पहलगाम घटना: आतंकवादविरुद्ध भारतले चालेको साहसिक र गर्विलो विजयी

पहलगाम घटना: आतंकवादविरुद्ध भारतले चालेको साहसिक र गर्विलो विजयी
फाइल तस्बिर

काठमाडाैं : ठीक एक वर्षअघि, २२ अप्रिल २०२५ को त्यो दिन जम्मु-कश्मीर पहलगामको बैसरन उपत्यकाका लागि एउटा कालो दिन थियो। जतिबेला लस्कर-ए-तैयबाको शाखा 'द रेसिस्टेन्स फ्रन्ट' (TRF) का आतंककारीहरूले एउटा विभत्स नरसंहार मच्चाएका थिए। जुन घटनाको एक वर्ष पूरा भएको छ, तर यसले भारतीय सुरक्षा रणनीति र कश्मीरको सामाजिक परिवेशमा ल्याएको परिवर्तन भने गहिरो र ऐतिहासिक छ।

आक्रमण योजनाबद्ध रूपमा गरिएको थियो। दिउँसो करिब २:३० बजे, सैन्य पोसाकमा रहेका ३–४ जना आतंकवादीहरू एम-४ कार्बाइन र एके-४७ राइफलसहित जङ्गलबाट निस्किए र हिन्दू पर्यटकहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार गरे। जुन घटनामा  एक नेपाली नागरिकसहित २६ निर्दोष पर्यटकहरूको ज्यान गयो भने २० भन्दा बढी घाइते भए।

यस त्रासदीका बीच एउटा वीरताको कथा पनि जन्मियो। स्थानीय कश्मिरी शिया मुस्लिम, सैयद आदिल हुसैन शाहले आतंककारीको राइफल खोस्ने प्रयास गर्दै प्रतिकार गरे। उनले देखाएको साहसले धेरैको ज्यान त बचायो, तर उनले आफ्नै प्राणको आहुति दिनुपर्यो। अनुसन्धानले ती आतङ्ककारीहरूले उच्च प्रविधियुक्त चिनियाँ सञ्चार उपकरण र थर्मल इमेजरी प्रयोग गरेको पुष्टि गर्‍यो, जसको सीधा सम्बन्ध पाकिस्तानी गुप्तचर निकाय (ISI) सँग देखिन्थ्यो।

अपरेशन सिन्दूर

पाकिस्तानले FATF को छानबिनबाट बच्न लस्कर-ए-तैयबा (LeT) लाई TRF र जैश-ए-मोहम्मद (JeM) लाई PAFF जस्ता नयाँ नाममा रूपान्तरण गरेर सञ्चालन गरिरहेको तथ्य भारतले विश्वसामु राख्यो। यसैको जवाफमा ७ मे २०२५ मा भारतीय सशस्त्र बलले 'अपरेशन सिन्दूर' सुरु गर्‍यो।

विगतका 'सर्जिकल स्ट्राइक' भन्दा घातक मानिएको यस 'ट्राइ-सर्भिस' अपरेसनले पाकिस्तानको बहावलपुर र मुरिदके जस्ता गहिरा भागमा रहेका ९ वटा आतङ्ककारी ठेगानाहरू ध्वस्त पारिदियो। यस कारबाहीमा १०० भन्दा बढी आतंककारी मारिए, जसमा जैश-ए-मोहम्मदका नेता मसुद अजहरका परिवारका सदस्यहरू समेत रहेको पुष्टि भयो।

कूटनीतिक सफलता 

सैन्य कारबाहीसँगै भारतले कूटनीतिक मोर्चामा पनि सफलता हासिल गर्‍यो। ३३ राष्ट्रहरूमा संसदीय प्रतिनिधिमण्डल पठाएर प्रमाण पेस गरेपछि १८ जुलाई २०२५ मा अमेरिकाले TRF लाई 'विदेशी आतंककारी सङ्गठन' (FTO) घोषणा गर्‍यो। यति मात्र नभई, भारतले सिन्धु जल सम्झौताका केही बुँदाहरू निलम्बन र अटारी-वाघा व्यापार मार्ग बन्द गरेर पाकिस्तानमाथि आर्थिक दबाब समेत सिर्जना गर्‍यो।

फेब्रुअरी २०२६ मा भारत सरकारले 'प्रहार' नामक नयाँ एकीकृत आतंकवाद विरोधी नीति सार्वजनिक गर्‍यो। यसको मुख्य लक्ष्य आतंकवादलाई जरादेखि उखेल्ने र गुप्तचर निकायहरू बीचको समन्वयलाई प्रविधिमैत्री बनाउनु हो।

आजको कश्मीर: परिवर्तनको दिशामा

पहलगाम हमलाको एक वर्षपछि, कश्मीरका जङ्गली क्षेत्रहरूमा ड्रोनमार्फत कडा निगरानी बढाइएको छ। 'ग्लोबल टेररिज्म इन्डेक्स २०२६' ले पाकिस्तानलाई विश्वकै सबैभन्दा बढी आतंकवाद प्रभावित देशको सूचीमा शीर्ष स्थानमा राखेको बेला, कश्मीरमा भने फरक दृश्य देखिँदैछ।

स्थानीय युवाहरूमा कट्टरपन्थी विचारधाराप्रतिको मोह घट्दै गएको छ। कश्मीरको आर्थिक विकास र युवाहरूलाई मूलधारमा ल्याउने भारतको प्रयासले अहिले सार्थकता पाउँदैछ। पहलगामका हिमालहरूले आज पनि ती निर्दोषहरूको रगतको कथा त सुनाउँछन्, तर सँगसँगै भारतको दृढ इच्छाशक्ति र बदलिँदो शान्त कश्मीरको नयाँ भविष्यको सङ्केत पनि गरिरहेका छन्।

मोदीले सम्झिए पहलगाम आक्रमण

पहलगाममा भएको आक्रमणको स्मरण गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंककारीहरूको कुटिल योजना कहिल्यै सफल नहुने बताएका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ,'गत वर्ष २२ अप्रिलका दिन पहलगाममा भएको भयानक आतंकवादी हमलामा गुमाएका निर्दोष जीवनहरूलाई सम्झँदै। तिनीहरूलाई कहिल्यै बिर्सने छैन। एक राष्ट्रको रूपमा, हामी शोक र संकल्पमा एकताबद्ध छौं।'

सुदीपको पहिलो पुण्यतिथि

यसैबीच पहलगाममा भएको भीषण आतंककारी आक्रमणको एक वर्ष पूरा भएको सन्दर्भमा, उक्त घटनामा ज्यान गुमाउने २७ वर्षीय नेपाली युवा सुदीप न्यौपानेको विशेष स्मरण गरिएको छ। बुटवल उपमहानगरपालिका–१४ का स्थायी बासिन्दा न्यौपाने, सार्वजनिक स्वास्थ्य विषयका स्नातक र सक्रिय समाजसेवी थिए, जसले आफ्नी आमा र दिदी-भिनाजुसँग कश्मीर भ्रमणमा रहेका बेला ज्यान गुमाउनु परेको थियो। उनको प्रथम पुण्य तिथिको अवसरमा एलन फाउन्डेशनले सम्बन्धित निकायसमक्ष ज्ञापनपत्र पेश गर्दै यस बर्बर घटनाको कडा निन्दा गरेको छ। 

फाउन्डेशनले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कारबाही गर्न र पर्यटकहरूको सुरक्षाका लागि प्रभावकारी उपाय अवलम्बन गर्न जोडदार माग गरेको छ। साथै, मानवता र क्षेत्रीय स्थायित्वका लागि आतंकवादविरुद्ध कूटनीतिक सहकार्यको आवश्यकता औंल्याउँदै फाउन्डेशनले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना समेत प्रकट गरेको छ। –एजेन्सीहरुको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.