परदेशी छोरालाई बुढो बाउको चिठी

परदेशी छोरालाई बुढो बाउको चिठी

प्रिय छोरा! हाम्रो मुटुको टुक्रा ठुले!
हामी बुढा बाउआमाको तर्फबाट सात समुद्रपारिबाट मनभरि माया, आशीर्वाद र सम्झना।
अहिले प्रविधिले सजिलो बनाइदिएको छ। तिमीहरूको मुख हेरेरै कुरा गर्न पाइन्छ। अस्ति बेलुका तँसँग पारिवारिकसँगै केही राजनीतिक कुरा पनि भयो। त्यस संवादमा तैंले बोलेका केही कुराले मन अमिलो बनायो। त्यसैले आज विस्तारमा यो चिठी लेख्दैछु बाबु।

नरिसा है ठुले! किन हो किन, सानैदेखि तँ ठुस्किँदा र रिसाउँदा मेरो मन सारै नै कुँडिन्छ। ठुले, तँ सम्झिन्छस् ? तैंले विदेश जान गरेको रहर, अनि मैले ‘यहीँ केही गर छोरा’ भन्दै ‘नजा, नजा’ भनेर कैयौं पटक गरेको अनुरोध। तर तैंले ‘जान्छु बा, केही गरेर देखाउँछु’ भन्दै जिद्दी गरिरहिस्। यसो तेरो अनुहार र आँखा नियालेँ। तेरो आँखामा उत्साह अनि सपनाको चमक थियो, मेरो मनमा चिन्ताको बादल। आखिर तेरो जिद्दी अघि मेरो केही लागेन। थाहा छ छोरा, तँ विदेश जाने दिन मलाई आकाश खसेर किचेझैं भएको थियो। विमानस्थलमा तेरो हात समातेर उभिँदा, मेरो हात कति काँपिरहेको थियो अनि तँसँग अँगालो मारेको बेला मेरो मन कति भक्कानियो, त्यसको बयान यहाँ गर्न सक्दिनँ।

तँलाई थाहा छ बाबु, तँ जुन घरमा जन्मिस् नि, त्यो सजिलै बनेको होइन। तेरी आमालाई भर्खरै बिहे गरेर ल्याएको थिएँ। पहाडमा मास्टरी पेसामा थिएँ। जसोतसो जीवन चलेकै थियो। तर तत्कालीन शासकको अन्याय, अत्याचार र दमनको विरोधमा आवाज उठाउँदा जागिरबाट हात धुनुपर्‍यो। हुँदाहुँदा गाउँमा पनि उनीहरूले टिकीखान दिएनन्, र हामी मधेस झर्न बाध्य भयौं। मधेसमा पनि त्यतिखेरका शासकहरूसँग ज्यानको बाजी थापेर दुःखसँग पौठेजोरी खेल्दै झोडाको बीचमा जोडेको जग्गा हो यो। जहाँ तिमीहरूले पहिलो पाइला टेक्यौ, जुन आँगनमा खेलेर हुर्कियौ, त्यो तेरा बाउआमाको संघर्ष र साहसले मलजल गरेको अनि पसिनाले सिञ्चिएको ठाउँ हो बाबु। त्यसको पुर्जा पनि तैंले अस्ति पुराना र काम नलाग्ने भनेका पार्टीका नेताले दिलाएका थिए। त्यसपछि दुःख र संघर्ष गर्दै डाँडाको खेत जोड्यौं, बाँसघारीको कित्ता जोड्यौं, खोलापारिको जग्गा पनि जोड्यौं। अहिले हामीलाई सबै कुरा पुगिसरी छ बाबु। मात्र तिमीहरू साथमा छैनौ।

तँलाई विदेश पठाउन पनि त कहाँ त्यति सजिलो थियो र ? आफूसँग पुग्ने पैसा थिएन। बाँसघारी कित्ता बेचें र डाँडाको खेत बन्धकी राखेँ। लैनो भैंसी बेचेँ। आमाले आफ्ना सुनका गहना फुकालिन्। जसोतसो उता जाने खर्चको बन्दोबस्तो गरेर तँलाई विदेश पठायौं। तँ गएपछि हामी धेरै रात सुत्‍न सकेनौं बाबु। हामीले यही देशमा नङग्रा खियायौं, मधेसको चर्को घाममा डढ्यौं, दर्के पानीमा रुझ्यौं, कहिलेकाहीँ त भोकै पनि सुत्यौं। राति निद्राको ठाउँमा मैले तँलाई काँधमा बोकेर मेलामा लगेको दिनदेखि तँलाई ज्वरो आउँदा तेरी आमाले रातभरि पानीपट्टी गरेका दिनहरू आँखामा झलझली घुमिरहे। त्यसमाथि ऋण कसरी तिर्ने ? ब्याज कसरी बुझाउने ? चिन्ता र छटपटीमै रात बिते। म त २–४ दिनमा सम्हालिएँ, तर तेरी आमालाई सम्हालिन महिनौं लाग्यो ठुले। तर त्यो बेला एउटा आशा थियो, हाम्रो छोराले सपना बोकेर गएको छ, पक्कै केही गर्छ। त्यही आशाले हामी बाँच्यौं बाबु। आज तेरो कमाइले घरको छाना फेरिएको छ, सानो भाइको पढाइ चलेको छ, बहिनीको कलेजको शुल्क तिरेको छ। यसमा हामीलाई गर्व छ।

देश अहिले चुनावमय भएको छ। यही मेसोमा अस्ति हामी बाउछोरा बीचमा राजनीतिक गफ पनि भए। मलाई त बाउ छोराबीच राजनीतिक गफ गर्ने चाहना पनि थिएन। तैंले नै कुरा झिकिस्। तँ भन्दै थिइस् छोरा, फलाना फलानाले देश बर्बाद पारे। अब चुपचाप फलाना फलानालाई भोट दिनू अनि तोकेरै एक अमुक दलको चुनाव चिह्नमा भोट हाल्नु भनेर। तैंले आमालाई पनि अलिक ठूलै स्वरमा थर्काउँदै थिइस्। आमालाई भन्दैथिइस्, ‘झोले र मासुभातेले देश बिगारे, अब भोट बदल्नुस्।’

अनि बाबु, के हिजो तेरा बाउ–आमा पनि झोले र मासुभाते नै थियौं त ? कि अमुक चिह्नमा भोट हाल्दा मात्र विद्वान् र अरूमा भोट हाल्दा चाहिँ झोले र मासुभाते कहलाउने हो ? 

म पनि त एक राजनीतिक व्यक्ति हो छोरा। पञ्चायतविरुद्धको आन्दोलन र संघर्षबाट हुर्केको। आज पनि सहीलाई सही र गलतलाई गलत भन्न सक्ने चेत कायम नै राखेको छु। छोरा तँ अहिले हौवाको पछि लागेर कुदिरहँदा के बुझ्नु जरुरी छ भने हिजो ज्यानको बाजी थापेर आजको राजनीतिक परिवर्तन ल्याउनेहरू ती पुरानै थिए। पक्कै हो, उनीहरूले जनअपेक्षाअनुसार शासन सञ्चालन गर्न सकेनन्। बुढो र थाकेको काँध फेर्न सकेनन्। गल्ती गर्नेले सजाय पाउनुपर्छ, जनताले पक्कै दिन्छन् तर यसको अर्थ विगतका सबै कुरा अस्वीकार गर्नु र नयाँ भनिएकाहरू सबै दूधले नुहाएका छन् भन्ने भाष्य सिर्जना गर्नु होइन बाबु। सात समुद्रपारि बसेर च्याउसरी उम्रिएका युट्युबका कुरा सुनेर ‘सबै पुराना खराब र सबै नयाँ असल’ भन्ने चेतना निर्माण गर्नु ठीक होइन छोरा। पुरानामा पनि धेरै असल छन्, नयाँमा पनि धेरै खराब छन्।

अस्ति तल्लाघरे साइँला काकाको छोराले त ‘फलानो चिह्नमा भोट नहाले म नेपाल नै आउँदिनँ, तिमीहरूलाई बाउआमा पनि भन्दिनँ’ भनेछ। बिचरा हाम्रोमा आएर धेरैबेर बिलौना गर्‍यो। यो सुन्दा मेरो मन चसक्क भयो छोरा। पार्टी केही होइन, चिह्न केही होइन। झन्डा, रङ, नारा यी सबै समयसँगै बदलिन्छन्। तर हामी बाउआमा र छोराको सम्बन्ध बदलिनु हुँदैन। परिवारको माया, ममता र अपनत्व बदलिनु हुँदैन। यो सम्बन्ध कुनै पार्टीको घोषणापत्रले लेखेको होइन, कुनै नेताले बनाएको होइन। यो सम्बन्ध त रगतले जोडिएको अनि आमाको पेटबाट सुरु भएको हो बाबु।

म परिवर्तनको विरोधी हुँदै होइन बाबु। म पनि आफूलाई परिवर्तनकारी र क्रान्तिकारी मान्छु। असललाई असल र खराबलाई खराब भन्दै आएको छु। यहाँ बसेर राम्रो गर्नेलाई हौसला दिनुपर्छ, होस्टेमा हैंसे गर्नैपर्छ। आलोचना गर, तर रचनात्मक गर। देशको खराबीमात्र होइन, के गर्न सकिन्छ त्यो पनि सोच न। उरन्ठेउलो भिडले मात्र देशको मुहार फेर्ने कुरा सम्भव हुँदैन छोरा। बुढो पुस्ताको अनुभव र परिपक्वता, प्रौढ पुस्ताको बुद्धि, विवेक, ज्ञान अनि युवा पुस्ताको ऊर्जा र साहस सबै एकै ठाउँमा मिसाउन सकेमात्र देश विकासको पथमा लम्केला। 

संसार अहिले एउटै सहर जस्तो भएको छ। आफ्नो राम्रो व्यवस्थाका लागि संसारका विभिन्न देशका मानिसहरू सुविधा सम्पन्न देशमा बसाइँ सरेका छन्। विदेश जानु गलत होइन। प्रगति गर्नु नराम्रो होइन। तर प्रगतिको नाममा आफ्नै जरा बिर्सनु पीडादायी हुन्छ। कुनै चुनाव चिह्नमा भोट फेर्दैमा केही हुँदैन बाबु, पहिले सोच फेर्नुपर्छ। सोच बदलियो भने समाज बदलिन्छ, चिह्न बदलिँदैमा देश बदलिँदैन। विचार फरक हुन सक्छ, पिँढी फरक हुन सक्छ। तर राजनीतिका नाममा सम्बन्ध टुट्नु हुँदैन। नयाँ नयाँ राजनीतिक परिवेश आउँछन् जान्छन्। नेताहरू कोही उठ्छन्, कोही गिर्छन्। सरकार फेरिन्छ। तर बाउआमा फेरिँदैनन् छोरा।

विकसित देशमा गएका छौ, त्यहाँको विकास कसरी भयो त्यो राम्ररी बुझ, तिमीहरूले त्यहाँ सिकेको प्रविधि, सीप र अनुशासन यहाँ कसरी प्रयोग गर्न सकिन्छ त्यो सोच। विदेशले अवसर दिन्छ, तर पहिचान दिँदैन बाबु। देशप्रेम भनेको सामाजिक सञ्जालमा स्टाटस लेख्नुमात्र होइन। देशप्रेम भनेको त आफूले टेकेको धरातलको यथार्थ बुझेर मातृभूमिप्रति जिम्मेवार र इमान्दार हुनु पनि हो। 

हामी बुढाबुढी धेरै अपेक्षा राख्दैनौं। ठूलो घर चाहिएको छैन, महँगो गाडी चाहिएको छैन। हप्तामा एक पटक फोन गरेर ‘बा, आमा कस्तो छ ? ’ भनेर सन्तानले सोधिदिऊन्। त्यो शब्द हाम्रो लागि करोडौंभन्दा ठूलो हुन्छ। अन्त्यमा यतिमात्रै भन्न चाहन्छु, पार्टी केही होइन बाबु, सम्बन्ध सबैथोक हो। यो चुनावमा हामी भोट हाल्छौं। गोप्य मतदान हो, अवश्य नै राम्रा छानेर नै भोट हाल्छौं। तर यतिमात्र आग्रह हो, उस्तै परे हामी तलमाथि हुँदा लास उठाउन समेत तिमीहरू नआइपुग्न सक्छौ त्यो बेला हामीलाई यहीँका छरछिमेकी र आफन्त चाहिन्छ, यसमा भोट हाल र उसमा भोट हाल भन्दै दबाब दिएर र खुलेआम कुरा गरेर यहाँ बसेकाहरूको बीचमा सम्बन्ध नबिग्रियोस्। परिवारको बीचमा राजनीति नघुसाएस्, बेमेल नआवस्। तँ मेरो छोरा होस्, म तेरो बाउ हुँ। यो सत्य कुनै चुनावले बदल्न सक्दैन छोरा।
उही तेरो बुढो बाउ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.