मतदानका दिन अत्यावश्यक सवारी साधनलाई सहजरुपमा आवतजावतको व्यवस्था मिलाइएको छ : आयोग
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सवारी साधनलाई सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दमकल, एम्बुलेन्स, शववाहनका साथै अत्यावश्यक सवारी साधन लगायत खानेपानीका, दूध, फलफूल, तरकारी, माछा, मासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनको सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिए । उक्त सवारी साधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने उनले बताए।
दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न पास आवश्यक नपर्ने समेत भट्टराईले उल्लेख गरे।
त्यस्तै उनले अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन,हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, आफ्नै बच्चा बोकेकी महिला, अशक्त वा अपाङ्गता भएका व्यक्ति र एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि सहज रुपमा आवतजावतको व्यवस्था मिलाइएको जानकारी दिए।
प्रवक्ता भट्टराईले अन्य आवश्यक निकायका सवारी साधन सञ्चालनका लागि एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरि सवारी पाससमेत सोही डेस्कबाट जारी भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस !