उम्मेदवारको पर्खाइमा लप्चीवासी
दोलखा : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशभर नेताहरू घरदैलो अभियानमा व्यस्त छन्। तर दोलखाको बिगु गाउँपालिका–१ अन्तर्गत पर्ने लप्ची (लुम्नाङ) यस्तो गाउँ हो, जहाँ अहिलेसम्म कुनै पनि निर्वाचनमा उमेदवार मत माग्न पुगेका छैनन्। यस पटक भने उमेदवारहरू मत माग्न आउँलान् कि भन्ने आसमा छन् उनीहरू। उमेदवार मत माग्न आए दुर्गम भेगमा भोग्दै आएको पीडा सुनाउने उनीहरूको चाहना छ।
लामाबगरबाट दुई दिनको पैदल यात्रापछि मात्र पुगिने लप्चीमा उमेदवारहरू आफैं जान सक्दैनन्। लप्चीवासी चौरीगोठसँगै हाल लप्चीबाट लुम्नाङ झरेका छन्। तर लुम्नाङ पुग्न पनि लामाबगरबाट एक दिन हिँड्नैपर्ने भएकाले उमेदवारहरू गाउँसम्म पुग्दैनन् ‘मत हालिदिनु’ भन्दै सन्देशमात्र पठाउने गर्छन्।
लप्चीवासीहरू जाडोको समयमा कात्तिकदेखि चैतसम्म लुम्नाङ बस्ने गर्छन् भने चिसो कम हुँदै गएपछि आफ्ना चौरीगोठसहित चैत लागेपछि लप्ची जाने गर्छन्। यसपटक फागुनमै निर्वाचन हुने भएपछि उनीहरू लुम्नाङ मै छन्। तर लुम्नाङसम्म पनि उमेदवारहरू पुगेका छैनन्। ‘यसपटक उमेदवारको पर्खाइमै छौं’, लप्ची गुम्बाका अध्यक्ष पासाङ शेर्पाले भने।
दोलखाको बिगु गाउँपालिका-१ मा पर्ने लुम्नाङसम्म अहिले दुगड हाइड्रो पावरले सडक पुर्याएको छ। १३ घर र ७० जना मतदाता रहेको यो गाउँमा अझै पनि यातायात सञ्चालन हुन सकेको छैन। खानेपानी, शिक्षा, स्वास्थ्य, बिजुली र टेलिफोनको समस्या पनि उस्तै छन्। यसअघिका निर्वाचनहरूमा गाउँमा उम्मेदवार नपुगेपनि लप्चीबाट ६ घण्टा पैदल लुम्नाङ (मतदान केन्द्र रहने गाउँ) झरेर स्थानीयले मतदान गर्दै आएका थिए। यसपटक भने चिसो मौसममा निर्वाचन भएकोले लप्चीका स्थानीय सडकले छोएको दोस्रो घर लुम्नाङमै रहेका छन्। धार्मिक एवम् प्राकृतिक रूपमा निक्कै सम्भावना भएको लप्चीमा जडीबुटी र चौंरीपालनसमेत हुने गरेको छ। आफ्ना उत्पादन सहज रूपमा तिब्बततर्फ लाने वातावरण बनाउन उताको नाका खोलिनुपर्ने उनीहरूको माग छ।
‘हामीले हरेक निर्वाचनमा उम्मेदवार नदेखी केही अगुवाको भनाइमा लागेर निश्चित राजनीतिक दललाई मतदान गर्यौं, यो पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने विकासका प्रतिबद्धतासहित उम्मेदवारहरू नै गाउँमा आउने प्रतीक्षामा छौं’, स्थानीय कुन्जुनोर्बु शेर्पाले भने।
यसअघि गाउँमा उमेदवार नआए पनि मतदान प्रक्रिया भने सामूहिक छलफलबाट टुंगो लाग्ने गरेको स्थानीय पासाङ शेर्पाले बताए। ‘हामी गाउँले सल्लाह गर्थेऊ, कुन उमेदवारलाई मत दिने भनेर मिलेर निर्णय गरेर मत हाल्थेउँ’, उनले भने। चुनावी चहलपहल देशभर चर्किंदै जाँदा पनि लप्ची–लुम्नाङका बासिन्दाले उमेदवारको अनुहार नदेखीकनै मतदान गर्नुपर्ने बाध्यतालाई यसपटक लुम्नाङ (लप्ची) का स्थानीय तोड्न चाहन्छन्। यो पटकको निर्वाचनमा शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, टेलिफोन र तिब्बतको नाका खोल्ने प्रतिबद्धतासहित गाउँमै उमेदवार आउने प्रतीक्षामा उनीहरू छन्।
अहिले लामाबगरबाट ११ सय मिटरको सुरुङ मार्गसहित २४ किलोमिटर सडकले थाङसेमुसम्म जोडेको छ। यो निर्वाचनमा यातायात सञ्चालन हुनुपर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र टेलिफोन– इन्टरनेट जोडिनुपर्ने मागसहित उमेदवारको प्रतिबद्धता लिएर मात्र मतदान गर्ने लुम्नाङवासीको योजना छ।
प्रतिक्रिया दिनुहोस !