समयको पदचापमा इतिहासको ऐना

समयको पदचापमा इतिहासको ऐना

राष्ट्रका लागिमात्र होइन,समाज र व्यक्तिका लागि पनि अभिलेख तथा दस्ताबेजीकरणको दूरगामी महत्व र आवश्यकतालाई प्रस्ट पारेको छ। प्रज्ञा नेपाली बृहत् शब्दकोशअनुसार,कुनै पनि विषयको प्रामाणिक लेख वा रेकर्ड नै ‘अभिलेख’ हो,जुन इतिहासको खोज,अनुसन्धान र प्रमाणका लागि अपरिहार्य हुन्छ।

नेपालमा लिच्छविकालदेखि नै शिलालेख,ताम्रपत्र र भोजपत्रका रूपमा अभिलेख राख्ने परम्परा रहे तापनि सरकारीस्तरमा २०२४ सालमा राष्ट्रिय अभिलेखालयको स्थापना भएपछि मात्र यसले औपचारिक स्वरूप पाएको देखिन्छ। यद्यपि,नेपालमा दस्ताबेजीकरणको अभ्यास अझै पनि कमजोर छ। एकातिर महत्वपूर्ण कागजपत्रहरू पहुँचबाहिर गुपचुप राखिएका छन् भने अर्कोतिर संरक्षणको अभाव,सरकारी उदासीनता र प्राकृतिक विपत्तिका कारण ऐतिहासिक सम्पदाहरू लोप भइरहेका छन्।

लेखमा व्यक्तिगत र व्यावसायिक दुवै तहमा अभिलेखीकरणको आवश्यकता औंल्याएको छ। घरमा रहेका चिना,नागरिकता,जग्गाधनी पुर्जामात्र नभई अग्रज पुस्ताका अनुभव,लोकसंस्कृति र जीवनशैलीलाई अडियो वा भिडियोका रूपमा सुरक्षित राख्नुपर्छ। 

कलाकार, लेखक,नेता र कर्मचारीहरूले आफ्ना गतिविधिलाई व्यवस्थित रूपमा अभिलेख राख्दा त्यसले उनीहरूलाई अनुशासित र जिम्मेवार बनाउँछ। आजको साधारण लाग्ने सूचना भोलि अमूल्य ऐतिहासिक स्रोत बन्न सक्छ। त्यसैले,आधुनिक प्रविधिको प्रयोग गरी डिजिटल आर्काइभिङ गर्ने र स्थानीय मौलिकता एवं ज्ञानलाई संरक्षण गरी आगामी पुस्तालाई हस्तान्तरण गर्नु आजको मुख्य चुनौती र आवश्यकता हो।

                             के भन्छन् जानकारहरू ? 

कला र अभिलेख

nullदेवेन्द्रकुमार काफ्ले ‘थुम्केली’,
सदस्यसचिव, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

समय र इतिहास जोगाउन अभिलेख चाहिन्छ। यसले समाज र परिवर्तनको चित्र उतार्छ। कलाकारले सिर्जनाको अभिलेख राख्न कमै सोच्छन्। अहिले भने यसतर्फ रुचि बढ्दै गएको छ। कलाकृतिको तस्बिर र भिडियो सुरक्षित राख्नुपर्छ। रचनागर्भ र अवधारणालाई पनि समेट्नु पर्दछ। नवीनतम प्रविधिको प्रयोग गरेर काम गर्न सकिन्छ। ललितकला क्षेत्रमा अभिलेखको ठूलो अर्थ रहन्छ। यसले कला र स्रष्टालाई सधैं जीवित राख्छ। योगदानको कदर र पहिचानका लागि सहयोग पुग्छ। मेरा सुरुका कलाकृतिको अभिलेख राख्न सकिएन। त्यतिबेला अभिलेख राख्ने काम निकै कठिन थियो। अहिले भने थोरै भए पनि अभिलेख छ। सिर्जनाको दस्ताबेजीकरणले इतिहासलाई जीवन्त तुल्याउँछ। यसले कलाकारको मौलिक पहिचान पनि खुलाउँछ। डिजिटल माध्यमले पुराना कुरा जोगाउन सजिलो छ। हरेक सिर्जनालाई व्यवस्थित गरी राख्नुपर्ने हुन्छ। ज्ञान र सीप अर्को पुस्तामा पुग्छ। अभिलेखबिना इतिहास सधैं अधुरो रहने गर्दछ। त्यसैले सबैले यसतर्फ ध्यान दिनुपर्ने हुन्छ। भविष्यका लागि यो एउटा महत्वपूर्ण सम्पत्ति हो। सही दस्ताबेजीकरणले मात्र कलाको सुरक्षा हुन्छ। सुरक्षित अभिलेख नै हाम्रो असली गौरव हो। यसले आगामी दिनमा नयाँ मार्ग प्रशस्त गर्दछ।

सांगीतिक अभिलेखन संकट

nullदिनेश अधिकारी, 
कवि/गीतकार तथा 
पूर्वसचिव

नेपाली गीत–संगीतको अभिलेख अत्यन्तै दयनीय छ। अध्ययनका लागि कुनै आधिकारिक निकाय छैन। हामीसँग अझै सांगीतिक संग्रहालय समेत छैन। रेडियो नेपालले यो काम सुरु गर्नुपर्छ। धेरै कालजयी सिर्जना लोप भइरहेका छन्। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान मौन छ। अन्य सरकारी निकायहरू पनि उदासीन देखिन्छन्। राज्यले यस्ता कामलाई अनुत्पादक ठान्ने गर्दछ। बजेट अभावले गर्दा संरक्षण कार्य रोकिएको छ। अभिलेख व्यवस्थापन निकै झन्झटिलो र खर्चिलो छ। बदलिँदो प्रविधिसँगै सामाग्री रूपान्तरण गर्नुपर्ने हुन्छ। पुराना चक्का र क्यासेट सुन्न गाह्रो छ। डिजिटल माध्यममा लैजान ठूलो मेहनत चाहिन्छ। नेपाली स्रष्टाहरू आफ्नै कृतिप्रति सचेत छैनन्। व्यक्तिगत रूपमा अभिलेख राख्ने निकै कम छन्। प्रमाणबिना इतिहासले कसैको अस्तित्व स्वीकार गर्दैन। अभिलेख नै कुनै पनि इतिहासको आधार हो। मैले व्यक्तिगत रूपमा यस्तो प्रयास गरें। यो काम निकै कठिन र महँगो छ। आजसम्म मैले धेरै बाधा–अवरोधहरू झेलेको छु। मेरा कुल ४९२ गीत सुरक्षित छन्। यी सबै गीत डिजिटल प्रविधिमा छन्। मसँग संगीतकार र गायकको पूर्ण विवरण छ। रेकर्डिङ मिति र स्टुडियोको जानकारी पनि छ। अनुमतिबिना गाइएका गीतहरू यसमा समावेश छैनन्। संकलनमा नभएका गीतलाई संख्यामा गणना गरिएन। अहिले आएर म केही थकित भएको छु। भविष्यमा यसलाई निरन्तरता दिन कठिन हुन सक्छ। राज्यले बेलैमा यसतर्फ गम्भीर हुनुपर्ने देखिन्छ। सिर्जनाको सुरक्षा नै राष्ट्रको पहिचान हो। 

अभिलेख र तथ्यांक

nullसंवेदन कोइराला, 
संस्थापक, 
  डाटा होम नेपाल

नेपालमा अभिलेख राख्ने निकै पुरानो परम्परा छ। पहिले लालमोहर र भोजपत्रको प्रयोग हुन्थ्यो। राजकीय आदेश र भूमि विवरण सुरक्षित गरिन्थ्यो। अहिले सबै सरकारी कार्यालयमा अभिलेख राखिन्छ। तर कागजी प्रक्रियामा मात्रै धेरै भर छ। अभिलेख व्यवस्थापन कार्य निकै चुनौतीपूर्ण देखिन्छ। डिजिटल रूपान्तरणको काम साह्रै सुस्त गतिमा छ। व्यक्तिगत तहमा अभिलेखन अभ्यास एकदम कमजोर छ। प्रमाणपत्र जोगाउने काम मात्र बढी हुने गर्छ। पारिवारिक इतिहास लेख्ने चलन कतै छैन। मौखिक परम्परा र डायरीहरू सधैं हराउँदै गए। यसले स्थानीय ज्ञान र स्मृतिमा क्षति पुग्छ। अनुसन्धानकर्ताले डिजिटल माध्यम प्रयोग गर्न थाले। हामी निर्णय लिँदा तथ्यांक प्रयोग गर्दैनौं। धेरै मानिस अनुभव र अनुमानमा मात्र चल्छन्। सुनेको भरमा नै ठूला निर्णयहरू लिने गरिन्छ। व्यवसायमा डाटा प्रयोग गर्ने बानी अझै छैन। तथ्यांकप्रति धेरैको ठूलो अविश्वास र भ्रम छ। डाटा साक्षरताको कमीले गर्दा समस्या भयो। अभिलेख सुशासन र उत्तरदायित्वको मुख्य आधार हो। यसबिना सही नीति निर्माण सम्भव हुँदैन। विकास योजनाको मूल्यांकन गर्न प्रमाण चाहिन्छ। अभिलेख राज्यको एउटा बलियो संस्थागत स्मृति हो। यो भविष्यका लागि तथ्यपूर्ण ज्ञानको स्रोत हो। अभिलेख र तथ्यांकबीच निकै गहिरो सम्बन्ध छ। अभिलेख नै सबै सूचनाको मुख्य आधार हो। व्यवस्थित अभिलेखबाट मात्रै सही तथ्यांक निस्कन्छ। अव्यवस्थित विवरणले गलत नतिजामात्र दिन्छ। जनगणना र सर्वेक्षण पनि यसैमा आधारित छन्।

मन्त्रालयले शाखा खोलेर काम गरोस्

nullलक्ष्मण शेष, 
पूर्वअध्यक्ष, 
 संगीतकार संघ, नेपाल


नेपाली संगीतको आधिकारिक तथ्यांक छरपष्ट,भद्रगोल र एकदमै अव्यवस्थित अवस्थामा छ। अधिकांश सिर्जनाहरू जसको सिर्जना हो,त्यसको नभएर अरूले कब्जा गरेर चलाइरहेको छ। प्लेटफर्मवालाले डाटा इन्ट्री नै गलत गरेर अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा बेचिरहेको प्रमाण छ। यो अव्यवस्थाको फाइदा लिइरहेका छन्,संगीत माफियाहरूले। कम स्रष्टाहरूसँग अभिलेख राख्ने बानी छ। मैले आजसम्म जति काम गर्‍या छ,सबै लिस्ट बनाएर राखेको हुनाले गर्वका साथ यति गर्‍या छु भनेर भन्न सक्छु भने सबैसँग त्यो क्षमता छैन। दिनेश अधिकारी र प्रमोद ढुंगानासँग छ। नत्र भने ९९.९ प्रतिशत स्रष्टाहरू यो बारेमा एकदमै बेवास्ता गर्छन्। बोल्दा भएको भन्दा चार,पाँच गुणाभन्दा बढी पाइएको पनि छ। यसले श्रोतालाई भ्रम पनि सिर्जना गर्छ। यसले राज्यलाई पनि बेफाइदा गर्छ। वास्तविक तथ्यांक नआउँदा त्यसबाट आउनुपर्ने राजस्वसँगै रोयल्टी व्यवस्थापनमा अप्ठ्यारो पर्छ र नेपाली संगीत भण्डारमा कति गीत छ भनेर थाहा पाउन पनि गाह्रो हुन्छ। यो कुरालाई २०७१ सालमा संगीतकार संघको अध्यक्ष हुनेबित्तिकै म्युजिक बैंक अफ नेपालको अवधारणा ल्याइएको थियो। माफियाहरूको त्यसमा आँखा लाग्यो र त्यो प्रोजेक्टलाई संगीतकारहरूको एउटा झुन्ड मिलेरै क्यान्सिल गथ्र्यो। यतिबेला यो संस्थाले गरेर हुँदैन,त्यसमा घुसपैठ हुँदोरहेछ। यो काम सञ्चार मन्त्रालयले नै एउटा तथ्यांक राख्नेगरी शाखा राखेर गर्न सक्छ। यो अति अनिवार्य छ।

अभिलेख विभाग बनाऔं

nullबद्री पंगेनी, 
पूर्वअध्यक्ष, 
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान

नेपालमा अभिलेख र तथ्यांकको कुरा गर्दा सरकारी निकाय, व्यक्तिगत, संस्थागत अत्यन्तै कमजोर छ। कुनै पनि क्षेत्रमा व्यवस्थित तरिकाले अभिलेख र तथ्यांकको व्यवस्थापन भएको छैन। जति छ त्यो पनि अलिक प्रविधिमैत्री छैन। यसलाई गम्भीर रूपमा लिइएन भने भोलि हाम्रा इतिहासहरू कहिल्यै पनि बाहिर आउँदैनन्। मेरै कुरा गर्ने हो भने म यति कमजोर छु कि आफूले कतिवटा गीत गाएँ भन्ने आफैंलाई थाहा छैन। नढाँटी भन्नुपर्दा बढीमा मैले पाँच दर्जन (६० वटा) गीत गाएँ जस्तो लाग्छ। हुन त मभन्दा धेरैपछि आएका साथीहरूले कसैले १० हजार, कसैले १५ हजार गाएँ भन्नुहुन्छ। मलाई विश्वासै लाग्दैन। मुख्य कारण तथ्यांक छैन। अभिलेख छैन। त्यसकारण यसलाई बुझेरै म अध्यक्ष भएको बेला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा अभिलेख विभाग बनाएर काम गर्न खोज्या हो। हाम्रो लोकसंगीतका इतिहासहरू, संस्थागत इतिहासहरू, हरेक कुरालाई अलिकति अभिलेख गर्न खोजेको थिएँ। त्यसपछि अहिले के भयो थाहा छैन। सबैभन्दा मुख्यकुरा त सत्यतथ्य उजागर तथा ऐतिहासिक दस्ताबेजका लागि अभिलेख राख्नुपर्छ। राज्य, संघसंस्था, कलाकारसँगै हरेक क्षेत्रले अभिलेख राख्न जरुरी छ।
 

अभिलेख चाहिन्छ,इतिहास बच्छ

nullसन्तोष श्रेष्ठ,
संगीतकार

नेपालमा जति पनि कलाकारले मैले यति गाएँ भनेर जति भनिरहनुभा’छ, त्यसअनुसार हो भने यहाँ राख्ने ठाउँ नै हुँदैन। आर्काइभले भ्याउँदैन। उहाँहरूले यति संख्या, उति संख्या भनेको कुराहरूमा सत्यता छैन। संख्या धेरै देखाइयो भने धेरै ठुलो कलाकार भइन्छ भन्ने डरलाग्दो भ्रम छ। जुन भ्रमबाट निस्कियो भने मात्रै सही तथ्यांक आउँछ। भनेअनुसार त यहाँ झन्डै ८/१० लाख गीतहरू बनिसक्यो कि भन्ने देखिन्छ। १० हजार भन्दा तल गाएँ भनेर त कसैले भन्दै भन्दैन। १० हजार गीत गाउन कति वर्ष बाँच्नुपर्छ ? मेरो कुरा गर्दा, सम्भव भएसम्मको डाटा चाहिँ म दिन सक्छु। अभिलेख व्यवस्थित हुनुपर्छ भन्ने सोचको मान्छे हो म र त्यो मैले आफ्नो ढंगले आन्तरिक रूपमा व्यवस्थापन गरिराको छु। मैले आजसम्म अभिलेखको काम गरेको देखेको भनेको दिनेश अधिकारी सरले चाहिँ हो। संगीतकार, गायकगायिकामा त मैले त्यस्तो देखेको छैन। अहिले स्वयं आफूले पनि आफ्नो सूची नराख्ने अवस्था आयो कलाकारहरूको। यो चाहिँ वास्तवमा धेरै दुःखद् कुरा हो। अभिलेख भनेको हामी कति अनुशासित ढंगबाट अगाडि बढ्न खोजेका छौं कि छैनौं ? यसलाई कति प्रेम गरेका छौं ? सम्मान गरेका छौं ? कति विश्वसनीय बनाएका छौं भन्ने कुरा हो।

 डिजिटलाइज्ड गर्नुको विकल्प छैन

nullयादव खरेल, 
संस्थापक अध्यक्ष, 
रोयल्टी संकलन समाज,नेपाल

गीत बन्न तीनथरी मिल्नुपर्‍यो,गीत,संगीत र गायन। तीन चिज मिसिएरमात्र गीत बन्छ। त्यति गरेर मात्र भएन,प्रविधिमा ढालेर आर्काइभिङ पनि गर्नुपर्‍यो। किताब राख्या जस्तो सजिलो पनि भएन। ती चिज निर्माण गर्न, संरक्षण गर्न र ठीक ठाउँमा पुर्‍याउन यसमा कठिनाइ छ। जसले गर्नुपर्ने हो संस्था,निकायहरू तिनले संरक्षण गरेर नराखिदिएका कारण र सम्बन्धित संस्थाहरूले दायित्व ठीकसँग पूरा नगरेका कारण नेपाली साहित्यको अरू पक्षमा भन्दा पनि सांगीतिक पक्षमा बढी गम्भीर छ यो समस्या। मेरो छोरोले त्यो विषय पढेको पनि भएर यादव खरेल आर्काइभ भनेर राख्या छ। तर राख्या कुरामा केही मान्छेहरू छन्,जो यहि चोरेर खान्छन्। रेडियोकै कतिपय चिजहरू चोर्‍या छ,चोरेर अन्तर्राष्ट्रिय ठाउँमा लगेर बेचेर खानी छन् मान्छेहरू। संस्थाहरू। त्यस्तो दुरुपयोग गरेका छन्। मेरो सीडी/एल्बमहरू २० वटा जति प्रकाशित भइसकेका छन्। त्यो सीडी/एल्बम मसँग छ तर त्यो अब त चल्दैन। त्यो प्रविधि नै समाप्त भो। त्यसलाई डिजिटाइज्ड गरेर राख्नुपर्‍यो। तीमध्ये केही डिजिटाइज्ड भएका छन्। सबै हुन सक्या छैनन्।

डिजिटल सुरक्षा आवश्यक

nullराजाराम फुयाल, 
लेखक

मेरो संग्रहमा धेरै गीत छन्। जम्मा १ लाख ८६ हजार गीत छन्। ३० हजार गीत अझै पुष्टि भएनन्। रेडियो नेपालसँग ३६ हजार गीत छन्। तर यो तथ्यांक आधिकारिक होइन। म्युजिक नेपालसँग पनि केही अभिलेख छ। उनीहरूले आफ्ना गीतहरू सुरक्षित राखे। अरू संस्थाले संख्या बताउन चाहेनन्। अहिलेका रेडियोले युट्युबमात्र बजाउँछन्। त्यसैले उनीहरूसँग गीतको भण्डार छैन। मेरो डाटालाई कसरी ठूलो मान्ने ? नेपालमा अभिलेख राख्ने काम भएन। कलाकारहरू सधैं धेरै संख्या भन्छन्। उनीहरू हजारौं गीत गाएको दाबी गर्छन्। तर वास्तविक संख्या निकै कम छ। तारादेवीले १ सय ७६ गीत गाइन्। ती गीतको आधिकारिक पुष्टि भएको छ। २०६० सालपछि रेकर्डिङ ह्वात्तै बढ्यो। तैपनि व्यवस्थित अभिलेख कतै पनि छैन। सम्बन्धित संघसंस्था यसमा मौन छन्। प्रज्ञा–प्रतिष्ठानले पनि वास्ता गरेन। संगीतकार संघले पनि चासो देखाएन। गायकहरूको संस्थाले पनि केही गरेन। व्यक्तिगत रूपमा मात्र प्रयास गरें। प्राप्त भएका गीतहरू नफालेर राखें। यसरी नै मेरो आर्काइभ तयार भयो। कसैले अभिलेखको महत्व बुझेका छैनन्। नेपालमा गीत दर्ता गर्ने निकाय छैन। कलाकार स्वयंले आफ्नो रेकर्ड राख्दैनन्। यो प्रवृत्ति निकै दुःखलाग्दो देखिन्छ। हामीले इतिहास जोगाउनै पर्ने हुन्छ। प्रमाणबिना कसैले विश्वास गर्दैनन्। पुराना स्रष्टाका धेरै सिर्जना लोप भए। अब डिजिटल सुरक्षा अत्यन्तै आवश्यक छ। 

आर्काइभ र डाटाको काम गरौं

nullरागिनी उपाध्याय, 
पूर्वकुलपति, 
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

हामीकहाँ पहिलेका धेरै कलाकारहरू र उहाँहरूको परिवारले अभिलेखको बारेमा काम गरेको छन् जस्तो मलाई लाग्दैन। तर मैले अहिले सम्भव भएसम्मका आफ्ना सबै पेन्टिङ आई क्लाउडमा राख्ने काम गराइरहेको छु। मेरो विचारमा अरू पनि डाटा राख्नुपर्ने हो र यो अति आवश्यक पनि छ। मेरा कतिपय पेन्टिङको डाटा नराखेको हुनाले मलाई अहिले समस्या आइराखेको छ। धेरै पेन्टिङहरू बिक्री गरें। त्यो कहाँ छ, कसकोमा छ ? थाहा छैन। त्यसको तस्बिर पनि छैन। म पछुताइरहेको छु। आर्काइभ, डाटासम्बन्धी चेतनाको कुरा गर्दा अमेरिका, युरोपको तुलनामा यसमा हामी पछि नै छौं। आर्काइभको काम गरिरहेको छु र प्रत्येक कलाकारले यो काम गर्नुपर्छ जस्तो लाग्छ। म अरू कलाकारलाई पनि आर्काइभ र डाटाको काम बेलैमा गर्न आग्रह गर्न चाहन्छु।

यति लेखें, गाएँ भनेर हुँदैन

nullसन्तोष खडेरी, 
 लेखक/अध्येता
मान्छेले मैले दसौं हजार गीत गाएँ भन्ने, मैले सयौं पुस्तक लेखें भन्ने। अथवा, हजारौं अनुसन्धानात्मक लेख लेखें भन्ने। आफ्नो अहम्का लागि संख्या बढाइदिने तर वास्तविक रूपमा हजारवटा लेख कसैले लेखेको छ भने त्यसको विवरण दिन सक्ने कमै होलान्। व्यक्तिगत रूपमा पनि संस्थागतरूपमा पनि खासै सकारात्मकता देखाउने, सहजीकरण गर्ने त्यस्तो हाम्रोमा छँदै छैन। अभिलेख खोज्दा अझै पनि असाध्यै कष्ट झेल्नुपर्छ। अनुभव सुखद छैन।

अनुसन्धान र अभिलेखन आवश्यक

null'लपति नारदमणि हार्तम्छाली, 
 कुलपति,
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान

कुनै पनि कार्यको परिणाम मानार्थ तथा त्यसको तत्काीलन राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रयोजनसँगै आगामी वा भावी समाज र संसारको लागि पनि दीर्घकालीन अध्ययनार्थ साथै आधारभूत सूचना र विरासतीय पूर्वज्ञानको लागि अभिलेख राख्न तथा त्यसका लागि पद्धतिगत अभिलेखन गर्ने कार्य विशेष महत्वको सवाल हो। नेपालमा सर्जकहरूले पनि अभिलेख तथा अभिलेखनका विषयमा खास ध्यान दिन नसकेको र राज्यले तथा सम्बन्धित निकायहरूले पनि विशेष वस्तुवादी योजनागत खोजी/अनुसन्धान गरी यस क्षेत्रको अभिलेखन गर्न नसकिएको तथा नगरिएको भन्न सकिन्छ। यो अर्थले खास ध्यान कलाकारहरूको पनि पुगेको छैन।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.