दुबई : संयुक्त अरब इमिरेट्स (यूएई)को आकाश आइतबार दिउँसो ३:१८ बजे ठूलो विस्फोटका आवाजले गुञ्जिरहेको थियो। आकाशमा चम्किँदै झरेका सेता वस्तु र त्यसपछि बज्ने ठूला विस्फोटका आवाजहरू इरानले प्रहार गरेको क्षेप्यास्त्रलाई यूएईको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट गर्दा उत्पन्न भएको यूएई सुरक्षा अधिकारीहरूको भनाइ छ।
विस्फोटका ध्वनि–तरंग सहरका धेरै भागमा सुनिए पनि सडकमा सवारीसाधन सामान्य रूपमा गुडिरहेका छन् । पसल, सुपरमार्केट, किराना पसलहरू सबै खुला छन् र सहरको दैनिक जीवन सामान्य जस्तै देखिन्छ। ‘माथि युद्ध, तल सामान्य दिनचर्या’–खाडी क्षेत्रको अहिलेको दोहोरो अवस्थालाई प्रत्यक्षदर्शीले यस्तै शब्दमा व्याख्या गर्छन्।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा आक्रमण गरेको भनिएको घटनापछि इरानले यूएई, कतार, साउदी अरब, बहराइन, कुवेत, जोर्डन र ओमानस्थित अमेरिकी सैन्य संरचनालाई लक्ष्य गर्दै क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ। पहिलो दिन बिहान आबुधाबीस्थित शेख जायेद अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रनजिक प्रहार हुँदा एक पाकिस्तानी नागरिकको मृत्यु र केही घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। त्यसपछिका केही घण्टा आबुधाबी र दुबईतर्फ मिसाइल प्रहार प्रयास बढ्दै गएको र तीमध्ये धेरै आकाशमै निष्क्रिय पारिएको यूएईको सुरक्षा मन्त्रालयले पुष्टि गरेको छ।
दुबईस्थित प्रसिद्ध ठाउँ पाम जुमेरा, बुर्ज अल अरब होटल, जबल अली बन्दरगाह, दुबई अन्तर्राष्ट्रिय विमानस्थल समेत निशानामा परेका थिए। सुरक्षालाई मध्यनजर गर्दै दुबई सरकारले विश्वकै अग्लो भवन बुर्ज खालिफा खाली गराएको छ। आइतबार पनि दुबईका केही स्थानमा नस्ट गरिएका (इन्टरसेप्ट) मिसाइलका टुक्रा झरी सामान्य आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन्।
सडक सामान्य, मनमा भय
बरदुबईको नेपाली चोक भनिने अब्राहामा नेपालीहरू निस्फिक्री हिँडिरहेका भेटिए । नेपाली रेस्टुरेन्टहरूमा भीड अलिकति पातलो भए पनि देशमा युद्ध भइरहेको त्रास भने कुनै पनि नेपालीमा थिएन । काष्ठमण्डप रेस्टुरेन्टमा भेटिएका एकजोडी नेपाली मज्जाले गफिइरहेका भेटिए । आधाजसो टेबल भरिभराउ थिए । नेपालमा रहेका घर परिवार र आफन्तले फोन गरेर के कस्तो छ भनेर सोधेर हैरान पार्दा मनमा चिन्ता पर्ने गरेको रेस्टुरेन्टमा भेटिएका एक नेपालीले बताए ।
‘मनमा डर त छ, तर बाहिर हल्ला भए जस्तो छैन,’ उनले भने, ‘नेपालबाट फोन गरेर हैरान बनाएपछि भने मनमा झन् भय हुने रहेछ ।’ आबुधाबीस्थित निर्माण कम्पनीमा कार्यरत दिनेश अग्रवाल भन्छन्– ‘आकाशमा सेतो वस्तु देखिन्छ, त्यसपछि ठूलो विस्फोट। घर नै हल्लिएजस्तो हुन्छ। पहिले कहिल्यै यति नजिकबाट यस्तो देखेको थिइनँ।’ के भइरहेको छ भनेर बुझ्न नसकिएको अग्रवालले बताए ।
रस अल खैमाहमा कार्यरत संकल्प चन्दले भने– ‘शनिबार रातभर सुत्नै सकेनौं। आवाज यति तीव्र हुन्छ कि आकाशबाट केही थर्किन्छ । डरले निदाउनै सकिँदैन।’ उनको मनमा त्रास थियो। जब अल अली बन्दरगाहनजिक बस्ने गोपीकृष्ण पंगेनी भन्छन्, ‘हामी सुरक्षित छौं भनिए पनि मनमा अत्तास हुन्छ। आकाशमै केही फुट्दा घर नै काँपेजस्तो लाग्छ।’
नेपाल जान एयरपोर्ट पुगे पनि उडान रद्द भएपछि फेरि दुबई फर्कन बाध्य भएका भुवानीप्रसाद तिमल्सिनाले सामाजिक सञ्जालमा लेखे— ‘रातको २ बजेको छ, आज भगवानलाई सम्झेर सुत्नु छ।’ बैध–अबैध गरेर झन्डै ९ लाख नेपाली रहेको अनुमान गरिएको यूएईमा सुरक्षालाई लिएर त्रास उत्पन्न भएको छ । भौतिक रूपमा जति नै सुरक्षित भए पनि मनोवैज्ञानिक रूपमा भने डर लागिरहेको अधिकांश नेपालीहरूको भनाइ छ ।
खाडी आकाश बन्द : निर्वाचन फर्कने योजना तुहियो
इजरायल–इरान तनाव खाडीमा फैलिँदै गएपछि सबैभन्दा ठूलो प्रभाव हवाई आवागमनमा परेको छ। यूएई, कतार, साउदीलगायतका देशको हवाई क्षेत्र अस्थायी रूपमा बन्द हुँदा दुबई–काठमाडौंसहित धेरै अन्तर्राष्ट्रिय उडान अवरुद्ध भएका छन्। नेपाल फर्कन लागेका यात्रुहरू एयरपोर्टबाटै फर्काइएका छन्। आगामी बिहीबार हुने निर्वाचनमा सहभागी हुन चाहने हजारौं नेपाली बिचलित बनेका छन्। उडान रद्द हुँदा उनीहरू मताधिकार प्रयोग गर्न नपाउने जोखिम बढेको छ।
काठमाडौं उडानमा यात्रा गर्न चाहेका भुवानी तिमल्सिना भन्छन्, ‘टिकट थियो, समय थियो, तर आकाश बन्द भएपछि केही गर्न नसक्ने स्थिति रहेको अवस्था हो। इरानले खाडीका अमेरिकी सैन्य क्याम्प लक्ष्य गरेको दाबीसँगै कतार, साउदी, बहराइन र इजरायल–सबैतिर सुरक्षा अवस्था तनावपूर्ण छ। कतारको बरवा सिटीनजिक विस्फोट देखिएको छ, तर क्षति भएको पुष्टि छैन। बहराइनको राजधानी मनामानजिक अमेरिकी क्याम्पभित्र ठूलो आवाज सुनेको स्थानीयवासी बताउँछन्। इजरायलमा साइरन बजिरहेकाले त्यहाँ रहेका धेरै नेपाली सार्वजनिक बंकरतर्फ सर्दैछन्।
२० लाख नेपाली प्रभावित
खाडीका ६ प्रमुख मुलुकमा मात्रै करिब २० लाख नेपाली कार्यरत छन्। सबैभन्दा बढी यूएईमा कामदार र अन्य गरेर करिब ९ लाख रहेको अनुमान छ । त्यस्तै साउदी अरबमा ४ लाख, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार, ओमानमा २५ हजार, इराकमा २५ हजार, इजरायलमा १० हजार हाराहारीमा रहेका अनुमान छ। इजरायलमा जी–टु–जी छलेर अन्य मार्गबाट गएका कति नेपाली होलान ठ्याकै भन्न सकिने अवस्था छैन ।
आफ्नै आम्दानी, परिवारको खर्च, रेमिट्यान्स–सबै यी मुलुकमा निर्भर हुने भएकाले क्षेत्रीय तनाव नेपालीका लागि आर्थिक, मानसिक र सामाजिक सबै दृष्टिले गम्भीर मानिन्छ। युद्धले यो क्षेत्रमा रहेका नेपाली कामदारहरू फर्कनुपर्ने अवस्थाको कल्पना गर्न नसकिने विज्ञहरूको भनाइ छ । नेपालको कुल गार्हस्थ्य उत्पादनको करिब एक चौथाइ रेमिट्यान्सले धानेको छ भने अधिकांश यही खाडी क्षेत्रमा काम गर्ने नेपालीहरूको योगदान रहेको छ ।
यूएईमा तीन दिन ‘रिमोट वर्क’, दूरी शिक्षा लागू
यूएईको श्रम मन्त्रालयले मार्च १ (आइतबारदेखि ३ दिनसम्म) निजी क्षेत्रमा घरबाटै काम गर्ने गरी ‘रिमोट वर्क’ लागू गर्न सिफारिस गरेको छ। जोखिमयुक्त खुला क्षेत्रमा कर्मचारी नपठाउन र सम्भव भए घरबाटै काम गराउन भनिएको हो। शिक्षा मन्त्रालयले मार्च २–४ सम्म देशभरका विद्यालयमा दूरी शिक्षा लागू भएको घोषणा गरेको छ। धेरै विद्यालयले परीक्षा तालिका स्थगित गर्न थालेका छन्।
दूतावास र समुदायको अपिल : ‘अफवाहबाट टाढा’
यूएईस्थित नेपाली दूतावासले अनावश्यक यात्रा नगर्न, भीडभाड टाढा रहन, आधिकारिक सूचना मात्र विश्वास गर्न, स्थानीय सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) र स्थानीय समुदाय संस्थाहरूले पनि अफवाह नफैलाउन वा बुझेर मात्र विश्वास गर्न विशेष सावधानी अपनाउन सुझाएका छन्।
१ नेपालीसहित ३ जनाको मृत्यु
आइतबार भएको इरानी हवाई आक्रमणमा १ नेपालीसहित ३ जनाको मृत्यु भएको छ । रक्षा मन्त्रालयले घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी गरी ३ जनाको मृत्यु भएको जनाएको छ। साथै यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, लेबनान र अफगानिस्तानका ५८ जना नागरिक सामान्य घाइते भएका छन्।
मिसाइलहरू आकाशमै नस्ट
इरानबाट भएको आक्रमणविरुद्ध देशको वायु सेना तथा वायु–प्रतिरक्षा प्रणालीले प्रभावकारी रूपमा प्रतिकार गरिरहेको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमणको दोस्रो दिन बिहानीसम्म यूएईको वायु सेना र वायु–प्रतिरक्षा बलले २० वटा ब्यालेस्टिक मिसाइल ध्वस्त पारेका छन् भने ८ मिसाइल समुद्रमा खसेका छन्। साथै २ वटा मोबाइल मिसाइल नष्ट गरिएको र ३ सय ११ वटा इरानी ड्रोन (मार्च प्लेन) खसाइएका छन्। तीमध्ये २१ ड्रोन नागरिक क्षेत्रसम्म पुगेका थिए।
मन्त्रालयले २०२६ फेब्रुअरी २८ देखि सुरु भएको आक्रमण अवधिमा इरानबाट यूएईतर्फ प्रहार गरिएका १ सय ६५ ब्यालेस्टिक मिसाइलमध्ये १ सय ५२ मिसाइल अवरोध गरी नष्ट गरिएको जनाएको छ। बाँकी १३ मिसाइल समुद्रमा खसेका छन्।
यस्तै, २ मोबाइल मिसाइल पत्ता लगाई नष्ट गरिएको तथा ५ सय ४१ इरानी ड्रोनमध्ये ५ सय ६ ड्रोन प्रतिरक्षा प्रणालीले अवरोध गरी खसाएको मन्त्रालयले स्पष्ट गरेको छ। ३५ ड्रोन देशभित्र खसेर भौतिक क्षति पुगेको जानकारी दिइएको छ।
वायु–प्रतिरक्षाद्वारा अवरोध गरिएका मिसाइल तथा ड्रोनका टुक्रा देशका विभिन्न स्थानमा खस्दा केही नागरिक संरचनामा सामान्यदेखि मध्यम स्तरसम्मको क्षति पुगेको मन्त्रालयले जनाएको छ। रक्षा मन्त्रालयका अनुसार देश उच्च सतर्कता र तयारी अवस्थामा रहेको छ। नागरिक, बासिन्दा तथा आगन्तुकको सुरक्षा सर्वोच्च प्राथमिकता भएको समेत उल्लेख गरिएको छ।
युद्धस्तरको गतिविधि बढ्दै जाँदा यूएई सरकारले सामाजिक सञ्जालमा अफवाह, गलत फोटो–भिडियो वा अप्रमाणित सूचना पोस्ट, सेयर वा लाइक नगर्न चेतावनी जारी गरेको छ। आधिकारिक स्रोतबाहेकका सामग्री प्रसार ‘दण्डनीय कार्य’ हुने जनाइएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को रक्षा मन्त्रालयले इरानबाट भएको आक्रमणविरुद्ध देशको वायु सेना तथा वायु प्रतिरक्षा प्रणालीले प्रभावकारी रूपमा प्रतिकार गरिरहेको जनाएको छ।
मन्त्रालयका अनुसार आक्रमणको दोस्रो दिन बिहानसम्म यूएईको वायु सेना र वायु प्रतिरक्षा बलले २० वटा ब्यालेस्टिक मिसाइल ध्वस्त पारेका छन् भने ८ वटा मिसाइल समुद्रमा खसेका छन्। साथै २ वटा मोबाइल मिसाइल नष्ट गरिएको र ३ सय ११ वटा इरानी ड्रोन (मार्च प्लेन) ध्वस्त पारिएको जानकारी दिइएको छ। यद्यपि २१ वटा ड्रोन नागरिक क्षेत्रसम्म पुगेका थिए।
रक्षा मन्त्रालयले २०२६ फेब्रुअरी २८ देखि सुरु भएको आक्रमण अवधिमा इरानबाट यूएईतर्फ प्रहार गरिएका १ सय ६५ वटा ब्यालेस्टिक मिसाइल पहिचान गरिएको जनाएको छ। जसमा १ सय ५२ वटा नष्ट गरिएको छ भने १३ वटा समुद्रमा खसेको पुष्टि भएको छ।
त्यसैगरी, २ वटा मोबाइल मिसाइल पत्ता लगाएर नष्ट गरिएको तथा ५ सय ४१ वटा इरानी ड्रोन पहिचान गरिएकोमा ५ सय ६ वटा अवरोध गरी ध्वस्त पारिएको मन्त्रालयले जनाएको छ। बाँकी ३५ वटा ड्रोन देशभित्र खसेर भौतिक क्षति भएको बताइएको छ। मन्त्रालयका अनुसार वायु प्रतिरक्षा प्रणालीद्वारा अवरोध गरिएका मिसाइल तथा ड्रोनका टुक्रा देशका विभिन्न स्थानमा खस्दा केही नागरिक संरचनामा सामान्यदेखि मध्यम स्तरसम्मको भौतिक क्षति पुगेको छ।
प्रतिक्रिया दिनुहोस !