आज र भोलि वर्षा र हिमपातको सम्भावना
काठमाडौं : शुक्रबार र शनिबार वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शुक्रबार देशको हिमाली भू–भागमा अधिकांश बादल, पहाडी भू–भागमा साधारणतया बादल र तराई भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हावाहुरी, असिना र मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी शनिबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार बिहीबार साँझ पनि बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै तथा कोशी प्रदेशको पहाडी र हिमाली भू–भागका एक÷दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भएको थियो।
प्रतिक्रिया दिनुहोस !