कोशीमा खटिए साढे २५ हजारभन्दा बढी कर्मचारी
विराटनगर : प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार हुने मतदानलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन कोशी प्रदेशमा साढे २५ हजारभन्दा बढी कर्मचारी परिचालन गरिएको छ।
प्रदेश निर्वाचन कार्यालय, विराटनगरका अनुसार मतदान अधिकृतदेखि सहयोगी कर्मचारीसम्म गरी कुल २५ हजार ७ सय ६४ जना कर्मचारी मतदान सम्पन्न गराउन खटिएका छन्। कोशीमा यसपटक १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० स्थायी मतदान केन्द्र तोकिएका छन्। त्यस्तै विशेष अवस्थाका मतदातालाई मतदानको अवसर सुनिश्चित गर्न २४ वटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। कारागार, वृद्धाश्रम तथा विशेष सुरक्षा व्यवस्थाभित्र रहेका मतदाताका लागि ती अस्थायी केन्द्र सञ्चालनमा ल्याइएका हुन्।
स्थायी र अस्थायी गरी प्रदेशभर ४ हजार २ सय ९४ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख चोलाराज दंगालका अनुसार प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना सहयोगी कर्मचारी खटाइएको छ। सोहीअनुसार केन्द्रहरूमा ८ हजार ५ सय ८८ जना अधिकृत तथा सहायक अधिकृत, १२ हजार ८ सय ८२ जना सहायक कर्मचारी र ४ हजार २ सय ९४ जना सहयोगी कर्मचारी परिचालन गरिएको उनले बताए।
निर्वाचनसँग सम्बन्धित प्रशासनिक तथा कानुनी काम कारबाहीका लागि प्रदेशका १४ वटै जिल्लामा १४ जना मुख्य निर्वाचन अधिकृत र १४ जना निर्वाचन अधिकृत तथा २८ जना सहायक निर्वाचन अधिकृतलाई यसअघि नै जिम्मेवारीमा खटाइसकिएको थियो। कोशीमा प्रतिनिधिसभातर्फ २८ वटा निर्वाचन क्षेत्र छन्। यस निर्वाचनमा कुल ४ सय ९५ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन्। प्रदेशभर ३५ लाख ७४ हजार ३ सय १० मतदाता रहेका छन्। तीमध्ये १७ लाख ४६ हजार ७३ महिला, १८ लाख २८ हजार २ सय १३ पुरुष र २४ जना अन्य मतदाता छन्।
निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्र, कर्मचारी परिचालन, सुरक्षाकर्मी व्यवस्थापन तथा मतदान केन्द्रमा आवश्यक सामग्री ढुवानीको काम मंगलबार नै सम्पन्न गरिएको दंगालले जानकारी दिए। उनका अनुसार मतदान केन्द्र निर्माण, भौतिक संरचना व्यवस्थापन तथा आवश्यक प्राविधिक तयारी पूरा भइसकेको छ। बिहीबार बिहानैबाट मतदान प्रक्रिया सुरु गर्ने तयारी छ।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र विश्वसनीय बनाउन सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ। सुरक्षाको दृष्टिकोणले प्रदेशका मतदानस्थलमध्ये ४ सय ३९ वटालाई ‘अतिसंवेदनशील’, ८ सय २१ वटालाई ‘संवेदनशील’ र ६ सय ४७ वटालाई ‘सामान्य’ श्रेणीमा वर्गीकरण गरिएको छ। सोहीअनुसार सुरक्षाकर्मी परिचालन र निगरानीको व्यवस्था मिलाइएको छ।
प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले संयुक्त सुरक्षा गस्ती, चेकजाँच र निगरानीलाई तीव्र बनाइएको जानकारी दिए। मतदानस्थल र वरपरका क्षेत्रमा नियमित गस्ती, शंकास्पद गतिविधिमाथि निगरानी तथा आवश्यक सुरक्षात्मक उपाय अपनाइएको उनले बताए। निर्वाचन सुरक्षामा नेपाली सेनाले पनि सक्रिय भूमिका निर्वाह गरिरहेको छ। प्रदेशका सबै जिल्लामा १ सय २० स्थानमा सेनाको बम डिस्पोजल टोली तैनाथ गरिएको छ। सम्भावित विस्फोटक पदार्थ वा शंकास्पद वस्तु नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको छ।
मतदान सम्पन्न भएपछि मतगणनाको कार्य तत्काल सुरु गर्ने तयारी गरिएको छ। सबै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार भइसकेका छन्। तारजाली लगाएर सुरक्षित र व्यवस्थित रूपमा मतगणनास्थल निर्माण गरिएको छ। निर्वाचन व्यवस्थापन, प्रशासनिक समन्वय तथा सुरक्षा तयारी पूर्ण रूपमा सम्पन्न भइसकेकाले मतदाताले निर्धक्क र सुरक्षित वातावरणमा मतदान गर्न सक्ने अवस्था सिर्जना गरिएको सम्बन्धित अधिकारीहरूको दाबी छ।
प्रशासन, सुरक्षाकर्मी र निर्वाचन कर्मचारीबीच समन्वयात्मक ढंगले कार्य विभाजन गरिएकाले मतदान प्रक्रियामा कुनै अवरोध नआउने विश्वास व्यक्त गरिएको छ। व्यापक कर्मचारी परिचालन, कडा सुरक्षा व्यवस्था र पूर्वतयारीसहित प्रतिनिधिसभा निर्वाचनको मतदान कार्य सम्पन्न गर्नलाई सम्पूर्ण तयारी पूरा भएको कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !