बिरासत र लहरको दोसाँधमा झापा–५
झापा–५ अन्य क्षेत्रको तुलनामा बढी जनसंख्या भएको, व्यवस्थित र उन्नत चेतना भएका मानिसहरूको बसोबास रहेको क्षेत्र हो। यस क्षेत्रको सामाजिक बनावट निकै रोचक छ। दक्षिणतिर तराईमूलका मानिसहरूको सघन उपस्थिति छ भने दमक आसपासमा पहाडबाट झरेका मानिसहरूको बाक्लो बस्ती छ। विभिन्न जातजाति, धर्म र संस्कृतिको यो सम्मि श्रणले यस क्षेत्रलाई सामाजिक रूपमा समृद्ध बनाएको छ। भौगोलिक रूपमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगन्ज गरी चारवटा पालिका समेटिएको यो क्षेत्र दक्षिणको भारतीय सिमानादेखि उत्तरमा इलामसम्म जोडिएको छ। झन्डै १ लाख ६४ हजार मतदाता रहेको यो क्षेत्र नेपालकै राजनीतिको एउटा केन्द्रबिन्दु पनि हो।
पञ्चायतकालको तुलनामा आजको झापा–५ को भौतिक स्वरूप पूर्णतः परिवर्तन भएको छ। कुनै समय हिँड्न पनि कठिन हुने यहाँका कच्ची बाटाहरू अहिले व्यवस्थित पिच सडकमा परिणत भएका छन्। गाउँ–गाउँमा पिच बाटो पुगेको छ। खानेपानी तथा सञ्चारको सुविधा प्रायः सबै घरमा पुगिसकेको छ। शिक्षाको क्षेत्रमा सरकारी र निजी दुवै क्षेत्रबाट स्तरीय स्कुलहरू सञ्चालित छन्। प्राविधिक शिक्षा र स्वास्थ्य सेवामा पनि यो क्षेत्र निकै अगाडि छ। विकसित मुलुकहरूमा जस्तै आधारभूत सुविधाहरूको उपलब्धताका कारण यहाँको विकासलाई नेपालकै अन्य क्षेत्रसँग तुलना गर्दा यो निकै उन्नत देखिन्छ।
दमकको गौरवका रूपमा रहेको ‘औद्योगिक पार्क’ यस क्षेत्रको आर्थिक मेरुदण्ड बन्ने लक्ष्यका साथ अघि सारिएको परियोजना हो। चीन सरकारको सहयोगमा शिलान्यास भएको यो पार्क रतुवा खोलाको तटबन्धन गरी हजारौं बिघा जग्गामा फैलिने योजना छ। यसको अफिस र व्यापारिक प्रयोजनका लागि बनाइएको ‘व्यापारिक कम्प्लेक्स’ (भ्यु टावर) नेपालकै एउटा आधुनिक विकासको नमुना हो। नेपालमा भएका उद्योगहरू निजीकरणका नाममा बेचिएपछि रोजगारीको अभाव भइरहेका बेला यो औद्योगिक पार्क निर्माण सम्पन्न भएमा हजारौं युवाले आफ्नै माटोमा रोजगारी पाउनेछन्।
यो पार्क केवल दमकका लागि मात्र नभई समग्र मुलुककै लागि आशाको केन्द्र हो। राजनीतिक रूपमा झापा–५ सुरुदेखि नै वामपन्थी ऊर्जाले भरिएको क्षेत्र हो। यहाँको चिन्तन र सामाजिक परम्पराले सधैं वामपन्थी धारलाई नै मलजल गरेको देखिन्छ। २०६४ सालको निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन विजयी भएको समयबाहेक यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरन्तर नेतृत्व गर्दै आएका छन्। २०५६ को उपनिर्वाचनमा भने कांग्रेसका गोपाल कोइरालाले जितेका थिए। तर, पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा आएको परिवर्तनसँगै यहाँको चुनावी माहोल पनि फेरिएको छ।
परम्परागत पार्टीहरू कांग्रेस, एमाले, माओवादी र राप्रपासँगै नयाँ लहरका रूपमा स्वतन्त्र उम्मेदवार र नयाँ दलहरूको चर्चा बढेको छ। काठमाडौंबाट सुरु भएको ‘बालेन क्रेज’ र सामाजिक सञ्जालको बढ्दो प्रभावले गर्दा युवापुस्तामा एउटा फरक धारणा विकास भएको देखिन्छ। रोजगारीको अभावमा दिनभर मोबाइलमा झुन्डिने र त्यहीँबाट धारणा बनाउने मतदाताहरूले एउटा नयाँ लहर ल्याएका छन्, जसलाई नजरअन्दाज गर्न मिल्दैन।
अहिलेको चुनावी प्रतिस्पर्धामा एउटा पक्ष पुरानो राजनीतिक बिरासत र अनुभवको पक्षमा छ भने अर्को पक्ष भावना र नयाँपनको लहरमा बगेको देखिन्छ। एमाले वा अन्य परम्परागत शक्तिबाट रुष्ट भएका मानिसहरू ‘घण्टी’ वा स्वतन्त्रतर्फ आकर्षित भएका छन्। तर, राष्ट्रियता, सामाजिक मर्यादा र मुलुकको भविष्यलाई बुझेकाहरूका लागि यो केवल भावनामा बग्ने समय होइन। १ लाख ६४ हजार मतदाता रहेको यस क्षेत्रमा ५० हजारभन्दा बढी मत ल्याएर जित हासिल गर्न संगठन र स्पष्ट विचार आवश्यक हुन्छ, जुन नयाँ लहरका लागि चुनौतीको विषय हो।
झापा–५ आज एउटा महत्त्वपूर्ण मोडमा उभिएको छ। एकातिर वर्षौंदेखिको विकासको निरन्तरता र राष्ट्रिय स्वाभिमानको नेतृत्व गर्ने केपी शर्मा ओलीको बिरासत छ भने अर्कोतिर सामाजिक सञ्जालबाट सिर्जित नयाँ लहर छ। भू–राजनीतिक जटिलता र मुलुकको संवेदनशील अवस्थालाई बुझेर मतदान गर्नु आजको आवश्यकता हो। यो क्षेत्रको समृद्धि, औद्योगिक पार्कको पूर्णता र स्वाधीन राष्ट्रको रक्षाका लागि भावनामा नबगी विवेकपूर्ण निर्णय लिनु नै यहाँका जनताको हितमा हुनेछ।
(भण्डारी उर्लाबारी बहुमुखी क्याम्पस, मोरङका पूर्वप्रमुख हुन्)
प्रतिक्रिया दिनुहोस !