मानव र बाँदरबीचको वर्तमान द्वन्द्व केवल एउटा सामाजिक समस्यामात्र नभई यो हाम्रो बिग्रिँदो प्राकृतिक सन्तुलनको एउटा कठोर चित्रण हो।
प्रकृतिमा रहेका हरेक जीव आपसमा अन्तरसम्बन्धित छन्। खाद्य जालो र पारिस्थितिक प्रणालीको सन्तुलन मिलाउन सबैको भूमिका अहम् हुन्छ। विश्वमा पाइने झन्डै २६४ प्रजातिका बाँदरमध्ये नेपालमा रातो, आसामी र लंगुर मुख्य हुन्। यिनको मानव जातिसँग ऐतिहासिक कालदेखि नै सन्तुलित सम्बन्ध रहिआएको थियो। विगतमा वन्यजन्तुहरू झुक्किएरमात्र मानव बस्तीमा प्रवेश गर्थे। उनीहरू आफ्नै प्राकृतिक बासस्थानमा छिट्टै फर्कने गर्थे। तर पछिल्ला दशकमा यो समस्या ग्रामीण र सहरी इलाकामा चुनौती बनेको छ।
विद्यमान संरक्षण नीति, वन विनाश वा प्राकृतिक दोहन कुन प्रमुख कारण हो ? यसबारे अब गहन अध्ययन हुन अत्यन्त जरुरी देखिन्छ। तसर्थ वन्यजन्तुको संरक्षण र मानव सुरक्षाबीच उचित सन्तुलन कायम गर्नुपर्छ। दुवै परिवेशका यी जटिल समस्या सम्बोधन गर्ने व्यावहारिक उपायहरूको खोजी हुनुपर्छ। दिगो व्यवस्थापनको बाटो रोज्नु नै आजको प्रमुख आवश्यकता हो। यसले मात्र हाम्रो पृथ्वीको सुन्दर भविष्य र पारिस्थितिकीय सन्तुलनलाई सधैं सुरक्षित राख्न मद्दत पुर्याउँछ।
बाँदरको स्वभाव र बौद्धिक क्षमता
बाँदर मानिस जस्तै एक सामाजिक प्राणी हो। यिनीहरू परिवारमा आमाबाबु, सन्तान र अन्य सदस्यहरूसँग मिलेर बस्न रुचाउँछन्। यिनीहरूमा सन्तानप्रति गहिरो प्रेम र मातृवात्सल्य हुन्छ। यसै कारण, आमाले मरेको बच्चालाई समेत प्राण नभएको स्वीकार्न नसकी लामो समयसम्म बोकेर हिँड्ने गर्छिन्। समूहबाट छुट्टिएका वा अपहेलित वृद्ध र अशक्त बाँदर भने तुलनात्मक रूपमा बढी आक्रामक स्वभावका हुन्छन्।
बाँदरमा परिस्थितिअनुसार चल्न सक्ने उच्च अनुकूलन क्षमता र बौद्धिक चातुर्य हुन्छ। यिनीहरूले अप्ठ्यारो अवस्थामा जोखिम मोलेरै नयाँ कुरा सिक्छन्। मानिस वा अन्य बाँदरले निकालेको जुक्तिलाई सहजै नक्कल गर्ने क्षमता यिनीहरूमा हुन्छ। वातावरणअनुसार आफूलाई बदल्न सक्ने यही चलाखी र सिक्ने बानीले गर्दा नै यिनीहरू जुनसुकै परिवेशमा पनि सजिलै घुलमिल हुन सक्छन्। प्राकृतिक बासस्थानमा बाँदर र मृग/चित्तलबीच अनौठो सहकार्य देखिन्छ। सुरक्षाका दृष्टिले मित्रता महत्वपूर्ण छ। रुखमा बसेका बाँदरले टाढैबाट बाघ वा चितुवा देख्नासाथ संकेत दिन्छन्, जसले गर्दा मृगहरू समयमै सुरक्षित रहन सक्छन्।
यस्तै सम्बन्ध अचेल सहरी क्षेत्रमा पनि देखिन थालेको छ, जहाँ खानाका लागि बाँदर, कुकुर, काग र परेवाहरू फोहरका थुप्रोमा सँगै भेटिन्छन्। यो बदलिँदो परिस्थितिअनुसार विकसित मित्रताको दुर्लभ उदाहरण हो। गाउँबस्ती पसेका बाँदरको व्यवहार फरक पाइन्छ। कतिपयले अनुनय गर्दै खाना माग्छन् भने कतिपयले झम्टेर खोस्ने गर्छन्। खानेकुरा सुरक्षित छ कि छैन भनी निश्चित गर्न यसले सुँघ्ने, चाख्ने र फुटाउने गर्छ। प्राणी शास्त्रअनुसार मानिस र चिम्पाञ्जीपछि रातो, आसामी र लंगुर बाँदरकै मस्तिष्कको तौल बढी हुन्छ। त्यसैले यिनीहरू नयाँ वातावरणमा छिट्टै अभ्यस्त हुन सक्छन्।
बाँदरको आहारा : बाँदरको प्राकृतिक आहारा निकै विविध छ। यिनीहरूले घँगारु, चुत्रो, चिलाउने, फँदिर, कुसुम, काफल, जामुनो, कटुस, हाँडे बयर, क्यामुनु, किम्बु, बाँदरझुला, कोइरालो, घर्याम, निभारो, खन्यु, गलेनी, पुरुनी, जंगली आँप, अम्बा, अँगेरी, अर्चल र केराजस्ता वनस्पतिका पात, फल, बोक्रा र फूलको रस खान्छन्। यिनीहरू दूबो र कमेरो माटो चाट्ने गर्छन् भने गर्भवती बाँदरले प्रोटिनका लागि किराहरूसमेत खान्छन्। वन विनाश र रैथाने बिरुवाको अभावले गर्दा हाल यिनीहरूले जंगलबाट ४५ प्रतिशतमात्र आहारा पाउँछन्। बाँकी ५५ प्रतिशत आहाराका लागि यिनीहरू कृषि बाली र मानव बस्तीमा निर्भर हुन थालेका छन्।
बाँदरको महत्व र पारिस्थितिकीय भूमिका : प्राकृतिक रूपमा बाँदरले परागसेचन गर्ने र बिष्ठाको माध्यमबाट बिउहरू फैलाउने हुनाले वनजंगललाई हराभरा बनाउन महत्वपूर्ण भूमिका खेल्छन्। प्रकृतिमा खाद्य शृंखलाले नै यिनीहरूको संख्या नियन्त्रण गरिरहेको हुन्छ। बाघ र चितुवाजस्ता प्राकृतिक शिकारीको संख्या घट्दा बाँदर र मृगको संख्या अनपेक्षित रूपमा बढेर मानव बस्तीतिर पस्ने गर्दछन्। विशेषगरी ध्वाँसे चितुवाले वर्षमा ५० वटासम्म बाँदरको सिकार गरेर यिनीहरूको संख्या सन्तुलनमा राख्छ। तर, पछिल्लो समय वनमा यस्ता सिकारी जनावरहरूको कमी हुनु चिन्ताको विषय बनेको छ।
बाँदर व्यवस्थापनका प्रयास र नतिजा : नेपालका विभिन्न स्थानमा बाँदर व्यवस्थापनका लागि अनेकौं परम्परागत र आधुनिक उपायहरू अपनाइएको देखिन्छ। कतिपयले बाँदर तर्साउन भोटो लगाइदिने, बुख्याचा राख्ने, आवाज आउने बन्दुक पड्काउने वा महिलालाई दुःख दिने भएपछि पुरुषको भेष बदल्नेजस्ता कार्य गरे। कतै बाँदर समातेर अन्यत्र सार्ने, बन्ध्याकरण गर्ने वा मोलासिस झार रोप्ने प्रयास भए भने कतै बाँदरमैत्री फलफूल लगाउने र बाँदर पालन गर्ने योजनासमेत बने।
बाँदरले घरपालुवा पशुमाथि गर्ने अत्याचारबारे सरकारमा उजुरीसमेत पर्ने गरेको छ। यो समस्या चुनावी एजेन्डा र संसद्को बहसको विषयसमेत बन्यो, जहाँ बाँदर निर्यात गरेर आयआर्जन गर्नेसम्मका कुरा उठे। कतिपय ठाउँमा बाँदरलाई कुकुर लगाउने, गुलेलीले हान्ने र अंगभंग पार्नेजस्ता हिंस्रक कार्यसमेत गरिए। बाँदर नियन्त्रणका नाममा करोडौं रकम खर्च भए पनि वैज्ञानिक व्यवस्थापनको अभावमा नतिजा भने शून्यप्रायः देखिएको छ।
यथार्थ के हो ? (विद्यमान चुनौतीहरू) : पछिल्लो समय देशको बदलिँदो राजनीतिक र सामाजिक परिस्थितिसँगै पहाडबाट तराईतिर बसाइँ सर्नेको संख्या बढेको छ। सन् २०२१ को जनगणनाअनुसार पछिल्ला १० वर्षमा सहरी जनसंख्या ३ प्रतिशतले बढेको र ग्रामीण जनसंख्या सोही अनुपातमा घटेको छ। गाउँमा कर्मशील युवाहरूको अभाव र वैदेशिक पलायनले गर्दा कृषिमा निर्भरता घट्दै गएको छ। वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सन् २०२४ को प्रतिवेदनअनुसार नेपालमा कृषि क्षेत्र २२.५९ प्रतिशतमात्र छ भने बाँझो जमिन वन र बुट्ट्यानमा परिणत हुँदा ती क्षेत्रको हिस्सा ४६.०८ प्रतिशत पुगेको छ।
द्वन्द्व बढ्नुका प्रमुख कारणहरू
जैविक पर्खालको विनाश : गाउँबस्ती नजिकका वन, झाडी र पोखरीहरू पहिले ‘जैविक बार’का रूपमा थिए, जहाँ वन्यजन्तुहरू विचरण गर्थे। ती क्षेत्र मासिएपछि वन्यजन्तुहरू सिधै मानव बस्तीमा पस्न थालेका छन्।
रैथाने वनस्पतिको अभाव : मध्यम र निम्न वर्गका किसानले आर्थिक गर्जो टार्न खेतबारीका महत्वपूर्ण रुखहरू काठ व्यापारीलाई बेचेका छन्। बाटो विस्तार र विद्युत् प्रसारण लाइन निर्माणका क्रममा पनि ठूलो संख्यामा रुखहरू काटिएका छन्।
आहारविहारमा परिवर्तन : जंगलमा प्राकृतिक आहारा र पानीको अभाव भएपछि बाँदरहरू नुडल्स, बिस्कुट र जुसजस्ता कृत्रिम एवं विषादीयुक्त खानेकुरामा आकर्षित भएका छन्। यस्तो खानपानले उनीहरूलाई शारीरिक र मानसिक रूपमा रोगी र आक्रामक बनाउँछ।
धार्मिक र मानवीय व्यवहार: मानिसले धार्मिक आस्था वा मनोरञ्जनका लागि खानेकुरा दिने र जथाभावी फोहोर फाल्ने गर्नाले बाँदरको स्वभाव बिग्रिएको छ। यसको गम्भीर परिणामस्वरूप बाँदरको प्रजनन प्रक्रियामा समेत परिवर्तन आएको छ। अचेल वर्षमा एक पटक बच्चा जन्माउने बाँदरहरूले वर्षमा दुई पटकसम्म र जुम्ल्याहा बच्चासमेत जन्माउन थालेका छन्, जसले गर्दा यिनीहरूको संख्या अनियन्त्रित भई समस्या थप जटिल बनेको छ।
- बाँदरहरू प्रकृतिका ‘माली’ हुन्; उनीहरूले परागसेचन र बिउ विस्तार गरेर वनलाई पुनर्जीवित राख्छन्। उनीहरूलाई शत्रु मानेर होइन, बरु पारिस्थितिकीय प्रणालीको एउटा अभिन्न अंग मानेर सह–अस्तित्वको नयाँ ढाँचा तयार पार्नुपर्छ।
- विकास र संरक्षणको सन्तुलन मिलाउँदै, पुर्खाहरूको यो विरासत जोगाउनु र मानव–वन्यजन्तुबीचको दूरी घटाउनु नै पृथ्वीको सुन्दर भविष्यका लागि अनिवार्य सर्त हो। विवेकशील प्राणी हुनुको नाताले यो द्वन्द्व मेटाउने प्रमुख जिम्मेवारी पनि मानिसकै काँधमा छ।
- डार्बिनको विकासवादी सिद्घान्तदेखि तिनाउ किनारमा भेटिएको रामापिथेकसको अवशेषसम्मले हामी र बाँदरबीचको गहिरो जैविक र ऐतिहासिक साइनोलाई पुष्टि गर्दछ। तर, पछिल्ला दशकहरूमा तीव्र सहरीकरण, ग्रामीण क्षेत्रबाट बसाइँसराइ र प्राकृतिक वनको दोहनले यो मधुर सम्बन्धलाई तिक्ततामा बदलेको छ।
मानव–बाँदर सह–अस्तित्व र द्वन्द्व व्यवस्थापनका बहुआयामिक पक्षहरू
१. सह–अस्तित्वका आधार र व्यावहारिक समाधानका मार्गहरू : मानव र बाँदरबीचको बढ्दो द्वन्द्व केवल एक सामाजिक समस्यामात्र नभई यो हाम्रो बिग्रिएको पारिस्थितिकीय प्रणालीको ऐना पनि हो। यसको समाधानका लागि सतही प्रयासभन्दा पनि ठोस र वैज्ञानिक आधारमा टेकेर अघि बढ्नुपर्ने देखिन्छ।
समस्याग्रस्त क्षेत्रको पहिचान र नमुना परियोजना : सबैभन्दा पहिले, कुन क्षेत्रमा बाँदरको प्रकोप बढी छ, सूक्ष्म पहिचान गरिनुपर्छ। ‘एकै प्रकारको समाधान सबै ठाउँमा लागू हुन्छ’ भन्ने सोचलाई त्यागेर प्रभावित क्षेत्रको भौगोलिक र सामाजिक परिवेशअनुसारका ‘नमुना परियोजना’ सञ्चालन गरिनु आवश्यक छ। यस्ता परियोजनामा बाँदरको वास्तविक संख्या, उनीहरूको प्रजनन क्षमता, खानपानको प्रवृत्ति र बालीनालीमा पु¥याएको क्षतिको वैज्ञानिक तथ्यांक संकलन हुनुपर्छ। जबसम्म यकिन तथ्यांक हुँदैन, तबसम्म गरिने जुनसुकै खर्च ‘बालुवामा पानी’ सरह हुनेछ।
प्राकृतिक बासस्थानको पुनस्र्थापना र रैथाने वनस्पति : हामीले सामुदायिक वनलाई ‘काठ उत्पादन गर्ने कारखाना’ मात्र बनायौं। टिक, सल्ला र सिरिसजस्ता काठजन्य प्रजातिले वन त हरियो देखियो, तर त्यहाँ बाँदर र अन्य शाकाहारी जीवका लागि खानेकुराको अनिकाल प¥यो। अबका दिनमा सामुदायिक वनलाई ‘प्राणीमैत्री वन’का रूपमा विकास गर्नुपर्छ। वनभित्रै बाँदरले मन पराउने रैथाने फलफूलका बिरुवाहरू जस्तै काफल, लप्सी, बयर, अमला, भिरमौरीले मन पराउने फूलहरू र विभिन्न कन्दमूलहरू—व्यापक रूपमा लगाउनुपर्छ। जंगलभित्रै खाना र पानीको उपलब्धता सुनिश्चित भएमा उनीहरू मानव बस्ती छिर्ने जोखिम न्यून हुन्छ।
प्राविधिक र वैज्ञानिक व्यवस्थापन : बाँदर धपाउन ‘ट्राई मेथाइल अमिन’जस्ता घातक रसायनको प्रयोग गर्ने होडबाजी अचेल चलेको छ। यस्ता रसायनले माटो, पानी र अन्य जीवजन्तुमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले यसमा तुरुन्त रोक लगाइनुपर्छ। बरु, वनभित्र स–साना पोखरी निर्माण गर्ने र वन डढेलो नियन्त्रण गर्ने हो भने शाकाहारी जीवका लागि प्राकृतिक आहारको चक्र पुनस्र्थापित हुन सक्छ।
२. सामाजिक–आर्थिक रूपान्तरण र समन्वय : बाँदरको समस्या वनको मात्र होइन, यो बसाइँसराइ र कृषिप्रतिको घट्दो आकर्षणसँग पनि जोडिएको छ।
बाँझो जमिन र कृषि सुधार : गाउँका धेरै जग्गाहरू अधियामा छन् वा बाँझै छन्। जग्गाधनीहरू सहर पसेका छन्, जसले गर्दा ती जमिनहरू झाडीमा परिणत भएका छन्। यस्ता झाडीहरू बाँदरका लागि सुरक्षित लुक्ने ठाउँ र बस्ती छिर्ने ‘लन्च प्याड’ बनेका छन्। प्रभावित कृषकलाई पशुपालन, माछापालन र जडीबुटी खेतीमा प्रोत्साहन गरी जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ। २०७४ को संघीयता कार्यान्वयनपछि स्थानीय सरकारसँग यसको अधिकार बढी छ। त्यसैले स्थानीय तहले ‘बाँदर पीडित राहत कोष’ र सस्तो प्रिमियममा ‘बाली बीमा’ कार्यक्रम ल्याउनु पर्छ।
आर्थिक सम्भाव्यता र पर्यटन : विभिन्न देशमा बाँदरहरूको आनिबानी अध्ययन गर्न पर्यटकहरू आउने गर्छन्। नेपालमा पनि ‘प्राइमेट पार्क’ निर्माण गरेर अनुसन्धानकर्ता र पर्यटकलाई आकर्षित गर्न सकिन्छ। बाँदर स्थानान्तरण गर्दा सधैं वैज्ञानिक विधि अपनाउनुपर्छ। एक ठाउँको समस्या अर्को ठाउँमा सार्नुमात्र समाधान होइन। स्थानीय किसानहरूको अनुभव र वैज्ञानिकको ज्ञानलाई मिसाएर ‘राष्ट्रिय कार्ययोजना’ बनाउनु आजको आवश्यकता हो।
३. नीतिगत तथा कानुनी संरचनाको जटिलता : नेपालमा वन्यजन्तु संरक्षणका लागि कडा कानुन छन्, तर ती व्यावहारिक समस्यासँग बाझिने गरेका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ : यस ऐनले आसामी पहरे बाँदरलाई संरक्षित सूचीमा राखेको छ। सन् १९७० को दशकदेखि वन्यजन्तु ओसारपसारमा विश्वव्यापी नियन्त्रण सुरु भएपछि नेपालले पनि कडाइ ग¥यो। २०४७ सालतिर निर्यातका लागि ठिक्क पारिएका दुई सयभन्दा बढी बाँदरलाई सर्वोच्च अदालतले रोकेपछि काठमाडौंका विभिन्न वनमा छाडियो। कानुनी निर्णय गर्दा त्यसको वातावरणीय प्रभावको पनि पूर्वमूल्यांकन हुन जरुरी छ।
वर्तमान विवाद र अन्तर्राष्ट्रिय महासन्धि : सरकारले हालै रातो बाँदरलाई ‘हानिकारक’ जीवको सूचीमा राख्ने प्रयास गरेपछि संरक्षणवादीहरू चिन्तित छन्। अर्कोतिर, ताप्लेजुङमा पहरे बाँदर मारेकै कारण एक व्यक्ति कानुनी फन्दामा परेका छन्। यस्ता विरोधाभासले किसान र कानुनबीचको दूरी बढाएको छ। साइटिस महासन्धिअनुसार बरामद गरिएका वन्यजन्तुलाई उनीहरूकै देशमा फिर्ता गर्नुपर्ने प्रावधान छ। नेपालको सदर चिडियाखानामा रहेका ‘चिम्पु र चाम्पु’ चिम्पान्जीहरू नाइजेरियाबाट तस्करी भएर ल्याइएका हुन्। नाइजेरियाले यिनलाई फिर्ता मागे पनि नेपालले कानुनी प्रमाणका रूपमा सुरक्षित राख्नुले अन्तर्राष्ट्रिय कानुन र स्थानीय प्रक्रियाबीचको टकरावलाई दर्शाउँछ।
४. जीवशास्त्रीय सम्बन्धमा मानिस र बाँदरबीचको समानता : जीवशास्त्रको नजरबाट हेर्दा मानिस र बाँदरबीचको सम्बन्ध निकै पुरानो र गहिरो छ। डार्बिनको विकासवादले मात्र होइन, आधुनिक जेनेटिक्सले पनि हाम्रो र उनीहरूको डीएनएमा रहेको उच्च समानतालाई पुष्टि गरिसकेको छ।
चिकित्सा विज्ञानमा योगदान : बाँदर र मानिसको शारीरिक संरचना मिल्दोजुल्दो भएकाले नै चिकित्सा विज्ञानका महत्वपूर्ण प्रयोगहरू सुरुमा बाँदरमा गरिन्छ। सन् १८१८ मा बाँदरमा गरिएको रगत सञ्चारको सफल प्रयोगले नै मानव चिकित्सामा क्रान्ति ल्याएको थियो। आज हामीले प्रयोग गर्ने धेरैजसो औषधि र खोपहरू बाँदरमा गरिएका सफल परीक्षणका परिणाम हुन्। पृथ्वीको समग्र स्वास्थ्यका लागि मानिस, जनावर र वातावरणलाई एउटै इकाइका रूपमा हेर्ने ‘एक स्वास्थ्य’ नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ।
५. सांस्कृतिक र ऐतिहासिक सह–अस्तित्व : नेपाली समाजमा बाँदरलाई केवल जनावरको रूपमा मात्र हेरिँदैन, यसको धार्मिक र ऐतिहासिक ओज उत्तिकै छ।
धार्मिक आस्था र विरोधाभास : हिन्दु धर्मावलम्बी बाँदरलाई भगवान् हनुमानको स्वरूप मान्छन्। यसै कारण मानिसहरू मठ–मन्दिरमा बाँदरलाई खानेकुरा दिन्छन्। तर, यही मानवीय करुणाले बाँदरको प्राकृतिक सिकारी स्वभावलाई मारेको छ। मानिसले दिने ‘जंक फुड’ खाएर बाँदरहरू रोगी र आक्रामक भएका छन्। जसको प्रजनन चक्रमा समेत अस्वाभाविक परिवर्तन आएको छ– वर्षमा एक पटक बच्चा पाउने बाँदरले दुई पटकसम्म पाउने र जुम्ल्याहा जन्माउने प्रवृत्ति बढ्नुको पछाडि यी कृत्रिम खानेकुराको ठूलो हात छ।
ऐतिहासिक प्रमाण : १९८० डिसेम्बरमा बुटवलको तिनाउ खोला किनारमा फेला परेको १ करोड ४० लाख वर्ष पुरानो ‘रामापिथेकस’को बंगाराले नेपालको यो भूमि मानव विकासको महत्वपूर्ण थलो भएको पुष्टि गर्छ। यसले के देखाउँछ भने हामी र बाँदरका पुर्खाहरू यही माटोमा करोडौं वर्षदेखि सँगै रहँदै आएका छौं।
६. मलाई बाँदरको सन्तति हुनुमा लाज छैन : विज्ञान र अन्धविश्वासबीचको लडाइँको एउटा रोचक प्रसंग यहाँ जोड्नु सान्दर्भिक हुन्छ। सन् १८६० को जुन महिनामा बेलायतमा एउटा ऐतिहासिक बहस भएको थियो। डार्बिनको ‘ओरिजिन अफ स्पेसिस’ सार्वजनिक भएको सात महिनापछि आयोजित सभामा विशप स्यामुयल विल्वरफोर्सले डार्बिनको सिद्धान्तको खिल्ली उडाए। विशपले निकै व्यंग्यात्मक शैलीमा थोमस हक्स्ले (डार्बिनका समर्थक)लाई सोधे, ‘तपाईंको बाजेतिरको पुर्खा बाँदर हो कि बज्यैतिरको ?’ हाँसोको फोहोरा छुट्यो र धेरैले विशपको समर्थनमा ताली पिटे।
तर, जब थोमस हक्स्ले मञ्चमा उभिए, उनले दिएको जवाफ आज पनि विज्ञानको इतिहासमा अमर छ। उनले भने, ‘मलाई एउटा बाँदरको सन्तति हुनुमा कुनै लाज छैन। तर, मलाई त्यस्तो मान्छेसँग नाता जोड्न चाहिँ निकै लाज लाग्छ, जसले आफ्नो बौद्धिक क्षमता र वाकपटुताको प्रयोग सत्यलाई लुकाउन र धार्मिक अन्धविश्वास फैलाउन गर्दछ।’ हक्स्लेको यो भनाइले के स्पष्ट पार्छ भने, हामीले बाँदरलाई घृणा गर्ने होइन, बरु विज्ञान र प्रकृतिको नियम बुझेर उनीहरूसँगको सम्बन्धलाई पुनर्परिभाषित गर्नुपर्छ।
मानव र बाँदर सम्बन्ध प्राकृतिक सन्तुलनको पर्याय
मानव र बाँदरबीचको वर्तमान द्वन्द्व केवल एउटा सामाजिक समस्यामात्र नभई यो हाम्रो बिग्रिँदो प्राकृतिक सन्तुलनको एउटा कठोर चित्रण हो। डार्बिनको विकासवादी सिद्धान्तदेखि तिनाउ किनारमा भेटिएको रामापिथेकसको अवशेषसम्मले हामी र बाँदरबीचको गहिरो जैविक र ऐतिहासिक साइनोलाई पुष्टि गर्दछ। तर, पछिल्ला दशकहरूमा तीव्र सहरीकरण, ग्रामीण क्षेत्रबाट बसाइँसराइ र प्राकृतिक वनको दोहनले यो मधुर सम्बन्धलाई तिक्ततामा बदलेको छ। जंगलमा रैथाने फलफूलका रुखहरू काटिनु र सिकारी जनावरको संख्या घट्नुले बाँदरलाई बाँच्न बस्तीतर्फ धकेलेको छ।
हामीले उनीहरूको प्राकृतिक बानीलाई ‘जंक फुड’ र धार्मिक आस्थाका नाममा दिइने अनुपयुक्त आहाराले बिगा¥यौं, जसको परिणामस्वरूप उनीहरूको प्रजनन दर र स्वभाव दुवै अस्वाभाविक र आक्रामक बनेको छ। नियन्त्रणका नाममा गरिने अवैज्ञानिक प्रयासहरू जस्तै अनावश्यक स्थानान्तरण वा घातक रसायनको प्रयोग—दिगो समाधान होइनन्। समाधानका लागि अब ‘एक स्वास्थ्य’को अवधारणा अनुरूप अघि बढ्नुपर्छ।
बाँदरहरू प्रकृतिका ‘माली’ हुन्; उनीहरूले परागसेचन र बिउ विस्तार गरेर वनलाई पुनर्जीवित राख्छन्। उनीहरूलाई शत्रु मानेर होइन, बरु पारिस्थितिकीय प्रणालीको एउटा अभिन्न अंग मानेर सह–अस्तित्वको नयाँ ढाँचा तयार पार्नुपर्छ। विकास र संरक्षणको सन्तुलन मिलाउँदै, पुर्खाहरूको यो विरासत जोगाउनु र मानव–वन्यजन्तुबीचको दूरी घटाउनु नै पृथ्वीको सुन्दर भविष्यका लागि अनिवार्य सर्त हो। विवेकशील प्राणी हुनुको नाताले यो द्वन्द्व मेटाउने प्रमुख जिम्मेवारी पनि मानिसकै काँधमा छ।
प्रतिक्रिया दिनुहोस !