चुनावबाट आएको जनमतअनुसार नयाँ पुराना दल मिलेर काम गर्नुपर्छ : वर्षमान पुन
रोल्पा : पूर्व अर्थमन्त्री एवं नेकपाका उम्मेदवार वर्षमान पुन (अनन्त)ले चुनावबाट जस्तोसुकै परिणाम आए पनि मिलेर काम गर्नुपर्ने बताएका छन्।
गृह जिल्ला रोल्पाको माडीचौरबाट मतदान गरी जिल्लाका विभिन्न मतदानस्थलको अनुगमन गरी सदरमुकाम लिबाङ फर्किएका अनन्तले पत्रकारसँग भने, 'चुनाव हुँदैन कि भन्ने संशय थियो। अन्ततः चुनाव सम्पन्न भयो। अब परिणाम जस्तोसुकै आए पनि मिलेर काम गर्नुपर्छ।'
जनमत जस्तो आउँछ त्यसलाई नयाँ वा पुराना पार्टीले स्वीकार गर्नुपर्ने बताए। 'जनमत मेरो अनुकूल या प्रतिकूल आयो भन्नु हुँदैन। शान्तिपूर्ण रूपमा सम्पन्न चुनावबाट आएको मत अनुसार सबै मिल्नुको विकल्प छैन।', रोल्पाको एकमात्र क्षेत्र नम्बरबाट ९ जना उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका नेता अनन्तले भने।
जस्तोसुकै ठूला क्रान्ति, विद्रोह र आन्दोलन भए पनि अन्तिममा शान्तिपूर्ण चुनावबाट निकास निकाल्ने गरिएको भन्दै खुशी व्यक्त गरे। देशकै स्वाधीनता, शान्ति र अस्तित्वको चिन्ता भएको बेला भएको चुनावी परिणामलाई सबैले स्वीकार गर्नुपर्ने भन्दै नेकपाका प्रभावशाली नेता समेत रहेका अनन्तले रोल्पामा पनि उत्साहजनक मतदान भएको बताए।
प्रतिक्रिया दिनुहोस !