वर्षा र हावाहुरीले हटायो प्रदूषण
काठमाडौं : अघिल्लो सातासम्म काठमाडौं विश्वको प्रदूषित सहरको अग्रपंक्तिमा रहेको थियो। बारम्बार प्रदूषित सहरको रूपमा छवि बनाएको काठमाडौंले आइतबार आफ्नो स्वरूप बदलेर सफा र स्वच्छ बनायो। उपत्यकाका तीनवटै सहरहरूमा हावाको गुणस्तर अत्यन्तै सफा देखिएको वातावरण विभागको तथ्यांकले देखाउँछ।
आइतबार ३ः४५ बजेको हावाको गुणस्तर (एक्यूआई) हेर्दा कीर्तिपुरको ३३ एक्यूआई, भक्तपुरको ३५, रत्नपार्कको ४६, भैंसेपाटीको ४६ र खुमलटारको ४८ एक्यूआई मापन गरिएको थियो। नेपालको राष्ट्रिय मापदण्डअनुसार सबैभन्दा राम्रो प्रतिघनमिटर ४० माइक्रोग्राम हुनुपर्छ। हालको अवस्था करिब मापदण्डभित्रकै रहेको मौसमविद्हरूले जनाएका छन्।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद्, वरुण पौडेलले आइतबारको अवस्था एकदमै आनन्ददायी रहेको प्रतिक्रिया दिए। पौडेलका अनुसार आइतबारको मौसम सफा हुनुको पछाडि हावाहुरी, ठाउँठाउँमा परेको वर्षा, तापक्रम वृद्धिलगायत सबै कुराले साथ दिएको छ। आइतबार काठमाडौंमा पारदर्शिता (भिजिबिलिटी) ११ किलोमिटरभन्दा धेरै थियो। जसलाई एकदमै राम्रो पारदर्शिता भनिने उनले बताए।
यतिबेला पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव पनि रहेको छ। अझै पनि शुक्रबार, शनिबारसम्म पानी पर्ने भएकाले आगामी मौसम सफा हुने वरिष्ठ मौसमविद् पौडेलले जनाए। ‘फागुन १६ देखि प्रिमनसुन सुरु भएकाले हाल प्रिमनसुनी गतिविधि भइरहेको छ ’ उनले भने ‘प्रिमनसुनमा बेलुकातिर इनर्जी स्टोर हुन्छ। असिना, पानी, मेघगर्जन, चट्यांग पर्ने र हावाहुरी चल्ने पनि हुन्छ।’
विभागले गत साता नै आगामी दिनमा वर्षाको सम्भावना रहेकाले आगामी मौसम सफा हुने जनाएको थियो। तर, प्रदूषणको कुनै भर नहुने उनी बताउँछन्। उनका अनुसार अघिल्लो दिन मौसम सफा भए पनि भोलि यहीको स्थानीय प्रदूषण जमेर बस्न सक्ने भएकाले पुनः प्रदूषित बन्न सक्छ।
गत साता प्रदूषणका साथै थपिएको तुवाँलोले वायु प्रदूषण नराम्ररी बढाएको थियो। उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो भागमा न्यून चापीय गतिविधि बढ्न नसकेकाले पर्याप्त वर्षा हुन नसकेको महाशाखाले जनाएको थियो।
तर, बिहीबारदेखि नै मौसम बदली भएर वर्षा सुरु भएसँगै काठमाडौंको मौसममा परिवर्तन देखिएको छ। विशेषगरी बिहान—बेलुका मैलो र धमिलो देखिए पनि दिउँसोको समयमा काठमाडौं निकै खुलेको छ। दिउँसोको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सन्तोषजनक रहँदै आएको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले अघिल्लो साताको अवस्थालाई केवल ‘मौसमी घटना’ भएको र प्रदूषण बढे पनि छटपटाउने स्थिति नभएको दाबी गरेका थिए। उनले प्रदूषण मानवीय गतिविधिले बढेको र उस्तै अवस्थामा कहिल्यै नबस्ने प्रतिक्रिया दिए।
प्रतिक्रिया दिनुहोस !