रहस्यमय राजनीतिक पाठशालामा नेपाल
वैकल्पिक राजनीतिक शक्तिको रूपमा उभिने प्रयत्नमा रहेका नयाँ आवाजहरूले जनताका बीचमा आफूलाई प्रमाणित गर्न त बाँकी नै छ। तर अब नाम,झण्डा र इतिहासले मात्र राजनीति जीवन्त हुन सक्दैन। जनताका आवाजहरूको प्रतिनिधित्व र अपेक्षाहरूको न्यायपूर्ण सम्बोधनतर्फ लाग्नुपर्छ भन्ने चुनौती पुराना स्थापित दलहरूलाई दिएको छ ।
नेपालको राजनीतिक पाठशालामा आज शान्ति होइन सत्ता पढाइन्छ’भन्ने अभिव्यक्तिले वर्तमान नेपालको राजनीतिक यथार्थलाई गहन रूपमा चित्रण गर्दछ। राजनीति भनेको केवल सरकार बनाउने प्रक्रिया होइन।
राजनीति भनेको समाजलाई दिशा दिने शक्ति हो। राजनीति जनताको आशा,भरोसा र भविष्यको संरचना हो। राजनीति सत्तामा मात्र सीमित भयो भने त्यो जनताको आशा होइन केवल पदको प्रतिस्पर्धामात्र बन्छ। नेपालको राजनीतिमा धेरैजसो लोकतान्त्रिक अभ्यासभन्दा पनि प्रयोगशालाको पाठशाला बनेको देखिन्छ। जहाँ राजनीति सिद्धान्त होइन,शक्ति,स्वार्थको अभ्यास गराइन्छ।
राजनीति साधारणतया जनसेवा,सहमति,समन्वय र दीर्घकालीन सामाजिक रूपान्तरणको माध्यम हुनुपर्ने हो। तर यहाँ अंकगणितको हिसाबले विचारभन्दा गठबन्धन महत्वपूर्ण बन्ने गरेको छ। राजनीतिक पाठशालामा पढाइने विषयवस्तु आज शान्ति होइन सत्ता पढाइन्छ। यहाँ राजनीतिक संस्कार र आदर्शभन्दा अंकगणित पढाइन्छ। सहमतिभन्दा स्वार्थ र जनताभन्दा सत्ता सुरक्षित गर्न सिकाइन्छ। जव राजनीति जनताको जीवनभन्दा सत्ताको खेलमा सीमित हुन्छ तव लोकतन्त्र त बाँच्छ तर जनताको विश्वास मर्दै जान्छ। परिणामस्वरूप आजको नेपालको राजनीतिक अवस्था सिर्जित भएको छ। यहाँ शान्ति उत्तीर्ण हुन गाह्रो छ। राजनीतिक शक्ति भने बिना परीक्षा नै प्रथम श्रेणीमा उत्तीर्ण हुन्छन्। नेपालको राजनीतिमा आज विचारको प्रतिस्पर्धा होइन सत्ताको तालिम बनेको छ। जहाँ जनताका पाठ्यपुस्तक होइनन् केवल प्रयोगात्मक सामग्रीहरू पढाइन्छन्।
अब प्रश्न सोधिँदैछ। सुशासन खै ? रोजगार खै ? समृद्ध नेपाल खै ? युवा लक्षित कार्यक्रम खै ? भ्रष्टाचार निवारण खै ? आदि जस्ता कुराहरू जनताका मुख्य प्रश्न रहेका छन्। यहाँ चुनाव हुन्छ,संसद् बस्छ,सरकार बन्छ र ढल्छ। तर यी सबै औपचारिकता मात्र। राजनीति लामो समयसम्म जनताको अपेक्षाबाट टाढा रहँदै आएको यथार्थ नकार्न सकिँदैन। शान्ति प्रक्रियापछि नेपाल जनमुखी शासनतर्फ उन्मुख हुनेछ भन्ने आशा गरियो,तर व्यवहारमा राजनीति सत्ता केन्द्रित रह्यो। यही कारण नेपाल एउटा रहस्यमय राजनीतिक पाठशाला जस्तै बन्यो। जहाँ जनसेवा होइन,सत्ता कसरी प्राप्त गर्ने र कसरी जोगाउने भन्ने मात्र पढाइन्थ्यो। यो पाठशालामा पाठ्यक्रम स्पष्ट थियो।
सिद्धान्तभन्दा सम्झौता,नीतिभन्दा गठबन्धन,जनमतभन्दा शक्ति सन्तुलन छ। पछिल्ला केही वर्षमा यही पाठशालाभित्र नयाँ विद्यार्थीहरू प्रवेश गरेका छन्,जसले पुरानो पाठ्यक्रमलाई चुनौती दिइरहेका छन्। नेपालको राजनीति लामो समयसम्म सीमित पात्र,सीमित दल र सीमित सोचको वरिपरि घुमिरह्यो। सरकार गठन र विघटनलाई लोकतन्त्रको अभ्यास भनेर व्याख्या गरियो,तर यसले जनजीवनमा परिर्वतन,राजनीतिमा स्थायित्व ल्याउन सकेन। जनताको समस्या उस्तै रह्यो।
रोजगारी,शिक्षा, स्वास्थ्य,सुशासन र आर्थिक अवसरका मुद्दा भाषणमा सीमित भए। जनविश्वास गुम्दै गयो। विशेषगरी युवापुस्ता राजनीतिप्रति उदासीन होइन,असन्तुष्ट बन्दै गयो। यही असन्तुष्टिले नयाँ राजनीतिक परिवर्तनको आधार तयार हुँदै गयो। पछिल्ला राजनीतिक घटनाक्रमले देखाएको कुरा के हो भने परिवर्तन केवल उमेर वा अनुहारको प्रश्न होइन। परिवर्तन सोच, शैली, जवाफदेहिता र जिम्मेवारीको प्रश्न हो।
राजनीतिक दलले जनताका मुद्दाहरूको नेतृत्व गर्न सकेनन् भने जनताले रोज्ने विकल्प कुनै पनि रूपमा आउन सक्छ भन्ने कुरा पछिल्ला निर्वाचन परिणामले देखाइसकेको छ। अब पनि देखाउनेछ। राष्ट्रिय राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिका नाममा नयाँ पार्टीको उदयले अझ ठूलो सन्देश दियो। नागरिक असन्तुष्टि अब मतमा रूपान्तरण हुँदैछ। जनताले प्रश्न गर्न थालेका छन्, जवाफ खोज्न थालेका छन्। यदि नेतृत्व इमानदार र सक्षम भयो भने राज्यका संरचनाहरूले काम गर्न सक्छन्। यही विश्वासले राजनीतिलाई पनि प्रश्न गर्यो। यदि एक संस्थाले काम गर्न सक्छ भने सरकार किन सक्दैन ?
परिवर्तनका आवाजहरू अब राजधानीमा मात्र सीमित छैन। मोफसलमा दलहरूलाई चुनौती दिँदै स्वतन्त्रको उदयले प्रमाणित गरिसकेको छ। जनताले काममा स्पष्टता र पारदर्शिता खोज्न थालेका छन्। परिवर्तनका नाममा उठिरहेका आवाजहरूमा स्वरहरू थपिन थालेका छन। यी उठेका,उठ्दै गरेका र उठने क्रममा रहेका सामूहिक असन्तुष्टिहरूको प्रतिनिधित्व गर्ने स्वरहरू संगठित हुने क्रममा रहेको देखिन्छ। विचार र मुद्दाका आधारमा ती स्वरहरू एउटै छातामुनि अटाउन नसके पनि यी आवाजहरूले नेपाली राजनीतिलाई शुद्धीकरण गर्ने कार्यको थालनी गरेको छ भन्दा अतिशयोक्ति नहोला।
वैकल्पिक राजनीतिक शक्तिको रूपमा उभिने प्रयत्नमा रहेका नयाँ आवाजहरूले जनताका बीचमा आफूलाई प्रमाणित गर्न त बाँकी नै छ। तर अब नाम,झण्डा र इतिहासले मात्र राजनीति जीवन्त हुन सक्दैन। जनताका आवाजहरूको प्रतिनिधित्व र अपेक्षाहरूको न्यायपूर्ण सम्बोधनतर्फ लाग्नुपर्छ भन्ने चुनौती पुराना स्थापित दलहरूलाई दिएको छ। अहिले पुराना दलहरू सुधारको कुरा गर्न थालेका छन्,आन्तरिक लोकतन्त्रको चर्चा गर्न थालेका छन्,यद्यपि व्यवहार अझै कमजोर छ।
नयाँ राजनीति सहज छैन। अनुभवको कमी,आन्तरिक असहमति,राज्य संयन्त्रको प्रतिरोध र जनअपेक्षाको चापको राप ठूलो चुनौती हो। तर यथार्थ के हो भने पुरानो राजनीतिले यी चुनौती पार गरेर नै देशलाई यो अवस्थामा ल्याएको हो। आज जनता प्रश्न गर्न सक्छन् आफ्ना असन्तुष्टिहरू संगठित अथवा असंगठित रूपमा व्यक्त गर्न सक्छन्। कतिपय अवस्थामा सत्तालाई आफ्ना कुरा सुन्न र मान्न बाध्य पार्न सक्ने अवस्थामा छन्।
आम नागरिक भित्र उम्रिएको यो चेतना र आफ्ना भावना खुला रूपले राख्न पाउने अवस्था छ। तत्काल केही दिनको प्रयासले मात्र बनेको भने होइन। पुराना मूलधारका राजनीतिक दल भनिएकाहरूको निरन्तर संघर्षको प्रतिफल हो। परिवर्तनका पक्षमा जनमत छ भन्दैमा यी कुराहरूलाई नजरअन्दाज गरियो भने अर्को दुर्घटना नहोला भन्न सकिन्न। तर अब जोखिम नलिने हो भने परिवर्तन सम्भव छैन।
युवाहरूले राजनीति केवल आलोचना गरेर होइन,प्रत्यक्ष सहभागिताबाट बदल्ने प्रयास गरिरहेका छन्। पुराना दलहरूले पनि युवाहरूको भावना र अपेक्षाहरूको सम्बोधन गर्न कन्जुस्याँई गर्नु हुन्न। यो पुस्ता हाम्रो देशको भविष्य हो भोलिको नेतृत्व हो। युवा पुस्ताले पनि परिवर्तनका नाममा पुरानालाई निषेध गरेर अगाडि बढ्नु सुखद नहुन सक्छ।
नेपाल अझै पनि एउटा राजनीतिक पाठशालामै छ। विश्वले आफ्नै तरिकाले अध्ययन गर्दैछ। पूर्व,पश्चिम,उत्तर र दक्षिणका छिमेकीहरूको पनि आफ्नै अनुकूलताको विषयवस्तु छन्। तर अब त्यहाँ पुरानो पाठ्यक्रममात्र पढाइँदैन। प्रश्न सोधिँदैछ। बहस हुँदैछ। विकल्प खोजिँदैछ। सत्तामात्र होइन,प्रणालीको पुनरावलोकन भइरहेको छ।
यो परिवर्तन पूर्ण छैन,न त छिटो नै हुनेछ। तर दिशा परिवर्तनउन्मुख भएको स्पष्ट छ। राजनीतिमा नयाँ ऊर्जा प्रवेश गरेको छ। जनताले राजनीति फर्केर हेर्न थालेका छन्। आम जनतामा देश र प्रणालीप्रतिको विषयमा लक्षित भइसकेका छन्। चेतनाको स्तर सकारात्मक रूपमा अगाडि बढ्यो भने निश्चित रूपमा देश सुशासनको बाटोमा अगाडि लम्किन्छ। र दिगो विकासको आधार तयार गर्छ।
आजको सबैभन्दा ठूलो चुनौती के हो भने लोकतन्त्र बाँचेको छ। तर जनविश्वास कमजोर हुँदै गएको छ। विश्वास गुम्यो भने लोकतन्त्रको भवन उभिएको देखिएता पनि भित्रभित्रै जग हल्लिन थाल्छ। शान्ति पढाइएन भन्ने गुनासो थियो। अब सम्भवतः नयाँ पुस्ताले शान्तिसँगै जवाफदेहिता,सुशासन र नागरिक सम्मान पढाउन थालेको छन्। नेपालको राजनीतिक भविष्य अझै लेखिँदैछ। यस पटक त्यो भविष्य धेरै प्रश्न,धेरै चेतना र धेरै सहभागिताबाट बनिरहेको छ। हामी राजनीतिक पाठशालामा मौन विद्यार्थी बन्ने कि लोकतन्त्रको सचेत पहरेदार ? निर्णय हाम्रो हातमा छ।
प्रतिक्रिया दिनुहोस !