नेपाललाई समुन्नत बनाउने आधार पर्यटन नै हो। आध्यात्मिक पक्ष बलियो भएको राष्ट्र सधैं उत्थानशील र आत्मनिर्भर बन्न सक्छ।
प्राकृतिक सुन्दरताको अनुपम छटाले भरिएको नेपालको भौगोलिक विशिष्टता र सांस्कृतिक विविधता विश्वमै अद्वितीय छ। ७७ वटै जिल्लामा विशिष्ट एवं मौलिक पहिचान बोकेका सांस्कृतिक सम्पदा छन्। गौरवमय मौलिक सनातनी परम्परा र ऐतिहासिक प्राचीन सभ्यता र सम्पदालाई व्यवस्थित रूपमा प्रचारप्रसार गर्न नसक्दा अपेक्षानुरूपको लाभ लिन सकेका छैनौं। जनताको चाहनाअनुसार देशमा राजनीतिक परिवर्तन त आयो, तर आर्थिक समृद्धिको जनआकांक्षा अझै अधुरै छ। यसै कारण नागरिकमा राज्यप्रति अपेक्षित विश्वास जागृत हुन सकेको छैन।
सरकारले सन् २०२७ लाई ‘नेपाल वेलनेस इयर’ घोषणा गरिरहँदा देशको आर्थिक विकासको सबैभन्दा महत्र्वपूर्ण पर्यटन क्षेत्रलाई अझै मौलिक र व्यवस्थित ढंगले अघि बढाउने दायित्व हाम्रासामु आएको छ। सरकारले आर्थिक विकासका क्षेत्रमा केही नयाँ र सकारात्मक उपलब्धि दिने प्रयास आरम्भ गरेको छ। जलविद्युत्को विकासमा उल्लेखनीय काम भइरहेको छ।
सरकारले शासकीय सुधारको १०० बुँदे मार्गचित्रमा उदयपुर (कोशी नदी आसपास), अछाम (रामारोशन), बाजुरा बडिमालिका, अपी हिमाल ट्रेकिङ रुट, दोर्दी हिमाल ट्रेकिङ रुटलगायतका क्षेत्रमा व्यवस्थित पर्यटनका लागि आवश्यक अध्ययन गरी एक महिनाभित्र कार्यान्वयनयोग्य खाका प्रस्तुत गरेको छ। त्यसैगरी, नेपाललाई आरोग्य पर्यटन पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सालगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने र नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रलाई धन्यवादज्ञापन गर्ने भनेको छ।
सरकारले आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा लिई ‘नेपाल वेलनेस इयर २०२७’ मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने घोषणा पनि गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले २०८२ फागुन ६ गते धनगढीको चुनावी सभामा व्यक्त गरेको अभिव्यक्ति स्मरणीय छ। शाहले भनेको थिए, ‘मान्छेले देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्। स्विट्जरल्यान्डको बाउ बडिमालिका यहीँ छ किन बनाउनु पर्यो स्विट्जरल्यान्ड रु स्विट्जरल्यान्डको पराकाष्ठा रामारोशन यहीँ छ किन बनाउनु पर् यो स्विट्जरल्यान्ड रु खप्तड नेसनल पार्क यहीँ छ किन बनाउनुपर्यो स्विट्जरल्यान्ड ?’
वास्तवमा सरकारले शासकीय सुधारको मार्गचित्रमा नेपालको पर्यटन र आर्थिक विकासका अवधारणा समेटेको छ। कार्यान्वयन योग्य खाका आउनु र नयाँ गन्तव्यको पहिचान र विकासले मात्र पर्यटनमा विविधीकरण र व्यवसायीकरण ल्याउन सक्छ। प्रधानमन्त्री शाहले सम्बोधनमै बडिमालिकासहितका धार्मिकस्थलको प्रसंग उल्लेख गरेपछि त्यहाँ जाने दर्शनार्थी र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको मुक्तिनाथ मन्दिर दर्शन गरेपछि पछिल्ला वर्षहरूमा मुक्तिनाथ दर्शन गर्न जाने नेपालीको संख्यामा व्यापक वृद्धि भएको छ। नेपाल भ्रमणका क्रममा मोदीले आफ्नो सम्बोधनमा ‘भारतले जितेका हरेक युद्धमा वीर नेपाली गोर्खाली दाजुभाइको रगत बगेको छ’ भनेका थिए। साथै मोदीको धार्मिक यात्राले पनि नेपालको धार्मिक पर्यटन प्रवद्र्धन र प्रचारप्रसार गर्न महत्र्व गरेकै छ। मोदीको सन् २०१८ को दुईदिने भ्रमण र सन् २०२२ मा बुद्ध जयन्तीमा भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरी नेपाल र भारतबीचको मौलिक आध्यात्मिक र सांस्कृतिक विरासतको सम्बन्धलाई प्रगाढ बनाउने काम गर्यो।
अबको लक्ष्य धार्मिक पर्यटन : हिमवत्खण्डको यो श्लोकले नेपाललाई युगअनुसार परिवर्तनशील नामकरण गरेको छ। सत्यवती, तपोवती, मुक्तिसोपानजस्ता अनुपम मौलिक बिम्बले त्यतिबेलाको नेपालको सचित्र वर्णन गर्छ। यसले नेपालको शाश्वत पवित्रतालाई उजागर गर्छ। वैदिककालदेखि अहिलेको प्रविधिको युगसम्म आइपुग्दा नेपाल दक्षिण एसियाको आस्थाको जीवित संग्रहालय हो भन्ने पुष्टि हुन्छ। भगवान् पशुपतिनाथ, सीताको माइती जनकपुर, भगवान् बुद्धको जन्मस्थल कपिलवस्तु, मुक्तिनाथ, गौरीशंकरसहितका तीर्थस्थलले विश्वभरका भक्तजनलाई आकर्षित गरिरहेका छन्।
पशुपतिनाथ र मुक्तिनाथ आध्यात्मिक ऊर्जाका केन्द्र हुन्। शिव पुराणमा पशुपतिनाथलाई ‘केदारेश्वरको शिर’ मानिएको छ। र बाह्र ज्योतिर्लिंगको दर्शनपछि पशुपतिनाथको दर्शन अनिवार्य मानिन्छ। यो मन्दिर शैव, शाक्त, बौद्ध र किराँत परम्पराको अनुपम संगम हो। यहाँ बौद्ध र तान्त्रिक विधि सँगसँगै अस्तित्वमा छन्, जसले धार्मिक सद्भावको सन्देश दिन्छ। मुक्तिनाथ वैष्णव, शैव र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो। यहाँ बौद्ध आनीको अनुष्ठान र वैदिक परम्पराको प्रवाहले नेपालको समावेशी आध्यात्मिक पक्षलाई प्रतिनिधित्व गर्छ।
आरोग्य पर्यटन र बदल्नुपर्ने शैली : नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउन सकिन्छ। पूर्वीय दर्शन, ध्यान, योग र आयुर्वेदिक चिकित्सा प्रणालीका माध्यमबाट विश्वभरिका पर्यटकलाई नेपालमा भित्र्याउन सकिन्छ। यसले पर्यटक गाइडका लागि ठूलो संख्यामा रोजगारी सिर्जना गर्नेछ। पर्यटन विकास र समुन्नतिका लागि सरकारले पर्यटन, होटल व्यवसायी र अन्य सरोकारवालासँग व्यवस्थित समन्वय गर्नुपर्छ। ७७ वटै जिल्लामा होटल तथा ट्राभल्स एजेन्सी विस्तार भएका छन्। प्रत्येक जिल्ला र प्रदेशमा रहेका होटललाई त्यहाँका मौलिक र स्थानीय सांस्कृतिक पर्व, जात्रा परम्परा र भेषभुषा तथा रीतिरिवाजको प्रवद्र्धन र प्रचारप्रसार गर्ने जिम्मेवारी दिनुपर्छ।
मच्छिन्द्रनाथको जात्रा पर्व सञ्चालनबारे जानकारी र प्रचारको सम्पूर्ण जिम्मेवारी ललितपुरका स्थानीय होटल, ब्लबसहित सरोकारवालाले लिनुपर्छ। जात्रा र अन्य पर्वहरूमा पाँचतारेदेखि सामान्य होटलसम्मले विदेशी पर्यटक भित्र्याउन आफ्ना मौलिक पर्व, संस्कृति, परम्परा, रीतिरिवाज र भेषभुषालाई प्रचार गर्ने र निश्चित आर्थिक प्याकेजअनुसार सेवासुविधा दिँदा त्यसप्रति आकर्षित हुने सम्भावना रहन्छ। एकआपसको सहकार्यले पर्यटकलाई नेपाल आउनुपूर्व नै संस्कृति र उपलब्ध सुविधाबारे जानकारी हुन्छ। साथै देशभित्र गुड्ने ६० लाखभन्दा धेरै सार्वजनिक र निजी सवारीसाधनमा पनि यस्ता प्रचार सामग्री राख्ने र सम्पदा एवं भेषभुषाको चित्र अंकित रचनात्मक प्रचार सामग्री राख्न सकिन्छ। जसले पर्यटकलाई आकर्षित गर्न सक्छ।
जात्रा र संस्कृतिको विश्वव्यापीकरण : नेपालमा जात्रा, पर्व र अनेकौं सांस्कृतिक सम्पदा छन्, जसका मौलिक पक्षले हाम्रो छुट्टै पहिचान स्थापित गरेको छ। कुमारी पूजा, तलेजु भवानीको जात्रा, बिस्केट जात्रा, चण्डेश्वरी जात्रा, रामजानकी मन्दिर, लुम्बिनी र पोखराजस्ता आकर्षक पर्यटकीय गन्तव्य देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन सक्ने आधार स्तम्भ हुन्। यी पर्व र स्थलको महिमा, यी ठाउँमा रहेको आध्यात्मिक शक्तिलाई अन्तर्राष्ट्रियस्तरमा पुर् याउन वैज्ञानिक अध्ययन र अनुसन्धानमा आधारित लेखरचनाको अभाव छ।
हाम्रा जात्राहरूलाई केवल परम्परामा मात्र सीमित नराखी विश्वव्यापी पर्यटन उत्पादनका रूपमा विकास गर्न सक्नुपर्छ। हाम्रो संस्कृति नै हाम्रो सभ्यता, पहिचान र आर्थिक विकासको स्रोत हो। जात्रा, पर्व, भेषभुषा, कला–संस्कृति, प्रविधि र प्रकृतिका मौलिक र प्राचीनस्थललाई व्यवस्थित ढंगले प्रचार गरिएमा पर्यटन क्षेत्रबाट सोचेजस्तो लाभ लिन सकिन्छ। नेपाल घुम्ने ठाउँ मात्रै होइन। बोध, अनुभूति र अनुभव लिने ठाउँ हो भनेर विश्वलाई परिचित गराउनुपर्छ। सरकार, निजी क्षेत्र र स्थानीय समुदायको एकीकृत प्रयासबाट मात्र नेपाललाई समुन्नत राष्ट्र बनाउन सम्भव छ। अर्को पक्ष हस्तकलाको विकास हो। एक घर, एक रोजगारको अवधारणा ल्याएर घर–घरमा हस्तकलाका सामग्री उत्पादन गर्ने आधार निर्माण गर्नुपर्छ। नेपाली हस्तकलाका सामग्रीको अन्तर्राष्ट्रिय बजारमा उच्च माग छ।
वैश्विक सहकार्य र गन्तव्य : नेपालमा दक्षिण एसियाली पर्यटकको ठूलो संख्या आउने गरेको छ। छिमेकी भारत र चीनसँग युरोप, अमेरिका, अस्ट्रेलियासहित सबै देशबाट उत्तिकै मात्रामा पर्यटन आउने वातावरण बनाउनका लागि सरकारले आधारभूत पूर्वाधार विकासको नवीनतम् अवधारणा ल्याउनुपर्छ। अहिले भइरहेका संरचनाले एक वर्षमा ५० लाख पर्यटन नेपाल भित्र्याउन र पशुपतिनाथ मन्दिरको मात्रै दर्शन गराउन पनि चुनौतीपूर्ण छ।
त्यसैले पर्यटन क्षेत्रमा विश्वभरिकै आध्यात्मिक क्षेत्रसँग सहकार्य गर्नुपर्छ। छिमेकी देशसँग साझा अभ्यासका आधारमा सहकार्य गर्नुपर्छ। देवीदेवता, शास्त्र, चाडपर्व र संस्कार समान छन्। तीर्थयात्रा सभ्यताहरू जोड्ने सेतु बन्न सक्छन्। भारतको प्रयागराजमा सन् २०२५ मा आयोजित महाकुम्भ मेलामा ४५ दिनको अवधिमा ६६ करोडभन्दा बढी भक्तजनले प्रयागराजको पवित्र भूमिमा पुगेर गंगा, यमुना र सरस्वतीको संगममा स्नान गरे। यो असाधारण महाकुम्भ विश्वव्यापी चर्चा र विश्लेषणको विषय बन्यो। ६६ करोड मानिसको आगमनले भारतको अर्थतन्त्रलाई ठूलो बल प्रदान गर् यो र यसबाट दसौं खर्ब रुपैयाँबराबरको राजस्व संकलन भयो।
नेपालसँग सांस्कृतिक र धार्मिक पर्यटनको अथाह सम्भावना छ। यस क्षेत्रको प्रवर्द्धनले अर्थतन्त्रलाई बलियो बनाउनुका साथै विश्वव्यापी सद्भाव पनि बढाउँछ। राजनीतिक नेतृत्वले नयाँ अवधारणाका साथ यस्ता युगान्तकारी अभियान आरम्भ गर्नुपर्छ। नेपाललाई समुन्नत बनाउने आधार पर्यटन नै हो। त्यसैले आध्यात्मिक पक्ष बलियो भएको राष्ट्र सधैं उत्थानशील र आत्मनिर्भर बन्न सक्छ। अबको लक्ष्य आर्थिक विकासका लागि धार्मिक पर्यटनको नवीनतम् अवधारणामा केन्द्रित हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस !