भोजपुरका गाउँ प्रचार सामग्रीले भरिभराउ
भोजपुर : निर्वाचन नजिकिँदै जाँदा भोजपुरमा चुनाव प्रचारप्रसार तीव्र बन्दै गएको छ। राजनीतिक दल र उम्मेदवारहरू घरदैलो,चुनावी सभा,सम्मेलन र सामाजिक सञ्जालमार्फत भोट माग्न व्यस्त छन्। साथै प्रचार शैलीले बजार,चोक र गाउँ बस्तीमा टाँसिएका पोस्टर,झुन्ड्याइएका झन्डा र गुडाइएका माइकिङ गाडीको संख्यामै प्रतिस्पर्धाको सूचक बन्न थालेको छ।
भोजपुर सदरमुकाम आसपासका क्षेत्रदेखि ग्रामीण बस्तीसमेत चुनावी रंगले रंगिएछन्। सडक किनार,बिजुलीका पोल,सार्वजनिक भवनका पर्खाल र निजी घरका गेटमा दलका चुनावी पर्चा, झन्डा र ब्यानर झुन्ड्याइएका छन्। कतिपय स्थानमा एउटै पोलमा दुई–तीन दलका पोस्टर टाँसिएको छ। यसले चुनावी सरगर्मीमात्र होइन,प्रचारसामग्रीमा भएको ‘होडबाजी’लाई पनि प्रस्ट पारेको छ।
पछिल्ला दिनमा फ्लेक्स प्रिन्ट,ब्यानर,पर्चा र स्टिकरको माग ह्वात्तै बढेको छ। ‘अघिल्ला चुनावभन्दा यसपटक दल र उम्मेदवारका पोस्टर र फ्लेक्स धेरै छापिएको छ,त्यसमा पनि डिजिटलाइज धेरै छन्,प्रचारप्रसारका सामग्रीहरूको काम धेरै आएको छ’,स्थानीय सिद्धकाली प्रेस अफसेटका व्यवसायी सन्तोष खड्काले बताए।
दलहरूबीच प्रचार सामग्रीमा देखिएको प्रतिस्पर्धाले बजार तातिएको भए पनि सार्वजनिक सौन्दर्य र व्यवस्थापनमा चुनौती थपिएको स्थानीयको गुनासो छ। भोजपुर नगरपालिका-११,का स्थानीय पर्शुराम ओझाले भने,‘चुनाव त आयो तर सार्वजनिक स्थलहरूको सौन्दर्यतामा आँच आएको छ,सबै चुनावी पर्चाहरूले रंगिएका छन्,दुईचार दिनका लागि चुनाव प्रचारप्रसारभन्दा पनि जथाभावी फोहोरपन देखियो।’
ग्रामीण भेगमा माइकिङ गाडीको आवाज बिहानदेखि बेलुकासम्म घन्किरहन्छ। कतिपय स्थानमा एउटै दिन फरक–फरक दलका गाडीले पालैपालो प्रचार गर्दा सर्वसाधारणलाई असहज हुने गरेको छ। विद्यालय आसपास र स्वास्थ्य संस्था नजिक माइकिङ कम गर्नुपर्ने माग उठे पनि व्यवहारमा त्यसको पालना पूर्ण रूपमा भएको देखिँदैन।
निर्वाचन आचारसंहिताले प्रचार सामग्री टाँस्दा सार्वजनिक सम्पत्ति बिगार्न नपाइने,तोकिएको स्थानबाहेक पोस्टर टाँस्न नहुने र ध्वनि प्रदूषण नगर्नुपर्ने व्यवस्था गरेको छ। तर,व्यवहारमा यसको प्रभावकारी अनुगमन चुनौतीपूर्ण देखिएको छ। सरोकारवाला निकायले आचारसंहिता पालना गर्न आग्रह गरिरहँदा दलहरूबीच एकआपसमा देखासिकी गर्ने प्रतिस्पर्धा भने कम भएको छैन। स्थानीय अगुवाहरूका अनुसार चुनाव प्रचार सामग्रीमा भएको खर्चिलो प्रतिस्पर्धाले चुनावलाई महँगो बनाउनेमात्र होइन,मतदातामा नकारात्मक सन्देश पनि दिन सक्छ। ‘नीति र कार्यक्रमभन्दा ब्यानरको आकार ठूलो हुनु प्रतिस्पर्धा हुनु राम्रो संकेत होइन,’स्थानीय बुद्धिजीवी कमल राईको भने।
भोजपुरमा चुनावी माहोल उत्साहपूर्ण बन्दै जाँदा प्रचार सामग्रीको होडबाजी पनि चर्किंदै गएको छ। प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा यसपटक १२ दल चुनावमा सामेल भएका छन्। भोजपुरबाट यसपटक पूर्वमुख्यमन्त्री शेरधन राईसँगै अजम्बर राई काङमाङ,ध्रुवराज राई,बालकृष्ण थापा,रमेश ओझाको नाम चर्चामा छ।
निकै रस्साकस्सी देखिएको भोजपुरमा यसपटक एमालेका सचिव शेरधन राई हेभिवेट उम्मेदवार हुन्। उनीसँग कांग्रेसका बालकृष्ण,नेकपाका अजम्बर,श्रम संस्कृतिका ध्रुवराज र रास्वपाका रमेश ओझाबीच कडा चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार भोजपुरमा आगामी निर्वाचनमा कुल १ लाख २५ हजार ७ सय ६६ जना मतदाता छन्।
प्रतिक्रिया दिनुहोस !