राष्ट्रिय झण्डा : देशको अनुहार !

राष्ट्रिय झण्डा : देशको अनुहार !

झण्डा देशको अनुहार हो। अनुहारमा दाग लाग्दा ऐना पुछेरमात्र हुँदैन,अनुहार नै सफा गर्नुपर्छ। राज्यप्रतिको सम्मान,सुशासन,समृद्घि र न्यायपूर्ण व्यवहारबाट आउँछ।

प्राचीनकालदेखि नै झण्डाको प्रयोग संगठित समूहहरूलाई जनाउन गरिन्थ्यो। त्यस्ता समूहहरूले आफ्नो शासित वा अधीनस्थ क्षेत्रलाई जनाउने माध्यमको रूपमा प्रयोग गर्थे। खासगरी विशेष उत्सव वा युद्ध र युद्धमार्फत जितेको क्षेत्र दाबी गर्न झण्डालाई सांकेतिक रूपमा विजय वा अधीनको प्रतीकको रूपमा प्रयोग हुन्थ्यो। कुनै मुकामसम्म झण्डा गाड्नु,फहराउनु भनेको सो क्षेत्र त्यो झण्डा गाड्ने वा फहराउने ल्याकत राख्ने शासक वा संगठित समूह अधीनस्थ भूभाग हो भनेर बुझ्नुपथ्र्यो। तर,समयसँगै राज्यको परिभाषा र अवधारणा फेरिँदै गयो। जब आधुनिक ‘नेसन–स्टेट्स’वा राष्ट्र–राज्यको अवधारणा विकास भएसँगै विभिन्न राष्ट्रियता भएको भूगोललाई जनाउने राज्यको एक प्रतीकको रूपमा झण्डालाई लिन थालियो। विस्तारै, झण्डा शासकको निजी चिह्नबाट माथि उठेर आम नागरिकको साझा पहिचानको आधार बन्यो।

वर्तमान समयमा भने झण्डामा कोरिएका रेखा,पोतिएका रङ र कुँदिएका हरेक चित्रले त्यो देशको राजनीतिक दर्शन,भूगोल र मूल्य आत्मसात् गरेको हुन्छ। आधुनिक राज्यहरूले झण्डाको गरिमा,महत्व र प्रयोगलाई संविधान,विभिन्न कानुन वा संहितामार्फत औपचारिकता र वैधानिकता दिँदै आएका छन्। त्यसैले पनि अन्तर्राष्ट्रिय स्तरमा नै राज्यहरूको राजनीतिक पहिचानको रूपमा झण्डालाई अग्रपंक्तिमा राखिन्छ। अन्तर्राष्ट्रिय, बहुपक्षीय,क्षेत्रीय तथा द्विपक्षीय सभा–सम्मेलन,वार्ता आदिमा राज्यको गरिमा,उपस्थिति,ऐक्यबद्धता आदि जनाउन झण्डाको प्रयोग हुन्छ। त्यसैले पनि झण्डा राजनीतिक संकेत चिह्नमात्र नभई मुलुकको सार्वभौमिकता र राजनीतिक अस्तित्व,उपस्थिति र पहिचानको प्रतीक हो। कतिपय अवस्थामा झण्डाले त्यस देशको राजनीतिक प्रणाली, व्यवस्थाको स्वरूप र अन्तर्राष्ट्रिय दृष्टिकोण प्रदान गर्ने राजकीय वस्तुको रूपमा पनि काम गर्दछ।

पछिल्लो समय नेपालमा जसरी झण्डाको प्रयोग,अति–प्रयोग र दुरुपयोगलाई लिएर चर्चा भइरहेको छ,यसले झण्डाप्रतिको आम नागरिकको बुझाइ,यसको संवैधानिक हैसियत र यसमा लुकेको मनोविज्ञानबारे गम्भीर विमर्श गर्न बाध्य बनाएको छ। त्यसैले पनि राष्ट्रिय झण्डा प्रयोगको सन्दर्भ, सीमा र मर्यादाको सन्दर्भमा यसको ऐतिहासिक,कानुनी,प्राविधिक र मनोवैज्ञानिक आयामहरूलाई मिहिन ढंगले केलाउनु सान्दर्भिक हुन्छ।

झण्डा प्रयोगको संवैधानिक स्वायत्तता र ज्यामितीय मर्यादा : नेपालको राष्ट्रिय झण्डा विश्वकै अद्वितीय झण्डामध्येको एक मानिन्छ। संसारका सबै मुलुकका झण्डाजस्तो हाम्रो झण्डाको आकार चारकुने छैन। अझै अनौठो विषय त यो दुई त्रिकोण मिलेर बनेको छ। तर,के यो केवल दुई टुक्रा कपडाको मिलनमात्र हो त ?

पक्कै होइन : नेपालको संविधानले यसलाई निकै मिहिन र संवेदनशीलताका साथ परिभाषित गरेको छ। संविधानको धारा ८ ले प्रस्ट भनेको छ कि ‘सिम्रिक रङको भुइँ र गाढा नीलो रङको किनारा भई दुई त्रिकोण अलिकति जोडिएको,माथिल्लो भागमा खुर्पे चन्द्र र तल्लो भागमा सूर्यअंकित’वस्तु नै नेपालको झण्डा हो। अझ अनुसूची १ मा त झण्डा बनाउने गणितीय विधि नै तोकिएको छ। यसको अर्थ हो– झण्डाको निर्माणमा प्रयोग हुने रङ र कोणहरूको ज्यामितीय शुद्धता अनिवार्य छ। सिम्रिकको सट्टा रातो वा कलेजो रङ प्रयोग गर्नु,गाढा नीलोको सट्टा आकाशी नीलो प्रयोग गर्नु वा चन्द्रमा र सूर्यका कोणहरूको संख्यामा तलमाथि हुनुले झण्डाको संवैधानिक हैसियत र राष्ट्रिय पहिचान समाप्त पार्छ। त्यसो त,झण्डाको विषय संविधानको भाग १ र प्रारम्भिक खण्डमा राखिनु र झण्डा बनाउने तरिका र सोसम्बन्धी अन्य विवरण पनि अनुसूची १ मै राखिनुबाट पनि झण्डाको संवैधानिक महत्व र सार्वभौम गरिमा प्रस्ट हुन्छ।


नेपालमा ‘राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि,२०६९’मार्फत राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित गर्न खोजेको छ। एउटै भवनमा धेरै कार्यालय भए पनि एउटामात्र झण्डा राख्नुपर्ने,च्यातिएको वा रङ उडेको झण्डा प्रयोग गर्न नपाइने,व्यक्ति र प्रयोजनअनुसार कत्रो आकारको झण्डा प्रयोग गर्ने जस्ता नियमहरू छन्।

यद्यपि,कार्यविधिमा उल्लिखित नियम वा विधि र यसको व्यावहारिक कार्यान्वयनबीच ठूलो खाडल रहेको छ। पछिल्ला दिनमा त झण्डाको (दुरु)पयोगलाई लिएर धेरै चर्चा पनि हुने गरेको छ। जब झण्डाको प्रयोग सरकारी कार्यालयको छानाबाट ओर्लिएर आम मानिसको हात, गला (घाँटी र सामाजिक सञ्जालको भित्तासम्म आइपुग्छ,तब यसको मर्यादाका सन्दर्भमा सार्वजनिक वृत्तमा चिन्ता,विमर्श र बहस हुनु स्वाभाविक नै हो।

राष्ट्रवाद र राष्ट्रिय झण्डा : राष्ट्रिय झण्डाको विषयलाई अलि बृहत् रूपमा राष्ट्रवादको दृष्टिकोणबाट पनि हेरिनुपर्ने हुन्छ। यसरी हेर्दा, झण्डामात्र होइन,राष्ट्रिय गान,राष्ट्रिय भाषालगायतका कुरा पनि झण्डा जस्तै महत्व राख्ने विषयहरू हुन्। यस्ता वस्तु वा विषयहरू विशेषगरी झण्डाको विषय राज्यसँग दस्तावेजमा त जोडिन्छ नै,नागरिकसँग पनि भावनात्मक सम्बन्ध राखेको हुन्छ। 

राज्यदेखि नागरिक तहमा राष्ट्रवाद प्रवद्र्धन गर्ने एउटा महत्वपूर्ण प्रतीकको रूपमा झण्डा छ। साना–ठूला राष्ट्रवादी आन्दोलन,प्रदर्शनजस्ता जटिल राजनीतिक प्रसंगमा हुने प्रयोग होस् वा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताजस्तो आम जनमानसलाई जोड्ने कार्यमा हुने प्रयोग होस् राष्ट्रिय झण्डाको प्रयोगमार्फत राष्ट्रवाद प्रदर्शन र प्रवद्र्धन गर्ने,राष्ट्रियताको भावनालाई सुदृढ बनाउन प्रयास गर्ने,राष्ट्रको अन्तर्राष्ट्रिय व्यक्तित्वको रूपमा पहिचान स्थापित गर्न झण्डाको प्रयोगको विषयलाई सामान्य र स्वीकार्य मानिन्छ।

सन् २०१७ मा बेकर र उनका साथीहरूले ‘ह्वाट डु नेसनल फ्लाग स्ट्यान्ड फर एन एक्स्प्लोरेसन अफ एसोसिएसन्स एक्रोस कन्ट्रिज’मा मानिसहरूलाई राष्ट्रिय झण्डासँग जोड्ने अवधारणा र भावनाहरू,राष्ट्रिय झण्डा, देशभक्ति र राष्ट्रवादबीचको भावनात्मक सम्बन्धबारे तुलनात्मक अध्ययन गरेका थिए। अध्ययन ११ वटा देशमा गरिएको थियो। अध्ययनबाट झण्डासँग देशभक्ति र राष्ट्रवादबीचको सम्बन्धहरूको स्वरूप फरक–फरक भएको उनीहरूले पाए। 

अध्ययनको निष्कर्षले मूलभूत रूपमा चारओटा पक्षहरूलाई उजागर गरेको छ। पहिलो,राष्ट्रिय झण्डा भावनात्मक संरचना हो। दोस्रो,झण्डाको अर्थ देशअनुसार फरक हुन्छ। तेस्रो,कुनै पनि मुलुकको ऐतिहासिक विकासले राष्ट्रिय प्रतीक (झण्डा वा यस्तै) प्रतिको भावनात्मक सम्बन्ध निर्धारण गर्छ। चौथो, झण्डा सधैं उग्रराष्ट्रवादको प्रतीक हुँदैन। कतिपय अवस्थामा यो समावेशी देशभक्तिको माध्यम पनि हुन्छ। अध्ययनले परीक्षण गरिएका ११ ओटा देशमा जर्मनीबाहेक सबै देशले आफ्नो झण्डाप्रति सकारात्मक भावनाहरू दर्शाएको पाइएको थियो।

सारमा,उनीहरूले सबैजसो देशहरूमा राष्ट्रवाद,देशभक्ति र झण्डाबीच सहसम्बन्ध (को–रिलेसन) फेला पारे। अध्ययनले मानिसहरू जति बढी राष्ट्रवादी र देशभक्त महसुस गर्थे,त्यति नै उनीहरूले आफ्नो राष्ट्रिय झण्डालाई सकारात्मक भावनाहरू जोडेर हेर्थे भन्ने देखिएको थियो। राज्यको बदलिएको पहिचान,राजनीतिक र आर्थिक–सामाजिक परिवर्तन, नेतृत्वको रणनीतिक उद्देश्यलगायत कारणले झण्डाहरू परिवर्तन भइरहेका हुन्छन्।

सन् २०२१ मा अफगानिस्तानमा तालिवानले शासन सञ्चालन सुरु गरेसँगै आफ्नो झण्डाको रङ र त्यसमा अंकित संकेत/चिह्न पनि परिवर्तन गरेको थियो। राज्यको अस्तित्वसँग जोडिएर आउने राष्ट्रवाद कसरी प्रतिविम्बित हुने,अथवा राष्ट्रवादको बुझाइ नै के रहने भन्ने विषय पनि समय,परिस्थिति,अन्तर्राष्ट्रिय लहर,नागरिकको सामूहिक चेतनाको विकास र तहअनुसार परिवर्तन भइरहन्छ। त्यसैले,राष्ट्रवाद र झण्डाको सम्बन्ध पनि राष्ट्रवादको बुझाइ,समय र सोचसँगै बन्दै, बिग्रिँदै,फेरि बन्दै,परिवर्तन हुँदै जाने गर्दछ।

पछिल्लो समयमा एकातिर प्रविधि र अन्तद्र्विपीय आप्रवासनले गर्दा संसार झन् खुलेको भएको,भाषा– संस्कृति, रहनसहनको तौरतरिका साटासाट बढ्दै गएको देखिन्छ भने अर्कोतिर संसारभर नै आफ्नो संस्कृतिप्रति सजगता,अर्थतन्त्रमा खुल्ने भन्दा खुम्चिने नीतिहरू र कडा आप्रवासन नीतिहरूलगायत राष्ट्रवादी विचारहरू पुनः उदय भएको जस्तो देखिन्छ। राष्ट्रवादिताको बुझाइ र अभ्यास नागरिकस्तरमा खुला भइरहेको तर राज्यस्तरमा संकुचित हुँदै गएको हो कि जस्तो पनि लाग्छ।

कुनै समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’अभियान चलाउँदा उनले बाँडेका टोपी र टिसर्टहरू ‘मेड इन् चाइना’भएको पाइएको दृष्टान्तले अन्ध–राष्ट्रवादको खोक्रोपनलाई उदांगो पारेको थियो भन्ने विश्लेषण भयो। राष्ट्रवाद जुन दिशामा जान्छ, सायद झण्डाप्रतिको भावनाले निर्देशित गर्ने यसको प्रयोग,दुरुपयोग अथवा देखावटी प्रयोग पनि सायद त्यही दिशामा जान्छ। त्यसो त राष्ट्रवादको गहिराइ र गाम्र्भीयता स्थापित गर्न राष्ट्रिय झण्डाप्रतिको सम्मान अथवा सकारात्मकता मात्रै पनि काफी हुँदैन।

त्यसैले,यो सम्मानको दृष्टिकोणबाट हेर्दा नागरिक तहमा हुने झण्डाको प्रयोगसँग गाँसिएको भावना त उही होला आफ्नोपन,पहिचान र गौरवको तथापि इतिहासको आलोकबाट हेर्दा झण्डा प्रयोगको मात्र नभएर आजको समयमा समग्र नेपाली राष्ट्रवाद नै के हो,नेपालीको राष्ट्रवाद कस्तो प्रकारको हो ? नेपाली राष्ट्रवादका तत्वहरू के के हुन् ? र,नागरिकले झण्डाप्रति कस्तो भावना राख्छन् भन्ने विषयलाई बृहत् अध्ययनबाट मात्र राम्रोसँग बुझ्न सकिएला।

डिजिटल दुनियाँ, बजारवाद र देखावटी (झिल्के) राष्ट्रवाद : डजिटल दुनियाँमा झण्डा ‘पप–कल्चर’कै हिस्सा बनेको हो कि जस्तो भान हुन्छ। हिजो सरकारी अड्डामा मात्र सीमित झण्डा आज मोबाइलको किबोर्डमा इमोजी बनेर बसेको छ। सामाजिक सञ्जालमा प्रोफाइल पिक्चर बनाउन होस् वा टिकटकमा भिडियो बनाउनसम्म प्रयोग हुने गरेको देखिन्छ। डिजिटल÷ग्राफिकल हिसाबले त जहाँ, जसरी, जसले पनि झण्डा बनाएर इन्टरनेट वा डिजिटल दुनियाँमा प्रयोग गर्न सक्ने अवस्था देखिन्छ। झण्डाको प्रयोगमार्फत बजारले कसरी मौद्रिकीकरण गरिरहेको छ भन्ने एउटा उदाहरण दुबईको घरजग्गा बजारमा छरपस्ट देख्न पाइन्छ। 

फेसबुक तथा अन्य सामाजिक सञ्जालमा दुबईका फ्ल्याट बेच्ने विज्ञापनमा नेपालको झण्डाको प्रयोग खुलेआम देखिन्छ। राष्ट्रिय ब्रान्डको हिसाबले पनि पर्यटन उद्योगमा झण्डालाई विभिन्न तरिकाबाट प्रयोग गरिराखेको देखिन्छ। नेपालमा मात्र होइन,झण्डाबाट प्रेरित भएका वा विभिन्न किसिमले झण्डा नै प्रयोग भएर तयार गरिएका मर्केन्डाइज प्रयोग भइरहेका हुन्छन्।

यस बाहेक पनि विभिन्न  र्‍याली, पर्व,उत्सव र सार्वजनिक समारोहलगायतमा त झण्डाको प्रयोग स्वाभाविक नै मानिएका छन्। राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता होस् वा विश्वकपजस्ता ठूला खेल प्रतियोगितामा विभिन्न देशका झण्डालाई सजावटका लागि र प्रचार–प्रसारमा प्रयोग गरिरहेको देखिन्छ। नेपालमा पनि यस्तो कार्यलाई सामान्य रूपमा नै लिइन्छ। सामाजिक सञ्जालतिर पनि विभिन्न समयमा,विभिन्न तरिकाबाट राष्ट्रवादको आफ्नो ‘न्यारेटिभ’प्रचार गर्न पनि झण्डाको प्रयोग अत्यधिक गरेको पाइन्छ। 

यसरी,व्यावसायिक हिसाबले मौद्रिकीकरण गर्ने विषयमा झण्डाको प्रयोग कति जायज छ ? देशभित्र र देश बाहिर हुने राष्ट्रिय बिम्बको व्यापारीकरणलाई राज्य र नागरिकले कसरी हेर्ने ? देखावटी राष्ट्रवादले राष्ट्र निर्माणका प्रयासहरूलाई ओझेलमा पार्छ कि पार्दैन ? यस्ता प्रश्नउपर राज्यस्तरमा तथा नागरिक तहमा अझै घनीभूत छलफल आवश्यक देखिन्छ।

अर्को प्रसंगमा हेर्दा,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रवादको प्रदर्शन गर्न झण्डाको प्रयोग भएको देख्न पाइन्छ। हरेक दिन करिब दुई हजारभन्दा बढी नेपाली नागरिकले देश छोड्ने गरेको कटु यथार्थ कसैबाट लुकेको छैन। कोही राम्रो अवसरको खोजीमा जान्छन् त कोही बाध्यताले धकेलिन्छन्। अनौठो कुरा के भने जो रहरले देश छोड्दैछन् तिनको घाँटीमा सबैभन्दा बढी नेपालको झण्डा भएको देखिन्छ। बाध्यताले जानेको घाँटीमा न झण्डा हुन्छ न देखाउनलाई राष्ट्रवाद।

जसको फर्किने–नफर्किने ठेगान छैन,जसले कमाएको सबै उतै राख्छ,उतै निवेश गर्छ वा खर्च गर्छ (विद्यार्थी वा उच्च सीप भएका कामदार) त्यसखाले वर्गले झण्डा बेरेका हुन्छन्। यसरी झण्डा ओढेर विदेश गएकाहरूले भन्दा अन्य झण्डा ओढेर विदेश जान नपाउने (खाडी, मलेसिया, भारतलगायत जानेहरू)ले राज्यको ढुकुटीमा पुर्‍याएको योगदान बढी भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। राज्यमा सबैभन्दा बढी पैसा पठाउने वर्ग,राज्यकोषलाई हराभरा गराउने वर्गलाई विमानस्थलमा छोड्दा झण्डा ओड्ने त होइन,बिदाइ गर्नेसमेत कोही हुँदैनन्। यस अर्थमा, झण्डा बोक्दैमा वा ओढेर हिँड्दैमा राष्ट्रवादी हुने भन्ने हैन रहेछ भन्ने एउटा तर्क गर्न सकिन्छ। त्यसैले पनि यहाँनिर झण्डामा निहित सम्मान, प्रतिष्ठा, राष्ट्रियता, सार्वभौमिकता केमा रहेको हुन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ। झण्डामा प्रयोग हुने रङमा ? झण्डामा अंकित चित्रमा ? झण्डाको प्रयोग गर्नेहरूमा ? कि जेमा पनि हुन्छ ? यी प्रश्नहरूको एकल उत्तर पाउन गाह्रो छ। यिनको उत्तर सन्दर्भ, समय र परिवेशले व्याख्या गर्छ।

प्रवास र राष्ट्रिय झण्डा : प्रवासको अन्तर्वस्तु अन्तर्राष्ट्रिय प्रकृतिको हुन्छ। आफ्नो थातथलो छोडेर विदेशी भूमिमा ज्ञान आर्जन वा श्रम गर्न जाने कुरा सामान्य हो। पछिल्ला दशकहरूमा अन्तर्राष्ट्रिय आप्रवासन स्वाभाविक र जटिल दुवै भएको छ। यसरी आफ्नो देश छोडेर विदेशी भूमिमा बस्ने नागरिकका लागि आफ्नो भूमिको खाना,स्वाद,भेषभूषा प्यारो भएजस्तै आफ्नो देशको झण्डासँग पनि सामीप्यता महसुस गर्नु सामान्य हो। 

धेरै हदसम्म विदेशमा रहने नागरिकले आफ्नो देशप्रतिको प्रेम सम्बन्ध र सामीप्यता दर्शाउन;आफ्नो मूल र पहिचान सम्झिराख्न र नेपाली मूलवासीको समुदायमा एकता बनाइराख्न पनि झण्डाको प्रयोग गर्ने गर्छन्। विदेशी भूमिमा हुने नेपाल र नेपाली सम्बद्ध कार्यक्रम, भेला,चाडपर्व र उत्सवलगायतमा नेपाली झण्डाको प्रयोग भएको देखिनु पनि सामान्य मानिन्छ।

विदेशमा बस्दा आफ्नो घरमा नेपालको झण्डा राख्नु भनेको नेपालप्रतिको स्नेह र पहिचानको विषय हो,जुन स्वाभाविक र सम्मानजनक मानिन्छ। राज्यलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्न र प्रस्तुत गर्ने सन्दर्भमा डायस्पोराले झण्डाको प्रयोग कसरी गर्ने भन्ने विषय पनि महत्वपूर्ण छ। त्यसैले पनि अघि नै उल्लेख गरे झैं झण्डाको उपयोगलाई कानुनी हिसाबले अथवा राज्यको सम्मानसँग मात्र जोडेर हेर्न गाह्रो हुँदै आएको छ।

सन् २०२५ को अक्टोबरमा जर्जियाको टिबिल्सिमा राष्ट्रपति भवनलाई घेरा हाल्दै भएको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले नेपाली झण्डा बोकेको भिडियोहरू सार्वजनिक र सामाजिक सञ्जालमा देखियो। हुन तः जर्जिया नेपाली सन्दर्भमा कूटनीतिक एवं भू–राजनीतिक दृष्टिकोणले खास अर्थ राख्ने मुलुक नभएका कारणले होला यो विषयले त्यति धेरै चर्चा पाएन। 

तथापि, यसरी विदेशमा हुने नागरिकस्तरका गतिविधिमा विभिन्न उद्देश्यसाथ गरिने झण्डाको प्रयोगलाई उक्त राज्यले विचार पुर्‍याउनु जरुरी छ वा छैन ? यो राज्यको सरोकारको विषय हो या होइन ? उत्तर खोज्नु जरुरी भइसकेको छ। सम्भवतः राष्ट्रियताको सम्बन्धमा आएको परिवर्तित बुझाइ, प्रवासन र प्रविधिको कारणले भौगोलिक सिमाना र सोसँग जोडिएको पहिचान धुमिल महसुस हुने कारणले गर्दा यो विषय पनि परिवर्तन हुँदै गएको हुन सक्छ।

  • बदलिँदो समयमा देशभित्र र देशबाहिर बस्ने सबै जात–जाति,पेसा,धर्मका नेपालीका लागि राष्ट्रियताको संकुचित भौगोलिक र स्वाभिमानको दृष्टिले मात्र हेर्नुभन्दा उदार र बहुआयामिक दृष्टिकोणबाट बुझ्नु जरुरी छ।
  • झण्डाको सम्मान तब बढ्छ, जब भोको पेटले पनि झण्डा देख्दा गर्वले शिर ठाडो पार्न सक्ने अवस्था होस्। यदि नागरिकले राज्यबाट केवल असमान व्यवहार, दुःख र उपेक्षामात्र पाउँछ भने, माइतीघर मण्डलामा जतिसुकै ठूला झण्डा फहराए पनि त्यसले राष्ट्रिय एकताको मर्मलाई दर्शाउन सक्दैन।
  • लोककवि अलि मियाँको ‘चौबन्दी चोलो नलगाए पनि र टोपी नढल्काए पनि कर्मले नेपालीपन जोगाउन सकिन्छ’ र गायिका आस्था राउतको ‘चौबन्दीमा पटुकी बाँधेको छैन भन्दैमा, मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ’ भन्ने भएका गीतको भावले राष्ट्रवादलाई झण्डा, पहिरन र भाषाको प्रयोगको तहसम्म मात्र सीमित गर्नु हुन्न भन्ने सन्देश दिन खोजेको देखिन्छ।

राष्ट्रिय झण्डा प्रयोगको राजनीतिक स्वार्थ र मनोविज्ञान : राजनीतिक उम्मेदवार,पार्टी तथा अन्य समूहले राष्ट्रिय झण्डाको प्रयोग गर्नु संसारभर नै प्रचलनमा छ। यद्यपि,यसरी झण्डाको प्रयोग भइरहँदा यसले धेरै पेचिलो र संवेदनशील विषयहरू उजागर गर्दछ। मनोविज्ञानमा ‘एसोसिएटिभ लर्निङ’को एउटा सिद्धान्त छ। सिद्धान्तअनुसार,जब कुनै नयाँ वा विवादित कुरालाई स्थापित गर्न खोजिन्छ, तब त्यसलाई पहिलेदेखि नै स्थापित र सम्मानित वस्तुसँग जोडेर प्रस्तुत गर्ने गरिन्छ। 

यसरी पुराना तर सकारात्मक रूपमा स्थापितसँग जोडेर नयाँ र विवादित विषय प्रस्तुत गर्दा आफ्ना नवीन वा विवादित विचार र सिद्धान्तले विस्तारै सामाजिक वैधता प्राप्त गर्छ। हालका दिनमा राजनीतिक दल वा हित–समूहहरूले विभिन्न प्रदर्शन र चुनावी प्रचारमा व्यापक रूपमा भइरहेको झण्डाको प्रयोगलाई यो मनोविज्ञानको यो कोणबाट विश्लेषण गर्न सकिन्छ। त्यसो त, निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) अनुसार ‘दल वा उम्मेदवारले जुलुस,आमसभा, कोणसभा,घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डामात्र प्रयोग गर्न पाइने’ व्यवस्था गरेको छ। प्रचार–प्रसारका अन्य तरिकामा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने व्यवस्थासमेत स्पष्ट रूपमा उल्लेख गरेको छ। तथापि, यसको फितलो कार्यान्वयन भएको विषय भने नौलो छैन।

नेपालमा आर्थिक,सामाजिक तथा राजनैतिक कारणहरूले गर्दा जनमानसमा राज्यप्रति चरम असन्तुष्टि रहेको कुरा समय–समयमा विभिन्न स्वरूपमा प्रदर्शित भइरहेकै हो। आम नेपालीको मनमा कसैले पनि नेपाललाई माया गरेनन्, विकास गर्न चाहेनन् र सबैले राज्यलाई हानी मात्र पुर्‍याउने कार्य गरेका छन् भन्ने भावनाले आकर्षण पाउँदै आएको छ। आम नागरिकको यही मनस्थितिको फाइदा उठाउँदै दल वा व्यक्तिहरूले आफू र आफ्नो दल देशभक्त र राष्ट्रवादी भएको आभास दिलाउन आफूलाई राष्ट्रिय एकता तथा मौलिक सामाजिक मूल्यको प्रवद्र्धक भएको प्रस्तुत गर्न राष्ट्रिय झण्डाको सहारा लिइरहेको जस्तो देखिन्छ। जनताको राष्ट्रप्रतिको अगाध आस्थालाई आफ्नो दल वा कार्यप्रति स्थानान्तरण गराई भावनात्मक अपहरण गर्ने प्रयास गरेको हो कि जस्तो लाग्छ।

सामान्यतया,प्रदर्शनहरूमा उक्त प्रदर्शनले उठाएका विषय राष्ट्रहित अनुकूल छन्। प्रदर्शन गर्नेहरू राष्ट्रप्रेमी हुन्। प्रदर्शनमार्फत सामाजिक अव्यवस्था,बेरोजगारी वा भ्रष्टाचारको चंगुलबाट राज्यलाई मुक्त गराउन लागिपरेका हौं भन्ने भाव प्रकट गर्न झण्डाको प्रयोग संसारभर नै हुने गरेको छ। नेपालको सन्दर्भमा पनि विभिन्न किसिमका विरोध प्रदर्शन र आन्दोलनहरूमा राष्ट्रिय झण्डाको प्रयोग भइरहेको छ।

तर प्रदर्शनमा प्रयोग भएका झण्डालाई झण्डाको रूपमा भन्दा पनि एउटा कपडाको टुक्राजस्तो गरेर झण्डालाई ओढ्ने,गलबन्दीजस्तो बेरेर प्रयोग गर्ने गरेको पाइन्छ। झण्डाको सही र मर्यादित प्रयोगले राष्ट्रवादीताको छनक दिन्छ भने अर्कोतिर राष्ट्रिय झण्डा ओढेर गरिने अवाञ्छित क्रियाकलापले अशोभनीय परिणामहरू निम्त्याउन सक्छ।

निष्कर्ष : झण्डाको अत्यधिक र अमर्यादित प्रयोगलले समग्र राज्य नागरिकको सम्बन्धलाई नै कमजोर पार्ने खतरा बढ्दै जान्छ। त्यसैले,झण्डाको मर्यादा कायम राख्ने विषय महत्वपूर्ण छ। यसलाई कुनै प्रहरीले डण्डा लगाएर सिकाउने विषयभन्दा पनि आवश्यकता अनुसार कानुनी माध्ययमबाट हेरिनुपर्ने र बृहत् रूपमा राज्य र नागरिकले आफैं जिम्मेवारी बोध गर्नुपर्ने विषय हो। झण्डासँगको आबद्धताले कुनै न कुनै सन्देश दिन खोज्छ भन्ने कुरा मान्न सकिन्छ,तर यदि यसो हो भने झण्डासँगको आबद्धता सही ढंगले हुन सकेन र यसले नकारात्मक सन्देश प्रवाह गर्न सक्ने स्थिति हुन सक्ने कुराप्रति पनि असाध्यै चनाखो र सजग हुनुपर्छ। यसो हुँदा झण्डाप्रतिको सम्मान,यसको प्रयोग,उपयोग र दुरुपयोगलाई दुरुत्साहन गर्ने काम राज्यस्तरबाट मात्र सम्भव छैन। यसलाई नागरिकस्तरबाट पनि उत्तिकै सजग र सक्रिय रूपमा लिनुपर्ने देखिन्छ।

राष्ट्रिय झण्डाको प्रयोगलाई विविधतामा एकता,साझा स्वाभिमान र आम नेपालीबीचको सह–अस्तित्वको पवित्र बिम्बका रूपमा प्रवद्र्धन गर्न प्रयासरत हुनुपर्छ। झण्डा ओढ्नेमात्र होइन, झण्डाको गरिमालाई आफ्नो कर्मद्वारा उचो बनाउने जिम्मा हरेक नागरिकले महसुस गर्न सक्ने अवस्था हुनुपर्छ। झण्डाको मर्यादा संवैधानिक वा कानुनी दायराभित्र मात्र खुम्च्याएर हेर्नु अपुरो हुन्छ। यो नागरिक र राज्यको सम्बन्धमा एउटा नैतिकताको कसी हो। राष्ट्रिय झण्डाको विषयलाई प्राविधिक झण्डाको सम्मान कानुनका दफाहरूले भन्दा पनि नागरिकको चेतना र राज्यको चरित्रले निर्धारण गर्छ। 

नेपाली समाजमा नेपाल राज्य र नागरिकबीच विश्वास,प्रेम र सकारात्मकताको खडेरी छ भन्ने मान्यतालाई आत्मसात् गर्ने हो भने झण्डाको मात्र विषयमा बहस गर्नु अपूरो हुन जान्छ। त्यसैले निष्कर्षमा मुख्यगरी तीनवटा कुरा मनन् गर्न जरुरी देखिन्छ। एक,झण्डा देशको अनुहार हो। अनुहारमा दाग लाग्दा ऐना पुछेरमात्र हुँदैन,अनुहार नै सफा गर्नुपर्छ। राज्यप्रतिको सम्मान, सुशासन, समृद्धि र न्यायपूर्ण व्यवहारबाट आउँछ। जब राज्यले नागरिकलाई सम्मान दिन्छ,नागरिकले स्वतः झण्डालाई सम्मान दिन्छन्। 

दुई, राष्ट्रवादको सामयिक अर्थ र परिभाषा के हो– अहिले नेपाली जनताको लागि भन्ने बुझ्नु अनिवार्य भएको छ। बदलिँदो समयमा देशभित्र र देश बाहिर बस्ने सबै जात–जाति, पेसा,धर्मका नेपालीका लागि राष्ट्रियताको संकुचित भौगोलिक र स्वाभिमानको दृष्टिले मात्र हेर्नुभन्दा उदार र बहुआयामिक दृष्टिकोणबाट बुझ्नु जरुरी छ। 

लोककवि अली मियाँको ‘चौबन्दी चोलो नलगाए पनि र टोपी नढल्काए पनि कर्मले नेपालीपन जोगाउन सकिन्छ’र गायिका आस्था राउतको ‘चौबन्दीमा पटुकी बाँधेको छैन भन्दैमा,मलाई नेपाली हैन भन्न कहाँ पाइन्छ’ भन्ने भएका गीतको भावले राष्ट्रवादलाई झण्डा,पहिरन र भाषाको प्रयोगको तहसम्म मात्र सीमित गर्नुहुन्न भन्ने सन्देश दिन खोजेको देखिन्छ। नेपाली राष्ट्रवादको पुरातन भाष्यलाई समीक्षा गर्नु र पुनःपरिभाषित गर्नु राज्य र नागरिकको सम्बन्धलाई सुदृढ गर्ने माध्ययम बन्न सक्छ।

तीन, झण्डाको सम्मान तब बढ्छ, जब भोको पेटले पनि झण्डा देख्दा गर्वले शिर ठाडो पार्न सक्ने अवस्था होस्। यदि नागरिकले राज्यबाट केवल असमान व्यवहार, दुःख र उपेक्षामात्र पाउँछ भने, माइतीघर मण्डलामा जतिसुकै ठूला झण्डा फहराए पनि त्यसले राष्ट्रिय एकताको मर्मलाई दर्शाउन सक्दैन।खासमा,राज्यसँग अस्तित्व र मर्यादित जीवनको अपेक्षा राख्नु समकालीन समाजमा एकदमै न्यूनतम माग हो। नागरिकको कर्ममा इमानदारिता र राज्यको नागरिकप्रतिको दायित्वबोध नै झण्डाप्रतिको सबैभन्दा ठूलो सम्मान हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.