म जुत्ता
गोलीको आवाजसँगै
हरायो मेरो जोडी
अनि,
भिडहरूमा हराइसकेको छ।
मेरो शरीरभरि उसैको शरीरबाट चुहिएका
रगतका छिटाहरू पीडाको ज्वालामा जलेर
आर्तनाद गर्दैछन्, परिवर्तनको बिगुल फुक्दैछन्।
हरेक थोपा यी रगत
प्रश्न गर्छन् मलाई
के साँच्चै परिवर्तन आउँछ ?
आउँछ भने कस्तो आउँछ ?
म मौन छु।
म मात्र जुत्ता।
उसलाई गोली लागेपछि
भिडमा आतंकित हुँदै कुद्दा
उसकै खुट्टाबाट उछिट्टिएको छु।
ऊ र उसका साथीहरूझैँ
न्यायको पर्खाइमा बसेको छु।
उसको न्यानो स्पर्श र माया
सायदै अब पाउँला
तर आशा छ
उसको ज्यान अझै सुरक्षित छ।
उसको घाउ अवश्य निको हुनेछ।
र, परिवर्तनको शीतलतासँगै
उसले नयाँ जुत्ता पाउनेछ -
जसले बन्दुकको निशाना
खेप्नुपर्ने छैन।
मजस्तै गरी भिडमा हराउने छैन।
अनि
उछिट्टिएर कतै
नालीमा पनि खस्ने छैन।।
संगीता स्वेच्छा
प्रतिक्रिया दिनुहोस !