मतदातालाई रकम वितरण गरेको आरोपमा कांग्रेसका तीन कार्यकर्ता प्रहरीको नियन्त्रणमा

मतदातालाई रकम वितरण गरेको आरोपमा कांग्रेसका तीन कार्यकर्ता प्रहरीको नियन्त्रणमा
प्रहरीले नियन्त्रणमा लिएको कार ।
सुन्नुहोस्

विराटनगर : प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मतदातालाई नगद वितरण गरेको आरोपमा प्रहरीले मोरङमा तीन जनालाई नियन्त्रणमा लिएको छ । रतुवामाईबाट नेपाली कांग्रेसका तीन जनालाई नियन्त्रणमा लिँदै प्रहरीले एउटा गाडी, करिब साढे चार लाख रूपैयाँ नगद, प्रचार सामग्री र नमुना मतपत्र बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय सिजुवाका इन्स्पेक्टर कैलाश लिम्बूको नेतृत्वमा गएको टोलीले शनिबार राति करिब ९:३० बजे रतुवामाई नगरपालिका–७ जामवाढीमा को १ च ७३३८ नम्बरको कार रोकेर चेकजाँच गर्दा उक्त रकम र सामग्री फेला परेको थियो । 
त्यसलगत्तै प्रहरीले गाडीभित्र रहेका रतुवामाई–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपालीलाई नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार टेकनाथ घिमिरे कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव हुन् भने खड्गबहादुर लिम्बू कांग्रेसको महाधिवेशन प्रतिनिधि र चक्र नेपाली पार्टीको क्रियाशील सदस्य छन् । 

उनीहरू आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदातालाई प्रभावित पार्ने उद्देश्यले रकम वितरणमा संलग्न भएको हुनसक्ने अनुमान छ । बरामद रकम, प्रचार सामग्री र कारसहित तीनै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ । प्रहरी स्रोतले यस रकमको स्रोत, ओसारपसारको उद्देश्य र संलग्न व्यक्तिहरूका बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
तर, मोरङ प्रहरीले सार्वजनिक रूपमा भने यस घटनालाई सामान्य सोधपुछको रूपमा प्रस्तुत गरेको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले भने, ‘निर्वाचन आचारसंहिताविपरीत गतिविधिको सूचना आएपछि प्रहरी पुगेको हो । सामान्य सोधपुछपछि उनीहरूलाई छाडिएको छ । कोही पनि प्रहरीको नियन्त्रणमा छैनन् ।’ डीएसपी चौधरीले यसो भनिरहँदा तीन जना भने सिजुवा प्रहरीको नियन्त्रणमा रहेका छन् । 

स्थानीयका अनुसार निर्वाचन नजिकिँदै गर्दा केही व्यक्तिहरू मत माग्ने बहानामा आर्थिक प्रलोभन दिने प्रयासमा थिए । तर, निर्वाचन आचारसंहिता उल्लंघनको सम्भावित यो घटनाका बारेमा कस्तो निर्णय लिने भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छैन । प्रहरीले मतदातालाई प्रभावित पार्ने वा आचारसंहिताविपरीत गतिविधि गर्ने जानकारी भएमा तत्काल सूचना दिन सबैमा आग्रह गरेको छ । 

रतुवामाई मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । जहाँ नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजाल, नेकपा (एमाले)का दिलिप बगडिया, र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कृष्णकुमार कार्की लगायतका उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयमुक्त बनाउन प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.