कम्युनिष्ट ‘लालकिल्ला’ मा कांग्रेसको ऐतिहासिक पुनरागमन : इलाम–१ मा निश्कल राई विजयी
इलाम : इलामको राजनीतिक इतिहासमा विरलै देखिने दृश्य यस पटक क्षेत्र नम्बर–१ मा देखियो, जहाँ दशकौंदेखि जरा गाडेर बसेको कम्युनिष्ट वर्चस्वलाई तोड्दै २६ बर्षपछि नेपाली कांग्रेसले विजयको नयाँ इतिहास रचेको छ ।
वामपन्थी राजनीतिका हस्तीहरू झलनाथ खनाल र महेश बस्नेतले लामो समय राज गरेको यस क्षेत्रमा यस पटक परिवर्तनको वेग यसरी चल्यो कि वर्षौदेखिको ‘लालकिल्ला’ भत्किन पुग्यो । विगतमा एक पटक बेनुपराज प्रसाईले कांग्रेसको तर्फबाट जित निकाले बाहेक हरेक निर्वाचनमा पराजय भोग्दै आएको कांग्रेसका लागि निश्कल राईको यो जित एउटा पुनर्जन्म जस्तै बनेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका ३५ बर्षीय निश्कल राईले १४ हजार ५४३ मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् । उनलाई पछ्याउँदै श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत ल्याएर दोस्रो स्थान सुरक्षित गरे ।
यस क्षेत्रमा सधैँ पहिलो वा दोस्रो स्थानमा रहने नेकपा एमालेका काजीमान कागते भने यस पटक ११ हजार ९६६ मतसहित तेस्रो स्थानमा खुम्चिन पुगेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६० मत पाउँदा नेकपाका रनबहादुर राईले ७ हजार ६६५ मतमा चित्त बुझाउनु पर्यो ।
यो चुनावी नतिजाले इलाम–१ को परम्परागत राजनीतिक शक्ति सन्तुलनलाई पूर्ण रूपमा उल्टाई दिएको छ । कहिल्यै नहार्ने किल्लाका रूपमा चिनिएको यो क्षेत्रमा कम्युनिष्ट मत विभाजित हुनु र नयाँ शक्ति मानिएको श्रम संस्कृति पार्टीको उल्लेख्य उदय हुनुले स्थानीय राजनीतिमा नयाँ बहस छेडिदिएको छ । एमाले जस्तो संगठित शक्ति तेस्रो स्थानमा पुग्नु र कांग्रेसले दशकौँपछि आफ्नो विरासत फर्काउनुले मतदाताहरू पुराना अनुहार र कार्यशैलीभन्दा नयाँ विकल्प र ऊर्जाको खोजीमा रहेको प्रष्ट पार्छ ।
विजयको घोषणापश्चात् आफ्ना समर्थकहरू माझ भावुक मुद्रामा देखिएका निश्कल राईले यो जितलाई संयमताका साथ ग्रहण गरे । उनले विजय र्यालीका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो जित आफ्नो व्यक्तिगत सफलता नभएर इलाम क्षेत्र नम्बर–१ का सचेत मतदाताहरूको विवेकको जित भएको टिप्पणी गरे । राईले आफूलाई विश्वास गरेर अमूल्य मत दिने सम्पूर्ण नागरिकप्रति आभार प्रकट गर्दै आफूले पाएको यो जनमतको भारीलाई जिम्मेवारीपूर्वक बहन गर्ने प्रतिबद्धता जनाए ।
राईले अबका पाँच वर्ष आफ्ना लागि विश्रामको समय नभएर कामको परीक्षा भएको बताए । उनले यस क्षेत्रका ग्रामीण सडक, कृषि उपजको बजार व्यवस्थापन र शिक्षा–स्वास्थ्यका क्षेत्रमा रहेका जटिल समस्याहरू समाधान गर्न आफू अहोरात्र खट्ने अठोट गरे । निर्वाचनका बेला जनताको घरदैलोमा पुग्दा देखेका अभाव र सुनाएका पीडाहरूलाई नै आफ्नो मार्गनिर्देशन बनाउने भन्दै उनले इलामेली जनताको शिर झुक्न नदिने गरी काम गर्ने प्रण समेत गरे ।
प्रतिक्रिया दिनुहोस !