निर्वाचन रोकिँदैन, ढुक्क हुनुस् : गृहमन्त्री अर्याल

निर्वाचन रोकिँदैन, ढुक्क हुनुस् : गृहमन्त्री अर्याल
सुन्नुहोस्

विराटनगर : गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर कुनै शंका नगर्न सबैलाई आग्रह गरेका छन् । विराटनगरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अर्यालले निर्वाचनको सम्पूर्ण तयारी सकिएको र सुरक्षा योजना पनि पूर्णरूपमा लागू भइसकेको बताए । 

उनले भने, ‘यो निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । रोकिन्छ वा हुँदैन भन्ने अफवाहमा पत्याएर प्रश्न उठाउनु उचित होइन । निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क हुनुहोस् ।’ सुरक्षा, स्वच्छता र निष्पक्षताको प्रत्याभूति गर्दै यस निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउने प्रतिबद्धता सरकारले गरिसकेको उनको भनाइ छ । गृह मन्त्रालयको उच्चस्तरीय टोलीले शुक्रबार बिहानैदेखि निर्वाचन सुरक्षा र तयारी बुझ्न विभिन्न जिल्लामा भ्रमण गरेको छ । 

टोलीले स्थानीय प्रशासन र सुरक्षा निकायबाट मतदानका दिनको सुरक्षा, सम्भावित चुनौती तथा निर्वाचनको तयारीका बारेमा जानकारी लिएको छ । टोलीमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसी, सशस्त्र प्रहरीका एआईजी गणेश ठाडा मगर लगायत सुरक्षा निकायका प्रमुख र गृह मन्त्रालयका उच्च अधिकारीहरू थिए । 

मन्त्री अर्यालले दोलखाको बैतेश्वर गाउँपालिकास्थित मतदान केन्द्रको निरीक्षणका क्रममा विगतका कमजोरी सच्याउँदै यस पटक धाँधलीरहित निर्वाचन गराउने प्रतिबद्धता पुनः दोहोर्‍याएका थिए । उनले सामाजिक सञ्जालमा फैलिने मिथ्या र भ्रमपूर्ण सूचनाबाट जोगिएर चुनावी तयारीमा जुट्न सबैलाई आग्रह गरे । 

निर्वाचनमा आचारसंहिता पालनालाई विशेष महत्व दिइएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । देशभरका १६५ निर्वाचन क्षेत्रमा आचारसंहिता उल्लंघन गर्ने १ हजारभन्दा बढीलाई कारबाही गरिसकिएको उनको भनाइ छ । गृहमन्त्री अर्यालले भने, ‘यो नागरिक सरकार कानुन कार्यान्वयनमा ढिलाइ नगर्ने, निष्पक्ष र गैरदलीय भएर काम गर्ने सरकार हो । आचारसंहिता उल्लंघन गर्नेहरुलाई दण्ड दिइनेछ ।’

मन्त्री अर्यालले पहाडी भेगमा मौसम खराब नहुने अपेक्षा पनि व्यक्त गरे । उनका अनुसार निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना पूर्ण रूपमा कार्यान्वयन भइरहेको छ । अर्यालले सबै दल र नागरिकलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र कुनै खालको अफवाहमा नपर्न आग्रह गरेका छन् । ‘निर्वाचन र यसको मितिबारे द्विविधा नराख्नुहोस् । तयारी पूर्ण भइसकेको छ । यो निर्वाचन समयमै हुने निश्चित छ,’ उनले भने । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.