मिथिलाञ्चलमा होली

फागु आमोद–प्रमोद र उल्लासमय विलासमय लोकोत्सव हो। यसको सन्देश ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु

मिथिलाञ्चलमा होली

मैथिली साहित्यका महाकवि विद्यापतिले वसन्तऋतुको अनुपम छवि–छटालाई सौन्दर्यांकन गर्दा फागु महोत्सवको वासन्ती र सांस्कृतिकमाथि प्रकाश पार्नुभएको छ। फागु वसन्तऋतुमा मनाइने सबैभन्दा लोकप्रिय लोकोत्सव हो। उहाँद्वारा रचित एउटा वसन्तपदलाई उद्धृत गरेर उपर्युक्त कथनलाई पुष्टि गर्न सकिन्छ। 
‘नव वृन्दावन नव नव तरुगन 
नव नव विकसित फूल

नवल वसन्त नवल मलयानिल
मातल नव अलिकूल।’
उपर्युक्त कथनलाई अझ स्पष्ट पार्नका लागि उहाँको निम्नलिखत पदलाई पनि अघि सार्न सकिन्छ।
‘आएल ऋतुपति राज वसन्त
घायल अलिकुल माधवी पन्थ।’
मिथिलाञ्चलमा मात्र होइन अपितु सम्पूर्ण तराई प्रदेशमा फागु वासन्ती परिवेशमा मनाउने परम्परा सदियौंदेखि प्रचलित रहेको छ। जब वसन्तऋतुको पावन पदार्पण निसर्गको प्रांगणमा हुन्छ तब भँवरा समूह फूलको पराग पिएर मातेको हुन्छ। रसिक भँवरा फूलको रस चुसेर मदान्ध हुन्छ। ऊ सुवास एवं सुगन्धले भरिएको बाटोतिर लम्किन थाल्दछ। यस्तै मादक, मनोहर, मदमस्त र मधुर परिवेशको सिर्जना गर्नमा वसन्तऋतु समर्थ हुन्छ। तसर्थ वसन्तऋतुलाई ‘फाल्गुनोत्सव’, ‘मदनोत्सव’, ‘कामोत्सव’, ‘अनंगोत्सव’, ‘मदन महोत्सव’, ‘मधुउत्सव’ र ‘चैत्रोत्सव’ पनि भनिन्छ। ‘शृंगारमञ्जरी कथा’ मा यसलाई मदनको यात्रा महोत्सव पनि भनिएको छ भने ‘काव्यविवेक’, ‘काममहोत्सव’, ‘रत्नावली’ र ‘भवियपुराण’ मा यसलाई ‘चैत्रोत्सव’ भनिएको छ। ‘भवप्रकाश’ मा यसलाई वसन्तको ‘मदनोत्सव’ पनि भनिएको छ। भविय पुराणमा यसलाई फाल्गुनोत्सवका साथै ‘होलका’ पनि भनिएको छ। यसलाई ‘मदनोत्सव’ र गाथाशप्तसतीमा तथा भवियपुराणमा ‘वसन्तोत्सव’, ‘फाल्गुनोत्सव’ र ‘मदनमहोत्सव’ भनिएको छ।

यसलाई हिन्दीमा ‘होली’ नेपालीमा ‘फागु’, भोजपुरी र अवधी तथ मैथिलीमा ‘फगुआ’ अथवा ‘होरी’ भनिन्छ। यसलाई होलिकोत्सव पनि भनिन्छ। आजको व्यस्त, तनावग्रस्त र सन्त्रस्त तथा सन्तप्त जीवनमा सुखको झिल्को पाउन पनि भनिन्छ। आजको व्यस्त, तनावग्रस्त र सन्त्रस्त तथा सन्तप्त जीवनमा सुखको झिल्को पाउन पनि मानिसको ठूलो अभिलाषा हुन्छ। समाजमा प्रचलित चाडपर्वले मान्छेका बोझिलालाई केही राहत प्रदान गर्छन्। फागु लोकोत्सव मनाउनुको पछाडि आनन्दको अन्वेषण पनि एउटा मुख्य कारक तत्त्व हो। प्रत्येक चाडपर्व मनाउनुको मनोविज्ञान पनि यही हो। 

वास्तवमा भन्ने हो भने यसको प्रारम्भ वसन्त पञ्चमीदेखि नै हुन्छ। जब अधिकांश तराईवासी कृषकहरू आफ्नो मुख्य धानबाली घरभित्र सुरक्षित रूपमा राखी सक्छन्। त्यसपछि मोजमस्तीले भरिएको लोकोत्सव फागु मनाउनमा तल्लीन भई चिन्ताविहीन हुन पुग्छन्। जब मानिस चिन्ताविहीन एवं तनावविहीन हुन्छ र कामकाजको बोझबाट उन्मुक्त हुन्छ अनि ऊ आमोद–प्रमोदमा लाग्न खोज्दछ। यसबाट ऊ आनन्द प्राप्त गर्न र तनावबाट मुक्ति पाउन चाहन्छ। यस्तै मनोवैज्ञानिक कुण्ठाग्रस्त मनोग्रन्थीबाट उन्मुक्त हुनका लागि तराईवासीहरू यस पर्वलाई सोल्लास मनाउँछन्। वर्षभरि गुम्सिएको, कुण्ठित एवं दमित भावनाको उन्मुक्ति हो फागुपर्व। महाकवि कालीदासका शब्दमा :
‘उत्सव प्रिया: खलु मनुया:।’
आजको आधुनिक मनोविज्ञानले पनि यस तथ्यलाई पुष्टि गर्दछ। मानिस स्वभावत: उत्सवप्रिय हुन्छ, मनोरञ्जन र मनोविनोदप्रिय हुन्छ। तसर्थ उत्सवअनुरूप सुरम्य एवं सुरुचिपूर्ण वातावरणको पनि सिर्जना गर्नका लागि मानिस सचेत हुन्छ।
संसारका विभिन्न सम्प्रदायले सांस्कृतिक परम्पराअनुसार आफ्ना मौलिक लोकोत्सव मनाउनुका पछाडि पनि यही मनोविज्ञान लुकेको हुन्छ। अमेरिका र युरोपमा क्रिसमस, मुस्लिम देशहरूमा इद (रमजान) र हिन्दु देशहरूमा दसैं, दीपावली र फागु पर्व मनाउनु यसै तथ्यका ज्वलन्त उदाहरण हुन्। यस किसिमका लोकोत्सव मनाउँदा सांस्कृतिक अवधारणाको संराणका साथै मनोरञ्जनको भावना हुन्छ। कामसूत्रको ‘जयमंगलाटीका’ मा सुवसन्तलाई ‘मदनमहोत्सव’ भनिएको छ जसमा नृत्य, गीत र वाद्यादिको सम्यक् विधान हुन्थ्यो। यथा–
‘होलका फाल्गुण पूर्णिमायां शृङ्गकादि मुक्तेन किंशुकादि कुसुम
रागाम्भसा परस्परोाणम् मिथ: पटवास प्रोपश्च।’
‘सरस्वतीकण्ठाभरण’का अनुसार सुवसन्तक नै वसन्तावतारको पहिलो दिन हो, पृथ्वीमा उसको नवोन्मो मंगलावतरणको मंगल उद्घोष।

प्रकृतिको प्रस्फुटित पूर्ण यौवनको वासन्ती परिवेशमा जब प्रकृति आफ्नो पीत परिधानमा परिवेष्ठित हुन्छिन् र मधुमासको मन्द–मन्द मलयानिल पनि संगीतमय गाना गाउँदै प्रवाहित हुन्छ तब फागुको सांस्कृतिक पर्व सम्पूर्ण नेपाल अधिराज्यमा मनाइन्छ। संगीतमय तिहारहरूमा ‘फागु’ पनि सर्वोत्कृट र सर्वोत्तम तथा सुहाउँदो किसिमको तिहार हो। यसका पृठभूमिमा आँपका बगैंचाहरूमा कर्णप्रिय कोइलीको सरस एवं सुमधुर पञ्चमतान, पपिहाको पी–पी–को पुकार, पुपहरूको मधुमय मुस्कान, भँमराहरूको गीत–गुञ्जन, नदीनालाको कलकलनिनाद तथा मानिसहरूको संगीतमय स्वरलहरीले गर्दा सम्पूर्ण वातावरण प्रतिध्वनित हुन थाल्दछ। चारैतिर नयाँ उत्साह, नौलो उमंग, रमाइलो रमझमको सुमधुर र संगीतमय वातावरण दिगदिगन्तमा परिव्याप्त हुन्छ। 

 

वन–उपवन, खेत–खलिहान, गाउँ–गल्ली र चौबाटो चौतारी तथा गोरेटो–घोडेटो फागुको लोकलहरीबाट निनादित हुन थाल्दछ। फागुको सुमधुर सम्झनामा वासन्ती मादकता नेपाली तन्नेरी र तरुणीहरूका प्रेमासिक्त आँखामा गाँजलको रूपमा खुल्न थाल्दछ र नीलो आकाशमा सेतो बादल मादल लिएर संगीतको सरस धारा प्रवाहित गर्न थाल्दछ। सांस्कृतिक पर्व ऋतुराजको यस्तै मधुमय एवं मादक बेलामा सम्पन्न हुन्छ। प्राकृतिक सौन्दर्यका अमर गायक महाकवि कालिदासले यसलाई ‘अभिज्ञानशाकुन्तलम्’, ‘रघुवंश’ र ‘मालविकाग्निमित्र’ मा ऋतु–उत्सवको उपाधिबाट अलंकृत गरेका छन्।

पौराणिक पृठभूमि
फागु लोकोत्सव हिरण्यकश्यपुकी बहिनी होलिकासँग सम्बन्धित भएकाले यसलाई होलिका दहन पनि भनिन्छ। हिरण्यकश्यिपुको आतंक र अत्याचारबाट सबै प्रजाजन प्रताडित एवं पीडित थिए। उसका छोरा प्रह्लाद भगवान्का सच्चा भक्त थिए। हिरण्यकश्यपुले प्रह्लादलाई मार्नका लागि एउटा षड्यन्त्र रच्यो। तदनुसार होलिकाको काखमा राखेर प्रह्लादलाई मार्ने योजना बनाइयो र आगो पनि लगाइयो। तर भगवान्को असीम कृपाबाट प्रह्लादलाई केही भएन। होलिका चाहिँ आगोमा जलेर मरी। त्यसैबेलादेखि होलिका–दहनको परम्परा चल्दै आएको हो।

हाम्रो देश नेपालको मिथिलाञ्चलमा प्रतिवर्ष यो लोकोत्सव मनाइने परम्परा अद्यापि प्रचलित छ। के गाउँ, के सहर सबै ठाउँमा यो समान रूपमा मनाइन्छ। यसबेला रङ र अबिरको खुल्लमखुल्ला प्रयोग गरिन्छ; सम्पूर्ण वातावरण नै रंगीन र रमाइलो देखिन्छ। यो लोकोत्सवमा बच्चा, युवक र युवती, बूढा र बूढी सबै समान रूपमा सहभागी हुन्छन्। सबै एक भएर एकआपसमा रङ र अबिरले सराबर भएर यस लोकोत्सवलाई सार्थकता र जीवन्तता प्रदान गरिन्छ। वर्षभरिका दमित एवं कुण्ठित मनोग्रन्थीलाई फुकाउने अवसर पनि यसले प्रदान गर्दछ। यसमा अश्लील लोकगीत पनि गाइन्छन्। 

गालीगलौज गरिन्छ तर कसैले नराम्रो मान्दैन। तरुणीहरूलाई जिस्क्याउने गरिन्छ तर यसलाई पनि नराम्रो मानिँदैन। देवर–भाउजूका बीचमा छेडछाड, स्वच्छन्दतापूर्वक चल्दछ तर यसलाई पनि सामाजिक स्वीकृति नै मानिन्छ। देवर र भाउजूका बीच सदियौंदेखि गाँसिएको सुमधुर सम्बन्धको द्योतक हो यो लोकोत्सव। सालीसँग पनि यस्तै निर्बन्ध सम्बन्ध गाँसिन्छ फगुआभरि। यसै सन्दर्भमा एउटा फगुआ लोकगीतको एक टुक्रा यहाँ प्रस्तुत गरिन्छ :
नकबेसर कागाले भागा। सैयाँ अभागा न जाना।
अर्थात् लोग्ने र स्वास्नीसँगै सुतेका छन् तर कागले स्वास्नीको नाकमा लगाउने गहना नकबेसर उडिसक्यो। अभागी लोग्नेलाई चाहिँ थाहै भएन किनभने ऊ मस्त भएर बेहोस अवस्थामा सुतिरहेको थियो। यस लोककथनको पनि सांस्कृतिक पृष्ठभूमि रहेको छ। फागु माछा मासु र मदिरा प्रशस्त खाने परम्परा छ। यसबाहेक भाङ, कुसुमा र अन्य नशालु पदार्थको सेवन यस पर्वमा स्वतन्त्रतापूर्वक गरिन्छ। जबसम्म मानिस बेहोस हुँदैन तबसम्म यसमा कुनै बाधा व्यवधान आउँदैन। शाकाहारी मानिसहरू पनि मदमस्त हुनका लागि भिन्दाभिन्दै किसिमका स्वादिष्ट भोजन हलुवा, खिर, मिठाई र फलफूल खाने गर्छन्।

यिनीहरू नशाका लागि भाङ र कुसुमा (नशालु पदार्थ भाङ र धतुरोलाई पिनेर दूध, किसमिस, अलैंची, काजु, नरिबल मिसाएको पेयपदार्थ) पिउने गर्छन्। यस्तो पौष्टिक खाना खानुका पछाडि कामोत्तेजना बढोस् भन्ने चाहना हुन्छ। प्रेमका देउता कामदेवले आफ्नो सम्पूर्ण शौर्य र पराक्रमका साथ प्रत्येक मानिसमा कामवासनाको सञ्चार गर्नमा साथ दिन्छन्। तसर्थ यस लोकोत्सवको एउटा पा कामुक भावनालाई उत्तेजित पार्नु हो भन्न सकिन्छ।

फागु लोकोत्सवलाई राधा र कृष्णको रासलीलासँग पनि जोडिन्छ। शृंगार रसकी नायिका राधा र नायक कृष्णबीच सम्पन्न फागु उत्सवका क्रममा प्रयुक्त रङ र अबिरको महिमा अद्यापि प्रचलित छ। कृष्णले एउटा साधारण मायावी मानिस सरह राधा र उनका सखीहरूसँग सहवास एवं सुख–सयलको आनन्द अनुभव गरेका थिए। यमुनाको तटमा कदमको रुखमुनि कृष्णले राधा तथा गोपिनीहरूसँग ‘होरी’ खेलेका थिए। हिमालयमा शिव र पार्वती होरी खेलेका थिए। त्यसै परम्परालाई जीवित राख्नका लागि आजका तन्नेरी र तरुणीहरू रङ र अबिरको प्रयोग गरी एकअर्कामाथि रंगीन आक्रमण गर्ने गर्छन्। यस प्रसंगमा एउटा फगुआ लोकगीत प्रस्तुत गरिन्छ जुन 
निकै लोकप्रिय एवं कर्णप्रिय छ–
‘रङधोरु ने प्रिय मिथिला के गोरी
मिथिलाके कुल रीति एहन थिक
खेलत फागु सबै जोडी, रङघोरु.....
किनका हाथ अबिर झोरी, रङघोरु
रामजीके हाथ कनक पिचकारी
सखियन हाथ अबिर झोरी, रङघोरु
खेलत फागु रङ–रस मातल
मिलत गले एक–एक टोली, रङघोरु
यो लोकोत्सव साम्प्रदायिक सद्भावको प्रतीक पनि हो। यसमा सबै जाति, सबै वर्ग र सबै वर्णका मानिसहरू समभावले सरिक हुन्छन्। यसमा जातिपातिको कुनै बन्धन हुँदैन धनी र गरिबका बीच कुनै भेदभाव हुँदैन। चारै वर्ण र छत्तीस जातसँगै मिलेर हर्षोल्लास फागुपर्व मनाउँछन्। प्रजातान्त्रिक मूल्य र मान्यताका आधार एवं अवधारणाअनुसार यो लोकोत्सव सम्पूर्ण मिथिलाञ्चलमा प्रतिवर्ष मनाइन्छ। यसको मूल उद्देश्य नै साम्प्रदायिक सद्भाव कायम गर्नु हो। यसको सबैभन्दा गहकिलो सन्देश नै सबै मानिस समान हुन् भन्ने भावना हो। यसको मूलमन्त्र नै पारस्परिक मैत्री सम्बन्ध हो। यसको शुभ र सुखद उपलक्ष्यमा सालभरिका रिसइबी, मतभिन्नता र मनोमालिन्यलाई बिर्सेर एकआपसमा अँगालो मारेर यो तिहार मनाउने प्रचलन जीवन्त छ। एकअर्काका टाउकामा अबिर दलेर र जिउमा रङ हालेर नमस्कार गरेर अँगालो मारिन्छ। दुई हृदय एकआपसमा गाँसिन्छन्।

मिथिलाञ्चलका हरेक गाउँमा एक महिना पहिलेदेखि नै गाउँभरिको मानिसहरू एक ठाउँमा जम्मा गरिन्छ र फागुपूर्णिमाको रातको अन्तिम प्रहरमा त्यसमा आगो लगाइन्छ। यसलाई स्थानीय भाषामा ‘सम्मत’ भनिन्छ। यसलाई पनि साव सद्भावको सूचक नै मान्न सकिन्छ। सम्मतको प्रदक्षिणा गरेर र त्यसको खरानी शरीरमा घसेर मानिसहरू विभिन्न बाजागाजाका साथ गाउँका हरेक घरमा पुल थाल्दछन्। ‘भले हो भले’ र ‘सुनलो मोर कबिर’ भन्दै फगुआ लोकगीत गाउँदै हरेक घर–दैलामा बाजा–गाजासहित गायक दल पुग्दछ। सो दललाई प्रत्येक घरवाला यथोचित स्वागत गर्दछ। 

रङ र अबिर हालेर, पानी र सुपारी खान दिएर खुला हृदयले गायक दललाई बिदाबारी गरिन्छ। यो धेरै राम्रो परम्परा हो तर अचेल गाउँघरमा राजनैतिक मतमतान्तर एवं मतभेदले गर्दा यो परम्परा नै लोप हुँदै गएको प्रतीत हो। यो सामाजिक लोकोत्सव साँघुरो भएर पारिवारिक पर्वको रूपमा सीमित हुँदै गएको जुन सर्वथा शोचनीय र विचारणीय कुरो हो। पारिवारिक परिधिमा सीमित हुँदै गएको यस उत्सवलाई फेरि उन्मुक्त वातावरणमा ल्याउने जोडदार कोसिस हुनु नितान्त जरुरी छ। संक्षेपमा भन्नुपर्दा फागु आमोद–प्रमोद र उल्लासमय विलासमय लोकोत्सव हो। यसको सन्देश ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया:। यो धेरै आदर्शवादी नारा हुन सक्तछ आजको सन्दर्भमा तर यस फागुपर्वको उद्देश्य बहुजन हिताय बहुजन सुखाय नै हो भन्न सकिन्छ।

मिथिलाञ्चलमा मदनोत्सव
मदनोत्सवलाई मैथिली भाषामा फगुआ, नेपाली भााषामा फागु र हिन्दी भाषामा होली भनिन्छ। मैथिली भाषामा यसलाई ‘होरी’ पनि भनिन्छ। पौराणिक ग्रन्थ र शास्त्रहरूमा यसलाई ‘होलिका’ वा ‘होलाका’ नाम पनि प्रदान गरिएको छ। वास्तवमा भन्ने हो भने होरी धेरै चाडहरू, उत्सव र स्मार्टकर्महरूको समूह हो जसमा कालक्रमानुसार परिवर्तन हुँदै आएको छ र वर्तमानमा भिन्नभिन्न कर्महरूको कतिपय अंशमात्र अवशिष्ट रहेको देखिन्छ। यी कर्महरू केवल शूद्रहरूसित मात्र सम्बन्धित होइनन्, अपितु यीमध्ये धेरैजसोको सम्बन्ध ब्राह्मण जातिसँग पनि छ। माइको तात्पर्य के हो भने यो लोकोत्सव सबै जाति र सम्प्रदायसँग सम्बन्धित भएकाले यो पूर्ण प्रजातान्त्रिक पर्व हो। यसमा सबै जातिहरूको समान सहभागिता हुन्छ। 

यसमा कुनै किसिमको भेदभाव गरिँदैन। तसर्थ आजकल यसलाई होरी मिलन समारोह भनेर मनाइन्छ जसमा हिन्दुहरूमात्र होइन, मुसलमानहरू पनि समान रूपमा सहभागी हुन्छन्। यो लोकोत्सव भाइचाराको भरपर्दो आधार स्तम्भका रूपमा आज पनि सम्पूर्ण मिथिलाञ्चलमा समान रूपमा मनाइन्छ। काठमाडौं उपत्यकामा यो पर्व फाल्गुण शुक्लपूर्णिमाका दिन मनाइन्छ भने सम्पूर्ण तराई प्रदेशमा पूर्णिमाको भोलिपल्ट गृष्म ऋतुको प्रारम्भको चातुर्मास्ययागमा मनाइन्छ। 

यसै बेलादेखि नववर्षको आरम्भ हुने भएकाले यसलाई प्रथम चातुर्मास्ययाग भनिएको छ, जसलाई ‘वैश्यदेव’ पनि भनिन्छ। आषाढ पूर्णिमाको अर्को दिन ‘वरुण प्रधास’ नामक अर्को चातुर्मास्ययाग हुन्छ। कात्तिक पूर्णिमाका दिन ‘शकमेघ’ नामक तेस्रो र फाल्गुण पूर्णिमाको मध्यमा समाप्तिसूचक ‘सुनारिपी’ नामक चतुर्थ चातुर्मास्ययाग पनि सम्पन्न हुन्छ। मदनोत्सवको मादक बेलामा नयाँ अन्न पनि उब्जाइन्छ जसलाई रवि फसल भनिन्छ। नयाँ अन्न ग्रहण गर्नका लागि एउटा समारोह मनाइन्छ जसलाई ‘नवान्नेटी’ अथवा ‘नवान्नप्रासन’ भनिन्छ। यस समारोहमा स्मृतिचिह्नका रूपमा होरीको आगाको रापमा गहुँ, जौं र चना पोलेर खाने चलन अद्यापि प्रचलित छ। 

भागवत गीतामा लेखिएको छ– “तैदत्तान् प्रदयेभ्यो यो भुङ्क्तस्तेन एव स:’’ अर्थात् देउताद्वारा प्रदत्त अन्न होरीको आगोलाई प्रदान नगरी जसले खान्छ त्यो चोर हो तसर्थ नयाँ अन्न उब्जाएपछि त्यसलाई एउटा यज्ञका रूपमा (आधुनिक अर्थमा समारोहका रूपमा) सम्पन्न गरेर खाने प्रचलन छ। यस पर्वलाई पनि कृषिसँग जोडिएको छ। सम्पूर्ण मिथिलाञ्चल कृषि प्रधान क्षेत्र भएकाले यो सर्वथा स्वाभाविक पनि हो। एकथरी मान्यताअनुसार फाल्गुण पूर्णिमाका दिन पुरानो साल समाप्त हुन्छ नयाँ सुरु हुन्छ। नयाँ सालको आगमनपछि बितेको वर्षलाई मृत ठानी त्यसलाई जलाइन्छ। यसैले गर्दा पूर्णिमाको रातमा ‘संवत्’ जलाउने परम्परा मिथिलाञ्चलमा आज पनि प्रचलित छ। 

होरीलाई दायज्ञ अर्थात् अग्नि जन्मोत्सव पनि भनिन्छ। पौराणिक कथानुसार यसै दिन दा यज्ञको घटना घटेको थियो। सती (महादेव पत्नी) आफ्ना माइतीमा सु–सम्पन्न भइरहेको यज्ञबाट अनभिज्ञ थिइन्, किनभने उनका पिताले छोरी सतीलाई निमन्त्रणा गरेका थिएनन्। यज्ञमा सबै देउताहरूका लागि आरान निर्दिट एवं निश्चित थियो। महादेव उनका ज्वाइँ भएर पनि सो यज्ञमा निमन्त्रित थिएनन्। यस्तो थाहा पाउँदा पनि सती यज्ञस्थलमा एक्लै पुगेकी थिइन्। त्यहाँ पुगेपछि उनले सही कुरा थाहा पाएर आफ्नो र आफ्ना पति महादेवको ठूलो अपमान भएको ठानी अग्निकुण्डमा हाम फालेर प्राणत्याग गरेकी थिइन्। त्यसपछिको घटनाअनुसार ‘शैलपुत्री’ का रूपमा उनको अर्को अवतार हुन्छ।

प्रसिद्ध पौराणिक आख्यानअनुसार दानव सम्राट् हिरण्यकश्यपुकी बहिनीको नाम थियो ‘होलिका’। होलिका प्रल्हादलाई आफ्नो काखमा राखेर प्रज्वलित आगाको बीचमा गएर बसिन्। भगवान्को असीम अनुकम्पाले ‘होलिका’ जलेर मरिन् तर भक्त प्रल्हादलाई केही पनि भएन। यस विचित्र अलौकिक घटनाको स्मृतिमा सम्पूर्ण आर्यावर्तमा यो उत्सव मनाइन्छ। त्यसपछि यो उत्सव आजसम्म चल्दै आएको हामी पाउँछौ। यस घटनाको उल्लेख विष्णु पुराणमा यसरी गरिएको छ– ‘तातौ बहिन पवने रितोपी, न मां दहत्यत्र समन्ततोहम्। पश्यामि पद्य स्मरणा स्तुतानि, शीतानि सर्वाणि दिशां मुखानी।’ अर्थात् हे पिता! हावाबाट प्रेरित यो आगोले पनि मलाई जलाउँदैन। कमल नयन प्रभुको कृपाबाट र उनको स्मरणमात्रबाट सबै दिशाहरू मलाई शीतल प्रतीत हुन्छन्। होलीलाई मदनोत्सव भन्नुका पछाडि पनि केही तथ्य रहेको छ। वसन्त ऋतुलाई ऋतुराज भनिन्छ। शीतकालमा प्रकृतिले सबै प्राणीहरूलाई शक्ति प्रदान गर्दछ। फलत: वसन्त ऋतुको समशीतोष्ण वातावरणमा त्यस शक्तिको प्रस्फुटन हुनु सर्वथा स्वाभाविक हो। प्रेमका देवता कामदेवलाई मदन पनि भनिन्छ। मदन वसन्तऋतुको मित्र भएकाले मदनको स्वागत– अभिवादनमा मनाइने पर्वलाई मदनोत्सव भन्नु सर्वथा समुचित नै हो। 

यस अवसरमा प्रेमोन्मादमा मदमस्त तरुण–तरुणीमात्र होइन, बूढाबूढीमा पनि नयाँ जोस र जाँगर तथा नयाँ शक्तिको सञ्चार हुन्छ। वसन्तऋतुमा प्रकृतिका प्रत्येक उपादानमा नयाँनयाँ कोपिला उम्रन थाल्छन्। सम्पूर्ण प्रकृति पहेँली परिधानमा नवदुलहीजस्तो प्रतीत हुन थाल्दछ। समग्र वातावरणमा वासन्ती छवि, छटा वहार विकीर्ण भएको हुन्छ। मिथिलाञ्चलका वन–उपवनमा कोइली आफ्नो सुरिलो एवं सरस स्वरमा गाउन थाल्छे। एउटा गजब किसिमको मधुर वातावरणको सिर्जना स्वत: हुन्छ। दक्षिण भारतमा यसलाई ‘मदन महोत्सव’ पनि भनिन्छ। मैथिल कोकिल महाकवि विद्यापतिले यस वसन्तको शुभागमनलाई स्वागत अभिवादन गर्दै यसरी काव्यात्मक अभिव्यक्ति दिनु भएको छ।
‘आएल रितुपति राज वसन्त
घायल अलिकुल माधिवी पन्थ’
नव वृन्दावन नव–नव–तरुगन, नव–नव विकसित फूल
नवल वसन्त नवल मलयानिल, मातल नव अलिकूल।

सम्पूर्ण हिन्दु संस्कृतिमा यस किसिमको प्रेमोन्माद अभिव्यक्त गर्नका लागि एउटा दिन निश्चित र निर्धारित गरिएको छ जसलाई ‘फगुआ’ भनिन्छ। यस दिनमा सालभरिको कुण्ठित यौन मनोग्रन्थी आफ्नो सीमा तोडेर अभिव्यक्त हुन खोज्दछ। यस अवसरमा कामदेवको पूजाआराधना पनि गरिन्छ। तसर्थ सम्पूर्ण प्राणी जगत्मा कामवासनाको सञ्चार हुनु सर्वथा मनोवैज्ञानिक सत्य हो। यहाँनिर आधुनिक यौन मनोवैज्ञानिक फ्रायडको सम्झना हुनु पनि स्वाभाविक छ। सम्पूर्ण फाल्गुण शुक्लपा मिथिलाञ्चलका खेत–खलिहान र गल्ली –गोरेटामा कामोत्तेजक लोकगीत गाइन्छन्। 

यद्यपि यी गीतलाई अश्लील पनि भन्न सकिन्छ, तापनि यी त कुण्ठित कामवासनाका सहज र सरल अभिव्यक्ति हुन्। यस्ता गीतलाई अश्लील र अश्लील भन्नुभन्दा मानव मनोविज्ञान भन्नु उचित होला। यहाँ एक–दुईवटा यस्ता लोकगीतका गेडा प्रस्तुत गरिन्छन्। ‘भर फगुआ बुढवा देवर लागे’ अर्थात् फागुभरि बुढो पनि देवरजस्तो सरस र सुन्दर लाग्दछ। मैथिली संस्कृतिमा भाउजू र देवरको सम्बन्ध सुमधुर मानिन्छ। अर्को लोकगीतको गेडा 
यसरी गतिशील हुन्छ फगुआभरि–
‘नकबेसर कागा ले भागासैंया अभागा न जाना।’
अर्थात् पतिपत्नी र प्रेमीप्रेमिका आलिंगनपासमा यसरी आबद्ध भएर सम्भोगमा समाधीस्थ भएकि आफ्नी स्वास्नीले नाकमा लगाएको नकबेसर कागले टिपेर लैजाँदा पनि उसलाई होसै भएन। यस्तै–यस्तै कामवासनाबाट प्रेरित र प्रभावित भएर नै गाली–गायनको परम्परा पनि मिथिलाञ्चलमा सुरु भएको होलाजस्तो लाग्दछ। फगुआको यामभरि गाउँले युवायुवतीहरूमा एकअर्कालाई गिज्याउने, गाली गर्ने र आफ्नो कुण्ठित भावनाको वह पोख्ने गर्छन् र यसका लागि फागुभन्दा उपयुक्त कुनै अवसर पनि हुँदैन। यस्तो गाली गर्दा कसैले पनि नराम्रो मान्दैन। यस लोकोत्सवमा यस्तो गाली गायनलाई राम्रो र सुसंस्कृत परम्पराका रूपमा लिने चलन छ।

आजको विश्व वातावरणमा मौलिक परिवर्तन हुँदै आएको छ। मिथिलाञ्चलमा पनि यस परिवर्तनको लागि देखा पर्न थालेको छ। आज राजनीतिक मत–मतान्तर र मतभेदले गर्दा फगुआको मौलिक स्वरूप क्रमश: लुप्त हुन थालेको छ। अचेल त स–साना कुरामा पनि मारामार सुरु भइसकेको छ। यसको प्रत्या उदाहरण फगुआमा हेर्न सकिन्छ। कहीँकहीँ मारपिट हुन पनि बेर लाग्दैन। जहाँ भाइचारा र मेलमिलापको सम्बन्ध हुनुपर्ने हो, त्यहाँ मारपिट हुनु निन्दनीय कार्य हो। दिनानुदिन पारस्परिक ईष्र्या, द्वेष र रिसरागको भावना बढ्दै गएको छ। यस्ता विकृति र विसंगतिलाई विसर्जित गरेर फगुआको मौलिक महत्त्व र सौन्दर्यलाई अक्षुण्ण राख्नु सर्वथा आवश्यक छ।

फागु वैश्य समुदायमा 
फागु वैश्य समुदायको सबैभन्दा सुन्दर चाडपर्वहरूमा पर्दछ। यो पर्व सबै जातजातिहरूमा समान रूपमा मनाइने सदियौं पुरानो पर्व हो। वैश्य समुदायमा पनि सबैभन्दा महत्त्वपूर्ण पर्वको रूपमा यसलाई मनाउने गरिन्छ। वैश्य समुदाय स्वभावत: शाकाहारी हुन्छ किनभने यिनीहरू तामसी भोजनको सट्टा शाकाहारी र सादा भोजन गर्ने गर्छन्। फागु शाकाहारी र मांसाहारी दुवैको लागि एउटा रम्य एवं रमाइलो पर्व मानिन्छ। यस पर्वलाई सम्पूर्ण तराई मधेसमा फगुआ, फाग र होली तथा होरीको रूपमा बडो उत्साह एवं उमंगसाथ मनाइन्छ। यसमा बाल, वृद्ध सबै समान रूपमा सहभागी हुन्छन्। 

यो मौज–मज्जा र मासु–मदिरा प्रभाव पर्ने भएकोले कहिले पनि रक्सी नखाने मानिस रक्सी खान पनि पछाडि पर्दैन। रक्सी नखाने मानिस भांग, गाँजा र कुसमा पिउने गर्दछ किनभने नशा र अनुभव भए भने फागुको मज्जा नै आउँदैन। नशामा एक दिन वर्षभरिमा आफ्नो सालभरिको मनोग्रन्थी, काम–कुण्ठा बिर्सेर वास्तविक अनुभूति गर्ने पर्व यो पर्व तह र तप्काका मानिसहरूमा मनोरञ्जन गर्ने साधन हो। सालभरिको दु:ख, दर्द, वेदना–व्यथा बिर्सेर मानिस दिल खोलेर आनन्दको अनुभूति गर्न चाहन्छ तसर्थ यस्तो गीतको गेडा दोहो¥याउँदै रसायान गर्नका लागि व्यग्र हुन्छ। गीतको गेडालाई यसलाई अग्रसारित एवं अभिव्यक्त गरिन्छ। बुरा न मानों होता है। अर्थात् यसमा मनको वह स्वच्छतापूर्वक व्यक्त गरिन्छ।

सालभरिको कुण्ठाग्रस्त मनलाई बहकिने व्यक्त गर्ने खालको यो पर्व तरुण–तरुणीका लागि सबैभन्दा मनोरञ्जन प्रदान मौका प्रदान गर्दछ। यस पर्वलाई वैश्य समुदायका तरुण–तरुणी भ्यालेन्टाइन डेको रूपमा मनाउने गर्छन्। काम भावनाको विसर्जन संयमपूर्वक गर्ने सु–अवसर हो। खेर मामीको बीचमा कुनै प्रकारको बाधा–बन्धनको बाँधलाई भत्काउने प्रयास पनि सम्म मानिन्छ। अश्लील लोकगीत गाएर होस् कि अश्लील भागभंगीमा प्रदर्शन गरेर होस् कि कामवासनामा लिप्त भएर होस् यस पर्वलाई लोकप्रिय पर्वको रूपमा मनाइन्छ। मनोग्रन्थीलाई मलजल नदिएर यसलाई खुल्मखुल्ला छुट दिइन्छ। 

तराई–मधेसमा बसोबास गर्ने वैश्य समुदायका मानिसहरू फागुको एक दिन पूर्व ब्रह्म बेलामा नै सम्मत जलाउने परम्परा सदियौंदेखि आजसम्म जीवन्त रहेछ। सम्भवत: जलाउनको प्रतीकात्मक अर्थ भने आपसी मनोगत भावनालाई छुट दिइने, आपसी मतभेदलाई बिर्सिने, झैझगडा र जालझेलको पर्दाफास गर्ने, मतभेदलाई बिर्सिने, पारस्परिक इष्र्या– द्वेषलाई परित्याग गरेर प्रेमको प्रेमिलधारमा संलग्न भएर बिहानदेखि बेलुकासम्म रंग, अबिर एकआपसमा खेल्ने, मुखमा अबिर हाल्ने र शरीर गरिमा रंगको होली खेल्ने। यो प्रेम, स्नेह, सौहार्द्र, सौजन्यले समन्वित भएर सन्देश आफ्नो समुदाय, समाज र देशमा सम्प्रेषित गर्ने।

हरियो र रातो रङको प्रयोग पिचकारीबाट गरिन्छ। वास्तवमा यस पर्वको प्रारम्भ वसन्त पञ्चमी देखिनै रङ र अबिरको प्रयोग गरेर गरिन्छ। यसै दिनदेखि फागु गीतको सरस स्वर लहरीले ग्रामीण जीवनमा सरसता घोल्ने। सम्भवत: जलाएको ठाउँबाट खरानी शरीरमा दलेर र रङ अबिरबाट सम्पूर्ण शरीर सराबारी गरेर होरी लोकगीत गाउँदै सम्पूर्ण गाउँको परिक्रमा गर्ने क्रममा घरघरमा गएर रंग अबिर खेल्ने। ठूलाठालुको दलानमा गएर होरी लोकगीत गाउँदै, भाल, डम्फु र ढोलकको तालमा लोकगीत गाउँदै बिहानदेखि बेलुकासम्म यो पर्व मनाइने परम्परा आज पनि जीवित छ। होरी लोकगीतको गबैया (गायिकाहरू आ–आफ्नो शैलीमा रङ–अबिर खेल्दै र लोकगीत गाउँदै गाउँदै थकान पनि महसुस गर्दैन।

गाउँभरिको कुडा–कर्कट, झारपात, सडेगलेका फोहोर, पुरानो झुपडी, काम नलाग्ने काठ, दाउरा सबै एक ठाउँमा जम्मा गरेर जलाइन्छ। यसले गर्दा गाउँको पर्यावरण स्वच्छ र सफा हुन्छ। माघ, मासु, मदिराको साथैसाथ मालपुवा, दम, अनेक किसिमका मिष्ठान्नको मधुर भोजन गरेर यो पर्व मनाइन्छ। यो पर्व वास्तवमा वैश्य समुदायका लागि दसैंभन्दा कम हुँदैन। खानपिन र मौजमज्जा यस पर्वलाई मनाउनका लागि मानिस मन फुकालेर खर्च गर्न पनि पछाडि पर्दैन। ऋण लिएर पनि यो पर्व मनाइन्छ। चाणक्यको सिद्धान्त खाउँ पिउँ, मौज–मज्जा गरे वास्तविक अर्थमा चरितार्थ हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.