सभ्यताको सान,विश्वमा नेपालको पहिचान

पुरातत्त्व

सभ्यताको सान,विश्वमा नेपालको पहिचान

पर्यटकमार्फत देशलाई विश्वभर चिनाउन र देशको गौरव बढाउन देशको संस्कृति र सम्पदा नै प्रमुख माध्यम बन्ने हुँदा यसको संरक्षण र संवद्र्घनलाई  प्रमुख प्राथमिकतामा राख्नुपर्छ।

सम्पदा भन्नाले प्रकृति स्वयंले निर्माण गरेको अथवा मानवनिर्मित कुनै पनि कलात्मक भौतिक संरचना, कला, ऐतिहासिक, सांस्कृतिक र वातावरणीय महत्त्व राख्ने कुनै पनि वस्तु वा स्रोत भन्ने बुझिन्छ। प्रज्ञा बृहत् नेपाली शब्दकोशमा सम्पदालाई (१) प्राकृतिक सम्पत्ति वा साधन; प्राकृतिक देन (२) सम्पत्ति; वैभव; धन भनेर परिभाषित गरिएको छ।

मानव समाजको संरचनाअनुसार यस्ता सम्पदाहरूको स्वरूप र संरचना पनि फरकफरक हुन्छन्, जसलाई मानवको धर्म र संस्कृतिले निर्देशित गरेको हुन्छ। ऐतिहासिक महत्त्व बोकेका यस्ता सम्पदाले जाति, समुदाय र राष्ट्रको पहिचान कायम राखेको हुन्छ। सम्पदाले मान्छेलाई, पुर्खालाई चिन्न र संस्कृतिबाट संस्कारी हुन सिकाउँछ। सम्पदा भनेका ऐतिहासिक महत्त्व बोकेका अमूल्य निधि पनि हुन्। अत :  राष्ट्रिय सम्पदा राष्ट्रिय गौरव र राष्ट्रिय वैभव पनि हो। सम्पदा जीवन्त रहन सके राष्ट्रिय पहिचान र राष्ट्रिय गौरव पनि जीवन्त रहन्छ। 

प्राकृतिक सम्पदाको रूपमा वनजंगल, नदीनाला, खानी, हिमाल, पहाड, झरना, गुफा, तालतलैया आदिलाई लिइन्छ भने मानव निर्मित सम्पदाको रूपमा प्राचीन कलात्मक मन्दिर, गुम्बा, चैत्य, बिहार, शिवालय, देवालय, दरबार, पाटी, सत्तल, पोखरी, ढुंगेधारा आदिलाई लिइन्छ। यी भौतिक संरचनालाई मूर्त कलाको रूपमा लिइन्छ भने मान्छेले आआफ्नो धर्म र संस्कृतिअनुसार अपनाउँदै आएका भेषभूषादेखि प्रचलनमा रहेका चाडपर्व, जात्रा, नृत्य, बाजागाजा, गीत, भजनलगायत जन्म र मृत्युका संस्कार, सामाजिक मूल्य तथा मान्यता अनि मानिसको परम्परागत ज्ञान र सीपलाई पनि अमूर्त सम्पदाको रूपमा लिइन्छ। प्राकृतिक सम्पदाले जैविक र अजैविक महत्त्व बोकेका हुन्छन््। प्राकृतिक सम्पदा एकपटक नासिइसकेपछि पुन :  दुरुस्तै सिर्जना गर्न सकिन्न। मानव निर्मित सम्पदा भने पुस्तान्तरण हुन सक्छ र त्यस्तो सम्पदाले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको हुन्छ।

नेपालका विविध जातीय संस्कृति र सम्पदाको वैभव  :  नेपालमा विविध जातजाति छन्। विविध भाषाभाषी छन्। राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा १४२ जातजाति छन् भने १२४ भाषाभाषी छन्। तिनका आफ्नै फरक संस्कृति छन्। फरक जातजाति र फरक संस्कृतिले गर्दा मानवनिर्मित सम्पदा पनि फरक किसिमले निर्माण भएका छन्।

सम्पदा र संस्कृति फरक भए पनि तिनलाई हेर्ने दृष्टिकोण भने फरक छैन। सबै सम्पदा र सबै संस्कृतिलाई सबैले उत्तिकै इज्जत गर्छन्। उत्तिकै कदर गर्छन्। उत्तिकै महत्त्व दिन्छन् र उत्तिकै सम्मान गर्छन्। त्यसैले यहाँ पाइला–पाइलामा मन्दिर, देवालय र शिवालयहरू छन्। पाइला–पाइलामा चैत्य, गुम्बा र बिहारहरू छन्। अनि प्रकृति स्वयंले निर्माण गरेका उतुङ्ग हिमालहरू छन्, अग्ला पहाडहरू छन्। विशाल तालतलैया र नदीनालाहरू छन्। हजारौं पोखरी र ढुंगेधाराहरू पनि छन्। ती सबै हाम्रा अमल्य सम्पदा हुन्, जसले हाम्रो जातीय र राष्ट्रिय पहिचान बोकेका छन्। हाम्रो गौरव र वैभवको प्रतीकका रूपमा जीवन्त छन्।

विश्व समुदायमा नेपालको सम्पदा पहिचान र युनेस्को  :  संसारले नेपाललाई सम्पदामा धनी देश भनेर चिन्छ र प्रशंसा गर्छ। यहाँ अमूल्य प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाहरू प्रशस्तै छन्। भौगोलिक विविधतालाई चित्रित गर्ने, धार्मिक सहिष्णुतालाई प्रदर्शित गर्ने र सांस्कृतिक वैभवलाई प्रतिबिम्बित गर्ने अनेकथरी सम्पदा छन्। ती सम्पदाहरूका कारण संसारमा नेपालको विशिष्ट पहिचान रहिआएको छ।

सयौं र हजारौं वर्षको गौरवमय इतिहास बोकेका त्यस्ता मूर्त र अमूर्त सम्पदाहरू नेपालको वैभव र गौरवको रूपमा जीवन्त छन्। संसारले नेपाललाई प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदामा धनी र अत्यन्तै सन्दर र गौरवशाली देशको रूपमा चिन्ने गरेका छन्। नेपालका सबै किसिमका सम्पदाहरू नेपालको राष्ट्रिय पहिचानको रूपमा स्थापित भएको छ। तिनै अमूल्य सम्पदाहरूका कारण नेपाल र नेपाली जनताले संसारसामु गौरवमय 
पहिचान बोकेर बाँच्ने अवसर पाएका छन्।

सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई कुनै मुलुक विशेषको मात्र नभई समग्र मानव जगत्कै अमूल्य एवं अप्रतिस्थापनीय सम्पत्ति भनिएको छ। विश्व सम्पदाको यथासम्भव उचित पहिचान, सुरक्षा, संरक्षण तथा प्रस्तुतिलाई सुनिश्चित गर्नका लागि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) का सदस्य राष्ट्रहरूले सन् १९७२ मा विश्व सम्पदा महासन्धि पारित गरेका थिए। युनेस्कोको सन् २००३ को २९ सेप्टेम्बरदेखि १७ अक्टोबरसम्म पेरिसमा सम्पन्न ३२औं साधारणसभाले अमूर्त सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धिलाई पारित गरेको थियो। यो महासन्धि सन् २००६ मा लागू गरिएको थियो। यस महासन्धिमा नेपालले सन् २०१० जुन १५ मा हस्ताक्षर गरेको थियो। 

सम्पदा मेटिँदै गयो अथवा हराउँदै गयो भने हाम्रो मौलिक पहिचान पनि मेटिन्छ। पहिचानविहीन भएर बाँच्नुको कुनै अर्थ हुन्न। 

युनेस्कोले विश्वव्यापी महत्त्वका आधारमा प्राकृतिक, सांस्कृतिक र मिश्रित सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरेको छ। नेपालको सन्दर्भमा भन्नुपर्दा युनेस्कोले पहिलो पटक सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो। त्यसपछि सन् १९७९ अरू नौ वटा महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो। हालसम्म विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० वटा प्राकृतिक र सांस्कृतिक सम्पदाहरूमा काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ, चाँगुनारायण मन्दिर, लुम्बिनी क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन्। यसबाहेक नेपालका १५ वटा सम्पदा क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष आग्रह पनि गरिएको छ। 

विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा

  • सांस्कृतिक विश्व सम्पदा : 
  • काठमाडौं दरबार क्षेत्र (सन् १९७९)
  • पाटन दरबार क्षेत्र (सन् १९७९)
  • भक्तपुर दरबार क्षेत्र (सन् १९७९)
  • पशुपतिनाथ मन्दिर (सन् १९७९)
  • स्वयम्भूनाथ (सन् १९७९)
  • बौद्धनाथ (सन् १९७९)
  • चाँगुनारायण मन्दिर (सन् १९७९)
  • लुम्बिनी क्षेत्र (सन् १९९७)
  • प्राकृतिक विश्व सम्पदा : 
  • चितवन राष्ट्रिय निकुञ्ज (सन् १९८४)
  • सगरमाथा राष्ट्रिय निकुन्ज (सन् १९७९)
  • विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष आग्रह गरिएका सम्पदा
  • पनौतीको मध्यकालीन वास्तुकला क्षेत्र
  • प्राचीन शाक्य अधिराज्यका पुरातात्विक अवशेष रहेको तिरौलाकोट
  • मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला
  • गोरखास्थित मध्यकालीन दरबार क्षेत्र
  • रामग्राम, भगवान् बुद्धको अवशेष स्तूप
  • लो मान्थाङ, मध्यकालीन माटोको पर्खालले घेरिएको सहर
  • बज्रयोगिनी र साँखुका प्रारम्भिक बस्ती
  • कीर्तिपुरको मध्यकालीन बस्ती
  • रुरु क्षेत्रको ऋषिकेश परिसर
  • नुवाकोट दरबार क्षेत्र
  • रामजानकी मन्दिर
  • तानसेनको मध्यकालीन नगर
  • सिंजा उपत्यका
  • खोकना
  • दैलेखको भुर्ती मन्दिर क्षेत्र

स्रोत :  पुरातत्त्व विभाग

सम्पदामाथि देखिएका चुनौती र विनाशका कारण  :  विश्व सम्पदा सूचीमा सूचीकृत नभएका अन्य सम्पदा क्षेत्रहरू पनि प्राकृतिक र सांस्कृतिक दृष्टिले उत्तिकै महत्त्वका छन्, जसले नेपालको ऐतिहासिक पहिचान बोकिरहेका छन् र नेपालको गौरव र वैभवको रूपमा रहेका छन्। तिनले प्राकृतिक, ऐतिहासिक र सांस्कतिक महत्त्वका साथै आर्थिक महत्त्व पनि बोकेका छन्। आर्थिक महत्त्व भएकै कारण कतिपय सम्पदा मानव अतिक्रमणको चपेटामा परेका छन्। विभिन्न स्वार्थसमूहको मिलेमतोमा धेरै वटा सम्पदामाथि अतिक्रमण भएका छन् र सम्पदा लोप हुने संघारमा पुगेका अथवा संकटमा परेका छन्। तिनको संरक्षण नभए कुनै अमूल्य सम्पदामात्रै लोप हुने होइन, ऐतिहासिक कालखण्डको अस्तित्व पनि मेटिने सम्भावना रहेको छ।
विभिन्न कालखण्डको प्रतिनिधित्व गर्ने त्यस्ता मूर्त र अमूर्त सम्पदाहरू संरक्षणको अभावमा क्रमश :  लोप हुने क्रम पनि जारी छ। विशेषगरी किराँतकालीन, लिच्छविकालीन, मल्लकालीन र शाहकालीन सम्पदाहरूले नेपालको इतिहासमा विशिष्ट स्थान राख्छन्। तत्कालीन सभ्यता, कला र संस्कृतिको जीवन्त इतिहास बोकेका सम्पदाहरूले तत्तत् समयको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक पक्षहरूको अध्ययनमा पनि सघाउ पुर्‍याउँछन्। विशेषगरी मान्छेको तत्कालीन जीवनशैली बुझ्न सम्पदा एक सहज माध्यम बन्न सक्छन्।

२०७२ सालको विनाशकारी भूकम्पले नेपालका धेरै ऐतिहासिक र पुरातात्विक धरोहरहरू ढलेका छन्। कतिपय सम्पदाहरू भत्किएका र पुरिएका छन्। तीमध्ये केही पुन :  उठाइएका छन् भने अझै धेरै भत्किएका सम्पदाहरूको पुनर्निर्माण अथवा जीर्णोद्धार गर्न बाँकी नै छन्। हाम्रो सांस्कृतिक र राष्ट्रिय गौरवमा आँच आउन नदिनका लागि ती ढलेका धरोहर उठाउने र भत्किएका सम्पदाहरूको छिटो पुनर्निर्माण अथवा जीर्णोद्धारको कामलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नु आवश्यक छ।

समयको लामो कालखण्डमा वातावरणीय कारणले प्राकृतिक सम्पदाहरूमाथि नकारात्मक असर पर्दा त्यस्ता सम्पदाहरू क्रमश :  मेटिँदै जाने क्रम जारी छ। यसैगरी मानवीय कारणले कतिपय मूर्त र अमूर्त सम्पदाहरू लोप भएका र लोपको संघारमा पुगेका छन्। पछिल्लो समय बसाइँसराइ, तीव्र सहरीकरण, औद्योगिकीकरण आदि कारणले अमूल्य प्राचीन सम्पदाहरू संकटमा पर्न थालेका छन्। विकासका नाउँमा पनि सम्पदा संकटमा परेका छन् वा मासिएका छन्। विशेषगरी सहरी क्षेत्रमा सडक विस्तारका क्रममा धेरै प्राचीन सम्पदा मासिएका छन् अथवा संकटमा परेका छन्।

मानिसको बेवास्ताको कारण पनि सम्पदा संकटमा परेका छन् अथवा लोपको संघारमा पुगेका छन्। सम्पदाको अस्तित्वलाई जीवन्त राख्न संरक्षणका प्रयासहरूको आवश्यकता पर्दछ। संरक्षणको प्रयास भएन भने सम्पदाहरू क्रमश :  मेटिँदै र हराउँदै जान्छन्। संरक्षणकै अभावमा नेपालका धेरै सम्पदाहरू संकटमा परेका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू पनि संकटमा परेका छन्। यस्ता सम्पदालाई युनेस्कोले खतराको सूचीमा राख्ने गरेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदामात्रै होइन, अन्य सबै सम्पदाको संरक्षण गर्नुपर्छ। सम्पदा मेटिँदै गयो अथवा हराउँदै गयो भने हाम्रो मौलिक पहिचान पनि मेटिँदै जान्छ। पहिचानविहीन भएर बाँच्नुको कुनै अर्थ हुन्न। 

पछिल्लो समय संसारभर नै जातीय र राष्ट्रिय पहिचानको विषयले विशेष महत्त्व पाएको छ। नेपालमा पनि यो विषयले अलि बढी नै महत्त्व पाएको छ। जातीय पहिचानको विषय राष्ट्रिय पहिचानसँग पनि जोडिएको छ। पहिचानको विषयले महत्त्व पाउन थालेपछि विभिन्न जातजाति तथा समुदायका मान्छेहरूमा सम्पदा संरक्षणको जागरण पनि बढेको छ। आआफ्नो जातीय पहिचान झल्काउने सम्पदा र संस्कृतिको संरक्षण र त्यस्ता सम्पदा र संस्कृति उजागर गर्ने प्रयासमा पनि विशेष जोड दिन थालिएको छ। पहिचानको लडाइँमा सम्पदा जोडिँदा यसको संरक्षण र संवद्र्धनमा टेवा पनि पुगेको छ। 

सम्पदा संरक्षण, पहिचान र राज्य–समुदायको भूमिका  : 

सम्पदा संरक्षणमा व्यक्ति, समाज र राज्यको पनि सहभागिता रहँदै आएको छ। वर्तमान राज्यको संरचनाअनुसार संघ, प्रदेश र स्थानीयस्तरमै सम्पदा संरक्षणको प्रयास भइरहेको पाइन्छ र यस्तो प्रयास विभिन्न व्यक्ति र संघ संगठनहरूको संलग्ता रहने गरेको छ। विभिन्न व्यक्तिहरूको अगुवाइमा स्थानीय, प्रदेश र केन्द्रस्तरमा सम्पदा संरक्षणका प्रयास भइरहेका छन्। प्रदेश र स्थानीय तहमा पनि सम्पदा संरक्षणसम्बन्धी ऐन नै बनाएर ऐतिहासिक र पुरातात्विक महत्त्वका सम्पदाहरूको संरक्षणको पहल गरिएको पाइन्छ। विभिन्न जातजाति तथा समुदायबाट आआफ्नो पहिचान बोकेका सम्पदा संरक्षणको लागि कदम चाल्ने क्रम जारी रहँदा सम्पदा संरक्षणले पनि गति लिएको छ।

विभिन्न जातजाति तथा समुदायबाट आफ्नो भाषा, संस्कृति र सम्पदाप्रति चासो र चिन्ता राख्ने व्यक्तिहरू सम्पदा संरक्षणका लागि जागरुक हुँदा संरक्षणका विविध योजना/परियोजना तर्जुमा भई कार्यान्वयन भइरहेका छन्। व्यक्तिगत, सामूहिक, समुदायस्तरमा र राज्यस्तरमा पनि सम्पदा संरक्षणको पहल हुन थालेको छ। राज्यले नीतिगतरूपमै सम्पदा संरक्षणको पहल गरेको पनि पाइन्छ। विशेषगरी विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको सरक्षणका लागि ‘प्राचीन स्मारक संरक्षण ऐन २०१३’ तर्जुमा गरिएको छ र सोही ऐनअनुसार संरक्षित स्मारक क्षेत्र घोषणा गरी त्यस्ता सम्पदाहरूको संरक्षणको कार्य हुँदैछ।

हरेक मुलुकमा आआफ्नै सभ्यता, संस्कृति र सम्पदा हुन्छ। त्यही सभ्यता, संस्कृति र सम्पदाले नै कुनै पनि देशको गौरव बढाएको हुन्छ र त्यो देशलाई वैभवशाली बनाएको हुन्छ। सभ्यता, संस्कृति र सम्पदा ऐतिहासिक धरोहर पनि हुन्। ऐतिहासिक धरोहरको रूपमा रहेका तिनै सम्पदा नै आर्थिक समृद्धिको आधारशिला पनि बन्न सक्छ। पर्यटन उद्योगको मुख्य आधार पनि राष्ट्रिय गौरव र राष्ट्रिय वैभवको रूपमा रहेका तिनै ऐतिहासिक सम्पदा नै हुन्। 

सम्पदा संरक्षणमा साझा दायित्व र भविष्यको आवश्यकता  : 
सम्पदा सबैको साझा सम्पत्ति हो, साझा वैभव हो। त्यसकारण यसको संरक्षण र संवद्र्धन गर्नु पनि सबैको साझा दायित्व हो, सामाजिक दायित्व हो। सम्पदालाई पुर्खाको नासो सम्झेर त्यसलाई माया गर्ने र त्यसको संरक्षणमा लाग्ने हो भने हामी आफ्नो मौलिक पहिचानलाई जोगाउन पनि सफल हुनेछौं। सम्पदा संरक्षणको विषयलाई विद्यार्थीदेखि वयस्कसम्म पुर्‍याउन र सम्पदा संरक्षणमा विद्यार्थीदेखि वयस्कसम्म जागरुक बनाउन यो विषयलाई विद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने आवश्यकता पनि देखिएको छ। सम्पदाका बारेमा जानकार भए त्यसको संरक्षणमा जागरण पनि उत्पन्न हुने हुँदा सर्वप्रथम सम्पदाका बारेमा बालबालिकालाई सानैदेखि जानकार गराउनु आवश्यक छ। 

सम्पदा संरक्षण तथा पुनर्निर्माणका लागि विदेशी दाताको मुख ताक्ने प्रवृत्ति पनि छ। यसले हाम्रो गरिब मानसिकताको प्रदर्शन गरिरहेको छ। हाम्रा सम्पदाहरूको संरक्षण वा पुनर्निर्माणका लागि हामी आफैं अग्रसर हुनुपर्छ। सम्पदा संरक्षणका लागि हामी आफैं सक्षम छौं भनेर विश्वलाई देखाउन पनि सक्नुपर्छ। विदेशीको दान र अनुदानमा संरक्षण हुने वा पुनर्निर्माण हुने सम्पदाले हाम्रो स्वाभिमानलाई उँचो बनाइराख्न सक्दैन। त्यस्तो सम्पदाप्रति हामीले गर्व गर्न अथवा त्यस्तो सम्पदालाई हाम्रो गौरव र हाम्रो वैभव हो भन्न पनि हामीले धकाउनुपर्ने हुन्छ। हाम्रो सम्पदाको संरक्षण र संवद्र्धन हामी आफैं सक्षम हुनुपर्छ। त्यो क्षमताको विकास गर्न सामूहिक जागरणको आवश्यकता पर्दछ। null

हाम्रो अमूल्य सम्पदा हाम्रो पर्यटनसँग पनि प्रत्यक्ष जोडिएको छ। अत :  पर्यटन क्षेत्रको विकासका लागि सम्पदा क्षेत्रको संरक्षण र संवद्र्धन अपरिहार्य हुन्छ। हाम्रो सभ्यता, हाम्रो संस्कृति र हाम्रो सम्पदाको अवलोकन गरी रमाउन र आनन्द प्राप्त गर्नुका साथै हाम्रो सभ्यता, संस्कृति र सम्पदाबाट केही सिक्नका लागि विश्वभरका पर्यटक आउने हुँदा तिनको संरक्षण र संवद्र्धन राष्ट्रिय आवश्यकता नै बनेको छ। पर्यटनलाई देशको अर्थतन्त्रको भरपर्दो आधारशिला मानिएको वर्तमान अवस्थामा पर्यटनबाट उल्लेख्य आर्थिक लाभ हासिल गर्नका लागि गुणस्तरीय पर्यटक आगमनमा वृद्धि गर्नुपर्छ। उनीहरूको बसाइ अवधि लम्ब्याउन र बढीभन्दा बढी खर्च गर्ने वातावरण सिर्जना गर्न देशभरका सम्पदा र स्मारक क्षेत्रमा पर्यटकलाई पुर्‍याउने व्यवस्था गर्न निजी तथा सरकारी दुवै तहबाट पहल हुनु आवश्यक छ।

पर्यटकमार्फत देशलाई विश्वभर चिनाउन र देशको गौरव बढाउन देशको संस्कृति र सम्पदा नै प्रमुख माध्यम बन्ने हुँदा यसको संरक्षण र संवद्र्धनलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ। सम्पदा संरक्षणमा समुदाय–राज्यको साझेदारी भए सम्पदा संरक्षणको कार्य अझ प्रभावकारी र परिणामुखी हुने अपेक्षा गर्न सकिन्छ। सम्पदा सबैको साझा सम्पत्ति हो भने यसको संरक्षण गर्नु पनि साझा दायित्व नै हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.