उकालो लाग्नै सकेन सेयर बजार

उकालो लाग्नै सकेन सेयर बजार
सुन्नुहोस्

काठमाडौं : नयाँ वर्षसँगै  सेयर बजार अति सामान्य अंकले बढेको छ । यस साताको मंगलबार नयाँ वर्षको बिदा परेकाले ४ दिन मात्रै सेयर कारोबार भयो। सातामा १ दिन उच्च अंकले नेपाल स्टक एक्स्चेन्ज(नेप्से) बढ्यो भने १ दिन सोहीबराबर नै घट्यो। 

अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २८३७.७८ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा झर्‍यो। अर्को दिन बुधबार भने नेप्से ३३.२७ अंकले बढ्यो तर बिहीबार ३३.८३ अंकले नै घट्यो। साताको सेयर कारोबारको अन्तिम दिन शुक्रबार सामान्य अंकले बढेर बजार बन्द भयो। यस दिन ५.३६ अंकले बढेर नेप्से २८३८.४० विन्दुमा पुग्यो।

सातामा दुई दिन सेयर बढ्दा ३८.६३ अंकले बढ्यो भने फेरि दुई दिनमा ३८.०१ अंकले घटेपछि०.६२ अंक मात्रै बढोत्तरी भयो। यस सातामा बुधबार उच्च विन्दु २८७९.२१ र शुक्रबार न्यून विन्दु २८०८.०२ अंकसम्म घटेर कारोबार भयो।  यस साता बुधबार सबैभन्दा बढी ३ सय ४४ वटा र शुक्रबार सबैभन्दा घटी ३ सय ३५ स्क्रिप्टको कारोबार भएर सेयर बजार बन्द भयो। 

यो साता सबैभन्दा कम शुक्रबार ७ अर्ब ४६ करोड ६ लाख र सबैभन्दा बढी बुधबार १० अर्ब ५३ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भयो। सातामा ४ दिन कारोबार हुँदा जम्मा ३५ अर्ब ९७ करोड ५९ लाखको कारोबार हुँदा औसतमा दैनिक ८ अर्ब ९९ करोड ३९ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो। अघिल्लो साता औसत ९ अर्ब ५४ करोड ६३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसले सातामा औसत सेयर कारोबार लगभग ६ प्रतिशतले घटेको देखाउँछ।  

नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४८ खर्ब ४१ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। गत साताको बजार पुँजीकरण ४८ खर्ब ३९ अर्ब ९७ करोड रुपैयाँ थियो। साताभर नेप्से ०.६२ अंकले बढ्दा कुल बजार पुँजीकरण १ अर्ब ६ करोड रुपैयाँले मात्रै बढेको छ।  यस साताका चारै दिन सकारात्मक सर्किट लेभलमा कारोबार हुनेमा सूर्यकुण्ड हाइड्रोपावर, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट इन्डट्रिज र रिजलाइन हाइड्रोपावर थिए। सूर्यकुण्डको प्रति कित्ता सेयरको मूल्य ११८६.१० रुपैयाँ, होटल फरेस्टको १०९६.९०, पाल्पाको ४८३.१० र रिड्ज लाइनको १२५२.४० रुपैयाँ पुगेको छ। 

त्यसैगरी, शिखर पावर डेभलपमेन्ट र सुपर खुदी हाइड्रो पावरको २÷२ दिन र सिन्धु बिकास बैंकको एक दिन सकारात्मक सर्किट लेभलमा कारोबार भए। यस साता कारोबारमा आएका १३ उपसमूहमा ४ वटा बढे भने बाँकी ९ वटा घटे। बढ्ने उपसमूहमा बैंकिङ सबइन्डेक, होटल एन्ड टुरिजम, हाइड्रोपावर र भ्युचुअल फन्ड छन्। सेन्सेटिभ इन्डेक्स ०.२४ प्रतिशत, फ्लोट इन्डेक्स ०.२७ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३४ प्रतिशतले घट्यो।  

नेप्सेमा सेयरको मूल्य १५ प्रतिशतसम्म घटबढको व्यवस्था
नेप्सेमा सोमबारदेखि सेयर मूल्य एक दिनमा अधिकतम १५ प्रतिशतसम्म घटबढ हुने भएको छ। धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा संशोधन गरी १० प्रतिशतको सर्किट सीमालाई बढाएर १५ प्रतिशत पुर्‍याइएको हो। 

प्रि ओपन सेसनमा अघिल्लो दिनको मूल्यको पाँच प्रतिशतभित्र अडर राख्न सकिने छ। नियमित कारोबार सत्रमा भने मूल्यको ३ प्रतिशत घटी वा बढीको सीमाभित्र रही अडर गर्न सकिने छ। यसअघि यसमा २ प्रतिशतको सीमा थियो।

नेप्सेमा पहिलो सर्किट ब्रेक ५ प्रतिशत र दोस्रो सर्किट ब्रेक ८ प्रतिशतको घटबढमा लाग्ने भएको छ। यसअघि ३ सर्किट ब्रेकको व्यवस्था थियो। पहिलो एक घण्टाभित्र ४ प्रतिशत, दोस्रोमा ५ प्रतिशत र अन्तिममा ६ प्रतिशतसम्म नेप्से परिसूचक घटबढ भएमा सर्किट ब्रेक लाग्ने व्यवस्था थियो।

सोपान फर्मास्युटिकल्सको आईपीओ निष्कासन
सोपान फर्मास्युटिकल्स कम्पनीले वैशाख ३ देखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले ३४ करोड ७४ लाख ९० हजार रुपैयाँको ३४ लाख ७४ हजार ९ सय  कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषका लागि सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजारसम्म आवेदन दिन सकिनेछ। आईपीओको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। 

धितोपत्र बोर्ड अध्यक्ष पद खाली हुँदै
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि उक्त पद खाली हुने भएको छ। श्रेष्ठले शुक्रबार अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्। उनले राजीनामा स्वेच्छाले दिएको बताए। चार वर्षका लागि २०८१ मंसिर १० गते धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका श्रेष्ठले १७ महिनामै राजीनामा दिएका हुन्।

आईपीओ निष्कासन गर्न ३ कम्पनीलाई अनुमति
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३ कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले एभरेस्ट कलर, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजलाई आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो।

एभरेस्ट कलरले प्रतिकित्ता १०० का दरले ७ लाख ९० हजार कित्ता  माउन्ट एभरेस्टले प्रतिकित्ता १०० रुपैयाँका दरले २५ लाख ८० हजार कित्ता र सर्वोत्तम पेन्ट्सले प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएका छन्।

नेप्सेसँग आईपीओ निष्कासन गर्न ५ कम्पनीको सम्झौता

नेप्सेले बुक बिल्डिङ प्रक्रियामार्फत आईपीओ निष्कासन गर्न ५ कम्पनीसँग सम्झौता गरेको छ। नेप्सेले नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टिल र पूर्वाञ्चल ल्युब आयल लिमिटेडसँग सम्झौता गरेको हो। नर्भिकको ८ लाख १६ हजार ४ सय ८० कित्ता, जगदम्बा र लक्ष्मी स्टिलको १८/१८ लाख कित्ता, टाइम फर्मास्युटिकल्सको ४ लाख ३४ हजार ६ सय कित्ता तथा पूर्वाञ्चल ल्युब आयलको ६ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ।

नेप्सेसँग सम्झौता गरेका ५ कम्पनीले सेबोनमा निवेदन दिएर अनुमति पाएपछि संस्थागत लगानीकर्तालाई सेयर बिक्री गर्नेछन्। कम्पनीले कुल निष्कासनको ४० प्रतिशत संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सर्वसाधारणलाई सेयर बिक्री गर्नुपर्ने छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.