श्रीराम : समुच्चा लोकका प्राणतत्व
धर्तीमा प्रकट भएका राम समुच्चा लोकका प्राणतत्व हुन्। राम लोकका मनमा छन्। राम लोकका तनमा छन्। यहाँको समुच्चा लोक राममय छ। ‘रामबिना जीवनको डुंगा पार सकिन्नँ’ भन्ने लोकमान्यता छ।
‘जसरी शरीरमा प्राणको बास हुन्छ, त्यसरी नै लोकमनमा बास गरेका छन्– भगवान् राम। चैत महिना नवमी तिथिमा साक्षात् नारायणको अवतार भएर।’ यसोभन्दा अतिशयोक्ति नहोला। धर्तीमा प्रकट भएका राम समुच्चा लोकका प्राणतत्व हुन्। राम लोकका मनमा छन्। राम लोकका तनमा छन्। यहाँको समुच्चा लोक राममय छ। ‘रामबिना जीवनको डुंगा पार सकिन्नँ’ भन्ने लोकमान्यता छ। राम लोकका भाषा पनि हुन्। राम लोकका भावना पनि हुन्।
लोकमा राम मर्यादा पुरुषोत्तमको रूपमा पूजनीय छन्। एउटा पुरुष लोकप्रति कति श्रेष्ठ, कति मर्यादित, कति संयमित र समर्पित हुन सक्छ ? त्यसको परकाष्ठा हुन्– भगवान् राम। रामको गाथाले लोकलाई सधैं सिकाइरहन्छ– एक पुत्र, भाइ, पति, मित्रको रूपमा कर्तव्यबोध, प्रेम, स्नेह, मर्यादा र आदर्शको स्वरूप के हुन सक्छ ? संयमित, संस्कारित जीवन कसरी जिउन सकिन्छ ? हाम्रो आर्यवर्तमा राम सधैं रमण गर्छन् र हाम्रो आर्यवर्त सधैं रमण गर्छ। आर्यवर्तका आत्मा हुन्– राम। रमेण कणे कणे इति रामस्यः अर्थात् जो कण कणमा छन्, तिनै राम हुन्। हिमावतखण्डका संस्कृतिका आत्मा हुन्– राम। लोकका निम्ति राम आदर्श पनि हुन्। भक्ति पनि हुन्। सेवा पनि हुन्। समर्पण पनि हुन्। सृष्टि पनि हुन्। स्रष्टा पनि हुन्। दृष्टि पनि हुन्। द्रष्टा पनि हुन्। हाम्रो देशका विभिन्न स्थानमा प्रचलित लोकसाहित्यमा राम नै राम छन्।
लोकसाहित्य भनेको त्यो साहित्य हो, जसको रचना लोकले गरेको हुन्छ। लोकसाहित्यको इतिहास त्यति प्राचीन छ, जति मानव जातिको इतिहास। यसैले लोकसाहित्यमा लोकजीवनको प्रत्येक अवस्था, बर्ग, समय र प्रवृत्ति समाहित हुन्छ। लोकसाहित्य देशको धरोहर हो, जसमा त्यो देशको घटना, जीवनको प्रासंगिकता मुखारित हुन्छ। लोकसाहित्यमा, लोकोक्ति, लोकगीत, लोककथा, लोकसंस्कृित, लोकगाथा, लोकनाटक आदि पर्छन्। भगवान् रामलाई पनि यही लोकसाहित्यको कसीमा राखेर हेर्ने कोसिस गरौं।
लोकमा राम मर्यादा पुरुषोत्तामको रूपमा पूजनीय छन्। एउटा पुरुष लोकप्रति कति श्रेष्ठ, कति मर्यादित, कति संयमित र समर्पित हुन सक्छ ? त्यसको परकाष्ठा हुन्– भगवान् राम।
लोकसंस्कृतिमा राम: लोकको अभिप्रय सर्वसाधारण जनतासँग हुन्छ। उनीहरूको व्यक्तिगत पहिचान नभएर सामूहिक पहिचान हुन्छ। लोकमा विभिन्न वर्ग जाति हुन्छन्। तिनीहरूको भेषभूषा, चालचलन, रहनसहन, खानपान अलग हुन सक्छन् तर त्यहाँ एउट त्यस्तो सूत्र हुन्छ जसले सबैलाई एउटै मालामा गाँसेको हुन्छ। तिनीहरूको मिलिजुली संस्कृति हुन्छ। त्यो नै लोकसंस्कृति हो। लोकसंस्कृति जनजीवनको सहज, पारम्परिक र अनौपचारिक अभिव्यक्ति हो। जसभित्र लोकभाषा, लोकरिवाज आदि पर्छन्।
लोकसंस्कृतिमा भगवान् राम शास्त्रीय देउतामात्र नभएर लोकनायकका रूपमा पनि श्रद्धेय छन् जो जन्मदेखि मृत्युसम्मका संस्कार सुखदुःखमा साथ छन्। लोकसंस्कृति अनुरूप रामको चरित्र पारिवारिक र सामाजिक जीवनको उच्च आदर्शको रूपमा रहेको पाइन्छ। लोकजीवन र व्यवहारमा भगवान् राम प्रचुर मात्रामा प्रयोग भएका पाइन्छ। कसैलाई स्वागत गर्दा, अभिवादन गर्दा लोकले रामराम, सीताराम, जय श्रीराम आदि शब्द प्रयोग गर्छन्। दुःखमा ‘हे राम!’ भन्छ्न्। सुखमा ‘धन्य राम!’ भन्छन्। जीवनको अन्त्यमा ‘रामनाम सत्य हो’ भनेर रामलाई नै पुकारा गर्छन्। लोकले आफ्नो परिवेशलाई पनि राममय गराएका छन्। खानेकुरालाई रामदाना, रामतोरी, सीताफल भनेका छन्।
त्यस्तै, ताल तलैयालाई रामपोखरी, सीतापोखरी भनेर नामकरण गरेका छन्। अभिभावकले पनि सन्तानका नाम रामकृष्ण, सीताराम, रामहरि, रामसेवक, रामअवतार, राममणि आदि राखेका छन्। पहाडको नाम पनि रामारोशन, रामगिरी छन्। रामेछाप, राम्चे, सीतापाइला, रामकोट, रामनगर, लक्ष्मणपुर भनेर ठाउँका नाममा समेत प्रत्यक्ष, परोक्ष राम जोडिएका छन्। धाराको नाम रामहिटी, खोलानालालाई रामगंगा, राम्दी आदि भनेर सम्बोधन छन्। वनस्पतिलाई रामपीपल, रामवृक्ष आदि नाम दिएका छन्। यसरी भगवान् राम लोकका बोलीमा हरपल गुञ्जिइरहेका छन्।
लोकोक्तिमा राम : समाजलाई सही मार्गदर्शन दिनलाई रचिएको लोकसाहित्यको प्रमुख विधा हो, लोकोक्ति। यसमा धार्मिक र नैतिक उपदेश समाहित हुनुका साथै जीवनका अनेकौं पहलु जोडिएका हुन्छन्। यो त्यस्तो विधा हो, जुन पुर्खाहरूले अनुभवका आधारमा सूक्ष्म शब्दहरूले गहिरो भाव राख्ने शब्द निर्माण गरे। प्राचीनकालदेखि नै यसको प्रयोग भएको पाइन्छ। लोकवाङ्मयमा यसको विशिष्ट स्थान छ। लोककोक्तिमा पनि भगवान् रामलाई आम जनमानसले आत्मीय सम्बन्धका साथ विश्वास गरेको पाइन्छ।
लोकोक्ति हाम्रो समाजमा उखान, टुक्काको नामले पनि चर्चित छ। चर्चित उखान छ, ‘मुखमा राम राम, बगलीमा छुरा !’ विशेषतः यस्ता उखान बाहिर बाहिर चिप्ला कुरा गर्ने र भित्रभित्र कपट, छलछाम र षड्यन्त्रले भरिएका मानिसका निम्ति प्रयोग गरिन्छ। जानाजानी विनाशको बाटोतिर लम्किएकाहरूको निम्ति अर्को लोकोक्ति प्रस्तुत गरेर सही बाटोमा ल्याउने कोसिस गरिएको छ, ‘भिरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न।’ यसले प्रमाणित संकटमा राम नाम लियो भने पनि उसको संकटमोचन हुने सम्भावना रहन्छ। गलत बाटोमा लागेको मानिसलाई राम नाम सुनाइदियो भने ऊ सही बाटोमा आउन सक्छ।
मानव जीवनमा दुःखसुख शाश्वत सत्य हो, यो सब रामको लीला हो भन्ने तथ्यलाई यो उक्तिले उजागर गर्छ, ‘रामको माया कहीँ, घाम कहीँ छायाँ।’ राम कथासँग जोडिएका अर्को उखान छ– ‘गर्ने भन्ने पगरी गुथ्ने ढेडु।’ ‘रामका निम्ति हनुमानले जति दुःख कसले गरेका होलान् ?’ हनुमान् महान भक्तका प्रतीक हुन्। यस्ता उक्तिहरू रामका निम्ति दुःख गर्ने त्यस्ता भक्तलाई बेवास्ता गरेर काम न काजका निकम्मा मानिसलाई सम्मान गर्ने प्रवृत्तिविरुद्व व्यंग्य स्वरूप प्रयोग गरिन्छ। त्यस्तै कसैको खराब असल कर्मबारे कोही अनविज्ञ छन् भने रामलाई सम्झिएर उक्ति छाँट्छन्, ‘राम जाने, राम जानून्।’ यसरी लोकोक्तिमा पनि असीमित परमार्थ, सत्वगुण, धर्मपारायण, कर्तव्यपारायणताले भरिएका अप्रतिम भगवान् राम सजीवताका साथ झल्किन्छन्।
लोकगाथामा राम : पौराणिक र भक्तिपरक लोकगाथा भगवान् रामको अधिक चर्चा भएको पाइन्छ। पूर्वी पहाडमा बालन, संगिनी, मारुनी गाथामा, बागमती क्षेत्रमा खैजेडी र लोकभजनसँगै आउने गाथामा पश्चिममा चुड्का, रोइला, सोरठी आदिमा रामगाथा गाइन्छन्। त्यस्तै, डोटेली लोकरामायण, फाग, देउडा, हुड्के, धमारी, चैतलो आदिमा रामका गाथा गुञ्जिएको पाइन्छ। पूर्वी पहाडमा प्रचलित बालनमा रामका गाथाहरू यसरी गाइन्छ। लोकगायक माधव दाहालको लोकसंसार कार्यक्रममा प्रस्तुत बालनका गेडाहरू राम, उनीसँग सम्बन्धित गेडाहरू प्रस्तुत भएका छन् :
आहै राम थिए नारायण कौशल्या आमा
जन्म भयो अयोध्यामा ...।
त्यस्तै, कोशी प्रदेशका राजा हरि मल्लको गाथामा आधारित भएर सिर्जित भएको महिलाहरूमा प्रचलित संगिनी लोकगाथामा पनि राम र सीताका चर्चा भेटिन्छ। संगिनी लयमा गाइएका राम सीताका गाथाहरू प्रचुर मात्रामा भेटिन्छ।
स्रष्टा शान्ता गौतमले भगवान् रामबारे लेखेको संगिनीको एउटा अंश हेरौं :–
‘तपस्या थियो भगवान् रामलाई,
अयोध्या ल्याउन मेरा बाबा अयोध्या ल्याउन...!’
महर्षि वाल्मीकिद्वारा रचित रामायणका मूलकथालाई तोडमोड नगरी लोकभाषामा राम र सीतामा आधारित भएर संगिनी गाइएको पाइन्छ :–
सीतामाईले लाएको यो फूलबारी
रामज्यूले बारे बार शिव शिव
रामज्यूले बारे बार।
पुर्वी पहाडमा रामको नामसँगै चुड्का सुरु गरिन्छ। चुड्कामा आख्यानात्मक रूपमा रामको गाथा पनि गाइन्छ। दीलबहादुर खत्रीको संकलन, नवीन खड्का र पुस्तका खड्काको स्वरमा रहेका गेडाहरूमा यसरी राम नाम जपिएको छ :–
राम राम राम राम हरि राम हे राम राम
सुन सुन सज्जन हो केही कुरा गर्छु
नारायण हे राम हे राम लेख्छु भजन
चार दिनको चोला हो, नरिसाउनु होला हो
लेख्छु भजन राम राम लेख्छु भजन।
कथा भट्याउँदै, टुक्का गाँसेर भजन भन्दै, मुजुरा कर्तालको साथमा समूहमा गाउँदै नाचिने भजनमा पनि रामको गाथा गाइन्छ। विशेषतः बागमती र बागमतीभन्दा पश्चिमतिर गाइने यस्ता भजनमा रामको राजगद्दी आरोहण, वनगमन, सीतासँगका बिछोड, लंकापुरी दहन, रावण वध आदिका चर्चा गरिँदै राम नाम सत्यको रहस्य बताउँदै भक्ति, ज्ञान, वैराग्यका भाव जगाउने काम गरिन्छ।
अयोध्याको दरबारमा , रामको अवतार भो
हो हो रामको अवतार भो।
राम उनकी सौतेनी आमा कैकेयीका कारण वन जानु परेको कुरा रेशम सापकोटाको स्वरमा रहेको गेडाहरूले उजगार गर्छ :–
हे राम राम संसार यस्तै हो ,
सौतेनी आमा चैते घाम ।
त्यस्तै, संसारको तालाचाबी उनै रामद्वारा चलेको छ भन्ने शाश्वत सत्यलाई लोकखैजेडी भजनका गेडामा मुखारित हुन्छ :–
हे राम राम उनै नारायण
हर्ने, भर्ने लीला गर्ने उनै नारायण
हो हो उनै नारायण।
पश्चिमाञ्चल विशेषतः गण्डकी क्षेत्रमा प्रचलित लोकगाथा सोरठीमा पनि मर्यादा पुरुषोत्तम भगवान् रामका गाथाहरू अति नै श्रद्धाका साथ गाइएको पाइन्छ। विशेषतः खस–आर्य, मगर गुरुङ जातिमा प्रचलित जयसिंगे राजा र हेमवती रानीको कथामा केन्द्रित यी गाथामा राम वनगमनका कथालाई मार्मिक र हृदयस्पर्शी संगीतमार्फत प्रस्तुत गरिएको पाइन्छ। सुवि शाहको संकलन र नारायण रायमाझीको स्वरमा रहेको सोरठीका गेडाहरूमा राम वनगमनको प्रसंगलाई मार्मिकताका साथ प्रस्तुत गरिएको छ :–
हा हा नरमाइलो दाजै नरमाइलो
वनिबास जानलाई नरमाइलो
भरतलाई राजकाज कैकेयीको आस
हा हा नरोऊ नरोऊ आमा
रामको चल्यो वनिबास।
पश्चिमी क्षेत्र विशेषतः गण्डकी क्षेत्रमा खैजेडीको तालमा छोटो, मीठो लयमा गाउँदै नाचिने चुड्कामा रामको गाथा गाइन्छ। खुमन अधिकारीको स्वरमा रामलाई महिमामण्डन गरिएको छ :–
‘अयोध्या र जनकपुरमा जानकीको धाम
राम नाम सत्य छ भजौ राम राम
रामको पैतालामा कमल फूल फुलेको
पाइँदैन देखेको रामलाई सीता लेखेको।यसरी हाम्रा लोकगाथामा घामझैं प्रकाशित छन्। रंगीचंगी फूल झै सुवासित छन्।
लोकनाटकमा राम : जब कुनै कथा लोकले श्रव्यात्मक रूपमा बुझ्दैनन्, तब दृश्यात्मक रूपमा प्रस्तुत गरिन्छ। यसरी लोकमा प्रचलित कथालाई अभिनयसहित दृश्यात्मक रूपले प्रस्तुत गरिनुलाई लोकनाटक भनिन्छ। हाम्रो देशको धेरै स्थानमा लोकनाटक देखाइन्छ। पुराणका कथा सहज रूपमा लोकले बुझून् भन्ने हेतुले सप्ताह, नवाहा, चौमास, आदि धार्मिक अनुष्ठानमा, एकादशी, रामनवमी आदि पर्वमा मानिस राम, लक्ष्मण, हनुमान आदि रामायणका पात्रहरूका भेषभूषा पहिरिएर हुलिया बनाएर, अभिनय देखाएर लोकमा झाँकी देखाइन्छ। यो नै लोकनाटक हो।
लोकगीतमा राम : समाजको सांस्कृतिक चेतनाको अभिन्न अंग हो– लोकगीत। जुन पुस्तौदेखि मौखिक परम्पराको रूपमा जीवित रहेको हुन्छ। एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुन्छ। यसको विशेषता भनेको सामूहिकता हो। यसको विशेष रचनाकार हुँदैन। रचनाकार अज्ञात हुन्छ र प्रतिलिपि लोकमा नै निहित हुन्छ। लोकगीत मनोरञ्जनको साधनमात्र नभएर धार्मिक, सामाजिक पारिवारिक जीवनलाई व्यक्त गर्ने अभिव्यक्तिको माध्यम पनि हो। लोकगीतमा जीवनको सुखदुःख, संघर्ष र आशाको सजीव चित्र भेटिन्छ। स्थानीय बोली, मान्यता, रिवाजहरू सहज रूपमा समावेश हुन्छ।
लोकले लोकगीतमा प्रत्यक्ष र परोक्ष रूपमा भगवान् रामका स्वरूपलाई सजीव बनाएका छन्। चाहे पूर्वको होस् या पश्चिमको लोकगीत होस्, त्यसका गेडा, थेगो, रहनी, ठक्कन आदिमा रामलाई जोडेका छन्। चाहे झ्याउरे, रोइला, गर्रा, कर्खा, मारुनी, देउडा होस्। चाहे हाकपारे, पालम, गोठाले गीत होस् अथवा पर्व, संस्कार, श्रम, ऋतु, बाह्रमासा गीत होस्, प्रायः धेरै लोकगीत राम घुसेका छन्।
अरुण उपत्यकाको संकलनमा रहेको गीतको सुरुवातमा नै रामको नाम लिइएको छ :–
राम राम छ है पातली बसे रामरी,
मै हिँड्ने बाटोमा आँसु नझारी।
अरुण उपत्यकाकै गर्रा गीतमा पनि राम जोडिन्छ–
राम बलराम राम बलराम
त्रिवेणी घाटैमा झुल्कियो घाम।
पूर्वी पहाडमा प्रचलित कमलीकान्त भेटुवालको स्वरमा रहेको अर्को गीतका गेडाहरूमा पनि राम नाम अत्यन्त सजीवताका चित्रित भएका छन् । पूर्वका पुराना गायक थरेन्द्र बरालको पुरानो जुहारी गीतका रहनी, थेगोमा भगवान् रामलाई उतारिएको छ
जाहाजी छायाँ , राम राम छ यो माया।
राम सीताका बिछोडलाई आधार मानेर गंगा राणा, गंगा वरदान आदिले लोकगीतमा राम र सीतालाई उन्ने काम गरेका छन् । गण्डकी क्षेत्रका चर्चित गायक तथा लोकसंगीतका हस्ती झलकमानको बाला जोबन खेलेरै गयो बोलको गीतमा अन्त्यमा राम वनगमनकै कुरालाई ल्याएर टुंग्याइएको छ :–
राम राम राम गए वनैमा
मृग झर्यो स्याउली वनैमा।
बागमती क्षेत्रमा प्रचलित काँठे झ्याउरे गीतमा रामलाई वनमा पठाउनु पर्दाको बेला उनको पिता दशरथको मनोदशको चित्रण मार्मिक तवरले गरिएको छ। दलबहादुर डंगोलको आवाजमा युट्युबमा चर्चित यी गेडाले यसैलाई इंगित गर्छ । कमलाखोंचतिर मकै गोड्दा गाइने रामदली गीत चर्चित छ भने सुदूरपश्चिमतिर रामकली हुड्के चर्चित छ। राम साइँली, रामसाइँलाबाट सुरु गरिएका सयौ लोकगीत छ। गरिएका धेरै लोकगीत जनजिब्रोमा झुन्डिएका छन्। राम नाम जोडिएका यस्ता अनगिन्ती लोकभाका छन्। अन्त्यमा, लोकवाङ्मयमा रामको विशेष महत्व छ। उनी लोकको कण्ठमा समाहित छन्। जसमा माटोको सुगन्ध, निजत्वका संस्कृति प्रष्फुटित छन्। भगवान् राम लोकमानसको अपनत्वको रूपमा जोडिएका छन्। सनातन धर्मका आधार स्तम्भ भगवान् राम लोकमा धड्कन भएर निवास गरेका छन्।
प्रतिक्रिया दिनुहोस !