समर्पित प्रेम
विजाङ्कुर नभएर
ब्याडमै टाँक्सिएको छ
प्रेमको नमीठो फल।
फुल्दैन बसन्त मुस्कुराउँदैन शरद
सिसिर ढुस्सिएर घुम्टो हाल्छे तुषारोको
वरफ जाम हुन्छ स्थिर बन्छे हिमनदी
पग्लँदैन आँसु वियोगको कथा हाल्छे कोइली
प्रेमको रुख भाँच्चिएपछि।
नदीहरूको गति छैन
सुनिँदैन संगीतमय चाल
वनपाखा उराठ लाग्छन्
लेकबेंसी गर्दैनन् गोठालाहरू
भेडो एकोहोरो कराउँछ
सुनिन्छ कागको कर्कश स्वर
हुच्चिल नमीठो रुन्छ
पीडाले फत्कन्छ मन।
सायद, म प्रेम गर्न जान्दिनँ
मैले गर्ने प्रेम आमा–बाको दीर्घायुसँग
गाँसिएको हुन्छ पत्नी, छोराछोरीसँग
साटिएको हुन्छ
जीवन मरणको लडाइँ
लडिरहेछन् मान्छेहरू
मेरो प्रेम तिनै मान्छेहरूको
नाममा समर्पित हुन्छ।
प्रकाशचन्द्र खतिवडा
प्रतिक्रिया दिनुहोस !