इरानसँगको वार्ता 'सकारात्मक' भएको ट्रम्पको दाबी, सैन्य कारबाही पाँच दिनका लागि स्थगित
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी तनाव पूर्णरूपमा अन्त्य गर्ने विषयमा वार्ता भएको बताएका छन्। इरानसँगको उक्त वार्ता सकारात्मक भएको उनको भनाइ छ।
ट्रम्पले इरानका विद्युत् संयन्त्र तथा ऊर्जा पूर्वाधारमाथि हुने कुनै पनि सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने निर्णय पनि लिएको बताए।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्, 'अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वको तनाव पूर्णरूपमा समाधान गर्ने विषयमा निकै राम्रो र सकारात्मक वार्ता भएको जानकारी गराउन पाउँदा म खुसी छु।'
वार्ता सकारात्मक भएपछि आफूले युद्ध विभागलाई इरानका विद्युत् संयन्त्र र ऊर्जा संरचनामाथि हुने सबै सैन्य आक्रमण पाँच दिनका लागि रोक्न निर्देशन दिएको उनले उल्लेख गरेका छन्। 'यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर रहनेछ,' उनले भनेका छन्।
यसअघि ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको समयसीमा दिएका थिए। उनले चेतावनी दिँदै भनेका थिए, 'यदि इरानले कुनै धम्की बिना ४८ घण्टाभित्र होर्मुज जलडमरूमध्य खोलेन भने अमेरिका उसका विभिन्न विद्युत् केन्द्रहरूमा आक्रमण गरेर ध्वस्त पार्नेछ, जसको सुरुवात सबैभन्दा ठूलो संयन्त्रबाट हुनेछ।'
ट्रम्पको उक्त चेतावनी इरानले दक्षिणी इजरायललाई लक्षित गर्दै दुई वटा मिसाइल प्रहार गरेपछि आएको थियो। उक्त आक्रमणमा इजरायलको अघोषित परमाणुस्थल समेत निशानामा परेको बताइएको छ। यस आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्, जुन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ।
प्रतिक्रिया दिनुहोस !