प्रतिनिधि सभा निर्वाचन-२०८२
झापा–५ : समानुपातिकतर्फ रास्वपालाई दोस्रो बनाउनेहरूको ‘मौन विद्रोह’
विराटनगर : झापा–५ पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रभाव क्षेत्र मानिन्छ। ओलीले यही क्षेत्रबाट बारम्बार चुनाव जितिसकेका छन्। सतहमा हेर्दा ओलीको प्रभाव क्षेत्रका रूपमा सुरक्षित देखिने यो क्षेत्रले २०७९ मा भने राजनीतिक हिसाबले निक्कै प्रतीकात्मक सन्देश दिएको हो।
प्रत्यक्षतर्फ ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भए। नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनका खगेन्द्र अधिकारी २३ हजार ७ सय ४३ मतसहित दोस्रो हुँदा भर्खरै राजनीतिमा बामे सर्दै गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार पोखरेल ११ हजार ७५९ मतसहित तेस्रो भए। भर्खर खुलेको पार्टी प्रत्यक्षतर्फ तेस्रो हुनु राजनीतिक हिसाबले चानचुने विषय थिएन।
त्यहाँमाथि समानुपातिक मतगणनाले फरक कथा सुनायो। एमाले ३५ हजार ८ सय ७२ मतसहित पहिलो हुँदा १८ हजार २ सय ५ मतसहित रास्वपा दोस्रो शक्ति बनेर उदायो। कांग्रेस १६ हजार ८ सय ५९ मतसहित तेस्रो हुँदा माओवादी केन्द्र ८ हजार ६ सय ८० र राप्रपा ७ हजार ३ सय ७० मतमा सीमित रहे। लामो समयदेखि राजनीतिमा पोख्त रहेका दलका अघि नयाँ दल रास्वपाका लागि त्यो उपलब्धि सामान्य हैन। त्यतिबेलाको परिणामले झापा–५ जस्तो शक्तिशाली राजनीतिक भूगोलमा वैकल्पिक शक्ति उभिन सक्ने संकेत दिएको थियो।
त्यही आधारलाई टेकेर अहिले रास्वपाका वरिष्ठ नेता एवं काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) झापा–५ बाट उम्मेदवार बनेका छन्। पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँग सीधा प्रतिस्पर्धामा उतारेको हो। रणनीतिक दृष्टिले यो निर्णय साहसिक देखिए पनि संगठनात्मक दृष्टिले विवादको केन्द्र बन्न पुगेको छ।
किनकि, २०७९ मा पार्टीलाई समानुपातिकतर्फ दोस्रो बनाउनका लागि आधार तयार गर्ने पुराना कार्यकर्ता अहिले आफैं गुमनाम भएको अनुभूति गरिरहेका छन्। २०७९ सालमा प्रत्यक्षतर्फ तेस्रो र समानुपातिकतर्फ दोस्रो बनाउने उम्मेदवारदेखि अगुवा नेता कार्यकर्ता अहिले गुमनाम छन्। उनीहरू बालेनको चुनावी अभियानमा सहभागी छैनन्। एक अर्थमा भन्दा झापा–५ मा रास्वपाका पुराना नेता कार्यकर्ताले ‘मौन विद्रोह’ गरिरहेका छन्। त्यसको कारण अरू केही नभएर बालेनकै शैलीसँग जोडिएको छ। बालेनले पार्टीलाई झापा–५ मा स्थापित गर्ने नेता कार्यकर्तालाई बेवास्ता एवं ‘बाइपास’ गरिरहेको गुनासो तीव्र रूपमा बढेको छ। चुनावी अभियान एवं पार्टीका गतिविधिमा बालेनले नसमेटेपछि पुराना नेता कार्यकर्ता उनकै ‘रहस्यमय’ शैलीको आलोचक एवं विरोधी भएर निस्किएका छन्।
काठमाडौंको मेयरबाट राजीनामा दिएर बालेन झापा आउँदा निक्कै खुसी र उत्साहित देखिएका उनीहरू अहिले खिन्न मन बनाइरहेका छन्। ‘बालेनलाई पाउँदा निक्कै उत्साह थियो। खुसी थियौं। देशको मुहार फेर्न लाग्नुपर्छ भन्ने थियो। तर, हामीलाई पूरै ‘बाइपास’ गरियो। अरूले दुःख गरेका ठाउँमा आएर उनी उफ्रिरहेका छन्। बेवास्ताको कोपभाजनमा परेका कारण हामीले पनि चुनावमा सहयोग गरिरहेका छैनौं,’ एक कार्यकर्ताले भने।
२०७९ को आधार : पसिना, संगठन र ‘रवि प्रभाव’
रास्वपाको उदय व्यक्तित्वको ‘क्रेज’बाट मात्रै सम्भव भएको थिएन। पार्टी सभापति रवि लामिछानेको लोकप्रियता एउटा आधार थियो। अनि त्यसलाई मतमा रूपान्तरण गर्ने काम स्थानीय कार्यकर्ताले गरेका थिए। २०७९ मा झापा–५ मा रास्वपाको संरचना कमजोर थियो। तर, छोटो समयमा कार्यकर्ता परिचालन, घरदैलो अभियान, वैकल्पिक राजनीतिक संवाद र भ्रष्टाचारविरुद्धको अभियानमार्फत संगठन विस्तार गरिएको थियो।
२०७९ मा उम्मेदवार बनेका तथा अहिले रास्वपाको कोशी प्रदेश सदस्य एवं कानुन विभाग प्रमुख रहेका सुरेशकुमार पोखरेल भन्छन्, ‘समानुपातिकमा दोस्रो बनाउने मत हावाबाट आएको होइन। हामीले रातदिन खटेर, आफ्नै स्रोत खर्च गरेर संगठन बनायौं। त्यो आधार तयार पा¥यौं। जनता नयाँ विकल्प खोजिरहेका थिए। हामीले त्यो विकल्पको सन्देश घरदैलोमा पु¥यायौं।’
बालेनको आगमन र ‘बाइपास’को आरोप
बालेनलाई उम्मेदवार बनाउने निर्णयले सुरुमा खासै असन्तुष्टि भएन। कार्यकर्तामा उत्साह नै थियो। त्यो उत्साह कति थियो भन्ने कुरा मनोनयन गर्ने दिन माघ ६ गतेको भिडभाडले पनि प्रष्ट पार्छ। तर, अहिले आएर पुराना नेता कार्यकर्तामा उत्साह मरिसकेको पाइयो। पोखरेल भन्छन्, ‘मलाई टिकट चाहियो भन्ने होइन। तर, हिजो दुःख गरेर पार्टी उकासेकालाई आज शत्रुजस्तो व्यवहार किन गर्नु ? लोकप्रियताका नाममा पुरानलाई ‘बाइपास’ गरेर पार्टी चलाउन खोजिँदैछ। त्यो हामीलाई स्वीकार्य छैन।’
बालेनको कुनै पनि कार्यक्रम, चुनावी अभियान तथा गतिविधिका बारेमा जानकारी नदिनु र निर्णय प्रक्रियाबाट टाढा राखिनुले पुराना नेता कार्यकर्ताको मन दुखेको उनको भनाइ छ। ‘झापा–५ मा चुनाव जित्न सजिलो देखेपछि सरासर काठमाडौंबाट आएर बालेनले सक्रियता बढाएका छन्। भिडभाडको पछि दौडिएका छन्। धेरै पसिना बगाउने र मिहिनेत गर्ने पुरानाहरूलाई ‘बाइपास’ गरिएको छ,’ पोखरेलले भने।
क्षेत्रीय सभापतिको बचाउ र सीमित स्वीकारोक्ति
रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराई बालेनको रणनीतिक शैली आवश्यक भएको तर्क गर्छन्। ‘हल्ला गर्दा भिड लाग्छ। मतदातासँग गहिरो संवाद हुन पाउँदैन। त्यसैले चुपचाप घरदैलोमा निस्कनु भएको हो,’ उनले भने। भट्टराईले बालेनको जित्ने सम्भावना ७० प्रतिशतभन्दा माथि रहेको दाबी गरे। तर, उनले पनि पार्टीभित्रको बढ्दो असन्तुष्टिलाई सामान्य हिसाबले स्वीकार गरे।
‘पुराना साथीहरूलाई समेट्न अझै काम गर्नुपर्ने देखिएको छ। केही कमजोरी भएको हुन सक्छ। पुराना नेता कार्यकर्ताको भावनमा ठेस लागेको हो कि जस्तो भान भइरहेको छ। अब सबै कुरा समेटेर अघि बढ्छौं,’ उनी भन्छन्। भट्टराई पनि केन्द्रबाट धेरै नबोल्नु भनेर आदेश आएको बताए। ‘माथिबाटै हामीलाई धेरै कुरा नबोल्नु भनिएको छ,’ उनी भन्छन्, ‘हाम्रो एकमात्रै उद्देश्य बालेन जिताउनु हो।’ उनको भनाइले पार्टीभित्र निर्णय प्रक्रियामा केन्द्रीकरणसँगै संवाद अभाव रहेको संकेत गर्छ।
भरत खनालको सन्देश
झापा–५ को समीकरणमा अर्को महत्वपूर्ण घटना रास्वपाका क्षेत्रीय प्रतिनिधि परिषद् सदस्य भरत खनालको एमाले प्रवेश हो। उनी बालेनको अभियानमा सक्रिय थिए। तर, उनले एमालेमा प्रवेश गर्दै रास्वपा परित्याग गरे। खनालले नेतृत्वको चरित्र, आर्थिक अपारदर्शिता र पुराना कार्यकर्ताप्रतिको बेवास्तालाई कारण देखाएका छन्। ‘हामीले वैकल्पिक राजनीति भन्दै हिँड्यौं। तर, पार्टी एवं नेताभित्रै समन्वय र पारदर्शिता देखिएन,’ खनाल भन्छन्।
प्रतीकात्मक विवादः रविको तस्बिर
झापा–५ को सम्पर्क कार्यालयमा सभापति रवि लामिछानेको तस्बिर नराखिएको विषयले पनि बहस चर्काएको छ। कार्यालयमा रहेको ब्यानरमा राष्ट्रिय झन्डा ओढेर नमस्कार गरेको बालेनको तस्बिर मात्रै राखिएको छ। तर, संस्थापक सभापति लामिछानेको फोटो छैन। पार्टी कार्यालयहरूमा संस्थापकहरूको फोटो राख्ने अभ्यास छ। रवि पक्षधर एक कार्यकर्ता भन्छन्, ‘रास्वपाको पहिचान रविसँग जोडिएको हो। संस्थापक सभापतिको तस्बिर हटाएर नयाँ अनुहारलाई मात्र केन्द्रमा राख्नु गलत सन्देश हो।’
बालेन पक्षधर भने, ‘व्यक्ति पूजाको अन्त्य’ र ‘नयाँ संस्कार’को तर्क गर्छन्।’ विश्लेषकहरूको भनाइमा पनि प्रतीकात्मक राजनीति सन्देशमूलक हुन्छ। यसले कार्यकर्ताको मनोविज्ञानमा प्रभाव पार्ने उनीहरूको भनाइ छ।
यस्तो छ विश्लेषण
राजनीतिक विश्लेषक गिरीश भट्टराई भन्छन्, ‘समानुपातिक मत दलप्रतिको विश्वास हो। झापा–५ मा दोस्रो हुनु भनेको ग्रासरुटमा बलियो आधार हुनु हो। यदि त्यो आधार निर्माण गर्नेहरू नै निराश भए भने लोकप्रियता मात्र पर्याप्त हुँदैन।’ उनका अनुसार मौन असहयोगले पनि परिणाम बदल्न सक्छ। ‘चुनाव जित्न संगठनात्मक ऊर्जा अनिवार्य हुन्छ पुरानालाई ‘बाइपास’ गर्नु स्वयं उम्मेदवारका लागि घातक हुन सक्छ,’ भट्टराईले भने।
अर्का राजनीतिक विश्लेषक एवं उपप्राध्यापक नवराज पाण्डे उम्मेदवार चयन दलको अधिकार भएको बताउँछन्। तर, प्रतिनिधित्व प्रभावकारी हुन स्थानीय सन्दर्भ बुझ्नु जरुरी रहेको उनको भनाइ छ। ‘लोकप्रियता र संगठनबीच सन्तुलन मिलेन भने परिणाम उल्टिन सक्छ। दलभित्र संवादको अभाव दीर्घकालीन रूपमा हानिकारक हुन्छ,’ पाण्डेले भने।
प्रतिक्रिया दिनुहोस !