अनौठो प्रि–मनसुनी वर्षा

अनौठो प्रि–मनसुनी वर्षा
सुन्नुहोस्

काठमाडौं : गत साता भारतको मौसम विज्ञान विभागले एक अद्भुत र फरक खालको मौसम प्रणाली देखिएको बताउँदै सबैलाई सचेत हुन सुझाएको थियो। सामान्यतः बिरलै देखिने हजारौं किलोमिटर लामो सिधा लाइन देखिएको बताएको थियो। यसले निकै तीव्र खालको हुरीबतास, चट्याङ, असिनासहितको वर्षा गराउन सक्ने बताएको थियो। 

जलाधर विज्ञ मधुकर उपाध्यायले नेपालमा पनि यसको असर देखिन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका थिए। उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मौसमी प्रणालीमा गजबको उतारचढाव देखिएको छ। वेस्टर्न डिस्टर्बेन्स पनि अनौठो किसिमले लम्बिएर तन्किएको छ। जुन बिरलै देख्न पाइन्छ।’

नेपालमा पनि भारी वर्षा, हावाहुरी, मेघजर्गन र चट्याङ पर्न सक्ने भएकाले सबैलाई सचेत हुन जल तथा मौसम विज्ञान विभागले सूचना दिँदै आएको थियो। नभन्दै बिहीबार, शुक्रबार र शनिबार नेपालका सातै प्रदेशमा मध्यमदेखि भारी वर्षा भयो।त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले सुरुवातदेखि नै प्रि–मनसुन सक्रिय भएकोे बताए। 

‘खासमा प्रिमनसुनी वर्षाको स्वभाव अहिलेको जस्तो हुँदैन। खण्डीकृत वर्षा हुने र एकैचोटि ठूलो वर्षा हवारर्र आउने हुन्छ’ पोखरेलले थपे, ‘तर अहिलेको वर्षा मनसुनको झल्को दिने खालको भयो। २४ घण्टाभन्दा धेरै वर्षा भयो र सबैतिर एकैनासले पानी पर्‍यो। यो सिस्टम अलि अनौठो नै हो।’

पोखरेलका अनुसार पहिला पहिला पश्चिमी वायुको प्रभाव नेपालदेखि भारतको विहार र उत्तर प्रदेशसम्म मात्रै हुने गथ्र्यो। तर, यसपटक दक्षिण भारतसम्म पनि प्रभाव रहेको थियो। पोखरेलले थपे, ‘यस्तो मौसमी प्रणाली प्याटर्न देखिएको थिएन। यति लामो वेस्टर्ली पनि देखिएको थिएन। यति ठूलो क्षेत्रमा लामो समयसम्म पानी पर्‍यो। पश्चिमी वायुको प्रभाव पनि सँगसँगै देखियो। यो अलि अस्वाभाविक हो।’

हालको प्रि–मनसुनी गतिविधिले पछि मनसुनमा पानी कम पार्छ कि भन्ने पनि लागेको उनले बताए। मनसुन आउन बाँकी नै भए पनि यस्तै गतिविधिले जमिन तातिन दिँदैन। जमिन नतातिँदा पानी कम पर्ने हुन्छ।

मौसम पूर्वानुमान विभागका मौसमविद्, हरिप्रसाद दाहालले प्रि–मनसुनमा खण्डीकृत वर्षा हुने गरे पनि यसपटक सबैतिर लामो समय एकै खाले वर्षा भएको बताए। हुन त मनसुनमा भारी वर्षा भए पनि केही बेरमा रोकिने हुन्छ तर यसपटक लामो समय पानी पर्‍यो। ५० मिमिभन्दा धेरै वर्षा भएको छ। सिस्टम लामो र धेरै क्षेत्रसम्म फैलिएएकाले हालको मौसमी प्रणाली अलि फरक देखिएको उनले बताए। पश्चिमी वायु र न्यून चापीय प्रणाली एकैपटक बनेकाले वर्षा भयो। अझै पनि भारी वर्षा नभए पनि हल्का वर्षाको सम्भावना यथावत् छ।

हाल भइरहेको वर्षाले इँटा उद्योग, कृषिलगायत क्षेत्रमा निकै ठूलो असर गरेको छ। कतिपय स्थानमा बीपी राजमार्ग बाढीले सडक अवरुद्ध गरिसकेको छ। पूर्वका केही स्थानमा पहिरोले सडक अवरुद्ध पारिसकेको छ। हिमाली भेगमा हिउँका कारण जनजीवन प्रभावित बनेको छ। साथै कृषि क्षेत्रमा पनि करोडौंको क्षति पुगेको गुनासो कृषकहरूको छ। केराखेती तथा फलफूलमा असिना र हुरीबतासले नराम्ररी हानि पुर्‍याए पनि कतिपय स्थानमा आलु राम्ररी फल्ने भन्दै किसानहरू हर्षित छन्।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले हालको वर्षाले मनसुनका लागि पूर्वतयारी कार्यमा लाग्नुपर्ने पाठ सिकाएको बताए। उनले भनेका छन्, ‘चैते वर्षाले नै धेरै ठाउँमा सडक अवरुद्ध भयो। अब आउने मनसुनका लागि सहज यातायात व्यवस्थापनको पूर्वतयारी थालिहाल्न जरुरी देखिन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.