प्रतिनिधि सभाको निर्वाचन विकास गर्ने र नगर्ने शक्तिबीचको लडाइँ : लालबाबु पण्डित

प्रतिनिधि सभाको निर्वाचन विकास गर्ने र नगर्ने शक्तिबीचको लडाइँ : लालबाबु पण्डित
सुन्नुहोस्

विराटनगर : मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी सरगर्मी बढ्दै जाँदा विकासको जस कसले लिने भन्ने विषयले नयाँ बहस सिर्जना गरेको छ ।नेकपा एमाले ले बहुवर्षीय विकास योजना आफूहरुले सञ्चालन गरेको भए पनि यसको श्रेय कांग्रेसले लिन खोजिरहेको आरोप लगाएको छ । 

एमालेका नेता लालबाबु पण्डितले शुक्रबार मोरङ बूढीगंगाको कोयलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो कार्यकालमा सुरु भएका योजनाको श्रेय लिन खोजिरहेकोे आरोप लगाएका हुन्। 

जसका कारण आगामी फागुन २१ गतेको निर्वाचन उम्मेदवारबीचको प्रतिस्पर्धासँगै विकासको सत्य र राजनीतिक प्रचार बीचको टकराबका रुपमा देखिने भएको छ। 

पण्डितले भने,‘काम हाम्रो, प्रचार अरूको,’। उनले मोरङ–६ मा सुरु गरिएका बहुवर्षीय योजनामध्ये धेरै आयोजना आफ्नो पहलमा अघि बढेको र अहिले ती योजनाको श्रेय डा. कोइरालाले लिन खोजिरहेको बताए। 

विशेषगरी कोयलपुर–रानी सडक खण्डको विषय उनले जोडदार रूपमा उठाए। उक्त योजना आफ्नो प्रतिनिधिसभा कार्यकालमा शिलान्यासदेखि प्रारम्भिक कार्यान्वयनसम्मका चरण पूरा गरिएको र त्यसका कागजी तथा भौतिक प्रमाण सुरक्षित रहेको उनले दाबी गरे। ‘गुरुयोजना बनाउन मात्रै नौ महिना लागेको थियो । दीर्घकालीन योजना एकैदिन तयार हुँदैन,’ उनले भने । 

उनले शिलान्यास स्तम्भ नै प्रमाणका रूपमा उभिएको दाबी गर्दै तथ्यविपरीत प्रचार गरिएको आरोप लगाए। ‘झुटो कुरा जतिसुकै ठूलो व्यक्तिले बोले पनि सत्य हुँदैन,’ पण्डितले भने। आफू २०७९ सालपछि प्रत्यक्ष भूमिकामा नरहेपनि आफ्नो कार्यकालका साढे तीन सयभन्दा बढी वडा स्तरीय कार्यक्रमहरूको विवरण अभिलेखमा सुरक्षित रहेको जानकारी उनले दिए । आवश्यक परे ती विवरण सार्वजनिक गर्न तयार रहेको उनको भनाइ थियो।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले कोइरालालाई पराजित गरेका थिए। त्यसबेला आफूले जितेपछि क्षेत्रका विकास योजनालाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले २०७९ सालको परिणामपछि योजनाहरूले निरन्तरता नपाएको गुनासो गरे । २०७९ सालमा पण्डित कोइरालासँग पराजित भएका थिए । ‘आफू जनप्रतिनिधि नहुँदा योजनाले गति लिन सकेन,’ उनले भने। 

पण्डितले अहिलेको प्रतिस्पर्धालाई ‘विकास गर्ने र नगर्ने शक्तिबीचको लडाइँ’को रूपमा व्याख्या गरेका छन्। जनताले भाषणभन्दा कामको प्रमाण खोजिरहेको भन्दै उनले एमालेले गरेका काम तथ्यसहित मतदातामाझ लैजाने रणनीति अघि सारेको बताए। नयाँ राजनीतिक शक्तिप्रति पनि उनले टिप्पणी गरे । सामाजिक सञ्जालमा मात्रै सक्रिय रहेको भन्दै उनले ‘फेसबुके पार्टी’को संज्ञा दिए। ‘नकारात्मकता मात्रै समातेर देश बन्दैन,’ उनले भने, ‘देश निर्माणका लागि साहस, धैर्य र निरन्तरता चाहिन्छ ।’

मोरङ–६ मा अहिले एमालेका उम्मेदवार विनोद ढकाल पारिवारिक शोकका कारण कोरामा छन्। उनका बुवाको निधनपछि ढकाल चुनावी अभियनमा सहभागी हुन सकेका छैनन् । उनको अनुपस्थितिमा चुनावी अभियानको नेतृत्व पण्डितले सम्हालेका छन्। उनले मतदातासमक्ष विगतका कामको आधारमा समर्थन माग्ने रणनीति अपनाएको बताए। 

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ–६ मा एमाले ढकाल, कांग्रेसका कोइराला, रास्वपाकी रुविना आचार्य, नेकपाका ओपेन्द्र कुमार रायलगायत १७ जना उम्मेदवार मैदानमा छन्। प्रतिस्पर्धा चर्किँदै जाँदा विकासको जसको प्रश्न नै चुनावी बहसको मुख्य केन्द्र बनेको छ। 

एमालेले आफ्नो कार्यकालका उपलब्धि प्रस्तुत गरिरहेको छ भने कांग्रेसले पनि क्षेत्रीय विकासमा आफ्नो भूमिका रहेको दाबी गर्दै आएको छ। आरोप प्रत्यारोपको बीचमा मतदाताले कसको दाबी विश्वसनीय ठान्छन् भन्ने कुरा चुनावी परिणामले स्पष्ट पार्नेछ। पण्डितले उठाएको प्रश्न अब प्रत्यक्ष रूपमा मतदाताको अदालतमा पुगेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.