मोरङ ४ र ६ मा जोगिएन एमालेको जमानत, ३१ उम्मेदवारको जफत

मोरङ ४ र ६ मा जोगिएन एमालेको जमानत, ३१ उम्मेदवारको जफत
एमाले उम्मेदवारहरु मोरङ–६ का विनोद ढकाल र मोरङ–४ का जीवन घिमिरे ।

विराटनगर : मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा चुनाव जित्ने दाबी नेकपा (एमाले) ले गरेको थियो । तर, प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा दुवै क्षेत्रमा एमालेले जमानत नै जोगाउन सकेन । 

निकटतम प्रतिद्वन्द्वी बनेको कांग्रेस भने जमानत जोगाउन सफल भएको छ । मोरङ–४ र ६ बाट एमालेसहित ३१ जना उम्मेदवारको जमानत जफल भएको हो । मोरङ–४ को शुक्रबार राति र ६ को शनिबार बिहान अन्तिम मतपरिणाम सार्वजनिक गरिएको थियो । दुवै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । 

मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी हुँदा ६ बाट रास्वपाकै रुविना आचार्य  ५५ हजार ५१३ मतसहित निर्वाचित भइन् । मोरङ ४ र ६ मा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दल र स्वतन्त्र गरेर ३१ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउनका लागि कुल सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने व्यवस्था छ । 

मोरङ–४ बाट कांग्रेसका महामन्त्री समेत रहेका गुरुराज घिमिरे रास्वपाका राजवंशीसँग पराजित भएका छन् । घिमिरेले १२८१८ ल्याउँदा तेस्रो स्थानमा रहेका नेकपाका अमनलाल मोदीले १० हजार ७६२ मत पाए । मोरङ–४ बाट कांग्रेसका घिमिरे र नेकपाका मोदीको मात्रै जमानत जोगिएको छ ।

यो क्षेत्रमा एमालेका जीवन घिमिरे ६ हजार ९३३ मतमा रोकिएर चौथो बने । तर, एमालेका केन्द्रीय सदस्य समेत रहेका घिमिरेको जमानत जफल भयो । एमालेका घिमिरे र राप्रपाका माधव आचार्यसहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । मोरङ–४  मा ७९ हजार ७७५ मत खसेकोमा ७४ हजार ५१९ सदर भएको थियो । ५ हजार २५६ मत बदर भएको छ । बदर मतको संख्या धेरै रहेको पाइएको छ । 

त्यस्तै, मोरङ–६ मा रास्वपाकी आचार्यसँग नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला पराजित हुन पुगे । आचार्यले कोइरालालाई भारी मतान्तरले हराएकी हुन् । १२ हजार ८५० मत ल्याएका कोइरालाको मात्रै जमानत जोगिएको छ । तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार विनोद ढकालको जमानत नै जोगिएन । उनले ८ हजार ३१७ मत पाएका छन् । 

मोरङ–६ बाट एमालेका ढकाल, नेकपाका ओपेन्द्र रायसहित १५ जना उम्मेदवारको जमानत जफत भएको हो । ढकाललाई जमानत जोगाउनका लागि थोरै मत पुगेन । नेकपाका राय १ हजार ७१६ मतमै रोकिँदा जमानत जफत भयो । मोरङ–६ मा ८९ हजार ८४७ मत खसेको थियो । खसेकोमध्ये ८५ हजार २३३ सदर र ४ हजार ६१६ मत बदर भएको छ । यो क्षेत्रमा पनि उल्लेख्य मत बदर भएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.