रोल्पा : नेकपाले रोल्पाको सदरमुकाम लिबाङमा आयोजना गरेको चुनावी सभाबाट घोडागाउँ फर्किँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । ना ५ ख १२३१ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा २६ जनाको अवस्था सामान्य रहेको र तीनजनालाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष एवं नेकपाका नेता मणिराम बुढाथोकीले जानकारी दिए । 
सुनिलस्मृति गाउँपालिका-३ मिझिङ उपल्लोथर धन्डी पोखरा सडक घुम्टीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचार भइरहेको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ ।
घटनाबारे यथार्थ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक बिरेन्द्रबीर विश्वकर्माले जानकारी दिए । ब्रेक फेल भएर गाडी दुर्घटना भएको भनेर प्रहरीलाई सूचना आएको बताइएको छ ।
लिबाङमा सम्पन्न चुनावी सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले सम्बोधन गरेका थिए । चुनावी सभामा आएका मानिस बस, जिप र मोटरसाइकलबाट आएर तिनै साधनबाट गाउँ फर्किएका हुन् ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
