पूर्वी पाल्पाको मुहार फेर्ने कांग्रेस उम्मेदवार रानाको संकल्प
शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका महत्वाकांक्षी योजना सार्वजनिक
पाल्पा : नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले पूर्वी पाल्पामा एउटै पार्टीको नेतृत्व रहँदा पनि माटो र जनजीवन सुहाउँदो विकास हुन नसकेको आरोप लगाएका छन ।
आगामी फागुन २१ गते हुने निर्वाचनको शिलशिलामा रम्भाको साठी बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उम्मेदवार रानाले यस पटक जनताले नेपाली कांग्रेसलाई १० हजार बढी मतान्तरले विजयी गराउने दावी गरे । ३७ वटा वडामा घरदैलो सम्पन्न गरिसकेका रानाले सोही अवसरमा आफ्नो विस्तृत ‘संकल्प र प्रतिज्ञापत्र’ पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।
उम्मेदवार रानाले पाल्पा क्षेत्र नं. १ को पौराणिक महत्वको कालीगण्डकी उपत्यका क्षेत्रलाई वैदिक स्मार्ट सिटी बनाउँदै धार्मिक पर्यटनको केन्द्र बनाउने, दर्छा, सिलुवा, पिलुवा, सहलकोट, सुकेकोट, विरकोट, मोहरिया, वाकुमगढी र माथाँगढी जस्ता स्थलहरूलाई ऐतिहासिक गौरव पर्यटन क्षेत्रको रूपमा प्रवद्र्धन गरिने र निस्दी, पूर्वखोला, रम्भा र माथागढी लाई सांस्कृतिक पर्यटकीय केन्द्र बनाइने मेरो संकल्प प्रस्तावमा उल्लेख गरेका छन् ।
कांग्रेस उम्मेदवार रानाले सीताकुण्ड, रामघाट, रामचुलो, टापुधाम, रम्भादेवी, सिद्धबाबा, सत्यवती मन्दिर, मित्याल, रिमिघा लेक, काउलेडाँडा र रानीवास लगायतका दर्जनौँ धार्मिक तथा प्राकृतिकस्थलहरूलाई आधुनिक पर्यटनमैत्री पूर्वाधारको विकास गर्ने प्रतिज्ञापत्रमा उल्लेख गरेका छन् ।
गौरव पर्यटन सडक– आर्यभञ्ज्याङ–हुमिन–ताँहु–विरकोट–जक्कादी–सिलुवा–वेलडाँडा हुँदै रामपुरसम्मको सडकलाई कालोपत्रे गर्ने, सांस्कृतिक पर्यटन रिङरोड, बाँसटारी–कसेनी–रूप्से–देउगिर–रहवास–बहादुरपुर–जल्पा–साठीकोल–पूर्वखोला–ज्यामिरे–मित्याल–मोहरिया हुँदै कालीगण्डकी करिडोर जोड्ने सडक, द्रुर्तमार्ग तराई र पहाड जोड्ने गरी अरुणखोला–जलुके–मित्याल–बेलडाँडा खण्डलाई स्तरवृद्धि गर्ने, गौरव पदयात्रा केलादीदेखि रूपन्देहीको जितगढीसम्म ऐतिहासिक पैदल मार्ग निर्माण गर्ने संकल्पपत्रका उम्मेदवार रानाले उल्लेख गरेका छन् ।
कृषि उत्पादन बढाउन रामपुरफाँट सिँचाइ नहर, हुँगी असेंदीको आँधिखोला जलविधुत आयोजनाको सिँचाइ स्तरउन्नति, गल्धाफाँट, भडेवा र निस्दी धिर्जेलगायतका क्षेत्रमा सिँचाइ आयोजनाहरू तत्काल अगाडि बढाउने उम्मेदवार रानाले प्रतिबद्धता गरेका छन् । आगामी ३ वर्षभित्र क्षेत्रका सबै बस्तीमा अनिवार्य केन्द्रीय प्रसारण लाइन पुर्याई उज्यालो पाल्पा बनाउने रहेको छ । उम्मेदवार रानाले शिक्षा क्षेत्रलाई गुणस्तरीय र रोजगारमूलक बनाउन ‘माटो सुहाउँदो संस्कारसहितको शिक्षा’ को नीति अघि सारेका छन् । कक्षा १२ सम्मको अध्ययनलाई पूर्ण रूपमा निःशुल्क बनाउन नीतिगत पहल गर्ने ।
छोरीहरूलाई प्रोत्साहन गर्न पाल्पाा क्षेत्र नं १ का छात्राहरुलाई निःशुल्क रुपमा पिएचडीसम्मको अध्यनको व्यवस्था मिलाउने, कालीगण्डकी क्षेत्रमा डिजिटल युगको आवश्यकतालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रियस्तरको आईटी कलेज स्थापना गर्ने, सीपमूलक र संस्कारयुक्त पाठ्यक्रममा जोड दिने ‘मेरो संकल्प पत्र’ मा उम्मेदवार रानाले उल्लेख गरेका छन् ।
रामपुर अस्पतालमा आकस्मिक सेवाका लागि ट्रमा सेन्टर र आगलागी जस्ता दुर्घटनाका लागि जलन उपचार केन्द्र स्थापना गर्ने, रामपुर आयुर्वेद औषधालयलाई व्यवस्थित बनाउने, सबै पालिकामा रहेका आधारभूत स्वास्थ्य संस्थाहरूलाई आधुनिक उपकरणसहितको गुणस्तरीय केन्द्रमा रूपान्तरण गर्ने उम्मेदवार रानाले जोड दिए । भ्रष्टाचार विरुद्ध ‘शून्य सहनशीलता’ को नीति लिने बताउँदै उम्मेदवार रानाले युवाहरूका लागि १५ लाखसम्मको विनाधितो स्टार्ट अप कर्जा र वैदेशिक रोजगारीबाट फर्केकाहरूका लागि स्वदेशमै सिप अनुसारको कामको ग्यारेन्टी गर्ने जस्ता लोकप्रिय कार्यक्रमहरू अघि सारेका छन् ।
रानाले संसद् र नागरिकबीच सीधा संवादका लागि प्रत्येक पालिकामा ‘नागरिक संसद संवाद केन्द्र’ स्थापना गर्ने घोषणा गरेका छन्। कार्यक्रममा कांग्रेसका समानुपातिक उम्मेदवार कृष्णप्रसाद अधिकारी, रम्भा गाउँपालिकाका पार्टी सभापति ऋषिराम अर्याल, क्षेत्रीय सभापति झमन राजमगरले पाल्पाा क्षेत्र नं. १ मा नेपाली कांग्रेस जित सुनिश्चित भईसकेको दावी गरे ।
प्रतिक्रिया दिनुहोस !