हिमालतिर हजारका पाइला, सगरमाथामा १०० महिला
ओखलढुंगा : यो वर्षको वसन्त सिजनमा पर्वतारोहणका लागि बिहीबारसम्म हजार हाराहारीले अनुमति लिएका छन्। ३० हिमाल आरोहण गर्न करिब हजार जनाले अनुमति लिएको पर्यटन विभागको साप्ताहिक विवरणमा उल्लेख छ।
बैशाख १० गतेसम्म ९ सय ४४ जना पर्वतारोहीले हिमाल चढ्न अनुमति प्राप्त गरेका हुन्। पर्यटन विभागका अनुसार ३० हिमाल आरोहण गर्न सो संख्यामा अनुमति जारी भएको हो। यी आरोहीबाट विभागले १ अर्बभन्दा बढी रोयल्टी संकलन पनि गरेको छ। यसमध्ये सबैभन्दा धेरै रोयल्टी सगरमाथाबाट प्राप्त भएको छ। सगरमाथा चढ्न ४१ समूहका ४१० आरोहीले अनुमति लिएका छन्।
सगरमाथाबाट मात्र ८९ करोड ३ लाख रुपैयाँ रोयल्टी संकलन भएको छ। सगरमाथामा ९७ महिला आरोहीले अनुमति लिएका छन्। यो सिजनमा लोत्सेका लागि ७ समूहका ८६, अमादब्लमका लागि ८ समूहका ९२, मकालु प्रथम हिमालमा ५४ र हिमलुङ हिमालमा ५ समूहका ४४ जनाले आरोहण अनुमति लिएका छन्।
यसवर्ष हिमाल आरोहणका लागि चीनबाट मात्र १२७, अमेरिकाबाट १००, बेलायतबाट ६४, रुसबाट ६०, अष्ट्रेलियाबाट २२ जनाले अनुमति लिएको विभागको तथ्यांक छ। हिमाल आरोहण नेपालको प्रमुख सहासिक पर्यटन हो । यसबाट देशको अर्थतन्त्रमा समेत ठूलो योगदान छ।
प्रतिक्रिया दिनुहोस !