‘नो गो जोन’ मा सिकार, ६ युवा सम्पर्कविहीन
काठमाडौं : बर्दिया राष्ट्रिय निकुञ्जको जानै नमिल्ने क्षेत्र (नो गो जोन) मा गएका सुर्खेतका ६ जना युवा फागुन २३ देखि सम्पर्कविहीन छन्। उनीहरू निकुञ्जको सुर्खेततर्फको भागमा सिकार गर्न भनी हिँडेका थिए।
जिल्ला प्रहरी कार्यालय, सुर्खेतका डीएसपी मोहनजंग बुढथापाका अनुसार यस विषयमा वास्तविकता अझै थाहा भइसकेको छैन। प्रहरीलाई जानकारी प्राप्त भएअनुसार सुर्खेतका ६ जना युवा फागुन २३ गते सिकार गर्न बर्दिया राष्ट्रिय निकुञ्जतर्फ गएका थिए। तीमध्ये एकजनाले बोकेको बन्दुक पड्किएर मृत्यु भयो। त्यसपछि तीन जना घर फर्केर परिवारमा घटनाको विषयमा जानकारी गराउँदै कपडा र पैसा लिएर भारततर्फ गएको भनिएको छ।
गाउँमा बस्दा प्रहरीले पक्राउ गर्ने भएकाले भारत जाने बताएका थिए। प्रहरीले उनीहरूका आफन्तसँग सोधपुछ गर्दा उनीहरूले पनि घटनाको विषयमा जानकारी गराएको बताएको डीएसपी बुढ थापाले अन्नपूर्णलाई बताए। तर, घटना कहाँनिर, कहिले र कसरी भयो भन्ने विषयमा प्रहरी अझै अनभिज्ञ रहेको जनाए। बुढथापाले भने, ‘हाल इन्सपेक्टरको कमान्डमा २५, ३० जनाको टोली खटिएको छ। बर्दियाबाट पनि नेपाली सेना, निकुञ्जका कर्मचारी र प्रहरी सबै मिलेर खोजी रहेका छौं। अहिलेसम्म केही फेला परेको छैन।’
घटनामा बराहताल–२ का ३३ वर्षीय टोपबहादुर खत्रीको मृत्यु भएको जानकारी आएको उनले जनाए। बराहताल–१ का वर्ष २५ को रेसम समसेली, ४१ का रविलाल दमाई, ३४ का रामबहादुर घर्ती, ३० वर्षका सुनील समसेली, ४५ वर्षका बर्दिया बस्दै आएका दुर्गाबहादुर सिजाली फरार छन्।
घटना भएको भनिएको ठाउँ अत्यन्त सुनसान र एकान्तमा पर्छ र संवेदनशील क्षेत्र मानिन्छ। त्यसैले पनि उनीहरू वन्यजन्तु चोरीसिकारीका लागि त्यता गएको हुन सक्ने अनुमान गरिए पनि घटनाको वास्तविकता अझै बुझ्न बाँकी रहेको बुढथापाले जनाए। बराहताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले घटना भएको ठाउँ चुरेक्षेत्र र निकुञ्ज क्षेत्रमा पर्ने भएकाले एकान्त र वन्यजन्तुको त्रास हुने गरेकोे बताए।
मृत्यु भएका भनिएका व्यक्तिको कपडा निकुञ्जभन्दा बाहिर भेटिएको आफूले सुनेको बताउँदै उनले भने, ‘तर उनको शव भेटिएको छैन। वन्यजन्तुको कारण यस क्षेत्रमा शव नभेटिन पनि सक्छ।’ सँगै गएकाहरूले घटनाको विषयमा परिवारमा बताएर टोपबहादुरको मृत्यु भएको जानकारी गराए पनि कसरी मृत्यु भयो भन्ने विषय भने खुलाएका छैनन्। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोककुमार रामका अनुसार प्रवेश निषेध गरिएको (नो गो जोन) मा जानु नै अबैधानिक काम हो। उनीहरूलाई भेटिएमा कारबाही हुन्छ। हराएको बारेमा थाहा पाएदेखि नै जंगलमा खोजतलास भइरहेको उनले जनाए। यो ठाउँमा डाँडाकाँडा, खोँच धेरै छन्। चोरीसिकारी गर्नेहरू सजिलो ठाउँमा नजाने पनि उनले सुनाए।
‘त्यस्तो संवेदनशील क्षेत्रमा जानै हुँदैन। गए पनि गाइड चाहिन्छ। उनीहरू जानु अबैध गतिविधि हो’ रामले भने, ‘त्यहाँ केही दुर्घटना भएमा कोही पनि जवाफदेही हुँदैनन्। सेनालाई क्षति गरेमा खुट्टामा गोली हान्ने अधिकार हुन्छ।’ बर्दिया राष्ट्रिय निकुञ्जको प्रतिबन्धित (नो गो जोन) क्षेत्रमा गएका ६ जना युवा फागुन २३ देखि सम्पर्कविहीन छन्।
प्रतिक्रिया दिनुहोस !