आमाको महिमा

आमाको महिमा
सांकेतिक तस्विर

मानिस भन्ने गर्छन्, ‘बाबुको निधन भए पनि आमा रहुञ्जेल मानिस टुहुरो हुँदैन, तर आमाको निधन भयो भने खास अर्थमा मानिस टुहुरो हुन पुग्छ।’ यस अभिव्यक्तिले आमाको महिमामा अझ उचाइ थपेको छ।

‘आमा’ शब्द वर्णमालाको सर्वोत्कृष्ट शब्द लाग्दछ; सबैभन्दा प्रिय र भरिलो शब्द लाग्छ। जीवनको सूत्रपात गराउने जननी हुन्, आमा। सन्तानलाई आश्रय दिने पहिलो आवास; श्वासप्रश्वास गराई जीवन सञ्चालन गराउने जीवनदायिनी; बोल्न सिकाउने प्रथम गुरु; भोजन गराउने पहिलो भोजनदातृ; धर्ती टेकाउने श्रेयकी धनी; जीवनबारे सिकाउने पहिलो शिक्षिका; जीवनका कठिनाइहरू समाधान गर्न सल्लाह दिने सर्वोच्च स्थानकी सल्लाहदातृ तथा मार्गदर्शिका। माया, ममता र वात्सल्यताकी अजस्र स्रोत; श्रद्धा र आस्थाकी पुञ्ज; स्नेह र ममताकी खानी; पारिवारिक समन्वय र सु–सम्बन्धकी केन्द्र; सन्तानहरूकी वटवृक्ष; शक्ति र ऊर्जाकी स्रोत हुन्– आमा।

शक्तिकी देवीले आमाको रूप धारण गर्छिन्। संस्कृतमा श्लोक छ– ‘या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता।’ हुन पनि हो, आमामा त्यो शक्ति र ऊर्जा छ, जसले आफ्नो गर्भाशयमा धारण गरेर शिशुलाई जन्म दिने विद्या कसैले सिकाउनु–पढाउनु पर्दैन। विज्ञान प्रविधिका ज्ञाताले पनि अहिलेसम्म आमाको कोखबिना बच्चा जन्माउने प्रविधि बनाउन सकेका छैनन्। 

हरेक मानिसको शरीरमा आमाको वंशीय गुण हुन्छ। यसो सम्झँदा आमाबाट नपाएको आफ्नै मौलिक भन्ने केही हुँदैन सायद। आमाबाट पाएको वंशीय गुण र आमाले सिकाएका कुराबाट निर्मित रूप हुन् हाम्रा व्यक्तित्व र हाम्रा गतिविधि। उता धर्ती आमाको पनि त्यस्तै विलक्षण क्षमता छ। चराचर जगत्का आफ्ना सन्तानलाई उनीहरूका निमित्त चाहिने भिन्न–भिन्न गुण, गन्ध र स्वादहरू प्रदान गर्ने क्षमता धर्ती आमाले राख्छिन्। आमा र धर्तीमा हुने यी समान गुणहरूले गर्दा धर्ती र आमा एकअर्काको पर्याय बन्दै आएका छन्।

आमा दया, करुणा र स्नेहकी खानी हुन्। निःस्वार्थ माया दिने, आफूलाई मेटाएर पनि आफ्ना सन्तानको उपकारमा जुट्ने स्वभाव आमाको हुन्छ। जीवन जिउने आधारभूत कुराहरू सिक्ने भनेको आमाबाट नै हो। निःस्वार्थ भावले भरिएकी हुन्छिन् आमा। आमा जहाँकी भए पनि, जसकी भए पनि उनी श्रद्धाकी पात्र हुन्छिन्। दुःखहरू उनैसँग बिसाइन्छ, सुख उनैसँग साटिन्छ। सन्तानहरू आमाका गुणहरूसहित हुर्किएका हुन्छन्। 

आमाको सान्निध्यमा अनुपम शीतलता हुन्छ। आमाका गरिमा र आदर्शहरू अनन्त छन्। सानो विचार र भावले आमाको गहिराइ सायद नाप्नै सकिँदैन। अझ भनौं, आमाको आदर्श र गरिमाको बयान गर्ने क्षमता यो संसारमा सायद कसैसँग छैन। मैले आमालाई यत्तिकै भूमिकामा सीमित गर्न खोजेको होइन; अन्य यस्ता अनगिन्ती उपमा आमालाई दिन सकिन्छ। आमाप्रतिको अगाध आस्था र मर्यादाले नै साहित्यका रचनाहरूमा आमालाई कतै न कतै समेटेको पाइन्छ। आमा हरेक सन्तानका हृदयका पानाहरूमा सम्मानित भएर अटाएकी हुन्छिन्।

मानिस भन्ने गर्छन्, ‘बाबुको निधन भए पनि आमा रहुञ्जेल मानिस टुहुरो हुँदैन, तर आमाको निधन भयो भने खास अर्थमा मानिस टुहुरो हुन पुग्छ।’ यस अभिव्यक्तिले आमाको महिमामा अझ उचाइ थपेको छ। आमाको भूमिका र चेतना मनुष्यमा मात्र होइन, पशुपन्छीका आमामा पनि त्यत्तिकै गहिरो रूपमा प्रकट भएको देखिन्छ। 

कुनै अध्ययन, तालिम वा साधनाबेगर नै सन्तानको शारीरिक अवस्थाबारे थाहा पाउने, बुझ्ने अनुपम क्षमता हुन्छ आमामा। आमा निरक्षर नै भए पनि, कुनै शास्त्र नपढेकै भए पनि आफ्ना सन्ततिको भोक, प्यास र सञ्चो–बिसञ्चो थाहा पाउने शक्ति आमासँग हुन्छ। यो अद्भुत क्षमता प्रकृतिले केवल आमालाई मात्र दिएको छ। चिकित्सा विज्ञानका विज्ञ सन्तान बिरामी पर्दा पनि उनको प्राथमिक उपचार गर्ने आमा नै हुन्छिन्। तसर्थ उनी चिकित्सककी पनि चिकित्सक हुन् र उपचारिका पनि।

सन्तानको मनोविज्ञान बुझेर भोक वा बिसञ्चो थाहा पाउने क्षमता हुन्छ। धर्तीले आफूमा विविध चरित्र र विशेषता भएका प्राणी र वनस्पतिहरूलाई बचाएर राखे झैं आमासँग फरक–फरक क्षमता र चरित्र भएका सन्तानलाई मिलाएर राख्ने क्षमता हुन्छ। 

औपचारिक शिक्षा दिने शिक्षण संस्थाबाट नपाइने शिक्षा आमाबाट घरमै पाइन्छ। घर–परिवारमा सकारात्मक तरंग प्रवाह गराउने मूलस्रोत आमा नै हुन्। विश्वविद्यालयमा शिक्षा हासिल गर्न जुन शारीरिक, आर्थिक र मानसिक लगानी गर्नुपर्दछ, त्यस्तो केही लगानी नगरी ज्यादै सहज रूपमा आमाबाट उच्च गुणस्तरको शिक्षा आर्जन गर्न सकिन्छ। आमाबाट हासिल गरिने शिक्षा सरल र बोधगम्य हुन्छ। प्रत्येक व्यक्तिको व्यक्तित्व निर्माणमा आधारभूत भूमिका आमाकै हुन्छ। त्यसैले व्यक्तिको व्यक्तित्वको उचाइको प्रमुख हिस्सा नै आमा हुन्।

जीवनमा आइपर्ने जस्तोसुकै कठिनाइलाई झेलेर छोराछोरीलाई हुर्काउने काम आमाले गरेकी हुन्छिन्। आफूले जे–जति कठिनाइको सामना गर्नुप¥यो, त्यो कठिनाइ छोराछोरीले भोग्नु नपरोस् भन्ने चाहना राखेर त्याग गर्ने धेरै कथा–उपकथा आमासँग गाँसिएका हुन्छन्। छोराछोरीलाई जन्माएर हुर्काउँदा–पढाउँदा आमाले झेलेका कथा सबै लेख्ने हो भने महाकाव्य नै तयार हुन्छ।

 वास्तवमा आमाको स्मरणशक्ति तन्दुरुस्त रहेको बेलामा सन्तानले ती सबै कुरा अभिलेखीकरण गर्ने हो भने आमाको इतिहासमात्र होइन, तत्कालीन समाजको सजीव चित्र पनि आउँछ। यसो गर्दा समाजको ऐतिहासिक चित्रणका साथै हरेक आमाको सम्मान पनि हुन्थ्यो जस्तो लाग्छ। तर यस्तो बुद्धि धेरै सन्तानलाई समयमा आउँदैन; आइहाले पनि निकै ढिलो हुन्छ। त्यसभित्र म आफैं छु। आमाको भूमिका र गरिमालाई सम्भवतः शब्दहरूभित्र बाँध्न सकिँदैन; किनभने शब्दले सबै भावना र मर्म समेट्न सक्दैनन्। आमाको गहिराइ र उचाइ अथाह छ। अस्तु !


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.