विराटनगरबाट गगनको सन्देश : कांग्रेसमा युवाहरूको सक्रियता अनिवार्य
विराटनगर : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई पुनः सशक्त बनाउन युवाको सक्रिय सहभागिता अनिवार्य रहेको सन्देश दिएका छन् ।
पार्टीको संगठनात्मक सुधार र गुमेको मत फिर्ता ल्याउन युवाको सक्रिय सहभागिता एवं रणनीति अनिवार्य भएको उनको भनाइ छ । कांग्रेस कोशी प्रदेश समितिद्वारा विराटनगरमा बुधबार आयोजित निर्वाचन समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै थापाले पार्टीभित्र नयाँ पुस्तालाई आकर्षित नगरी संगठन मजबुत बन्न नसक्ने स्पष्ट पारे । उनका अनुसार कांग्रेसको इतिहास, विगतका उपलब्धि र सुशासनका प्रयासका बारेमा नयाँ पुस्तामा पर्याप्त जानकारी नपुग्नु पनि पार्टीप्रति दुरी बढ्नुको एक प्रमुख कारण हो ।
पार्टीले पछिल्लो निर्वाचनमा करिब १० लाख मत गुमाउनु सामान्य विषय नभएको भन्दै थापाले यसलाई गम्भीर आत्मसमीक्षाको अवसरका रूपमा लिनुपर्ने बताए । गुमेका मतदाता पुनः कांग्रेसतर्फ फर्काउने स्पष्ट रणनीति आवश्यक रहेको उल्लेख गर्दै उनले आफू त्यस अभियानमा जिम्मेवारीपूर्वक अघि बढ्ने दाबी गरे । सरकारप्रति कडा आलोचना गर्दै उनले पछिल्ला निर्णयहरू कानुनी प्रक्रिया र संवैधानिक मर्यादाभन्दा बाहिर गएर ‘लहडका भरमा’ भइरहेको आरोप लगाए ।
विधिको शासन कमजोर पार्ने अभ्यास स्वीकार्य नहुने चेतावनी उनले दिए । उनले कांग्रेसले यस्ता विषयमा तथ्य र प्रमाणका आधारमा निरन्तर प्रश्न उठाउने बताए । भदौ २४ गतेको घटनाका बारेमा बोल्दै थापाले निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग दोहोर्याएका छन् । राज्यका निकायले अनुसन्धान गर्ने अधिकार राखे पनि कानुन उल्लंघन गर्न नपाइने भन्दै उनले विधिको शासनमा कुनै सम्झौता नहुने स्पष्ट पारे ।
कांग्रेसको राजनीतिक भूमिकाका बारेमा प्रष्ट पार्दै उनले संघीय संसदमा प्रतिपक्ष भए पनि सातै प्रदेशमध्ये अधिकांशमा सरकारमा सहभागी रहेको उल्लेख गरे । राम्रो काममा समर्थन र जनहितविपरीत गतिविधिमा तथ्यसहित प्रश्न गर्ने नीति पार्टीले लिएको उनले बताए । थापाले क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक प्रक्रिया डिजिटल प्रणालीमार्फत अघि बढाइँदै गरिएको जानकारी दिए । यसले पार्टीलाई पारदर्शी, व्यवस्थित र आधुनिक बनाउने विश्वास व्यक्त गर्दै उनले ज्येष्ठ सदस्यहरूको योगदानलाई डिजिटल अभिलेखीकरणमार्फत सुरक्षित गरिने बताए ।
आगामी १५ औं महाधिवेशनलाई पार्टी पुनर्गठनको महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले चार पुस्तालाई समेटेर समावेशी संगठन निर्माण नगरेसम्म कांग्रेस बलियो हुन नसक्ने बताए ।
उपसभापति पुष्पा भुसालले हालैको निर्वाचन परिणामबाट निराश नहुन कार्यकर्तालाई आग्रह गरिन् । उनले हारलाई अन्त्य नभई सुधारको सुरुवातका रूपमा लिनुपर्ने भन्दै संगठनलाई अझ सुदृढ बनाउन सबै तहका कार्यकर्ता सक्रिय हुनुपर्ने धारणा राखिन् । ‘कांग्रेसको आधार अझै जनस्तरमा बलियो छ । कमजोरी सुधार गर्न सके जनसमर्थन पुनः फर्काउन सकिन्छ,’ भुसालले भनिन् ।
महामन्त्री प्रदीप पौडेलले पार्टीलाई बलियो बनाउन क्रियाशील सदस्यहरूले घरघरमा पुगेर कांग्रेसको नीति र कार्यक्रम जनतासम्म पु¥याउनुपर्ने आवश्यकता औंल्याए । संगठनको शक्ति केन्द्रको निर्देशनले मात्र नभई तल्लो तहको सक्रियताबाट निर्माण हुने भन्दै पौडेलले सदस्यता प्रणालीलाई डिजिटल रूपमा अद्यावधिक गर्ने कामले पार्टीलाई आधुनिक बनाउने विश्वास व्यक्त गरे ।
महामन्त्री गुरुराज घिमिरेले कांग्रेसलाई पुनर्जीवित गर्न वडास्तरदेखि केन्द्रसम्म संरचनागत सुधार आवश्यक रहेको बताए । उनले स्थानीय तहमा भएका राम्रा कामको प्रभावकारी प्रचारप्रसार नहुनु पनि निर्वाचन परिणाम कमजोर हुनुको प्रमुख कारण भएको उल्लेख गरे । जनतासम्म सकारात्मक काम नपुग्दा राजनीतिक लाभ लिन नसकिएको उनको भनाइ थियो ।
गोष्ठीमा बोल्ने नेताहरूले हालैको निर्वाचनमा कांग्रेसका उम्मेदवार पराजित हुनुका विभिन्न कारणहरूको विश्लेषण गरेका थिए । उनीहरूले पार्टीका केही मत अन्य दलतर्फ जानु, युवापुस्ताको नयाँ राजनीतिक शक्तिप्रति आकर्षण बढ्नु, सामाजिक सञ्जालको प्रभाव र विदेशमा रहेका नेपाली युवाको मत व्यवहार परिवर्तन हुनुजस्ता कारणलाई प्रमुख रूपमा औंल्याए ।
त्यसैगरी, राजनीतिक प्रचार शैली पुरानो हुनु, प्रविधिको प्रभावकारी प्रयोग नहुनु, स्थानीय तहमा अपेक्षित जनसम्पर्क कमजोर हुनु र संगठनात्मक सक्रियता घट्नुले पनि परिणाममा प्रत्यक्ष असर पारेको निष्कर्ष नेताहरुको छ । नेताहरूका अनुसार अब कांग्रेसले परम्परागत शैली त्यागेर डिजिटल युगअनुसार संगठन पुनर्संरचना गर्नुपर्नेछ । युवालाई आकर्षित गर्न स्पष्ट नीति, अवसर र सहभागितामूलक वातावरण आवश्यक रहेको उनीहरूको साझा निष्कर्ष थियो ।
विराटनगरको निर्वाचन समीक्षा गोष्ठीले कांग्रेसभित्र आत्मसमीक्षा, पुनर्संरचना र रणनीतिक परिवर्तनको बहसलाई अझ तीव्र बनाएको छ । नेताहरूले अब पार्टीलाई नयाँ पुस्ता, प्रविधि र सुशासन केन्द्रित संगठनका रूपमा रूपान्तरण गर्न नसके जनसमर्थन पुनः हासिल गर्न कठिन हुने सन्देश दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !