इलाम–१ मा काजीमान कागतेको विरासत जोगाउने ‘दाउ’

इलाम–१ मा काजीमान कागतेको विरासत जोगाउने ‘दाउ’

इलाम : प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै जाँदा  इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा राजनीतिक गतिविधि तीव्र बनेको छ ।  नेकपा एमालेले यस क्षेत्रबाट काजीमान कागतेलाई उम्मेदवार बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाएको छ । यसअघि नेकपा एमालेले बाजी मारेको इलाम–१ को विरासतलाई जोगाउन काजीमान कम्मर कसेर चुनावी मैदानमा देखिएका छन् । 

उम्मेदवार काजीमान कागते पूर्व कोशी प्रदेशसभा सदस्य हुन् । प्रदेश सांसदका रूपमा रहँदा उनले प्रदेशस्तरीय नीति निर्माण, पूर्वाधार विकास र कृषि–पर्यटन प्रवर्द्धनका विषयमा सक्रिय भूमिका निर्वाह गरेको दावी गर्ने गरेका छन् । उनी जनतासँग प्रत्यक्ष जोडिएका, स्थानीय मुद्दामा निरन्तर आवाज उठाउने नेताका रूपमा परिचित छन् । गत स्थानीय तह निर्वाचनमा उनले रणबहादुर राईसँग सूर्योदय नगरपालिकाको मेयर पदमा प्रतिष्पर्धा गरे पनि पराजित भएका थिए । त्यसपछि पनि उनी निरन्तर जनसम्पर्कमा सक्रिय रहँदै स्थानीय विकास एजेण्डामा लागिरहेका छन् ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं. १ बाट निर्वाचित एमाले सांसदले पूरा कार्यकाल काम गर्न नपाए पनि चिया, दूध, ग्रामीण सडक, मेची राजमार्ग स्तरोन्नति, कृषि, पर्यटन र वातावरणका विषय संसदमा उठाएको उल्लेख गर्दै अधुरा योजना पूरा गर्ने प्रतिबद्धता कागतेको छ ।

काजीमान कागतेले सार्वजनिक गरेको १५ बुँदे प्रतिबद्धतामा स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । भालुखोप कटुसे–खुदुनाबारी रणनीतिक सडक आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने, विभिन्न वैकल्पिक सहायक राजमार्गलाई पूर्णता दिने, सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने र पाँच वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखिएको छ ।

कृषि क्षेत्रलाई इलामको पहिचान र अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि सार्दै इलाम चियालाई भौगोलिक संकेत (न्क्ष्) का आधारमा इलाम टी–ब्राण्डमार्फत विश्व बजारमा प्रवर्द्धन गर्ने, अलैंची जोन विस्तार गर्ने, दुग्ध उद्योगलाई राष्ट्रिय प्याकेजमा समेट्ने, माई नगरपालिकामा कफी खेती विस्तार गर्ने तथा जडीबुटी विशेष क्षेत्र घोषणा गर्ने योजना प्रस्तुत गरिएको छ । पुष्प खेती व्यावसायिकीकरण र नगदेबाली निर्यातमा देखिएका समस्याको समाधान खोजिने उल्लेख छ ।

पर्यटनतर्फ छिन्टापु, सन्दकपुर, श्रीअन्तु, कन्याम, झण्डीडाँडालगायत क्षेत्रलाई समेटेर एकीकृत पर्यटन अवधारणा अघि सारिने, कन्याममा रात्रिकालीन पर्यटन प्रवर्द्धन गरिने र धार्मिक–सांस्कृतिक क्षेत्रलाई जोडेर सांस्कृतिक पर्यटन विकास गरिने योजना छ । कृषि र पर्यटनलाई रोजगारीसँग जोडेर युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी, भूमि समस्या समाधान, सुशासन र डिजिटल कनेक्टिभिटी विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ । विपद् जोखिम न्यूनीकरण, बाढी–पहिरोपीडित संरचनाको पुनर्निर्माण र सीमावर्ती क्षेत्रमा वातावरण संरक्षण कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । भारतको पश्चिम बंगालस्थित सिंहलिला राष्ट्रिय निकुञ्जसँग जोडिएको क्षेत्रलाई प्राकृतिक सम्पदा क्षेत्रका रूपमा विकास गर्न पहल गरिने उल्लेख छ ।

इलाम चिया, दुग्ध उत्पादन र पर्यटनका कारण राष्ट्रिय पहिचानको केन्द्रका रूपमा स्थापित भइसकेको सन्दर्भमा त्यसलाई अन्तर्राष्ट्रियकरणतर्फ अघि बढाउने लक्ष्यसहित एमाले चुनावी मैदानमा उत्रिएको छ । प्रतिनिधिसभा निर्वाचन २०८२ मा इलाम क्षेत्र नं. १ बाट उम्मेदवार काजीमान कागतेले विकास, स्थायित्व र समृद्धिको एजेण्डासहित मतदातासँग मत मागिरहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.