्रतिशत कम २९ प्रतिशत मत ल्याएको छ। यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट रूपमा देशव्यापी चुनौती खडा गरिरहेको सम्बन्धमा कांग्रेसको मत पहिलेको भन्दा बढ्दा कि घट्ला ? यतिबेला गगनकुमार थापाको रणनीति हो-पार्टीको परम्परागत भोटलाई सवल राख्ने र नयाँ कांग्रेसको एजेन्डामार्फत युवा मतदातलाई आकर्षित गर्ने। लामो समयदेखि मतदानमा सहभागी नभएका धेरै युवाहरू जेन-जी आन्दोलनपछि मतदाता नामावलीमा नाम लेखाई पहिलोपटक मतदानमा सहभागी हुँदैछन्। यसपटक झन्डै १० लाखको हाराहारीमा नयाँ मतदाता थपिएका छन्।
त्यसैले कुनै पनि उम्मेदवारलाई निर्वाचन जित्नका लागि युवा मतदाताको मत यसपटक निकै महत्वपूर्ण हुने देखिन्छ। पार्टीभित्रका यि सबै समस्याहरूको बिचमा गगन थापा नेतृत्वको नयाँ नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा कस्तो नतिजला ल्याउला ?
(भट्टराई अन्नपूर्ण एक्सप्रेसका सम्पादक हुन् ।)
प्रतिक्रिया दिनुहोस !