सौता : सम्बन्धमा सास्ती

सौता : सम्बन्धमा सास्ती
सुन्नुहोस्

मेरो चिनजानकी एकजना दिदी थिइन्, जसको परिवार निकै सुखी मानिन्थ्यो। श्रीमान्ले उज्ज्वल भविष्यको सपना देखाउँदै दुबईको उडान भरे। घरमा वृद्ध सासू–ससुरा र साना छोराछोरीको जिम्मेवारी उनकै काँधमा थियो। उनले वर्षौंसम्म पसिना बगाएर घर सम्हालिन्, श्रीमान् फर्कने दिन पर्खिइन्। तर, विडम्बना! श्रीमान्ले त उतै दोस्रो विवाह गरेर संसार बसाएछन्। जब यो खबर घर आइपुग्यो, ती दिदीको आकाश नै खसेजस्तो भयो। कुनै गल्ती बिना नै उनले सौताको पीडा भोग्नुपर्‍यो। अझ दु:खको कुरा त के भने, माइती पक्ष आर्थिक रूपमा कमजोर भएकाले उनीसँग घर छोडेर जाने विकल्प पनि थिएन।

अन्तत: उनी त्यही घरमा एउटी दासीको जस्तो जीवन बिताउन बाध्य भइन्। सामाजिक सञ्जालमा तिनै श्रीमान् र सौता मिलेर जेठी श्रीमतीलाई निर्घात कुटपिट गरेको भिडियो देख्दा मानवता नै लज्जित भएको महसुस हुन्थ्यो। यो एउटा प्रतिनिधि घटनामात्र हो, यस्ता हजारौं ‘दिदीहरू’ आज पनि हाम्रो समाजमा मौन रोदन बाँचिरहेका छन्। नेपाली समाजमा ‘सौता’ केवल एउटा शब्दमात्र होइन, यो एउटा यस्तो गहिरो घाउ हो– जसले पुस्तौंदेखि नेपाली महिलाको मानसपटल र अस्मितालाई बिझाउँदै आएको छ। 

आजभोलि फेसबुक, टिकटक र युट्युबमा यस्ता पारिवारिक कलहका भिडियोहरू भाइरल हुनु सामान्यजस्तै बनेको छ। श्रीमान्ले सौता भित्र्याएका, जेठी श्रीमतीलाई घर निकाला गरेका वा आमाहरू आफ्ना साना बालबालिका छोडेर अर्कैसँग हिँडेका खबरहरूले सामाजिक सञ्जाल भरिएका हुन्छन्। यस्ता दृश्यहरूले मनोरञ्जन त देलान्, तर यसले समाजको जग कति कमजोर हुँदैछ भन्ने गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।

भनिन्छ, एउटी महिलाको सबैभन्दा ठूलो शत्रु अर्की महिला नै हुन्छिन्, विशेषगरी सौताको हकमा। एउटी विवाहित नारीका लागि ‘सौता’ शब्द नै यस्तो विष हो, जसले सुन्नेबित्तिकै उसलाई क्रोधित र उग्र बनाउँछ। महिलाले अभाव, गरिबी, रोग र भोक सहन्छिन्, पहाडजस्तै दु:खसँग जुध्छिन् तर आफ्नो श्रीमान् र आफ्नो ओछ्यान अर्की महिलासँग बाँड्न कहिल्यै चाहन्नन्। यो उनको अधिकारमात्र होइन, उनको अस्तित्वको सवाल पनि हो। अघिल्लो पुस्तामा सौता हाल्नुलाई पुरुषार्थको रूपमा हेरिन्थ्यो।

हाम्रा हजुरबाहरूले श्रीमतीसँग रिस उठ्दा सिधै भन्ने गर्थे-‘चुप लाग्, नत्र आँखाकै अगाडि अर्की दुलही भित्र्याएर सौता हालिदिन्छु।’ त्यो समयमा सौता हाल्नु पुरुषका लागि एउटा ‘मनोरञ्जन’ वा ‘धम्की’को अस्त्र थियो। धेरै पुरुषले सन्तान नभएको, विशेषगरी छोरा नजन्मिएको बहानामा दोस्रो, तेस्रो विवाह गर्थे। कतिपय घरमा त एउटै छानोमुनि आधा दर्जनसम्म श्रीमती हुन्थे। हजुरआमाहरू भन्नुहुन्थ्यो-‘मबाट छोरा जन्मिएन, त्यसैले मेरो मालिकले अर्की ल्याए। मेरो त कुनै अस्तित्व नै रहेन, म त केवल एउटा साधनमात्र भएँ।’

पुरुषहरूले आफ्नो यौन सन्तुष्टि र अहंकारका लागि महिलाको भावनालाई खुट्टाको धुलोसरह सम्झन्थे। त्यतिबेला महिलाहरू श्रीमान्को खुट्टाको पानी खाएर बस्नुपर्ने र जस्तोसुकै यातना पनि ‘कर्म’ ठानेर सहनुपर्ने बाध्यता थियो। तथापि, सबै महिलाले हार मानेनन्। त्यही अन्धकार युगमा पनि केही यस्ता साहसी आमाहरू थिए, जसले सौताको पीडालाई शक्तिमा बदले। मेरा एक आफन्तको कथा अझै प्रेरणादायी छ। उनका श्रीमान्ले दोस्रो विवाह गरेपछि उनी घरमा रोएर बसिनन्। उनले सिधै विद्रोह गरिन् र लोकसेवाको तयारीमा लागिन्। उनले सरकारी जागिर खाइन् र आफ्नो जीवनलाई आत्मनिर्भर र सुखी बनाइन्। यो एउटा प्रमाण हो कि महिलाले चाहेमा कुनै पनि बन्धनले उनलाई रोक्न सक्दैन।

समय धेरै बदलिसकेको छ। सती प्रथाको अन्त्यसँगै नेपाली महिलाहरूले दमन र अन्याय सहन छोडेका छन्। आजका महिलाहरू शिक्षा, स्वास्थ्य, राजनीति र व्यवसायमा आत्मनिर्भर बन्दैछन्। उनीहरूमा उचित र अनुचित छुट्ट्याउने सामथ्र्य छ। ‘श्रीमान् नै सर्वस्व हो’ भन्ने सोचबाट माथि उठेर उनीहरूले आफ्नो आत्मसम्मानलाई प्राथमिकता दिन थालेका छन्।
अहिलेको युगमा बहुविवाह र सौता प्रथा कानुनी रूपमै वर्जित छ। यदि श्रीमान्ले धोका दिएमा महिलाहरूले कानुनी उपचार खोज्ने र स्वतन्त्र भएर बाँच्ने हिम्मत गर्छन्। कतिपय अवस्थामा त पहिलो सम्बन्ध असफल भएपछि दोस्रो विवाह गरेर सुखी जीवन बिताइरहेका उदाहरणहरू पनि प्रशस्तै छन्। यो एउटा सकारात्मक पाटो हो।

तर, चुनौती अझै बाँकी छ। स्वतन्त्रता र सशक्तीकरणको नाममा कतै हामीले सम्बन्धको गहिराइलाई बिर्सँदै त छैनौं ? अहिले स–साना झगडा, धनसम्पत्तिको लोभ वा सामान्य असमझदारीका कारण पनि सम्बन्धबिच्छेद गर्ने र नयाँ सम्बन्ध खोज्ने लहर चलेको छ। सामाजिक सञ्जालमा यस्ता घटनाहरू ‘चियाको गफ’ जस्तै बनेका छन्।

विवाहलाई ईश्वरले बनाएको पवित्र जोडीको रूपमा लिइन्छ। प्रेम र विश्वासमा अडिएको यो सम्बन्धलाई हलुका रूपमा लिँदा यसले समाजलाई दुर्घटनातर्फ लैजाँदैछ। विशेषगरी, बाबुले नयाँ आमा ल्याउँदा वा आमाले नयाँ बाबुसँग घर बसाउँदा पुराना बालबालिकाको मनोविज्ञानमा कस्तो असर पर्ला ? धेरै बालबालिका आज डिप्रेसनको सिकार भएका छन्। उनीहरूले न त पुरानो माया पाउँछन्, न त नयाँ सम्बन्धमा आफूलाई सुरक्षित महसुस गर्छन्।

हाम्रा पुर्खाहरूले गरेका गल्तीहरूबाट हामीले सिक्नुपर्छ। सौता प्रथा वा बहुविवाहले कसैको पनि भलो गर्दैन। दाम्पत्य जीवन सुखी बनाउन श्रीमान् र श्रीमती दुवैमा धैर्य, सहनशीलता र एक–अर्काप्रतिको सम्मान हुन जरुरी छ। एकजनाले मात्र सबै सुख भोग्ने र अर्कोले चाहिँ सधैं हेरिरहने वा सहिरहने अवस्था हुनु हुँदैन। सम्बन्धलाई बलियो र कसिलो बनाउन यसमा बाहिरी मानिसको प्रवेशलाई रोक्नुपर्छ। बाटो बदल्नु भनेको भाग्नु होइन, बरु सही दिशामा हिँड्नु हो। जब श्रीमान्ले श्रीमतीको र श्रीमतीले श्रीमान्को पीडालाई आफ्नै ठान्न थाल्छन्, तबमात्र सौताजस्ता कुप्रथा समाजबाट सदाका लागि हराएर जानेछन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.