छिपखोला गाउँ: जहाँ एउटै थर, एउटै पार्टीको बर्चश्व

छिपखोला गाउँ: जहाँ एउटै थर, एउटै पार्टीको बर्चश्व
सुन्नुहोस्

रुकुम : रुकुम पूर्वको सिस्ने गाउँपालिका–२ अन्तर्गत पर्ने छिपखोला गाउँ पूर्व मन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनको जन्मगाउँका रूपमा परिचित छ ।

राजनीतिक रूपमा सचेत, संघर्षको इतिहास बोकेको र लामो समयदेखि एउटै विचारधारामा उभिएको यो गाउँ आज पनि 'एउटै थर, एउटै पार्टी' को पहिचानले चिनिन्छ ।

छिपखोलाको अर्को विशिष्टता भनेको यहाँ पुन मगर समुदाय बाहेक अन्य कुनै जातिको बसोबास नहुनु हो। गाउँका सबै घरधुरी पुन मगर थरका मात्रै छन्। यही कारणले स्थानीय तथा आसपासका बासिन्दाले यसलाई ‘पुन गाउँ’ भनेर समेत चिन्ने गरेका छन्। सामाजिक संरचनामा पूर्ण रूपमा एकै समुदायको उपस्थिति रहेको यो गाउँमा थरगत एकता र राजनीतिक प्रतिबद्धता सँगसँगै विकास भएको देखिन्छ ।

‘बलिदान जन–कम्युन’को अभ्यास

वि.सं. २०६१ साल भदौ २५ गते तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) ले छिपखोलामै ‘बलिदान जन–कम्युन’ स्थापना गरेको थियो । सुरुमा ६ र पछि १० घरपरिवार एउटै छानोमुनि बसेर ‘साझा काम, साझा परिवार, साझा आम्दानी, साझा सम्पत्ति’ को अवधारणाअनुसार जीवनयापन गरेका थिए ।

उनीहरूले आफ्नो सम्पूर्ण जायजेथा पार्टीकरण गर्दै सामूहिक जीवनशैली अपनाएका थिए। निजी सम्पत्तिभन्दा सामूहिक श्रम र उत्पादनमा जोड दिइएको उक्त अभ्यास तत्कालीन सशस्त्र संघर्ष कालीन वैकल्पिक शासन अभ्यासको नमुना मानिन्थ्यो। यो जन–कम्युन २०६८ सालसम्म सञ्चालनमा रहेको थियो । हाल सोही स्थानमा ‘सहिद स्मृति पार्क’ निर्माण गरिएको छ। पार्कमा साविक प्वाङ, पोखरा र पिपल गाविस क्षेत्रमा राज्यपक्षबाट ज्यान गुमाएका व्यक्तिहरूको नामाङ्कित स्तम्भ निर्माण गरिएको छ, जसले गाउँको संघर्षशील इतिहासलाई जीवित राखेको छ।

२०५२ को घटना र गाउँको विद्रोह

वि.सं. २०५२ साल फागुन २९ गते छिपखोलामा प्रहरीले दुई जना सर्वसाधारणको हत्या गरेको घटना गाउँको राजनीतिक मोडको कारण बन्यो। स्थानीयका अनुसार त्यस घटनापछि सिंगो गाउँ नै राज्यविरुद्ध उत्रिएको थियो। राज्यको पहुँच सहजै नपुग्ने भौगोलिक अवस्थाका कारण त्यतिबेला माओवादीले यस्ता अनकन्टार गाउँहरूलाई आफ्नो आधार क्षेत्र बनाउने रणनीति अपनाएको थियो, जसमा छिपखोला पनि एक महत्वपूर्ण आधार स्थल बन्यो ।

पुन परिवारको राजनीतिक भूमिका

छिपखोलाकै नेता गणेशमान पुन २०७० सालको दोस्रो संविधानसभा सदस्य बनेका थिए भने २०७२ सालमा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। उनकी श्रीमती कमला रोका २०६३ सालमा अन्तरिम विधायक, २०७४ सालमा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुँदै मन्त्रीसमेत बनेकी थिइन्। यसरी एउटै परिवारको राष्ट्रिय राजनीतिमा प्रभावशाली उपस्थिति रहेको गाउँका लागि गर्वको विषय मानिन्छ।

एउटै पार्टीको बर्चश्व

स्थानीयका अनुसार छिपखोला गाउँमा अन्य राजनीतिक दलको गतिविधि शून्यजस्तै छ। साविकको माओवादी केन्द्र हुँदै हालको नेपाली कम्युनिस्ट पार्टीको पूर्ण बर्चश्व रहेको छ । अन्य दलका उम्मेदवारहरू कहिलेकाहीँ मत माग्न पुगे पनि स्थानीयले 'यो गणेशमानको जन्मभूमि हो, यो ऐतिहासिक गाउँ हो' भन्दै समर्थन दिन नसक्ने स्पष्ट पार्ने गरेका छन् ।

छिपखोला-जहाँ एउटै थर (पुन मगर), एउटै समुदाय र एउटै राजनीतिक धारले गाउँलाई फरक पहिचान दिएको छ । यहाँ राजनीति केवल चुनावी एजेन्डा होइन, पुस्तादेखि पुस्तासम्म सरेको विचार, समुदाय र पहिचानको निरन्तरता हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.