स्रोत नखुलेको लाखौं रकमसहित दुई जना पक्राउ
रौतहट : सशस्त्र प्रहरी बल रौतहटले स्रोत नखुलेको पाँच लाखभन्दा बढी रकम सहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ। बोर्डर आउट पोस्ट बेलबिछवाबाट खटिएको टोलीले राजदेवी नगरपालिका-८ बाट ५ लाख २२ हजार नगद सहित एक भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०६ ए ६२९२ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटर साइकलमा सवार भारत सितामढीका नजिर नटको साथबाट नेपाली रुपैयाँ ३ लाख २२ हजार र जिल्ला सर्लाही मुम्ताज अंसारीको साथबाट नेपाली रुपैयाँ २ लाख ४ सय नब्बे बरामद भएको प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका डीएसपी प्रेम सागर बिष्टले बताए।
पक्राउ परेका दुवै जनाले रकमको स्रोत खुलाउन नसकेपछि मोटर साइकल र नगदसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको बिष्टले बताए।
प्रतिक्रिया दिनुहोस !