म बाटो
शिरदेखि पाउसम्मै सकुशल त
आजसम्म छँदै छैन म
थाहा छैन यो शृंखला
मेरै छातीलाई टेकेर दिनहुँ यात्रामा हुन्छन्
– पट्पटि फुटेका कमजोर पैतालाहरू
– रंगीविरंगी जुत्ता र चप्पलहरू
– साइकल, मोटर र ठेला गाडीहरू ।
मलाई हेरेरै कोही हुन्छन् अत्यधिक खुसी
कोही फेरि अत्यधिक दुःखी
देखिरहन्छु कोही त मेरै नाममा
गरिरहेका हुन्छन् घण्टौं झैझगडा
विश्वास गर्नुहुन्छ ?
मेरै नाम जपेरै बन्दछ कोही
वडाध्यक्ष, मेयर, सभासद्
मन्त्री र प्रधानमन्त्री !
तर अफसोस् मेरो जिन्दगी !
एकपटक नियाल्नु त मलाई
कैयन पटक चिथोरिँदै चिथोरिँदै
जिएकै छु बनेर जिउँदो लास ।
ठीक छ ! तयारै छु बेप्रवाह
– खप्नलाई दुःखका अनगिन्ती चोट
– बोक्नलाई पीडाका गरुंगा भारी
– सहनलाई वेदनाका हजारौं प्रहार
तर निःशर्त होइन
यो देश साँच्चिकै समुन्नत
र सम्बृद्ध बन्छ भन्ने शर्तमा
मात्र एउटै शर्तमा ।
प्रकाश आचार्य
प्रतिक्रिया दिनुहोस !