मेरा कान्छा हजुरबुबा

समीक्षा

मेरा कान्छा हजुरबुबा
सुन्नुहोस्

त्योदिन अरू दिन जस्तै सामान्य लागिरहेको थियो। माघ महिनाको कुहिरो र बादलले आकाश हल्का ढाकिएको थियो। तर त्यो शान्तिभित्र एउटा अकल्पनीय आँधी लुकेको रहेछ भन्ने कहाँ थाहा थियो र  ! दुई वर्षपहिले गाउँ जाँदा कान्छा हजुरबुवा अलिअलि हिँड्नु हुन्थ्यो।

घर वरिपरि भेडा–बाख्रा चराएर बस्नुहुन्थ्यो। आँगनमा प्लास्टिकको कुर्सीमा बसिरहनुहुन्थ्यो। बाहिरबाट हेर्दा शारीरिक रूपमा बलियो देखिनु हुन्थ्यो। तर भित्रभित्रै कति एक्लोपन भोगिरहनुभएको थियो– त्यसको कल्पना गर्नसमेत मुस्किल थियो। जहिले पनि आफ्ना सन्तान, खासगरी छोराप्रति गुनासो गर्नुहुन्थ्यो। उहाँले आफ्नो जीवन सन्तानकै लागि समर्पित गर्नुभयो।

दुःख–सुख, भोक–प्यास, गर्मी–जाडो केही नसोची सन्तानको भविष्यको लागि सोच्नुभयो।रात–दिन पसिना बगाउनुभयो केवल यही आशामा कि मेरो सन्तान सधैं सुखी होऊन शिक्षित होऊन् भनेर।तर विडम्बना, उहाँका कुनै पनि छोराले राम्रो शिक्षा–दीक्षा आर्जन गर्न सक्नु भएन।

समयसँगै सन्तान ठूला भए, बिहे गरे, आफ्नै संसारमा व्यस्त भए। अन्ततः आमा–बुबाबाटै तीनवटै सन्तान छुट्टिएर बसे।हजुरबुवा र हजुरआमा जेठो छोरातिर गए पनि उहाँहरूसँगै नबस्ने र काम विशेषले छोरा–बुहारी नै बाहिर बस्ने भएकाले उहाँहरू नितान्त एक्लो हुनुभयो। हुन त यो सबैको घरको बाध्यता हो। सबैको घरको कथा हो। भेटघाटहरू पर्व–तिहारमा सीमित भए।पर्व–तिहारमा पनि कोही छोरा आउँथे, कोही आउँदैनथे।

कान्छा हजुरबुवाको आँखामा कहिलेकाहीँ प्रतीक्षाको छायाँ व्यग्र देखिन्थ्यो।बाटोतिर हेरेर बस्नुहुन्थ्यो, आफ्ना दाजु अर्थात् हाम्रो हजुरबुवाका सन्तानप्रति गर्वानुभूति गर्नुहुन्थ्यो। एकपल्ट मलाई उहाँले बिस्तारै भन्नुभयो, ‘नातिनी, सन्तान ठूलो भएपछि आफ्नो बाटो हिँड्छन्। हामी बुढाबुढीलाई हेर्ने कोही छैन।तिम्रो हजुरआमा पनि बुढी भइसकेकी छिन्। खाना पकाएर खान दिने मान्छे पनि कोही छैन।’

त्यो वाक्यले मेरो मन भत्कियो। हुन त उहाँलाई धेरै चाहिएको पनि केही थिएन।न धन, न ऐश्वर्य।केवल सन्तानको माया, केही समय अनि केही शब्द।तीनजना बुहारी भएर पनि अँध्यारो भान्सामा कान्छी हजुरआमाले दाउरामा खाना पकाएको दृश्यले मन भारी भएर आउँथ्यो। वर्षायाममा खेतीपाती एक्लैले सकिनसकी गर्नुहुन्थ्यो।

वर्षौंदेखि घर सम्हाल्दै आउनुभएकी कान्छी हजुरआमाको उमेर ढल्किँदै जाँदा छोराबुहारीबाट साथको अपेक्षा राख्नुभएको थियो। तर सानो सानो कुरामा पनि सहयोग नपाउँदा उहाँको चित्त दुखेको थियो। उहाँलाई केवल साथ, सम्मान र अपनत्व चाहिएको थियो। उहाँलाई थोरै सहयोग, मीठो बोली र सानो कदरले पनि ठूलो सान्त्वना मिल्थ्यो।उहाँहरूमा एक्लोपन झन् बढ्दै गइरहेको आभास हुन्थ्यो। मलाई लाग्छ, उहाँको आँखामा सन्तानप्रतिको माया घटेन।

यस पटक म गाउँ जाँदा भने उहाँ सिकिस्त बिरामी हुनुहुन्थ्यो।आफैंलाई थेग्न नसक्ने जीर्ण शरीर लिएर बाँचिरहनु भएको थियो।ज्यान हेर्दा हृष्टपुष्ट तर उहाँ प्यारालाइसिसले ग्रस्त हुनुहुन्थ्यो। उहाँको जीवन साँच्चै दुःखद् थियो। जति उपचार गराए पनि कहिल्यै निको नहुने रोग लागेको थियो उहाँमा। सबै अरूकै भरमा उहाँको जीवन चलिरहेको थियो।गाउँमा कसैको मृत्युको खबर सुन्दा उहाँले भन्नुहुन्थ्यो, ‘सबैको काल आउँछ, मेरो काल कहिले आउला रु यति धेरै दुःख अब सहनु छैन, 

हे भगवान् !  अब मलाई लैजाऊ।’ उहाँको स्याहार–सुसारमा कान्छी हजुरआमा खटिरहनुभयो। आफैं पनि शारीरिक रूपमा अशक्त, सधैं कुप्रो परेर हिँड्ने।तर पनि हजुरबुवाको स्याहार–सुसारमा कुनै कसर बाँकी राख्नु भएको थिएन। माघ २ गतेको दिन हजुरबुबालाई धेरै गाह्रो भइरहेको थियो। उहाँ धेरै पल्ट छटपटिँदा आफ्नै सुत्ने खाटबाट लड्नुभयो। उहाँमा आफैं उठेर बस्न सक्ने बल पटक्कै थिएन।कतिपल्ट उठाएर सुतायौं। तर भोलिपल्ट माघ ३ गते उहाँको मुखबाट आवाज निस्किरहेको थिएन।लाग्यो, उहाँलाई आज आराम महसुस भइरहेको छ, त्यसैले सुत्नु भएको होला।

त्यो दिन उहाँमा अघिल्लो दिन जतिको साहस थिएन।बेलुकीपख खिर खाइसकेपछि उहाँ सधैंका लागि चिरनिद्रामा जानुभयो।हामी बेलुकीपखको खाना खाने तयारी अवस्थामा थियौं। कान्छा हजुरबाको माइला छोराले मेरो बुवालाई बोलाउनुभयो। बुबा गएर, एकछिनमा फर्केर आउनुभयो र भन्नुभयो ‘काका अब हामीमाझ रहनु भएन।’ हामी स्तब्ध भयौं।घरभित्रको वातावरण एक्कासि बदलियो। बुवाको अनुहार फिक्का भयो। हाम्रो हात खुट्टा काँप्न थाल्यो। समय नै रोकिएजस्तो लाग्यो। हिजोमात्रै नातिनी मलाई उठाऊ, बसाऊ भन्ने शब्द कानमा गुञ्जिरह्यो। पस्केको खानासमेत खानै मन लागेन।फटाफट कान्छा हजुरबुबाको  घरतिर लाग्यौं।

कान्छा हजुरबुवा अब चिरनिद्रामा हुनुहुन्थ्यो। उहाँको छेउमा कान्छी हजुरआमा विलौना गर्दै रोइरहनु भएको थियो।नजिकै भएका छोरीहरू ‘बाबा उठ्नुहोस्’ भन्दै रोइरहेका थिए। तीन छोरामध्ये माइला छोरामात्रै घरमा हुनुहुन्थ्यो। बुवाले सबैतिर जानकारी गराउनु भयो। आफन्तहरू विस्तारै उपस्थित हुन थाले। त्यो रात कान्छा हजुरबुवाको पार्थिव शरीर घरभित्रै राखियो।अर्को बिहान छोराछोरी आइसकेपछि मात्र उहाँको पार्थिव शरीरलाई घाटतिर लैजाने निधो भयो।

आजसम्म यस्तो घटना जीवनमा कहिल्यै देखेकी र भोगेकी थिइनँ।सबै कुरा अनौठो लागिरहेको थियो। हरेक दृश्य नजिकबाट नियालिरहेकी थिएँ।सबै नातागोता, इष्टमित्र, आफन्त, परिवार भेला भइसकेपछि अन्तिम श्रद्धाञ्जलिपश्चात् उहाँलाई घाटतिर लाने तयारी गरियो। सबै आफन्तको आँखामा बेग्लै करुणा देखिरहेकी थिएँ।श्रीमान् गुमाउँदा एउटी श्रीमतीमा अत्यन्त गहिरो र पीडादायी भावना देखिरहेकी थिएँ। एक्लो भाइप्रतिको माया र सम्झनामा एउटा दाजुमा गहिरो चोट देखिरहेको थियो।

एउटा साथीको रूपमा काका, सल्लाहकार, अभिभावकको सहारा गुमाउँदा भतिजाहरूमा छुट्टै वेदना छल्किरहेको थियो। स्नेह, भरोसा, प्रेरणा र सुरक्षाको प्रतीकको खम्बा ढल्दा सन्तानमा डरलाग्दो आघात देखिइरहेको थियो। नातिनातिनाले हजुरबुबाको स्नेह, हाँसो, बोली र आशीर्वाद सम्झिँदा मन खाली भएको आभास भइरहेको थियो।मनले बारम्बार भनिरहेको थियो ‘अहिले उठेर बोल्नुहुन्छ कि र?’

तर वास्तविकता कठोर थियो।त्यो कोठा, जहाँ उहाँको बोली सुनिन्थ्यो तर आज सबै रित्तोरित्तो भयो। उहाँलाई घाटतिर लग्दा आँगन असाध्यै खाली र सुनसान लाग्यो। घर रित्तो लाग्यो। घरमा प्रवेश गर्दा खालीपनले मन भारी बनायो। कोठा–कोठामा पाइलाहरू सुनिन्थ्यो जस्तो शून्यता महसुस भयो। त्यो सुनसानपनले सिकायो कि मानिस शारीरिक रूपमा टाढा भए पनि आत्मिक रूपमा नमर्ने रहेछ।

सम्बन्ध र सम्झनाहरू सधैं हृदयमा जिउँदै रहिरहने रहेछन्।उहाँको मृदु र न्यानो स्वर अझै कानमा प्रतिध्वनि भएर गुञ्जिरहेको छ। त्यो आवाजले समयसँगै मेरो मन छोइरहन्छ। आज पनि त्यो दिन सम्झँदा आँखा रसाउँछन्। मुटुभित्र एक अनौठो खालको खल्लोपन महसुस हुन्छ।तर त्यही दिनले मलाई जीवनका कठिनाइहरूको सामना गर्न र अझै बलियो बन्ने शक्ति सिकायो। जीवनको मूल्य पनि सिकायो। त्यस दिनको अनुभवले मलाई बुझायो कि दुःख र पीडा केवल क्षणिक रहेछन्, समयसँगै पिडाले रूप फेरिदाेरहेछ र सम्झना मिठास बन्दै जाने रहेछन्।साथै त्यसबाट प्राप्त शिक्षा र धैर्य जीवनभरको लागि साथी बन्न सक्ने रहेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.