कस्तो बन्यो संसदको नयाँ नियमावली?
काठमाडौं : प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावली तयार गरेको छ। सिंहदरबारमा सोमबार बसेको समितिले बैठकले कार्यअवधिको १३औं दिनमा मस्यौदाका सबै कुराहरू टुङ्गो लगाएर नयाँ नियमावली तयार गरेको मस्यौदा समितिका सभापति गणेश पराजुलीले जानकारी दिए।
नियमावली मस्यौदाका शुद्धाशुद्धी र केही क्रमहरू मिलाउने काममात्रै बाँकी रहेकाले मंगलबार त्यसलाई मिलाएर सभामुखलाई बुझाइने उनले बताए।
कार्यपालिका र व्यवस्थापिका बीचमा भएका मतभिन्नताहरूलाई न्यूनीकरण गर्ने र जवाफदेहीता खोज्ने कामलाई नयाँ नियमावलीमा जोड दिइएको पराजुलीले जानकारी दिए। उनले संसदीय समितिहरूले कार्यपालिकालाई निर्देशन दिँदै गर्दा त्यसको जवाफदेहीता खोज्नका लागि समयसीमा तोकेर तीस दिनभित्र आफूले दिएको निर्देशनअनुसार कामकारबाही अगाडि बढेको छ कि छैन भनेको प्रगति विवरण माग्ने गरी बुँदा राखिएको बताए।
त्यस्तै व्यवस्थापिकाले दिएका सबै निर्देशनको संशोधन वा पुनर्मूल्यांनका लागि तीस दिनभित्रै जानकारी गराउनुपर्ने व्यवस्था पनि समावेश गरिएको उनले जानकारी दिए।
त्यस्तै विधेयक निर्माणका क्रममा हुने गरेको ढिलाईलाई अन्त्य गर्न समयसीमा तोकेर प्रक्रिया अघि बढाउने विषयलाई पनि प्राथमिकता दिइएको समिति सभापति पराजुलीले बताए। मस्यौदा समितिलाई दिइएको १४ दिने समयसीमा मंगलबार नै सकिँदैछ।
प्रतिक्रिया दिनुहोस !