कालिञ्चोक र शैलुङमा हिमपात, पर्यटक र व्यवसायी उत्साहित
दोलखा : दोलखाको कालिञ्चोक र शैलुङ क्षेत्रमा मंगलबार दिउँसोबाट दोस्रो पटक हिमपात सुरु भएको छ। तल्लो क्षेत्रमा हिउँदे वर्षा भएको छ। लामो समयपछि माथिल्लो क्षेत्रमा हिउँ र तल्लो भेगमा हिउँदे वर्षा भएको हो।
कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमा हिमपात सुरु भएपछि दर्शन गर्न गएका भक्तजनहरू खुसी भएका छन्। कालिञ्चोक दर्शन र प्राकृतिक क्षेत्र भ्रमणका लागि कालिञ्चोक पुगेका पर्यटकहरू हिउँमा रमाइरहेका कुरीमा रहेको होटल व्यवसायीहरूको भनाइ छ। गत माघ १५ गते हल्का हिमपात भएको ३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा फागुन १२ गते दिउँसोबाट हिमपात भइरहेको छ।
दोलखाको महत्त्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र शैलुङमा पनि मंगलबारदेखि हिउँ परी रहेको स्थानीयले बताएका छन्। ३१४६ मिटर उचाइमा रहेको शैलुङमा सयवटा थुम्का रहेका छन्। जिल्लाका पर्यटकीय स्थल कालिञ्चोक, शैलुङ, चेर्दुङ, खरीढुंगा, हनुमन्तेलगायतका स्थानहरूमा हिमपात हुँदा पर्यटकहरूको वृद्धि हुने गर्दछ।
हिमपात नहुँदा हिमाली क्षेत्रका कृषक तथा होटेल व्यवसायी चिन्तित बनेका थिए। हिउँदे वर्षा भएसँगै किसानले लगाएको बालीमा केही भए पनि राहत भएको छ। हिउँमा रमाउन आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड लाग्ने गर्दछ। हिमपात नुहुँदा पर्यटकको आवागमन नहुने भएकाले हिमाली क्षेत्रका कृषक तथा होटेल व्यवसायीहरू हिउँ परेपछि खुसी भएका छन्। माथिल्लो क्षेत्रमा आलु किसानमा खुसियाली छाएको छ।
खडेरीले तल्लो क्षेत्रमा लगाएको गहुँलगायत बाली खेत बारीमै डढ्न थालेको थियो। माथिल्लो क्षेत्रमा रोपेको आलु उम्रन पाएका थिएनन्। ढिलै भए पनि हिउँदे वर्षा हुँदा किसानहरू हर्षित भएका छन्। प्राकृतिक सुन्दरताले भरिपूर्ण कालिञ्चोक हिउँदको समय होस या वर्षयाम जुनसुकै समयमा पनि सुन्दर देखिन्छ।
सदरमुकाम चरिकोटबाट १८ किलोमिटर दूरीमा रहेको र राजधानी काठमाडौंबाट सबैभन्दा नजिकको सुन्दर धार्मिक एवं प्राकृतिक पर्यटकीय केन्द्र कालिञ्चोकले हरेक मौसममा फरक-फरक सुन्दरता दिने हुँदा पर्यटकको गन्तव्य स्थल बन्न पुगेको छ।
कालिञ्चोकबाट गौरीशंकर, गणेशलगायत हिमशृंखला देख्न सकिन्छ। पहाडी टाकुरामा रहेको कालिञ्चोकमा जलकुण्ड पनि रहेको छ। यहाँको मुख्य विशेषता जलकुण्ड हो। जलकुण्डमा कतैबाट पानी आउने ठाउँ देखिँदैन तर हिउँदे वर्षा जुनसुकै समयमा पनि कुण्डमा पानी रहिरहन्छ। यहाँको दर्शन गर्नाले सम्पूर्ण विपत् टरेर जाने किंवदन्ती छ।
प्रतिक्रिया दिनुहोस !