मोरङमा किन बढ्दै छ बदर मतको संख्या ?

मोरङमा किन बढ्दै छ बदर मतको संख्या ?

विराटनगर : मोरङमा पछिल्ला चार निर्वाचनमा मत बदरको प्रतिशत निरन्तर बढ्दै गएको पाइएको छ। निर्वाचन आयोगको तथ्यांकले मत बदरको अवस्था चिन्ताजनक रहेको देखाउँछ। 

पछिल्लो चारवटा निर्वाचनमा लगातार मत बदर हुने क्रम बढिरहेको छ। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनदेखि २०७४, २०७९ र २०८२ को प्रतिनिधिसभा निर्वाचनसम्म आइपुग्दा मोरङमा बदर मतको दर बढेको छ। २०७० मा ६.२, २०७४ मा ५.३ र २०७९ मा ५.९५ प्रतिशत हुँदै २०८२ सालसम्म आइपुग्दा ७.१८ प्रतिशत मत बदर भएको छ। 

फागुन २१ गते बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङमा प्रत्यक्षतर्फ ५ लाख २ हजार ६६४ मत खसेको थियो। मोरङमा कुल ७ लाख ८३ हजार ५० मतदाता थिए। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार प्रत्यक्षतर्फ ३६ हजार १०९ मत बदर भएको छ। जसको प्रतिशत ७.१८ हुन्छ। समानुपातिकतर्फ मोरङमा कुल ५ लाख ५ हजार ६८ मत खसेको थियो। त्यसमा २८ हजार ४९९ मत बदर भएको छ। सदर मत ४ लाख ७६ हजार ५६९ हुँदा बदर मत ५.६४ रहेको हो। 

प्रत्यक्षतर्फ मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन्। मोरङ–१ मा ७६ हजार ३७९ मतमध्ये ४ हजार ४१७, मोरङ–२ मा ८० हजार ६५९ मतमध्ये ६ हजार ५६, मोरङ–३ मा ९६ हजार २८३ मतमध्ये ६ हजार ८२७, मोरङ–४ मा ७९ हजार ७७५ मतमध्ये ५ हजार २५६, मोरङ ५ मा ७८ हजार ४४९ मतमध्ये ७ हजार ८८९ र मोरङ ६ मा ९१ हजार ११९ मतमध्ये ५ हजार ६६४ मत बदर भएको छ। 

निर्वाचन आयोगले हरेक निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसपटक पनि मतदाता शिक्षा कार्यालय सञ्चालन गर्दै प्रत्येक वडामा नमुना मतदाता अभ्यास गराइएको थियो। तर, पछिल्लो तथ्यांक र मत बदरको अवस्थाले मतदाता शिक्षाको प्रभावकारितामाथि प्रश्न उठाएको छ। 

निर्वाचनको पर्यवेक्षण गर्दै आएको मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कोशी प्रदेशका प्रलेख अधिकृत पुन्य पी अधिकारीले मत बदर बढ्नु सकारात्मक संकेत नभएको बताए। उनले भने, ‘मतदाता शिक्षा प्रभावकारी नहुनु र राजनीतिक दलहरूले समेत मतदाता शिक्षामा ध्यान नदिनुले मत बदर घट्नुको साटो बढेको देखिन्छ।’ 

सूचनाको हकका अभियन्ता राजु श्रेष्ठले मतदातासम्म मतदान प्रक्रियाका बारेमा पर्याप्त जानकारी नपुग्दा मत बदर हुने क्रम बढेको बताए। ‘मतदान गर्दा के गर्ने र के नगर्ने तथा कस्तो अवस्थामा मत बदर हुन्छ भन्ने जानकारी नहुँदा मतदाताले त्रुटि गरिरहेका छन्,’ उनले भने। श्रेष्ठले मतदानमा सहभागिता बढ्दै गए पनि व्यवहारिक जानकारी सबै तहका मतदातासम्म प्रभावकारी रूपमा पुग्न आवश्यक देखिएको बताए। 

पर्यवेक्षकहरुका अनुसार विशेष गरी ग्रामीण क्षेत्र, पहिलो पटक मतदान गर्ने र वृद्ध मतदातामा यस्तो समस्या बढी देखिएको छ। अभियन्ता श्रेष्ठ भन्छन्, ‘मतदानजस्तो महत्वपूर्ण लोकतान्त्रिक प्रक्रियामा सहभागी हुँदा मतदातालाई प्रक्रिया राम्ररी बुझाउनुपर्छ। मतपेटिकामा मतपत्र हाल्नुअघि गर्न नहुने त्रुटिका बारे पर्याप्त जानकारी दिन निर्वाचन आयोगले ध्यान नदिँदा अनपेक्षित रूपमा मत बदर हुने गरेको छ।’ मोरङमा बढ्दो मत बदरको तथ्यांकले आगामी निर्वाचनमा मतदान प्रक्रियामा सुधार र प्रभावकारी मतदाता शिक्षाको आवश्यकता देखाएको श्रेष्ठले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.