जाजरकोटका सबै मतदान केन्द्रमा पुगे कर्मचारी
जाजरकोट : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक मतदान सामग्रीसहित सबै मतदान केन्द्रमा कर्मचारी पुगेका छन्। जिल्लाका १ सय ४७ वटै मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारी पुगेका हुन्। भौगोलिक रूपमा विकट रहेका मतदान केन्द्रमा आइतबार नै कर्मचारी पठाइएको थियो। बाँकी पालिकामा सोमबार पठाइएको हो।
मतदान केन्द्रमा निर्वाचनमा आवश्यक पर्ने मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका निर्वाचन सामग्रीसहित ८९ मतदान स्थलका १ सय ४७ केन्द्रमा खटिएका सुरक्षाकर्मी, मतदान अधिकृत र अन्य कर्मचारी सम्बन्धित स्थानमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए। सुरक्षा निकायको कमान्डमा सम्बन्धित मतदान स्थलमा कर्मचारी जाने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
जिल्लामा ८९ मतदान स्थलमा १ सय ४७ मतदान केन्द्र रहेका छन्। जसमा १६ मतदानस्थल अतिसंवेदनशील, ५७ मतदान स्थल संवेदनशील र १५ मतदान स्थल सामान्य भनेर वर्गीकरण गरी आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। जिल्लामा ४ सय ३६ स्वयंसेवकसहित ८ सय ७९ जना कर्मचारी निर्वाचनमा खटिएका छन्। त्यस्तै ८ सय ८२ निर्वाचन प्रहरी परिचालन गरिएको छ।
जाजरकोटमा तीन नगरपालिका र चार गाउँपालिकामा गरी जम्मा ७७ वटा वडा रहेका छन्। निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सबैलाई सहयोग गर्न मुख्य निर्वाचन अधिकारी दुर्गाप्रसाद खनालले आग्रह गरे। उनले आचारसंहिताको पूर्ण रूपमा पालना गर्न सबैलाई आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !